» » ओली नेतृत्वको सरकारलाई सरापेर गलाउने

सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा खटपट भएको मौकामा जनता समाजवादी पार्टी नेपालले सरकारलाई सराप्न थालेको छ । 

त्यो पार्टीका नेताहरुले नेकपा र त्यो पार्टीको नेतृत्वमा रहेको सरकारलाई दैनिक रुपमा सरापी रहेका छन् । ओली नेतृत्व सरकारको विकल्प खोज्नुपर्ने भन्दै आएका छन् । 

जसपा नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले नै सबभन्दा बढी प्रधानमन्त्री ओलीको विकल्प खोज्न थाल्नु भएको छ । उहाँले आफ्नो ट्वीटरमा लेख्नु भएको छ, “नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होलासउसैले छिनोफानो गरोस् । तर केपी ओली सरकारको दुष्कर्म र अकर्म आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको बिषय हुनाले यी मुद्दामा संसद अधिवेसन बोलाएर छलफल गर्ने किः १.कोरोना २. अर्थतन्त्र ३. संघीयता ४. भ्रष्टाचार ५. विदेश सम्बन्ध ६. अन्य !” 

डा.भट्टराईले नोभेम्बर १८ मा एउटा अर्को ट्वीट लेख्नुभयो, “नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य र जनताका मुद्दा प्रतिपक्षी दल र जनताले उठाउनै पर्छ हैः १.राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन २. ओली सरकारको असफलता र भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ ।” त्यति मात्र होइन, त्यसपछि पनि उहाँले अ‍ोली नेतृत्वको सरकारलाई पटक पटक प्रहार गर्दै आउनु भएको छ । 

अध्यक्ष भट्टराईजस्तै अन्य नेताहरुले पनि सरकारको आलोचना गरिरहेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले स्वयंले ओली नेतृत्व सरकारको नेतृत्व खोज्नुपर्ने बताइसक्नु भएको छ । अध्यक्ष यादव पनि ओली नेतृत्वको सरकारमाथि आक्रमक हुनुभएको छ । ओली सरकारको विकल्प खोज्नुपर्छ भने कुरा उहाँले पटक पटक उठाउनु भएको छ । समाजिक सञ्जालदेखि अन्य औपचारिक मञ्चहरुबाट अ‍ोली नेतृत्वको सरकारको आलोचना गरिरहनु हुन्छ । 

बोलीले सरकार नगलेपछि जसपा नेपालले सो सरकारको विरुद्ध सडक सघर्ष गर्ने तयारी पनि गरिरहेको छ । प्रदेश २ का प्रदेशसभा सदस्य तथा जसपाका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले आन्दोलन गर्ने निर्देशन केन्द्रबाट आइसकेको र त्यसका तयारी भइरहेका बताउनुभयो । शुरुमा भातृ संगठनहरुले आन्दोलन गर्नेछ भने पछि सो आन्दोलनको नेतृत्व केन्द्रले गर्नेछ । 

शुरुको चरणमा पार्टीका भातृ संगठनलाई परिचालन गरेर जिल्ला जिल्लामा आन्दोलनको शुरु गर्नेछ त्यसपछि त्यसले पिकअप लिएपछि केन्द्रीय तहले त्यसको नेतृत्व लिएर अगाडि बढ्नेछ । 

यत्रो दिन कोरोनाका कारण आफूहरुले आन्दोलन नगरेकै हो, उहाँले भन्नुभयो, राष्ट्रियताका लागि भइरहको संघर्ष तथा कोरोना महामारीको बेला आन्दोलन गर्यो भने सरकारको असहयोग भयो भने र जसपाको उल्टै आलोचना हुन्थ्यो । त्यो सम्झेर जसपा नेपालले केही गरेन तर अब चुप लगाएर बस्दैन ।’ 

नेकपा नेतृत्वको सरकारले कोरोना महामारीबाट जनतालाई राहत दिन नसकेको, भ्रष्टाचारमा लिप्त भएको, संसदलाई बन्धक बनाएको, पार्टीका कार्यकर्ता तथा नेताहरुलाई झुठा मुद्दामा फँसाएको, संविधान संशोधन नगरेको कारण जसपा नेपालले आन्दोलन गर्ने तयारी गरिरहेको सांसद यादवले बताउनुभयो ।   

ओली सरकारको असफलताका कारण संघीय लोकतान्त्रिक गणतन्त्रप्रति राजावादी र संघीयता बिरोधी चलखेल शुरु भएको आरोप लगाउँदै उहाँले परिवर्तन र संघीयता नचाहनेहरुको बिरोधमा र मधेश  विद्रोहबाट प्राप्त संघीयताको रक्षार्थ  जनता समाजवादी पार्टीका युवार विधार्थीहरुका लागि सडक संघर्षबाहेक अर्को कुनै विकल्प नरहेको बताउनु भयो । 

स्रोतका अनुसार आन्दोलन गर्नका लागि केन्द्रबाट भातृ संगठनहरुलाई निर्देशन गइसकेको छ । यही आन्दोलनलाई अगामी निर्वाचनसम्म लगिने योजना जसपा नेपालको रहेको छ । नेकपामा विवाद चलिरहेको छ । त्यसको फाइदा जसपा नेपालले उठाउन चाहेको छ । 

नेकपा नेपाल विभाजन भयो भने ओली नेतृत्वको सरकार ढल्छ । त्यसपछि बन्ने नयाँ सरकारका लागि हुने खेलमा जसपा नेपाल पनि सहभागी हुनेछ । नेकपा नेपाल विभाजन भयो भने संयुक्त सरकार बन्छ त्यसबेला काँग्रेस र जसपा नेपालको खोजी हुनेछ । त्यसैको माहोल बनाउनका लािग जसपा नेपाल आन्दोलनमा जाने तयारीमा लागेको स्रोतले दावी गरेको छ । 



About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..