» » मलाई सिध्याउने योजना थियो (फरकमत)


–मातृका यादव
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक नियुक्ति गरेको विरुद्धमा माघ २२ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आमहड्तालको घोषणा गरेको थियो । आकस्मिक रुपमा आमहड्तालको घोषणा गरेपनि पूर्णरुपमा त्यो सफल भएको थियो । आमहड्तालका कारण देशभरिका यातायात, कलकारखाना, स्कूल, कलेज बन्द थियो । त्यसमा जनताको उत्साहजनक साथ र सहयोग थियो । 


बन्दको क्रममा ठाउँ ठाउँमा केही क्षति भएको छ । त्यसका लागि पार्टी नेतृत्वले क्षमा मागि सकेको छ । तर प्रदेश २ को राजधानी जनकपुरमा जुनखालको घटना भयो । त्यो एकदमै गम्भीर खालको थियो । सरकारले देशभरि एउटा नीति र जनकपुरको लागि अर्को नीति पक्कै बनाएको थिएन होला । 

प्रहरीले जसरी म लगायत त्यहाँका नेताहरुमाथि जाइ लागे त्यो पुरै सुनियोजित थियो भने कुरा प्रष्ट देखिन्छ । नत्र त्यो खालको झडप, त्यो खालको गतिविधि देशैभरि ठाउँ ठाउँमा देखिएको थियो तर प्रहरीले संयमता अपनाइएको देखिएको छ तर जनकपुरमा त्यस्तो संयमता अपनाइएको देखिएको छैन । पुरै योजनाबद्ध तरिकाले मलाई सिध्याउने गरी आएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी मधेशमा आफ्नो पकड बनाउन गुण्डा र अपराधीहरुलाई आफ्नो साथमा लिइरहनु भएको छ, अपराधी र अपराधलाई लुकाउने प्रयत्न गरिहनु भएको छ त्यसको शिकार मलाई पनि बनाउन खोज्नुभएको हो । मधेशबाट मातृका यादवलाई समाप्त गरेपछि बाटो क्लियर हुन्छ भनेर नै यो घटना गराइएको हो जस्तो मलाई लाग्छ । 

नेकपाका नेता रामचन्द्र झा एमालेमा हुँदा ओली प्रवृतिको कट्टर विरोधी हुनुहुन्थ्यो । म त शुरुदेखि नै ओली प्रवृतिको विरोध गर्दै आएको छु । उहाँको मन्त्रीपरिषद्मा हुँदापनि मैले ओली प्रवृतिको विरोध गर्दै आइरहेको थिए अनि मलाई झन किन बाँकी राख्नु । नेकपाले आमहड्तालको घोषणा गर्यो । म काठमाडौंमै थिए । आन्दोलनका लागि मेरो आर्क भक्तपुर तोकेको थियो । 

तर जब आमहड्ताल घोषणा भयो अनि म जनकपुतिर लागे । आमहड्तालका लागि प्रदेश २ पार्टीका साथीहरुले राम्रै तयारी गर्नुभएको थियो । जनकपुर प्रदेश २ को अस्थायी राजधानी पनि हो । त्यही प्रहरी प्रशासनको उपस्थिति पनि त्यस्तै छ । व्यपारीहरु पनि छन् जसको मनसाय बन्दमा पनि व्यपार भइरहोस् भने रहेको छ । जहाँको व्यपारीको पनि त्यस्तै सोच रहेको छ । 

ओली पक्षका नेताहरुले व्यपारीलाई पनि उक्साउने कि पसल खोल, व्यपार गर केही भयो भने त्यसको जिम्मा म लिन्छु भनेका रहेछन् । त्यहाँका डिएसपी मकेन्द्र मिश्रले पनि त्यही प्रकारको क्रियाकलाप गर्नुभएको कुरा पनि पार्टीका साथीहरुबाट रिर्पोटिङ भइरहेको थियो । हामी विहान शान्तिपूर्ण रुपमा जुलुस लिएर बजार तथा यतायात बन्द गराउँदैै शिवचौकमा पुगेका थियौं । त्यहाँबाट एउटा गाडी आइरहेको थियो । त्यसलाई हामीले रोक्न खोज्यौं । गाडीतिर हाम्रा साथीले बढ्नै लाग्दा प्रहरीले हस्तक्षेप गरे ।

त्यो हस्तक्षेपका कारण केही झडप जस्तो भयो । मैले आफ्ना पार्टीका कार्यतकर्ता तथा नेतालाई सम्झाउन थाले । उता प्रहरीलाई पनि गएर सम्झाउन थाले । असईको नेतृत्वमा प्रहरी थिए त्यहाँ । त्यतिबेलासम्म ठिक्कै थियो तर जब डिएसपी मकेन्द्र मिश्रा आउनुभयो र ठोक ठोक भन्दै गोली चलाउन निर्देशन दिनुभयो । उहाँले त्यस्तो भन्ने वित्तिकै प्रहरीहरु एग्रिसिभ भए । 

