» » कृषि तथा अर्थतन्त्रमा छठको महिमा


–सुनैनाकुमारी यादव

यसपालीको छठको कोरोना महामारीको बीचमा सम्पन्न हुन गइरहेको छ । छठ मात्र होइन, नेपालका अन्य मुख्य पर्वहरु कोरोना महामारीकै बीचमा मनाउनु पर्यो । रामनवमी, फगुवा, चैती छठ, जितिया, चौरचन, नागपुजा, मच्छिन्द्र नाथ रथ यात्रा, तीज, शिवरात्री, कृष्ण जन्मअष्टमी, इन्द्रजात्रा, दशैं, तिहार, छठ लगायत सबै पर्व कोरोना महामारीकै बीचमा मनाउनु पर्यो । 


मानिसको लागि यो बाध्यता भयो । चाडपर्व, कालासँस्कृतिलाई पनि यो कोरोना महामारीले प्रभावित पारेको छ नै । देशै तिहारमात्र देशमा अर्बौको कारोवार हुन्थ्यो । छठमा पनि त्यस्तै कारोवार हुन्थ्यो तर यसपटकको अवस्था त्यस्तो भएन । मानिसका सबै गतिविधि आर्थिक सामाजिक सम्बन्धमा आधारित हुन्छन् । 

विश्वभरिका मानिसहरूले मनाउने चाडपर्व सबै अर्थतन्त्रको हिस्सा बन्न पुग्छ । मानिसले परिवर्तन भइरहने मौसमका आधारमा अपनाउने गतिविधि मानिसहरूको जीवनशैली बनिरहेको हुन्छ । कतिपय जीवनशैली सामयिक हुन्छ भने कतिपय जीवनशैली परिवर्तित सन्दर्भमा विकसित भई दोहेरिरहेको हुन्छ । यसै आधारमा दशैं, तिहार र छठजस्ता पर्व पनि अर्थतन्त्रको हिस्सा बन्न पुग्छ । 

यस्ता धार्मिक सांस्कृतिक पर्वहरूमा पनि समाज विकाससँगै शैलीगत परिवर्तन भइ आएको पाइन्छ । छठ पर्व नेपाल, भारतको मिथिला र भोजपुरा क्षेत्रबाट विकसित हुँदै विश्वका विभिन्न देशमा मनाइने गरिएको पाइन्छ । नेपाल र भारतका विभिन्न प्रदेशलगायत मरिसस, फिजी, दक्षिण अफ्रिका, ट्रिनिडाड टोबागो गुएना, सुरिनाम, जमैका, अमेरिका, बेलायत, आयरल्यान्ड, अस्ट्रेलिया, न्युजील्यान्ड, मलेसिया, मकाउ, जापान र इन्डोनेसियामा पनि मनाउने गरिएको पाइएको छ । सूर्यको पूजासम्बन्धी श्लोक ऋग्वेदमा पाइन्छ भने महाभारत कालमा द्रौपदीले छठ पर्वको व्रत लिएको सन्दर्भ उल्लेख गरिएको पाइन्छ । द्रौपदीले पाण्डवहरूलाई राज्य फिर्ता पाउन साधु धौम्याको सल्लाहमा यो पर्व गरेको भनिएको छ ।

यसैगरी रामायण कालमा पनि रामले लंका जितेपछि छठ पर्व सीताले गरेदेखि यसको विस्तार भएको कथन पनि रहेको छ । सूर्य पुराणमा पनि यसको उल्लेख छ । 

नैमिषरण्यमा सर्वशास्त्रका ज्ञाता शौनक मुनिले सुतजीसँग मानिसहरूको दुःखकष्टको निवारणको उपायबारे सोध्दा छठ पर्व गर्न भनिएको उल्लेख छ । वैदिक धार्मिक सम्बन्धका आधारमा यसको जेजस्तो महत्व भएपनि यो कृषिमा आधारित समाजको विकास भएपछि सबै किसिमको कृषि उपजको प्रयोग गरी मनाउन थालिएको पर्वको रूपमा छठ पर्वको विकास भएको कतिपयको विश्वास छ । छठ पर्वमा पूजाका लागि संकलन गरिने सामग्रीहरूलाई हेर्दा यो सहजै पुष्टि हुन्छ ।

 डा. राजेन्द्र विमलद्धारा लिखित मिथिलाको इतिहास, संस्कृति र कला परम्परा नामक पुस्तकमा छठ पर्वलाई आर्यहरूको सूर्य उपासना परम्पराको एक अंग भनिएको छ । सो पुस्तकमा यो पर्व अत्रि मुनिकी पत्नी अनुसुयाले व्रत गरेको पनि उल्लेख छ ।

