» » जसको लक्ष्य स्पष्ट हुन्छ उसले मात्र पाउँछन् सफलता


पियनका लागि प्रयास गर्दा रामकुमार यसरी हुनुभयो सहसचिव

‘पियनदेखि सहसचिवसम्मको यात्रा । राष्ट्रसेवाको लागि पद मात्र ठूलो कुरा होईन । निष्ठापूर्वक सेवा र परिश्रम गर्दै गयो भने पद, प्रतिष्ठा र अवसर खोजी रहनु पर्दैन, आफैं आउँदो रहेछ । त्यतिबेला मसँग एसएलसीको सर्टिफिकेट मात्र थियो, अहिले ४ वटा बिषयमा मास्टर्स (अर्थशास्त्र, समाजशास्त्र राजनीतिशास्त्र र जनप्रशासन ) र एलएलबी गरी सहसचिव पदमा नियुक्त भएको छु । लोक सेवा आयोगप्रति हार्दिक आभार र उच्च सम्मान प्रकट गर्दछु । 

पथ प्रदर्शक र सुभेच्छुक सबैप्रति आभारी छु । देशको सेवा गर्ने महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको छ । निष्ठापूर्वक सेवामा समर्पित हुने नै छु ।’


जेठको अन्तिमतिर निजामती सेवाको सहसचिवमा नाम निकालेपछि रामकुमार महतोले आफ्नो फेसबुकमा यस्तो लेख्नु भएको हो । २०५७ सालमा पियनका लागि लोकसेवा आयोगमा दरखास्त दिँदा उहाँले सोच्नु भएको थिएन कि यति चाँडै सहसचिव बन्छु । 

केही नकेही गर्ने लक्ष्य उहाँमा थियो, निरन्तर सफलताको खुड्किला चढ्दै जानुभयो, लक्ष्य प्राप्तिको धुनमा उहाँले पछाडी फर्केर कहिले हेर्नु भएन आज उहाँ सहसचिवमा नाम निकालेपछि समाजिक सञ्जालदेखि प्रत्यक्ष भेटेर वा अन्य माध्यमबाट उहाँलाई बधाई दिनको ओइरो लागेको छ । 


त्यसरी ओइरो लाग्नुको एउटै कारण हो, उहाँको लगनशिलता र मेहनत । 

लोकसेवा आयोगका जुनुन

उहाँ एसएलसी पास गर्ने बित्तिकै लोकसेवा आयोगको तयारीमा जुट्नु भएको थियो । एसएससी पास गरेपछि अरुहरुले उच्च शिक्षाका लागि कुन कलेज पढ्ने, कहाँ पढ्ने, के पढ्ने भनि खोजीमा लाग्छन् तर रामकुमार महतो लोकसेवाको किताब लिएर अध्ययनमा लाग्नुभयो । र, एसएलसीको सर्टिफिकेटबाट उहाँले पियनमा महोत्तरीको जलेश्वर गएर फर्म भर्नुभयो । 

संयोग त्यसको नतिजा आएन । उहाँ त्यतिकैमा रोकिनु भएन । त्यसपछि उहाँले खरिदारको लागि फर्म भर्नुभयो । अर्थात शुरुदेखि नै उहाँले आफ्नो खुट्टामा उभिने जुन प्रयास देखाउनु भएको थियो, आजै त्यसैको नतिजा हो उहाँ नेपाल सरकारको एउटा कर्मचारीको रुपमा नीति निर्माणको तहमा पुग्नुभएको छ । 

सहसचिवमा नाम निस्केपछि उहाँ आफै आश्चर्यमा पर्नुभएको थियो । उहाँ उपसचिवको तयारीमा हुनुहुन्थ्यो तर उहाँको योग्यता सहसचिवका लागि पनि पुगि सकेको थियो तर उहाँ उपसचिव हुँदै सहसचिवमा जाने योजनामा थियो । उपसचिवका लागि उहाँले तीनपटक परीक्षा दिइसक्नु भएको थियो र तीनैपटक असफल हुनुभएको थियो । शाखा अधिकृतमा जागिर खाएको आठ वर्ष पुगि सकेको थियो । 

योग्यता पुगेको कारण उहाँले सहसचिवमा पनि ट्राइ गरौन भनि परीक्षा दिनुभएको थियो । सहसचिवमा परीक्षा दिएपछि उहाँले चौथोपटक उपसचिवमा पनि परीक्षा दिनुभयो तर शुरुमा सहसचिवको रिजल्ट आयो र उहाँ पास हुनुभयो ।

