» » दाउपेचले मुख्यमन्त्री पद जोगाउँदै लालबाबु

प्रदेश २ मा मुख्यमन्त्री परिवर्तन हुने चर्चा अझै सेलाएको छैन । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल बीच एकीकरण भएपछि सबभन्दा बढी चर्चा मुख्यमन्त्री भएको छ । अहिले सबैको नजर मुख्यमन्त्रीमा नै रहेका छन् । मुख्यमन्त्री बन्ने लालसा धेरैले पालेका छन् तर लालसा अहिलेका मुख्यमन्त्री लालबाबु राउतले पुरा हुन दिने पक्षमा हुनुहुन्न ।

जो संसदीय दलका नेता हुन्छन्, त्यही मुख्यमन्त्री हुने संविधानमा व्यवस्था छ । संसदीय दलको नेता चयन गर्ने वित्तिकै मुख्यमन्त्री फेरिने चर्चा शुरु हुन्छ । लालबाबु राउतलाई आफू पुनः मुख्यमन्त्री हुने कुरामा रतिभर विश्वास छैन त्यसैले उहाँले समायोजन प्रकृयालाई आलटाल गरिरहनु भएको छ । 

मुख्यमन्त्रीको दावी गर्ने प्रदेश २ का प्रदेश सांसदहरु दौडधुपमा लागेका छन् । सासदहरु शीर्ष नेताहरुको घरदैलोमा धाइ रहनु भएको छ तर दलको समायोजन कहिले हुने कुनै कुराको टुगों लागेको छैन । समायोजनका लागि केन्द्रबाट पठाएका पत्र मुख्यमन्त्री लालबाबु राउतको हातमा पुगि सकेको छ तर उहाँले त्यसलाई अगाडि बढाई रहनु भएको छैन । केन्द्रले प्रदेश सांसद प्रमेश्वर साहको हातबाट प्रदेशको समायोजनका लागि पत्र पठाएको थियो । प्रमेश्वर साहले सो पत्र प्रदेश सभाका सभामुख सरोज राय यादवको हातमा दिनुभएको थियो । सभामुख यादवले सो पत्र मुख्यमन्त्री राउतलाई दिनुभएको थियो । र, मुख्यमन्त्री राउतले सो पत्र गोजीमा राखेर चुपचाप बसि सक्नु भएको छ ।

जसपा नेपाल बनेपनि संघ र प्रदेशमा संसदीय दल छुट्टा छुट्टै रहेका छन् । समाजवादी पार्टी र राजपा नेपाल मिलेर जसपा नेपाल बनेको कुरा साउन १२ गते राजपत्रमा सूचना पनि प्रकाशित भइसकेको छ । राजपत्रमा सूचना प्रकाशित भएपछि त्यसलाई कानुनी रुपमा आधिकारिक मानिन्छ । कानुनले अब समाजवादी पार्टी  र राजपालाई होइन कानुनले जसपालाई मात्र चिन्दछ । कानुनले एउटा पार्टी देखाएपनि संसदीय दलमा दुई फरक पार्टीले सेवा सुविधा लिइरहेका छन् । दुई दुई ठाउँमा संसदीय दल राखेका छन् । 

पार्टी एउटै तर संसदीय दल दुई ठाउँमा छन् एउटै दलका दुईजनाले सुविधा लिइरहेका छन् । 

जसपा नेपालका कार्यकारिणी समितिका सदस्य एवं सांसद लक्ष्मणलाल कर्णले जसपा नेपालले संसदमा दोहोरो सुविधा नलिएको बताउनुभयो । संसदीय दलको नेतालाई कुनै सुविधा दिएको छैन । प्रमुख सचेतकलाई मात्र सुविधा दिएको छ । दुईजना प्रमुख सचेतकमध्ये आफू एउटा समितिको सभापतिमा रहेको बताउँदै उहाँले त्यहाँबाट मात्र सेवा सुविधा लिइरहेको बताउनुभयो । जसपा नेपालको तर्फबाट तत्कालिन समाजवादी पार्टीका प्रमुख उमाशंकर अरगरियाले मात्र सुविधा लिइरहनु भएको उहाँले बताउनुभयो । 

प्रदेश २ मा पनि तत्कालिन समाजवादी पार्टी र राजपा नेपालको छुट्टा छुट्टै संसदीय दलका कार्यालय रहेका छन् । दुवै पार्टीले सेवा सुविधा लिइ रहेका छन् । एउटै पार्टी भएपछि संसदीय दल पनि एउटै हुनुपर्छ तर जानी जानी त्यसलाई लम्ब्याउने प्रयास भइरहेको गुनासो प्रदेशसभा सदस्यहरुको रहेको छ । जो सरकारमा मन्त्री छैनन् ती सांसदहरु मन्त्री हेरफेरका लागि दौडधुप गरिरहेका छन् । 

तत्कालिन राजपा नेपालको तर्फबाट संसदीय दलको नेता जितेन्द्र सोनल बन्नुभएको थियो । अहिले उहाँ प्रदेश २ का भौतिक विकास तथा पूर्वाधार मन्त्री रहनु भएको छ । समाजवादी पार्टीको तर्फबाट लालबाबु राउत संसदीय दलका नेता बन्नुभएको थियो । उहाँले अहिले मुख्यमन्त्री हुनुहुन्छ । 

निर्वाचन आयोगले तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बीच एकीकरण भएको जानकारी प्रदेश २ का प्रदेश सभा सचिवालयलाई पठाएको छ । बैशाखमा एकीकरण भएको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । निर्वाचन आयोगले साउनमा सो पार्टी दर्ता गरेको थियो । साउनमा दर्ता भएको पार्टीको बारेमा असोज ३० गते जानकारी गराएको छ । 

समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएको जानकारी जसपा नेपालले पनि प्रदेश २ सरकारलाई गराएको छ । निर्वाचन आयोगमा दर्ता हुने वित्तिकै जसपा नेपालले प्रदेश सरकार तथा त्यहाँको पार्टीलाई जानकारी पठाएको थियो । सोही जानकारीको आधारमा त्यहाँको संसदीय दललाई पनि समायोजन गर्नुपथ्यो तर त्यहाँको मुख्यमन्त्री, मन्त्री तथा सभामुखहरुको आआफ्नो स्वार्थका कारण समायोजन प्रकृया अगाडि बढाएको छैन । 


About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..