यो पर्व चार दिनसम्म मनाइन्छ । कातिक शुक्ल चौथी तिथिदेखि सप्तमी तिथिसम्म यो पर्व मनाउने गरिएको छ । चौथी तिथिमा व्रतालु महिला पुरूषले आफूलाई चोखो बनाई अरबा चामलबाट बनेको खाना खाई संकल्प लिने गर्छन् । 

पञ्चमी तिथिको सन्ध्याकालमा गुड भेलिमा पकाएको खीर र फलफूलको प्रसाद अर्पण गरी खरनाको उपवास भंग गर्ने गरिन्छ । पञ्चमी तिथिको बेलुका उपवास भंग गरेयता सप्तमी तिथिको प्रातः कालिन पूजा नसकेसम्म निर्जला उपवास बस्ने गरिन्छ ।

 षष्ठी तिथिको सन्ध्याकाल अस्ताउँदो सूर्यको पूजा अर्चना गरिन्छ भने सप्तमी तिथिको प्रातः काल उदाउँदो सूर्यको पुजा अर्चना गरि व्रत सम्पन्न गरिन्छ । व्रत सम्पन्न गरेपछि प्रसाद ग्रहण गरी नियमित भोजन खाने कार्यलाई परना भनिन्छ । 

यो पर्व मनाउन षष्ठी तिथिका दिन ६० वस्तुहरूको संख्या पु¥याउनु पर्ने विधान छ । यो सँख्या पुग्यो वा पुगेन भने त्यसको ठाउँमा गम्हरी नामको चामल राखे पुग्ने पनि जनश्रुति विद्यमान छ । यसका आधारमा कुनै वस्तु कम भयो होला कि भनेर गम्हरीको चामल पनि राख्ने चलन छ । 

यो पर्वमा गहुँको पीठो, नरिवल, किसमिस, दाल चिनीजस्ता मसला, घीउ, चीनी, भेलिको समिश्रणबाट बनाइएको ठकुवा, खजुरी आदि बनाइन्छ । चामलको पीठोबाट भुसुवा, मैदा सुजीको समिश्रणबाट पेरूकिया जस्ता मिठाई बनाइन्छ । 

बाँस र माटोका भाँडोहरूमा यी मिठाइसँगै विभिन्न प्रकारका फलफूल, बेसारको गाँठी, अदुवा, विभिन्न प्रकारका तरकारी, मूला, गाजरलगायतका वस्तु राखिन्छ । माटोको गाग्री, साना, ठूला मझ्यौला खालका माटाका भाँडाहरूमा यी वस्तुहरूलाई राखिन्छ । गाग्रीलाई कुरूवार, ढकना सरवा भनिन्छ । बासको ढाकी, कनसुप्ती, कोनिया, नाङ्लोमा पनि यी वस्तुहरू राखिन्छ । 

यसरी हेर्दा मौसम अनुसार प्राप्त हुने प्रायःजसो सबै कृषि उपजको प्रयोग यस पर्वमा हुने गर्छ । छठ पर्वको विस्तार विन्दुहरूको संयोजनबाट विशाल वृत्तको निर्माण जस्तै भइहेको छ । मानिसको जनसँख्या र यो पर्वप्रतिको आकर्षणले गर्दा नेपाल भारतमा मात्रै होइन, विश्वभरि फैलिन लागेको छ ।

यसको धार्मिक सांस्कृतिक महत्व जेजस्तो भए पनि यसको आर्थिक पक्ष र पर्यावरण संरक्षणको दृष्टिले पनि विस्तार भईआएको छ । वर्णव्यवस्थामा आधारित अर्थतन्त्र अहिले परिवर्तन भएर गएको छ । पहिला पहिला यो पर्वलाई सम्पन्न गर्न विभिन्न समुदायको सहयोग आवश्यक हुन्थ्यो । 

अनि उनीहरूले त्यो सहयोगबापत आर्थिक उपार्जन गर्न पाउँथे । चोखो हुने दिन नाउको परिवारले आआफ्ना यजमान (ग्राहक) को कपाल दाढी काट्ने, नंग काट्ने गर्थे । मालीले फूल दिने गर्दथ्यो । डोमहरूले बाँसका सामग्री दिने गथ्र्यो, कुम्हालेले माटाका भाँडा दिने गथ्र्यो । यी सबैको साटो यजमानहरूबाट उनीहरूले धानजस्ता अन्नबाली पाउँथे । 