म मकेन्द्र मिश्रालाई गएर सम्झाउन थाले ‘तपाई यसरी जुधाउने काम नगर्नुस् । यसले कसैलाई राम्रो गर्दैन ।’ तर उहाँले मेरो कुरालाई कुनै वास्ता नगरी सिधै फाइरिङ गर्न लगाउनुभयो । त्यहाँको अवस्था हेर्दा त्यो पूर्वतयारीका साथ प्रहरीहरु त्यहाँ भेला भएका रहेछन् । टाढैबाट फाइरिङग गर्दै प्रहरी आए । आश्रुँ ग्यासको सेल पनि फ्याल्न थाले । 

आश्रुँ ग्यास सम्भवत टाढाबाट फ्यालिन्छ तर त्यो दिन नजिक नजिक गएर फ्याल्दै थिए । एकजना प्रहरी मेरो नजिक आएर आश्रु ग्यासको एउटा सेल मेरो तिघ्रामा नै हाने । एकछिन लाग्यो कि मेरा तिघ्रा भाँच्यो म यसरी छामे । ठिकै लाग्यो अनि पुनः म आन्दोलनमा सामेल भएका थिए । पछि तिघ्रामा लागेको चोट सहन नसकेर म अस्पताल पुगे । त्यतिबेलासम्म रामचन्द्र झा, उदय बरबरिया, कारी यादव, प्रदीप साहलगायत दर्जनौं साथीहरु घाइते हुनु भएको थियो । र उहाँहरु पनि अस्पतालमा भर्ना हुनुभएको थियो ।  

अस्पतालमा गएर मैले त्यहाँ घाइते भएर आएका साथीहरुको बारेमा जानकारी लिए । र, आफ्नो पनि चेकअप गराए । एक्स्रे गरेर हेरेपछि केही छैन भन्यो । त्यसपछि त मेरो आधा पीडा कम भयो । अनि म अस्पतालमै घाइते साथीहरुको बारेमा जानकारी लिन थाले । अरु घाइतेको बारेमा डाक्टरहरुसँग कुरा गर्न थाले । पछि विस्तारै रिङ्गटा जस्ता महसुस भयो । 

टाउको दुख्न थाल्यो । र तीघ्रा पनि दुख्न सुरु भयो । आश्रु ग्यासको धुँवा नाम, मुख हुँदै भित्रसम्म गएको थियो । त्यसको असर देखाइरहेको थियो । पछि पुरै थकावट महसुस हुन थाल्यो । अनि त्यहीको डाक्टरको सल्लाहमा अरु घाइते साथीहरु सबैजना जहाजबाट काठमाडौं आए । 

वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना भए । डाक्टरले फेरी एक्स्रे गरेर हेरे । केही छैन भन्यो । म घर फर्के तर एक दिनपछि तिघ्रा दुख्न थाल्यो । तिघ्रा सुनिन थाल्यो । डर लागेपछि हतार हतार नर्भिक अस्पताल भर्ना भए । अस्पतालमा डाक्टरहरुले उपचार गर्दा केही हुँदैन निको हुन्छ, चिन्ताको कुनै कुरा छैन भन्नुभयो । अहिले ठिक छ, डाक्टरले पुरै निको हुन एक दुई दिन लाग्छ भन्नुभयो । म अराम महसुस गरिरहेको छु ।

सुनियोजित घटना

प्रदेश २ अर्थात मधेशप्रति केपी शर्मा ओली कहिले सकारात्मक हुनु हुन्थेन । त्यो कुरा फेरी पुष्टि भएको छ । देशमा यस्तो घटना कही भएन प्रदेश २ को राजधानी जनकपुरमै किन भयो भन्ने कुरा सोचनीय छ । यो प्रदेश २ का उच्चस्तरीय प्रहरीको निर्देशन पनि होइन, सिधै प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रालयका सचिवलाई भन्न लगाएर यो घटना गर्न लगाउनुभएको हो । यो काम गृहमन्त्री रामबहादुर थापाको पनि होइन । उहाँ त बेचारा गृहमन्त्री हुनुहुन्छ । उहाँले केही गर्न सक्नु हुन्न । 

उहाँ ओलीको कार्यकर्ता भइसक्नु भएको छ । एकखालको ‘वींग्स’ छ, जसलाई तलदेखि माथीसम्म बनाएका छन् ती ‘वींग्स’ हरुले यस्तो काम गरिरहेको छ । ओली संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र पक्षधर होइन । अहिलेको परिवर्तनको पक्षधर नै होइन उहाँ । 