पास भएपछि उहाँलाई आफैलाई पत्याउन गाह्रो भइरहेको थियो । तर सत्य जे थियो त्यही भयो । सहसचिव पद मात्र एउटा यस्तो पद हो जसलाई रामकुमारले एकैपटकमा पास गर्नुभयो । यदि उहाँ त्यसमा पनि फेल भएको भए सफलता हात नलागेसम्म परीक्षा दिइ रहनु हुन्थ्यो । तर त्यो दिन आएन ।

खरिदारमा उहाँले दुईटा समूहमा नाम निस्केको थियो, लेखापाल र ठिटा (न्याय) । उहाँले लेखापाल नै रोज्नुभयो । अर्थात शुरुमा लेखापालको अन्तरवर्ता भएको कारण उहाँ लेखापालमा नै जानुभयो । उहाँ लेखापालमा नाम निकालेपछि घरमा खुशीयाली छाएको थियो । घरमा भोजभतेर नै भएको थियो । पुरै गाउँभरि हल्ला भयो कि फलानोको छोराले सरकारी जागि पाए भनेर ।

आमा बुवाको सपना

उहाँको बुवाको सपना थियो कि आफू जस्तै छोराहरु माटोमा नभुलियोस् । माटोमा नै नहराओस् । आफूले दुख पाए जस्तो छोराहरुले दुख नपाओस् भनेर छोराहरुलाई निकै मेहनत गरेर अध्ययन गराउनु भएको थियो । र, छोराहरु पनि इमान्दारीका साथ अगाडि बढी रहनु भएको थियो । 

छोराका लागि उहाँका आमाले भाकल नै गर्नुभएको थियो । छोराले सरकारी जागिर पाउनु भयो भने भाकल पुरा गर्ने भनि देवी देवतासँग प्रार्थना गर्नुभएको थियो । रामकुमार भन्नुहुन्छ, मेरो बुवाको खुशीको अगाडि मेरो जागिरको कुनै अर्थ थिएन, मेरो लागि मेरो बुवाको खुशी अमूल्य थियो ।’

 रामकुमार महतोले यो जागिरको शुरुवाता त्यतिकै गर्नुभएको होइन, उहाँका दाजु रामेश्वर जीवन महतो पनि सरकारी जागिरे हुनुहुन्थ्यो । हुलाकमा मुखिया हुनुहुन्छ उहाँको दाइ । दाइले सरकारी जागिरे भएपछि रामकुमारको भन्दा बढी खुसीयाली मनाइएको थियो घरमा ।

गाउँका मान्छेहरु उहाँका दाजुलाई हेर्न आउनु भएको थियो । बधाई दिन आउनु भएको थियो । शिक्षक मात्र सरकारी जागिरे हुुन्छ भनि बुझ्नु भएका रामकुमार महतोले आफ्नै दाइले सरकारी जागिर पाएपछि त्यसको अनुसरण गर्दै त्यही पछ्याउँदै अगाडि बढनुभयो । त्यसका लागि उहाँ एसएलसीसम्म कुर्नुभयो । एसएलसी पास गर्नै वित्तिकै उहाँले लोकसेवा आयोगको पुस्तक हातमा लिनुभयो र जुट्नु भयो तयारीमा । 

२० वर्षको उमेरमा जागिर

२०५९ असोज १६ गते सहलेखापालको जागिर खान सल्यान पुगेको बेला उहाँ इन्टर पास गरिसक्नु भएको थियो । त्यतिबेला उहाँको उमेर २० वर्षको मात्र थियो । विद्यार्थी उमेरमै जागिर खाएको कारण उहाँलाइ अरुले पत्याई रहेका थिएनन् । उहाँ अध्ययन गरेर पास भएको हुनाले उहाँसँग प्राइटिकल ज्ञान त्यति थिएन, तर गाउँघरमा प्राइटिकल खोज्थ्यो । 

व्यवहारिकता खोज्थ्यो, जुन रामकुमारसँग थिएन । उहाँ नियम कानुनलाई फ्लो गरेर मात्र काम गर्न खोज्नु हुन्थ्यो त्यसले गर्दा धेरै पटक उहाँले दुख पनि पाउनुभएको थियो । त्यतिबेला माओवादीको जनयुद्ध चलिरहेको थियो । राजनीतिक अवस्था त्यति सहज थिएन ।

