» » मधेशमा ओलीलाई ह्रदयश त्रिपाठी र सिके राउतको भरोसा

मधेश आन्दोलनमा ‘ओली भर्सेस मधेश’ भएको थियो । आलीलाई मधेशमा निषेध नै गरेको थियो । ओली निषेधीत क्षेत्र भनि ब्यानर नै झुण्ड्याएको थियो ठाउँ ठाउँमा । त्यतिबेला मधेशको आक्रोश सिर्फ केपी शर्मा ओलीमाथि थियो । त्यो आक्रोश अझै सेलाएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशमा आफ्नो ‘स्पेश’ बनाउँदै हुनुहुन्छ । 

त्यसका लागि उहाँले सम्पूर्ण शक्ति त्यहाँ लगाउनु भएको छ । पुस ५ गते उहाँले संसद विघटन गरेपछि आन्दोलन सुरु हुँदा उहाँको सम्पूर्ण ध्यान मधेशमा पुगेको छ । उहाँले आफ्ना पार्टीका सचिवालय सदस्य इश्वर पोखरले, महेश वस्नेत, संजिव झा, प्रभु साह, सत्यनारायण मण्डल, सुमन प्याकुरेललगायतलाई पुरै मधेशमा केन्द्रीत गर्नुभएको छ । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले चुनावी तयारीका लागि देश दौडाहामा निस्किसक्नु भएको छ । उहाँले अहिले अनेक बहाना बनाउँदै मतदाता बटुल्ने काम गरिरहनु भएको छ । के आश्वासन बाड्नुपर्छ, के के बोल्नुपर्छ, कसलाई कसरी मिलाउन सकिएला भनि उहाँ अनेक उपाय लगाई रहनु भएको छ । सबभन्दा महत्वपूर्ण कुरा अस्वस्थताका कारण बालुवाटारबाट ननिस्किने प्रधानमन्त्री ओली अहिले मतदाता आकर्षण गर्नका लागि देशका विभिन्न ठाउँमा उहाँ आफै पुगिरहनु भएको छ । र, ठूलो ठूलो सभालाई सम्बोधन गरिरहनु भएको छ ।

त्यति मात्र होइन, मधेशमा आफ्नो बर्चस्व देखाउन, आफूलाई बलियो देखाउनका लागि विभिन्न सुत्रहरु प्रयोग गरी काँग्रेस, जसपा नेपाल, प्रचण्ड–माधव समूह नेकपाका कार्यकर्तालाई समेत आफूतिर तान्न थाल्नु भएको छ । उनीहरुलाई तान्नका लागि प्रधानमन्त्री अ‍ोलीले विभिन्न ‘अफर’ दिन थाल्नुभएको छ । जसपा नेपालका केही युवा तथा दुईजना केन्द्रीय सदस्यलाई तान्न सफल हुनु भएको छ । त्यसबाहेक अरु उहाँले थप केही गर्न सक्नु भएको छैन । यद्यपी उहाँ अझै मधेशमा आफूलाई केन्द्रित गर्नुभएको छ । माघ १९ गते सिरहामा गएर आफ्नो भाषण ठोकेर पनि आइसक्नु भएको छ । मधेशी जनतालाई आकर्षण गर्नका लागि विभिन्न आश्वासनहरु बाँड्नु भएको छ ।

मधेशी जनता उहाँप्रति अझै सकारात्मक हुन नसकेको बताउनु हुन्छ, सप्तरीका बलराम यादव । प्रधानमन्त्री अ‍ोलीले जसरी मधेशलाई अपमानित गर्नुभएको छ, त्यो कुरा मधेशी जनताले बिर्सेको छैनन्, उहाँले भन्नुभयो, मधेशी जनतालाई केपी शर्मा शर्मा अ‍ोलीले मात्र होइन, उहाँका साथमा रहेका अन्य नेताहरुले अपमानजनक शब्द प्रयोग गरेको कुरा विर्सेको छैन, यति छिट्टो माफ गर्छ जस्तो मलाई लाग्दैन ।’ केही चाटुकार तथा लोभीहरु उहाँको साथमा जान सक्छन् तर मधेशले उहाँलाई साथ नदिने जस्तो आफूलाई लागेको बताउनुभयो । मधेशी जनताले उहाँलाई साथ दिएन भने उहाँले दुईटा संयन्त्रण खडा गरेर राख्नु भएको छ । 

स्वतन्त्र राजनीतिक गठबन्धनका संयोजक ह्रदयश त्रिपाठी र जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ठिक पारेर राख्नु भएको छ । अहिले उहाँले यी दुई संगठनको बारेमा बोल्नु भएको छैन । आन्तरिक रुपमा दुवै संगठनसँग प्रधानमन्त्री ओलीको साँठगाँठ भएपनि उहाँले यो विषयमा कतै केही बोल्नु भएको छैन । र त्यो शक्तिलाई कतै प्रयोग पनि गरेको छैन । मधेशमा कमजोर हुन थालेपछि यी दुई संगठनमा आफ्नो साथमा लिएर मधेशमा शक्ति देखाउँदै चुनावमा जाने तयारी प्रधानमन्त्री ओलीको रहेको छ । 