उहाँले प्रधानमन्त्री बन्नका लागि संविधान स्वीकार गर्नु भएको हो । गठबन्धन पनि प्रधानमन्त्री बन्नकै लागि स्वीकार गर्नुभएको हो । उहाँ आलोचना सहने मान्छे नै होइन, उहाँको आलोचना गर्ने व्यक्तिलाई उहाँले जसरी पनि सिध्याउन चाहनु हुन्छ । उहाँले मधेशमा आफ्नो बर्चस्व जमाउनका लागि त्यस्तै त्यस्तै मान्छेहरु भेला पारिरहनु भएको छ । मधेशमा मातृकालाई सिध्याइयो भने सबै कुरा आफ्नै हुन्छ भनि ठानेर सुनियोजित तरिकाले त्यो घटना गर्न लगाउनु भएको हो । 

कतिपय व्यक्तिले खासगरि काँग्रेस पार्टीले नेकपाको यो आन्तारिक विवाद हो । त्यही आन्तरिक विवादको कारणले यो सबै भएको हो भन्छन् तर यो पार्टीको आन्तरिक विवाद मात्र होइन । पार्टीको जुन विश्व दृष्टिकोण छ त्यसलाई स्वीकार्ने र नस्वीकार्नेमा विरोध छ । कम्युनिस्टको दर्शन, विचार, सँस्कार, सँस्कृति र राजनीतिको विरोधी हुनुहुन्छ केपी शर्मा ओली ।  तर हामीले पार्टीमा कम्युनिस्टको दर्शन, विचार, सँस्कार, सँस्कृति, आर्थिक दर्शन र राजनीति लागु होस् भनि चाहेको तर ओलीले त्यसलाई मन पराउनु भएन । 

उहाँले प्रधानमन्त्री बन्नका लागि संविधान स्वीकार गर्नु भएको हो । गठबन्धन पनि प्रधानमन्त्री बन्नकै लागि स्वीकार गर्नुभएको हो । उहाँ आलोचना सहने मान्छे नै होइन, उहाँको आलोचना गर्ने व्यक्तिलाई उहाँले जसरी पनि सिध्याउन चाहनु हुन्छ । उहाँले मधेशमा आफ्नो बर्चस्व जमाउनका लागि त्यस्तै त्यस्तै मान्छेहरु भेला पारिरहनु भएको छ । 

यसरी तयार भयो ओली प्रवृति

ओली त्यतिकै ओली बनेको होइन । अहिलेको ओली बन्नुमा अरु नेताहरुको पनि हात छ । त्यसैले ओली प्रवृतिको विरोध गर्दा यो स्थिति आएको हो । ओलीलाई कुर्सीमा पुर्याउँदासम्म केही भएन तर जब त्यसको विरोध भयो अनि उहाँले जनताको धरोहर संसदलाई पनि ध्वस्त गर्नुभयो । संविधानलाई पनि कुल्चनुभयो । सबैको मानमर्दन गर्नुभयो । देशमै उथलपुथल ल्याउनुभयो । त्यसैको लडाई अहिले भइरहेको छ । तर नेताहरुको केही कमजोरीका कारण ओलीले भ्रम फैलाउन थाल्नुभयो कि पार्टीको आन्तारिक विवादले यो घटना भएको हो । 

अध्यक्ष प्रचण्डले देशका लागि प्रचण्ड भएर सोचि दिनुपर्यो । उहाँका नजिकका मान्छेहरुले उहाँलाई पुष्पकमल दाहाल बनाउन खोज्नु भएको छ । उहाँ प्रचण्ड बन्नु पथ्र्यो । आज उहाँ प्रचण्ड बनोस् आधा समस्या समाधान हुन्छ । माधव कुमार नेपाल एमाले होइन, संघीय लोकतन्त्र गणतन्त्रवादी बन्न पर्यो अनि आधा समस्या हल हुन्छ । 

संशोधनवादीसँग एकता गर्ने कि क्रान्तकारीसँग एकता गर्ने ? एकता कोसँग गर्ने त्यो मेरो प्रश्न हो । एकताकै नाममा ओलीको सबै अपराधलाई छोप्ने काम भएको छ । र, आज जुन परिणामहरु देखिदैछन् ती सबै त्यसैको परिणाम हो । स्थायी कमिटीबाट महासचिव विष्णु पौडेलको नेतृत्वमा एउटा समिति बनेको थियो । त्यो समितिले दिएको प्रतिवेदनले नै ओलीको सबै अपराध ढाकछोप भएको हो । 