सहलेखापालको जागिर खाँदा खाँदै उहाँले बीए पास गर्नुभयो । अधिकृतको जागिर खाने उहाँसँग क्वालिफिकेशन थियो । तर उहाँले अधिकृतका लागि नभई नायब सुब्बाका लागि फर्म भर्नुभयो । उहाँ भन्नुभयो, राजनीतिक अवस्था त्यति सहज थिएन तैपनि प्रतिकुल समयका वावजुद पनि मैले दाङ गएर नायक सुब्बाको परीक्षा दिएको हुँ ।’ 

उहाँले नायव सुव्वामा नाम निकाल्न सफल हुनुभयो । सहलेखापालबाट लेखापाल हुनु भएका रामकुमार सल्यानबाट सिधै जनकपुर पुग्नुभयो । जनकपुरको कृषि कार्यालयमा काम गर्न थाल्नुभयो । खरिदारबाट सुब्बा भएपछि खुड्किला अझै चढ्ने जोशमा उहाँमा आयो । उहाँ नायब सुब्बामा काम गरिरहँदा शाखा अधिकृतको तयारीमा लागि सक्नु भएको थियो । 

समयको सदुपयोग

उहाँले तीनवटा काम साथ साथ गर्नुहुन्थ्यो । जागिर, पढाई र लोकसेवा आयोगको तयारी । उहाँले पलपलको समयलाई सदुपयोग गर्नुभयो । उहाँले समयलाई निकै महत्व दिनुभयो । समयलार्य कहिल्यै खेर फाल्नुभएन । उहाँ भन्नुहुन्छ, म जागिर बाहेकका समयलाई राम्रोसँग सदुपयोग गरे, त्यो समयलाई मैले कहिल्यै खेर फालिनन् ।’

अध्ययनको क्रममा जहिले पनि उहाँ ४ वजे उठ्नु हुन्थ्यो । विहान अध्ययन सकाएपछि टाइममै कार्यालय पुग्नुहुन्थ्यो । कार्यालयका काम पनि पुरै समय इमान्दारीका साथ पुरा गर्नुहुन्थ्यो । कार्यालयबाट फर्केपछि पनि अधिकाँश समय अध्ययनमै विताउनु हुन्थ्यो ।

 उहाँ सम्झनु हुन्छ, मैले आफ्नै कतिपय सहकर्मीलाई देखेको छु, लोकसेवा आयोगको तयारीका लागि काजमा बस्नु हुन्थ्यो वा बेतलबी विदा लिनु हुन्थ्यो तर म त्यस्तो कहिल्यै गरिनन् ।’ मान्छेसँग प्रयाप्त समय हुन्छ, त्यसलाई व्यवस्थापन गर्न सक्नुपर्छ, आफूले त्यस्तै गरेको उहाँ बताउनु हुन्छ ।

उहाँ शाखा अधिकृतको परीक्षामा तीनपटक फेल हुनुभयो । तर उहाँ हार मान्नु भएन । चौथो पटकमा उहाँ शाखा अधिकृत पास गर्नुभयो । त्यो पनि लेखा, प्रशासन र राजश्व गरी तीनवटा समूहमा नाम निकाल्न सफल हुनुभयो । उहाँको सिफारिस प्रशासन समूहमा भयो । 

किसानका छोराको जीवनमा मिहिनेतले रंग ल्याउँदै गयो । दाजु सरकारी जागिरे हुँदा बुवाको अनुहारमा देखेको त्यो खुसी उहाँको दिमागमा धेरै दिनसम्म चलिरह्यो । जति पद बढ्दै गयो उहाँको सपना  र इच्छा पनि बढ्दै गए । 

धनुषाको मिथिला नगरपालिकाका रामकुमार महतोको चाहनाको अगाडि कुनै अवरोधले काम गरेन । उहाँ निरन्तर अगाडि बढ्दै जानुभयो । मान्छेको जीवन हो, सधैं राम्रै राम्रो हुन्छ भन्ने छैन । कहिलेकाहीँ मान्छेलाई ठेस लाग्छ, लड्छ । तर लडेपछि पनि उठेर हिड्नेले मात्र सफलता पाउँछ भन्ने कुरा रामकुमार महतोले राम्रोसँग बुझ्नु भएको थियो । उहाँ भन्नुहुन्छ, ‘यो दुनियाँ नै जित्नेहरुको हो, हार्नेहरूको हुँदैन ।’ 