समाजबाट वस्तु साटफेरको चलन हटेपछि उनीहरूले त्यही अनुसारको नगद पाउने गर्दथे । अहिले यो सबै परिवर्तन भई व्यापारको रूप लिएको छ । यसले चाडपर्वको अर्थतन्त्र निर्माण गरेको छ । यो पर्वमा विभिन्न नेपालमा मात्र प्रारम्भिक अनुमान अनुसार ५ अर्बभन्दा बढी खर्च हुने गरेको छ तर यसपटक कोरोनाका कारण त्यसमा ह्रास आउने निश्चित छ । 

यो तराई मधेशको कुल जनसंख्याको एक चौथाई प्रत्यक्ष वा परोक्ष रूपमा यो पर्व मनाउँछन् । वैदिक कालमा यो आस्थाको आधारमा मनाउन चलन भए पनि अब यो देखा सिकीले पनि मनाउन थालिएको छ । यसले अहिले अर्थतन्त्रलाई प्रभाव पार्छ । यो पर्वमा सहभागी हुने सबैले व्रत बस्ने गरेको पाइँदैन । 

एकजना व्रतालुले आफूसमेत १० देखि २० व्यक्ति वा घरपरिवारको प्रसाद सूर्यलाई अर्पण गर्छन् । यसरी हेर्दा कम्तीमा २५ लाख मानिसको सहभागिता यो पर्वमा हुन्छ । औसत एक अर्घको मूल्य न्यूनतम ५०० रूपैयाँ मात्र राख्ने हो भने नेपालमा अहिले ५ अर्ब बराबरको खर्च हुन्छ । 

यसपटक कोरोनाका कारणले कतिपयले पर्व नमाउन सक्छ भने कतिपयले मनाए पनि त्यति खर्च गर्न सक्दैन । कोरोनाका कारण हरेक व्यक्तिको आर्थिक अवस्थामा असर गरेको छ । त्यसले गर्दा खुलेर खर्च गर्न सक्दैन । छठबाट हुने खर्चमा ह्रास आउनसक्छ जसरी यसअघिको दशैं र तिहारमा भएको थियो । आर्थिक क्षेत्रको विश्लेषणलाई अध्ययन गर्ने हो भने विगतको भन्दा दशैंतिहारको व्यपारमा ठूलो गिरावट आएको छ । र, त्यही अनुपातमा छठको अर्थतन्त्रमा गिरावट आएको छ ।

यद्यपी जेजस्तो भएपनि छठ जस्ता महान पर्वले गर्दा भएको अर्थतन्त्रको चलायमनले समुदायका विपन्न समुदायका लागि आम्दानीको स्रोत बन्न पुग्नु राम्रो पक्ष हो । यसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्छ । तर यसको दुर्बल पक्ष भनेको गरिबहरूलाई ऋणगरी पर्व मनाउन बाध्य पार्ने मनोवैज्ञानिक असर हो । आस्थाका आधारमा यसलाई मनाउनु राम्रो हो तर बाध्यता र परिबन्दमा परी मनाउने परिपाटी अर्थतन्त्रको अर्को पक्षबाट नराम्रो हुन सक्छ । 

छठ पर्वमा गाइने परम्परागत गीतहरूको चलन पनि हराइरहेको छ । विभिन्न गायक गायिकाहरूले गाएका छठ पर्वका गीतहरूको एल्बमलाई डिजिटल डिभाइसमा बजाउने गरिन्छ । यसले छठ पर्व सूचना प्रविधिको विकाससँग जोडिएको छ । यो पर्वको सम्बन्ध अब अनलाइन सपिङसँग पनि जोडिन पुगेको छ । 

ग्रामिण क्षेत्रमा बाँस र माटोको सामग्रीहरूको उपलब्धता सहजै हुन्छ । तर सहरहरूमा यसको उपलब्धताका लागि अनलाइन सपिङबाट सेवा उपलब्ध गराउने गरिएको छ । विभिन्न अनलाइन सपिङ कम्पनीहरूले चोखो परिकार बनाउन चाहिने चूलो, कोसिया कुरूबार, बाँसका डालाहरूको बिक्री भइरहेको जनाउ दिइरहेका छन् । अनलाइन सपिङले छठ पूजा सामग्रीहरूको सेवा दिन थाल्नुले यसको बढ्दो लोकप्रियतालाई सहजै अनुमान लगाउन सकिन्छ । यसले छठ पर्वलाई डिजिटल इकोनोमीमा जोड्न थालेको छ ।


About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..