मैले त्यतिबेला नै भनेका थिए ओलीको अपराधको ढाकाछोपको दस्तावेज हो यो, रुपान्तरणको दस्तावेज होइन र आज त्यो कुरा पुष्टि भएको छ । एकता त क्रान्तकारीको बीचमा हुनुपर्छ, अवसरवादीहरुको बीचमा हुनुहुँदैन । कही नकही हामी बीचमा पनि स्वार्थ देखिएको छ । जुनबेला पनि कुर्सीका लागि तछाड मछाड गर्ने नेताको नाम बेचेर खाने, नेताहरुलाई घुर्काउने, नेताहरुको दिमाग खराब गरिदिने र आफ्नो स्वार्थ पुरा गर्ने प्रवृति जहाँ पनि देखिएको छ । यी प्रवृतिले गर्दा ओली बलियो भएका छन् । 

यो प्रवृतिमा नफँसेर सुरुमै ओलीमाथि अविश्वास लगाई दिएको भए के विग्रिन्थ्यो । ओलीले शुरुदेखि गल्ती गरिरहनु भएको छ भने कुरा सबैलाई थाह थियो तर किन लुकाएर राखे, किन बाहिर ल्याएन जब ओली बलियो हुनुभयो त्यसपछि त्यो कुरा ल्यायो अनि यो समस्या आएको हो । त्यसैले ओली प्रवृतिको अहिले सबैतिरबाट खबरदारी भइरहेको छ अहिले आन्दोलन शुरु नै भएको छैन । तर ओलीले खबरदारीले सुन्नुहुन्न । ओलीलाई जनताले खबरदारी गरिरहेको छ, तैपनि सुध्रिनु भएन भने ज्ञानेन्द्र जस्तो हात हुन्छ । 

प्रचण्ड–माधव पक्षमा बहुमत छ, संविधान पनि सोही पक्षमा छ तैपनि लडाई जित्न सकिरहेको छैन किन ?

ओली प्रवृतिलाई शुरुदेखि नै आश्रय दिने काम भइरहेको थियो । केपी ओलीले भित्रभित्रै सबै काम गरिरहनु भएको थियो । उहाँकै भाषामा भन्ने हो भने उहाँले सबै सेटिङ्ग मिलाइरहनु भएको थियो तर यता (प्रचण्ड–माधव समूह) बाट केही गर्न सकिरहेको थिएन । आजको त्यही नतिजा हो ।

 निर्वाचन आयोगमा उहाँले नियुक्त गर्नुभएको छ, त्यो व्यक्ति कसको हितमा काम गर्छ आफै भन्नुस् न । अख्तियारमा नियुक्ति गर्नुभएको छ त्यो कसको इशारामा काम गर्छन् आफै बुझ्नुस् । अर्थात प्रधानमन्त्री ओलीले धेरै पहिलादेखि यो योजना बनाउँदै आउनु भएको थियो र अहिले आएर त्यसलाई परिणाम दिनुभएको छ ।  

संसद पुनःस्थापना

संसद पुनःस्थापना भएपछि संविधानमा अहिलेदेखि त्रुटीहरु सच्चिने छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर संविधानलाई घाइते बनाउनु भएको छ । ती घाइते संविधानलाई जिवित बनाउनका लागि संसद पुनःस्थापना बाहेक अरु कुनै विकल्प छैन । यदि संसद पुनःस्थापना भएन भने देश मुठभेडतिर जान्छ । आज संसद विघटनको घटनालाई नजर अन्दाज गर्दै चुनावमा सहभागी भयो भने भोलीका लागि नजिर बन्छ र प्रधानमन्त्री ओली वा अर्को कुनै प्रधानमन्त्रीले अर्को कदम पनि चाल्न सक्छ त्यसैले प्रधानमन्त्री ओलीले चाल्नु भएको कदमलाई सच्याउनुपर्छ । 

संसद पुनःस्थापनाले सबै समस्या समाधान हुँदैन तर संविधानलाई बचाउन सकियो भने पुनः त्यही बिन्दुबाट अगाडि बढ्न सकिन्छ । संसद पुनःस्थापना भएन भने देश यस्तै अवस्थामा रहदैन किनभने चुनाव त पंचायतकालमा पनि भएको थियो । सबै निरकुंश शासकले चुनाव गराउँछन् तर त्यो चुनाव कस्तो हुन्छ, त्यो कुरा सबैलाई थाह छ । 

(सहारा टाइम्सले नेकपा (प्रचण्ड–माधव समूह) का स्थायी कमिटी सदस्य मातृका यादवसँग गरिएको कुराकानीमा आधारित)


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..