शाखा अधिकृत भइसकेपछि उपसचिव कसरी हुने सोच उहाँको दिमागमा आइसकेको थियो । तर उहाँलाई त्यसको लागि पाँच वर्ष कुर्नु पर्यो । शाखा अधिकृतमा जागिर खाएपछि उपसचिवमा जानका लागि पाँच वर्ष सेवा अवधि पुरा गरेको हुनुपर्छ । तर आरक्षणमा परेपछि उहाँले ४ वर्षमै त्यस्तो अवसर पाउनुभयो । उहाँले उपसचिवमाका उम्मेदवार हुन पाए तर परीक्षामा सफल भइरहनु भएको थिएन । तीनपटक परीक्षा दिँदा पनि उहाँ पास हुनु भएन । 

तैपनि उहाँले हिम्मत हार्नुभएको थिएन । पास नहुँन्जेलसम्म परीक्षा दिइ रहने उहाँको सोच थियो । उपसचिवको परीक्षा दिइ रहँदा सहसचिवको लागि पनि उम्मेदवार भइसक्नु भएको थियो । सेवा अवधिको हिसाबले उहाँ शाखा अधिकृतमा सात वर्ष पुरा गर्नुभएको हुनाले सहसचिवको उम्मेदवार बन्न पाउनुभयो । उपसचिवमा तीन पटक फेल हुनु भएका उहाँले सहसचिवमा पनि दरखास्त दिनु भयो । 

गत पुसमा सहसचिव र चौथोपटक उपसचिवको परीक्षा पनि दिनुभयो तर उहाँ सहसचिवमा गत जेठ ३० गते नाम निकाल्न सफल हुनुभयो । सहसचिवमा नाम निस्किदा उहाँ दैलेख जिल्लाको शैलुङ गाउँपालिकाको प्रशासकीय अधिकृतमा कार्यरत हुनुहुन्थ्यो । 

परिवारको तरकारी खेती

रामकुमार परिवारको पेशा खेती हो । उहाँहरु तरकारीको खेती गर्नुहुन्छ । रामकुमार जातको कोइरी हुनुहुन्छ । तराई मधेशमा कोइरी भनेको तरकारी खेती गर्ने जात हो भनि बुझाई छ । रामकुमार महतो पनि तरकारी खेतीमा रमाएका किसानका छोरा हुनुहुन्छ । स्कूलबाहेकका समय उहाँको तरकारी खेतीमै जान्थ्यो । तर तरकारी खेतीमा मेहनत अनुसार फल नभएको भन्दै उहाँका बुवाले छोराहरुले यस्तो दुख नपाओस् भनि घरीघरी भन्नुहुन्थ्यो भनि अहिले पनि सम्झनु हुन्छ रामकुमार महतो ।

आमा बुवाले गर्नुभएको दुख र त्योसँगै देख्नु भएको सपना मेरो मानसपटलमा अहिले पनि घुमि रहेको छ, उहाँले भन्नुभयो, जिन्दगी तरकारी खेतीमै अड्किने हो कि चिन्ता घरपरिवारको थियो । मैले त त्यतिबेला सरकारी जागिर भनेको शिक्षक मात्र हो भनि बुझेका थिए । मेरा काका शिक्षक हुनुहुन्थ्यो उहाँलाई देखेपछि सरकारी जागिर भनेको शिक्षक मात्र हो जस्तो लागेको थियो । त्यसपछि मेरा दाजुले हुलाकको मुखियामा नाम निकालेपछि बल्ल लोकसेवा आयोग के हो भनि थाह पाए र म त्यतातिर लागेको हुँ ।’

लोकसेवा आयोगप्रतिको आस्था

सरकारी जागिर पाएपछि कोइरी समुदायमा लाग्यो कि पढेपछि जागिर पाउँदो रहेछ । त्यसपछि धेरैले आफूसँग परामर्श गर्न पनि आउनु भएको बताउँदै उहाँले आफूले गाउँमा लोकसेवाका लागि कक्षा पनि सञ्चालन गरेको बताउनुभयो । लोकसेवाप्रति धेरैको आकर्षण बढेको आफूले पाएको बताउँदै सोर्सफोर्सबाट मात्र जागिर पाइन्छ भन्ने भ्रम धेरैको तोडेको बताउनुभयो । उहाँले भन्नुभयो, म सरकारी जागिरमा पहिलो पटक आएपछि धेरैले सोर्स लगाएर जागिर खाएको पनि भनेका थिए तर त्यस्ता भनाईप्रति म कहिल्यै ध्यान दिइनन् लोकसेवा आयोगप्रति मेरो आस्था र विश्वास अझै कायम छ ।’