सिके राउत

जनमत पार्टीका अध्यक्ष सिके राउतका साथ छाडेर छुट्टै संगठन बनाएर संघर्षमा लाग्नु भएका कैलाश महतोले पनि सिके राउत र अ‍ोलीबीच आन्तरिक रुपमा साँठगाँठ रहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, जसरी जेलमा रहनु भएका सिके राउतसँग भेटेर केपी शर्मा ओलीले ११ बुँदे सम्झौता गरी उहाँलाई बाहिर निकाल्नु भएको थियो, त्यो कुराले यो अनुमान लगाउन गलत हुँदैन कि सिके राउत र केपी ओलीबीच साँठगाँठ छैन ।’ 

त्यस्तै मधेशमा राम्रो दखल राख्नु हुने ह्रदयश त्रिपाठीले अहिले केपी ओली नेतृत्वको सरकारमा मन्त्री हुनुहुन्छ । उहाँले तमलोपा छाडेपछि सूर्य चुनाव चिन्हबाट चुनाव जित्नु भएको थियो । उहाँले तत्कालिन एमाले पार्टीमा नै प्रवेश गर्ने मन बनाउनु भएको थियो । तर पदमा कुरा नमिल्दा पछाडी हट्नु भएको छ । अहिले पनि ओली समूह नेकपामा जाने कि भनि मन बनाउनु भएको छ तर निर्णयमा पुग्नु भएको छैन । 

मन्त्री त्रिपाठीले नेकपामा प्रवेश गरेपनि नगरेपनि चुनावमा ओलीलाई सहयोग गर्ने लगभग निश्चित नै छ । उहाँले मधेशमा आफूलाई कमजोर देखिन थालेपछि उहाँले अन्तिममा त्रिवाठी कार्ड प्रयोग गर्ने रणनीतिमा रहनु भएको छ । 

प्रदेश २ मा तत्कालिन माओवादी केन्द्रका पाँचदेखि सात प्रतिशत नेता तथा कार्यकर्ता ओली समूहले तानेको प्रचण्ड–माधव समूह नेकपाको दावी रहेको छ । नेकपाको प्रचण्ड–माधव र ओली समूहको बीचमा झण्डै ८०–२० प्रतिशतको फरक रहेको दावी प्रचण्ड–माधव समूहका नेताहरुले गर्नुभएको छ । मधेशमा अ‍ोली समूह नेकपा पक्षमा २० प्रतिशत नेता तथा कार्यकर्ता रहेका छन् भने नेकपा प्रचण्ड–समूहसँग ८० प्रतिशत नेता तथा कार्यकर्ता रहेको दावी गरिएको छ । 

नेकपाले ८०–२० को फरक रहेको दावी गरिरहेको छ भने जनता समाजवादी पार्टी नेपालले प्रदेश २ मा आफूहरुको किल्ला रहेको दावी गर्दै आएका छन् । प्रदेश २ मा कुनै पनि दलको दाल नगर्ने जसपा नेपालको दावी रहेको छ । त्यस्तै, काँग्रेसको पनि आधार इलाका भनेको मधेश नै हो । काँग्रेसले हार्ने कि जित्ने, बहुमतमा आउने कि अल्पमत आउने कुराको निक्र्योल मधेशले नै गर्छ । जसपा, काँग्रेस र नेकपा प्रचण्ड–समूह मधेशमा बलियो भएको दावी गरेका छन् । त्यस अवस्थामा ओली समूह नेकपाको कुनै गुन्जाइस नरहने विश्लेषकको दावी रहेको छ । 

ह्रदयश त्रिपाठी

त्यसैले नेकपा ओली समूहको भर भनेको सिके राउत र ह्रदयश त्रिपाठी नै हो । चुनावमा ओली समूह नेकपाले जसपा नेपालसँग चुनावी गठबन्धन बनाउने दाउमा रहेको छ । त्यसका लागि उहाँले आन्तरिक रुपमा कुराकानी पनि चलाई रहनु भएको छ । अ‍ोली समूह नेकपासँग चुनावी गठबन्धन बनाउनेमा जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो सकारात्मक भएपनि जसपा नेपालका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई प्रचण्ड–माधव समूह नेकपासँग गठबन्धन बनाउने मनस्थिति बनाउनु भएको छ । 

नेकपा ओली समूहका नेता सुमन प्याकुरेलले प्रचण्ड–माधव समूहले जति प्रतिशत देखाए पनि ‘मास’ आफूहरुसँग रहेको दावी गरे । उहाँले भन्नुभयो, ठूला टाउकै गिनेर मात्र हुँदैन, ग्रासरुटम कसको पकड छ त्यो मुख्य कुरा रहेको छ ।’ प्रदेश २ को आठवटा जिल्लामध्ये सप्तरीमा नेकपा ओली समूह बलियो देखिएको छ । त्यहाँ ओली समूहको ६० प्रतिशत कार्यकर्ता रहेका छन् भने प्रचण्ड–माधव समूहसँग ४० प्रतिशत मात्र रहेको बताइन्छ । ओली समूहका केन्द्रीय तहका नेता सुमन प्याकुरेल र सत्यनारायण मण्डल दुवैजना तत्कालिन एमालेका नेता हुनुहुन्छ र दुवैजना सप्तरीकै भएका हुनाले उहाँहरुले त्यहाँ अलिकति प्रभाव देखाउनु भएको छ । 

