» » माटोको अभावमा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित

पर्सा माघ २९ गते । नजिकिँदै गएको सरस्वती पूजाका लागि मूर्ति बनाउन माटोको अभाव भएपछि पर्सा पोखरीया नगरपालिका–९ का कालिगड शिवचन्द्र महतो यसपालि सोचेजस्तो व्यापार नहुने भएपछि चिन्तामा देखिनुभएको छ ।  विगत छ वर्षदेखि मूर्ति बनाएर जीविकोपार्जन गर्दै आउनु भएको महतोले माग अत्याधिक भए पनि मूर्ति बनाउने माटोको अभावका कारण यसपालि सोचेजस्तो अत्याधिक मूर्ति बनाउन नसकिएपछि व्यापारसमेत प्रभावित भएको बताउनुभयो । 


“पर्याप्त मात्रामा माटोको समस्याले मागअनुसार यसपालि सरस्वतीको मूर्ति बनाउन नसकिएको हो”, महतोले भन्नुभयो । उहाँका अनुसार एक त माटो पाइँदैन भने अर्कोतिर माटो पाए पनि जग्गाधनीले प्रतिट्र्याक्टर मूर्ति बनाउने माटो करिब रु ९०० का दरले लिने गरेकाले यसपालि थोरै मूर्ति बनाइएको हो । 


“अघिल्लो वर्षमा यो सिजनमा मूर्ति बनाएरै लाखौँ रुपैयाँ आम्दानी गरे पनि सयपालि भने किसानले आफ्नो खेतमा समयमै गहुँ छरेकाले राम्रो र सोचेजस्तो माटो नपाउँदा यस्तो अवस्था आएको हो”, परवानीपुरमा मूर्ति बनाइरहेका शिवलखन महतोले गुनासो गर्नुभयो । पर्सा हरिपुर निवासी रङ्गलाल पण्डितको भनाइ भने बेग्लै रहेको छ । उहाँका अनुसार माग बढी भएपछि मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ । 


श्रीपञ्चमी आउन केही दिनमात्र बाँकी रहँदा जिल्लाका विभिन्न ठाउँमा कालिगडले मूर्ति बनाउने कामलाई निरन्तरता दिएका छन् । “यस वर्ष शुरुमा चिसो र शीतलहरका कारण समयमै मूर्ति बनाउन नसकिएकाले अहिले यता घाम लाग्दा मूर्तिको माग बढेपछि मूर्ति बनाउन भ्याइनभ्याइ भएको कालिगडको भनाइ छ । अहिले पर्सा जिल्लाका विभिन्न ठाउँमा सडक छेउ, दलान, घरआँगन र खाली ठाउँमा मूर्ति बनाउन कस्सिएका कालिगडको सँख्या बढ्दै गएपछि यो व्यवसायले सोचेजस्तो आर्थिक लाभ दिन नसकेको हो । जानकी टोलामा मूर्ति बनाइरहेका रमेश पण्डितले भन्नुभयो, “वसन्त पञ्चमी लागेदेखिनै सामुदायिक तथा निजी बोर्डिङ स्कूलको सँख्या थपिए पनि मूर्ति बनाउने कालिगडको सँख्या बढेकाले यो व्यवसायले पहिलेजस्तो आर्थिक लाभ दिन सकेको छैन ।” 


भावना र कलाको संयोजनले काँचो माटो र पराललाई मिसाएर ईश्वरको रूप दिएर व्यवसाय गर्दै आएका पुराना पुस्ताले यो व्यवसायप्रति आकर्षण देखाउन नसक्दा तथा युवा पुस्ता वैदेशिक रोजगारमा जाने होडबाजीको कारण यो व्यवसाय पनि प्रभावित हुँदै गएकोमा पछिल्लो पुस्ताले चिन्ता व्यक्त गरेका छन् । अहिलेका युवा माटो पराल छुन घिन मान्ने भएकाले पनि यो व्यवसायप्रति युवा पुस्ताको आकर्षण घट्न थालेकोे हो । 