चार विषयमा डिग्री

रामकुमार महतोको लक्ष्य उच्च तहमा पुग्ने मात्र होइन, त्यहाँसम्म पुग्नका लागि अध्ययनको पनि त्यतिकै महत्व रहेको भन्दै उहाँले चार वषयमा डिग्री (मास्टर्स) गर्नुभएको छ । अर्थमा केही जानकारी लिनु थियो, अर्थशास्त्रमा मास्टर्स गर्नुभयो । उहाँ सबभन्दा बढी गाउँघरमा रहनु भयो । समाजलाई नजिकबाट बुझ्नु भयो तर त्यसका सैद्धान्तिक कुरा थाह पाउन समाजशास्त्रमा पनि मास्टर्स गर्नुभयो । 


प्रशासनमा काम गरेको कारण त्यसको बारेमा सैद्धान्तिक ज्ञान लिन उहाँले प्रशासनमा पनि मास्टर्स गर्नुभयो । त्यसका साथै निजामती कर्मचारी भएको कारणले राजनीति दल, व्यक्तिसँग नियमित ठोकिनु पर्ने हुँदो रहेछ । राजनीतिक गतिविधिहरु निकै भइरहेका हुन्छन् त्यसले गर्दा उहाँले राजनीति अध्ययन गर्नलाई राजनीति शास्त्रमा पनि मास्टर्स गर्नुभयो । 

उहाँ भन्नुभयो, मलाई जे कुराको खाँचो महसुस हुन्थ्यो, त्यसका अध्ययन गर्न थाल्थे । सिरहामा जागिरे हुँदा कानुनको आवश्यकता निकै महसुस भयो, कर्मचारी हुँदा कामको शिलशिलामा कानुनी कुराहरु धेरै आउँछन्, त्यही भएर मैले सप्तरीबाट एलएलबी पनि गर्न भ्याए ।’ 

अहिले पनि अध्ययनको भोक मरेको छैन, अहिले पनि अधिकाँश खाली समय अध्ययनमै बिताउने गरेको बताउँदै उहाँले पत्रपत्रिका पढ्दा त्यसको सम्पादकीय कहिले छुट्उँदिन, सम्पादकीय पढ्दा एक त भाषाको ज्ञान हुन्छ अर्को कुरा देशको वास्तविकता पनि थाह हुने गरेको बताउनुभयो । 

थ्रेटको सामना

उहाँले जागिरको क्रममा कति थ्रेट खाए त्यसको कुनै हिसाब किताब नरहेको बताउनुभयो । तर आफूले सबैको सामना गरेको र कही पनि कामसँग कुनै सम्झौता नगरेको बताउँदै तराईमा सशस्त्र द्धन्द चलिरहँदा लहानमा कार्यरत थिए, त्यहाँ भारतीय नम्बरबाट फोन गरेर थ्रेट गर्दै रकम माग गर्थे तर आफू कहिले पनि कसैलाई कुनै रकम नदिएको बताउनु हुन्छ । 

सशस्त्र समूहको डरले कर्मचारीहरु कार्यालयमा गएर काम गर्न डराउँथे तर आफू सधै कार्यालयमा गएर नै काम गरेको हुनाले सबभन्दा बढी थ्रेट आफूलाई आएको तर आफू कसैको अगाडि नझुकेको बताउँदै उहाँले भन्नुभयो, मैले उहाँहरुलाई भन्ने गर्थे मेरो तलब यति हो, मेरो गोजीमा यति आउँछ भने म तपाईहरुलाई कहाँबाट पैसा दिउँ अर्को स्रोतबाट पैसा दिने अधिकार मसँग छैन तैपनि उहाँहरु मान्नुहुन्थेन पटक पटक धम्कीका फोनहरु आइरहन्थ्यो तर म ज्यान जोगाएर आफ्नो काम निकाल्थे ।’ 


सर्लाहीमा कार्यरत हुँदा एकजना प्रदेशसभा सदस्य संजय यादवको धम्की पनि आफूले खाएको उहाँले सम्झनु हुन्छ । राजनीतिक दलका नेता भएका हुनाले उहाँले योजना पार्न दवाव दिनुहुन्थ्यो, योजना नपारे त्यतिकै भुक्तानी दिन पनि भन्नुहुन्थ्यो तर आफूले कानुनले नमिल्ने काम आफूले नगर्ने भन्दै आए तर उहाँले धम्की दिन नछाडेपछि बाध्य भएर आफू मिडियामा गएको बताउनुभयो । 