सिरहामा दुईजना सांसद जितेका छन् त्यसमध्य लिलानाथ श्रेष्ठ (पूर्वएमाले) ओली समूहमा हुनुहुन्छ भने सुरेशचन्द्र दास यादव (पूर्वमाओवादी) प्रचण्ड–माधव समूहमा छन् । १० जना केन्द्रीय सदस्यमध्ये ओलीपक्षमा ३ जना मात्र छन् । २७ जना प्रदेश कमिटीको सदस्यमध्ये ७ जना मात्र ओली समूहमा छन् ।महोत्तरीमा प्रचण्ड–माधव समूहमा ८० प्रतिशत र ओली समूहमा २० प्रतिशत नेता तथा कार्यकर्ता रहेको प्रदेश २ का नेकपा प्रचण्ड–माधव समूहतर्फका प्रदेशसभा सदस्य भरत साहले दावी गर्नुभयो । 

महोत्तरीमा छजना केन्द्रीय सदस्य छन् । त्यसमध्ये तीन जना ओली समूहका रहेका छन् । तीनजना प्रदेशसभा सदस्यमध्ये दुईजना प्रचण्ड–माधव समूहमा रहेका छन् भने एकजना ओली समूहमा रहेका छन् ।प्रतिनिधिसभामा तीनजना सदस्य छन् । तीनैजना प्रचण्ड–माधव समूहमा रहेका छन । राज्यसभामा रहेका एकजना सदस्य पनि प्रचण्ड माधव समूहमै रहेको छ ।

नेकपा प्रचण्ड–माधव समूहका नेता एवं पूर्वमन्त्री रामेश्वर राय यादवले सर्लाहीका ८० प्रतिशत नेता तथा कार्यकर्ता आफूहरुको पक्षमा रहेको दावी गर्नुभएको छ । छजना केन्द्रीय सदस्यमध्ये दुईजना ओली समूहमा रहेका छन् । एकजना प्रतिनिधिसभा सदस्य रहेका छन् त्यो पनि प्रचण्ड–माधव समूहमा आवद्ध छन् । जिल्लामा पाँचजना मेयर छन् त्यसमध्ये तीनजना प्रचण्ड–माधव समूहमा रहेका छन् । 

यता, धनुषामा प्रचण्ड–माधव समूह कमजोर देखिएको छ । तत्कालिन माओवादीका ७० प्रतिशत नेता तथा कार्यकर्ता ओली समूहमा लागेको नेकपा ओली समूहका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले दावी गर्नुभएको छ । मण्डल पूर्व माओवादी हुनुहुन्छ । पार्टीमा विवाद भएर विभाजित हुँदा उहाँ ओली समूहमा लाग्नु भएको छ । धनुषामा तीनजना प्रतिनिधिसभा सदस्य छन् । त्यसमध्ये रघुवीर महासेठ र जुली महासेठ ओली समूहमा लाग्नु भएको छ भने मातृका यादव प्रचण्ड–माधव समूहमा रहनु भएको छ । 

रौतहट जिल्ला प्रचण्ड–माधव समूह नेकपाका अध्यक्ष माधवकुमार नेपालको गृह जिल्ला हो । तत्कालिन माओवादीमै रहेका प्रभु साह अहिले ओली समूहमा लाग्नु भएको छ । त्यही भएर त्यहाँ ठूलो टक्कर देखिएको छ । प्रतिनिधिसभाका तीनजना सदस्यहरु ओली समूहमा लाग्नु भएको छ । प्रतिनिधिसभाका समानुपातिक सदस्य सविना खातुन र रेखा झा पूर्व एमालेका हुनुहुन्छ । उहाँहरु ओली समूहमा लाग्नु भएको छ । दुईजना प्रदेशसभा सदस्यमध्ये एक–एकजना दुवै समूहमा लाग्नु भएको छ । प्रदेशसभा सदस्य कुन्दन कुशवाहा पूर्वमाओवादी हुनुहुन्छ तर उहाँ प्रभुको साथमा उनी आली समूमा गएका छन् । 

रौतहटमा ६ जना केन्द्रीय सदस्य छन् । त्यसमध्ये १ जना मात्र ओली समूहमा रहेको छ । प्रदेश कमिटीमा रहेका ३३ जना सदस्यमध्ये ११ जना मात्र ओली समूहमा लागेका छन् । बारा र पर्सामा पनि प्रचण्ड–माधव समूह बलियो रहेको दावी त्यहाँ नेताहरुले गर्नुभएको छ । तर जुन समूहले आफूलाई जति दावी गरेपनि यो कुरा चुनावपछि आउने परिणामले मात्र थाह हुन्छ । 


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..