» » सर्वोच्चको निर्णयलाई कुरौं (सम्पादकीय)

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नुभयो । प्रधानमन्त्रीलाई संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गर्नु र संविधानको धाराले दिँदै नदिएको अधिकार प्रयोग गरेर जसरी राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नुभयो । 


त्यो गैर संवैधानिक मात्र होइन, गैरलोकतान्त्रिक कदम पनि हो । यसको जति भत्र्सना गरे पनि कम नै हुन्छ । तर यसको समाधानको उपाय के त ? कानुनको व्याख्या गर्ने एक मात्र निकाय भनेको सर्वोच्च अदालत हो । प्रधानमन्त्री र राष्ट्रपतिले संविधान विपरित त्यो निर्णय गरेका छन् । त्यसको विरुद्धमा आन्दोलनहरु पनि भइरहेका छन् तर आन्दोलनले मात्र कानुन उल्झनको समाधान गर्ने छैन, त्यसको लागि सर्वोच्च अदालतले नै चाहिन्छ । 


प्रधानमन्त्री र राष्ट्रपतिले संविधान विपरित काम गरेको कुरा सबैले मनन गरेकै कुरा हो । यसका लागि कसैमा दुईमत छैनन् । उहाँहरुले जे धाराहरु प्रयोग गर्नुभएको छ त्यसमा कहीकतै संसद विघटनको प्रावधान राखिएको छैन । त्यो कुरा सबैलाई थाह छ तर त्यसको व्याख्या गर्ने काम सर्वोच्च अदालतको मात्र हो । सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ त्यसमा बहस चलिरहेको छ । 


पक्ष विपक्षमा चर्को बहस चलिरहेको छ । संविधानको मुलमर्मका आधारमा नै सर्वोच्च अदालतले निर्णय गर्छ भने विश्वास गर्नुबाहेक अरु कुनै विकल्प छैन । संविधानको व्याख्याता सर्वोच्च अदालत हो । सर्वोच्च अदालतले संविधान अनुसार निर्णय गर्छ भन्नेमा विश्वास गर्न सकिन्छ । 


अहिले राजनीतिक दलहरुले आन्दोलन गरिहँदा सर्वोच्च अदालतलाई समेत धम्क्याउन थालेका छन् । निर्णय नआउँदै यसरी धम्क्याउन पाइदैन । अदालतमा अहिले दुवै पक्षबाट बहस चलिरहेको छ । बहसलाई नै प्रभावित हुने गरी कसैले पनि सर्वोच्च अदालतलाई मुछ्नु हुँदैन । 


निर्णय आइपछि त्यो निर्णयमा सहमति वा असहमति जनाउन सकिन्छ तर प्रभाव नै पर्ने गरी कुनै गतिविधि गर्न पाइदैन । त्यसो त कुनै पनि विषयमा मुद्दा विचाराधिन छ भने त्यसको बारेमा कुरा उठाउन पाइदैन भनि कानुन प्रावधान पनि रहेको छ तर नेपालमा त्यस्तो देखिएको पाइएको छैन । सबैले आआफ्नो सुविधा अनुसार बोलेकै छन्, टिप्पणी गरेकै छन् ।  


सरकारले संसद विघटन गर्नु गलत हो । त्यसको विरोध हुनुपर्छ जब त्यो मुद्दा सर्वोच्चमा विचाराधिन छ भने अदालतलाई त्यसमा मुछिनु हुँदैन । सरकारको आलोचना गर्न पाइन्छ । संसद पुनःस्थापनाका लागि सरकारलाई दवाव दिन पाइन्छ र सर्वोच्च अदालतलाई दिन पाइदैन । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ जनादेशका लागि यो संसद विघटन गरिएको भन्नुभएको छ । 


यदि त्यही मात्र कुरा हो भने केही हदसम्म ठिक हो तर संसद विघटनभित्र कुनै अरु कुनै कुरा लुकिएको छ भने त्यो लोकतान्त्रिक देशका लागि मान्य हुँदैन । लोकतन्त्रको सबभन्दा राम्रो गहना भनेको चुनाव हो । कुनै पनि कुरामा विवाद हुँदा त्यसलाई मतबाट समाधान गरिने लोकतन्त्रको सबभन्दा महत्वपूर्ण पक्ष हो । सरकारले संसद विघटन गरेको छ भने त्यसलाई पुनः स्थापनाका लागि सबभन्दा राम्रो उपायमध्येको एउटा चुनाव पनि हो । प्रधानमन्त्री ओलीले यदि संविधान विपरित काम गर्नुभएको छ भने त्यसलाई निर्वाचनबाट जवाफ दिने तागत पनि अहिले आन्दोलन गरिरहेका दलले राख्नुपर्दछ । 


प्रधानमन्त्री ओलीले आफै भनिसक्नु भएको छ कि मेरो सबैतिर सेटिङ्ग छ । यदि प्रधानमन्त्री ओलीले भनेको कुरालाई सही मान्ने हो भने ढुक्क भए हुन्छ न सर्वोच्च अदालतबाट संसद विघटन विपरित निर्णय आउँछ न निर्वाचन आयोगबाट पार्टीको आधिकारिकताको निर्णय आउँछन् । त्यसपछि प्रधानमन्त्री ओलीको कदमलाई खारेज गर्ने एक मात्र उपाय भनेको निर्बाचन नै बाँकी रहन्छ । 

प्रधामन्त्री ओलीले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इतरका सबै दलहरु गठनबन्धन बनाएर चुनावमा सहभागी हुने र ओलीको कदमलाई खारेज गरी नयाँ संसदले लोकतन्त्र र संघीयतालाई अझै सुदृढ बनाएर लग्नुपर्छ । नत्र यस्तो नहोस् कि भूँइको टिप्न खोज्दा गोजीको पनि झरोस् । नेकपा (प्रचण्ड–माधव समूह) काँग्रेस र जसपाले आन्दोलन गरिरहेका छन् ।


 ओली चुनावको तयारीमा लाग्नु भएको छ । यदि आन्दोलन चर्कदै गयो भने नचुनाव हुनसक्छ न संसद पुनःस्थापना हुनसक्छ देश अर्कै मोड लिनसक्छ । त्यसको पनि निकै सम्भावना रहेको छ, किनभने देशमा अस्थिरता छ, त्यसमा विभिन्न देशी विदेशी शक्तिहरु आआफ्नो स्वार्थ अनुसार खेलिरहेका छन् । देश भित्रभित्रै कमजोर हुँदै गयो भने देशको गति अर्कैतिर पनि मोड्न सक्छ भन्ने कुरातिर पनि दलका नेताहरुले ध्यान दिनुपर्ने हुन्छ । 


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..