 

भागवत् गीताका अनुसार भगवान् श्रीकृष्णको जिब्रोको अग्रभागबाट माता सरस्वतीको उत्पत्ति भएको हो । सरस्वतीको सेतो वर्ण ज्योतिर्मय ब्रह्माको प्रतीक मानिन्छ । सरस्वतीको आशीर्वादबिना यो जगत्मा कसैले विद्या प्राप्त गर्न सक्दैन । सरस्वतीको सेतो वर्ण ज्योतिर्मय ब्रह्माको प्रतीक मानिएकाले सरस्वतीबिना यो जगत्मा कसैले विधा प्राप्त गर्न सक्दैन । शास्त्रले भन्छ, माता सरस्वतीकै कृपाले कालीदास, महर्षि वाल्मीकि आदिलाई कविको उपाधि प्राप्त भएको थियो । 


आउँदो फागुन पञ्चमीको दिनअर्थात् मङ्गलबार श्रीपचञ्मी (सरवस्ती पूजा) पर्ने भएकाले बुधबारसम्म सबै मूर्ति दिइसक्नुपर्ने भए पनि विगत लामो समयदेखि हुस्सु र शीतलहरका कारण मौसमको खराबीले घाम उदाउन नसक्दा कालिगडलाई मूर्ति सुकाउन समस्या भएको छ । प्रविधिले विकास गर्दै गए पनि मूर्तिपूजाको आस्थामा भने कमी नआएकाले यो व्यवसायको भविष्य भने उज्ज्वल रहेको कालिगडको भनाइ छ । बर्सेनि विद्याकी देवी सरस्वतीको मूर्ति बनाउने अधिकांश कालिगड निरक्षर रहेको पाइएको छ तर कतिपय कालिगड मूर्ति बनाउने व्यवसायबाट भएको आम्दानीले आफ्ना छोराछोरीको उज्जवल भविष्यको लागि देवी सरस्वतीको कलात्मक मूर्ति बनाई त्यसबाट आउने रकमले आफ्नो छोराछोरीलाई पढाउने गर्दछन् । 


  धर्मशास्त्रमा आधा, गिरा, श्री, ईश्वर, भारती, ब्राह्मी, भाषा, महाश्वेता, वाक, वाणी, वागिरा, विद्यात्री, बागीश्वरी, वीणापाणी, शारदा, पुस्तकधारीणी, जगत्व्यापिनी, हारिमहाविद्या र धिश्वरी यी नामले सरस्वतीको उच्चारण गरिन्छ । विद्याकी देवी सरस्वतीको तीनस्थान रहेको छ, स्वर्ग, पृथ्वी र अन्तरिक्ष । स्वर्गकी बाग्देवीको नाम भारती, पृथ्वीकी बाग्देवीको नाम इला र अन्तरिक्षकी बाग्देवीको नाम सरस्वती रहेको छ । ऋग्वेदमा बाग्देवीको नाम सरस्वती भनेर उल्लेख गरिएको छ । ताल, स्वर, लय, राग, रागिनी आदिको प्रादुर्भाव सरस्वतीबाटै भएकाले सात प्रकारको स्वरले माता सरस्वतीको स्मरण गर्ने परम्परा रहिआएको छ । 


  बुद्धि, ज्ञान र विद्याको रूपमा सारा संसारमा आफ्नो कृपाको प्रकाश फैलाउने सरस्वतीलाई श्रीपञ्चमीको दिन विद्यार्थीले माता सरस्वतीको पूजाअर्चना गर्ने परम्परा रहिआएको छ । ठाउँठाउँमा कालिगडले सरस्वतीको कलात्मक र सुन्दर मूर्ति बनाउन थालेपछि बाटो हिँड्ने जो कोही पनि एकछिन त्यो मूर्तिलाई नियाल्ने गरेका छन् । कालिगडको कलाकारिता देखेर मानिस अचम्मित हुने गर्छन् । 

रासस

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..