म यसरी भए सहसचिव 

–रामकुमार महतो


म २०५४ को एसएलसीको ब्याच हुँ । २०५५ मा एसएलसीको रिजल्ट आएदेखि नै लोकसेवा आयोगको अध्ययन शुरु गरेका थिए । २०५७ सालमा लोकसेवा आयोगबाट विज्ञापन आएको थियो । त्यसमा म पियन पदमा महोत्तरीको जलेश्वरमा दरखास्त दिए । त्यसको लिखित परीक्षा भयो । त्यसमा म सामेल भए । परीक्षा राम्रै गएको जस्तो लागेको थियो । तर संयोगवश त्यसको नतिजा नै आएन । त्यसपछि म मुखिया पदमा दरखास्त दिएका थिए । 

त्यसको परीक्षामा पनि सामेल भए । परीक्षा राम्रै गएको जस्तो लागेको थियो । तर म लिखित परीक्षा पास गर्न सकिन । त्यसपछि २०५८ सालमा खरिदारको विज्ञापन भयो । त्यसका लागि पनि मैले दरखास्त दिए । त्यसबेला मेरो नाम सहलेखापाल, डिठा (न्याय) गरी तीनवटामा निस्केको थियो । 

पहिलो अन्तरवार्ता लेखाको थियो । अन्तरवार्तामा पनि मेरो नाम निस्कियो । २०५९ असोज १६ गतेदेखि सहलेखापालाबाट मैले जागिर शुरु गरेको थिए । मसँग प्रविणता प्रमाणपत्र तहको शैक्षिक योग्यता मात्र थियो भने म ब्याचलरमा अध्ययनरत थिए । मैले ब्याचलरको अध्ययन पुरा गरे । त्यसपछि म सुव्वास्तरको तयारीमा जुटे । 

२०६५ सालको विज्ञापनमा नायब सुवा (लेखापाल) मा सिफारिस भए । त्यसपछि स्नात्तकत्तोरको अध्ययन शुरु गरे र त्यो पुरा गरेपछि शाखा अधिकृतको तयारीमा जुटे । शाखा अधिकृतका लागि तीनपटक नै म असफल भए । चौथो पटकमा मात्र पास भए । 

त्यसबेला लेखा समूह, राजस्व समूह, प्रशासन समूह तीनटैमा मेरो नाम आएको थियो । प्रशासन समूहमा सिफारिश भए । त्यसपछि शाखा अधिकृतदेखि उपसचिवसम्मका लागि पाँच वर्षको सेवा अवधि चाहिन्छ । त्यसका लागि मैले केही अवधि पर्खिनु पर्ने भयो । त्यसपछि अर्थतन्त्रको अध्ययन गर्नेमा मेरो रुची बढ्दै गयो । अनि मैले अर्थशास्त्रमा स्नात्तकत्तोर गरे पहिला । गाउँ समाजसँग जोडिएको हुनाले मलाई समाजशास्त्र अध्ययन गर्न पनि इच्छा जाग्यो । 

त्यसपछि मैले समाजशास्त्र पनि पढे । पछि लाग्यो राजनीति पनि बुझ्नुपर्ने विषय रहेछ । यसो सलेबस हेरे । राम्रै लाग्यो । सबै विषयहरु जान्नु पर्ने नै रहेछ भनि म त्यसको तयारी पनि लागे । त्यो पनि सकाए । 

आफू प्रशासनतिर काम गरेको हुनाले त्यो पनि अध्ययन गर्ने विषय भएको जस्तो लाग्यो र त्यसको तयारीमा पनि लागे । त्यो अहिले कम्पलिट भएको छैन । म सिरहामा जागिरे हुँदा त्यहाँ नजिकै थियो राजविराजको ल क्याम्पस । कर्मचारी भएपछि कानुनको पनि राम्रै ज्ञान हुनुपर्छ भनि सोचेर म राजविराजबाट एलएलबी पनि सकाए । 

अध्ययन गर्ने क्रममा काम छोड्नु परेको छैन । म दुईटै कामलाई सँगसँगै अगाडि बढाए । कामको अतिरिक्त समयलाई मैले दुरुपयोग नगरी अध्ययनमा सदुपयोग गरे ।

 र, प्रयास जारी नै राखेको थिए । यो किन सम्भव भयो भन्दाखेरी लोकसेवा आयोगप्रति अगाध आस्था नै हो । पटक पटक असफल भएपनि यहाँसम्म आएको हुँ । म असफल हुँदा पनि मलाई कुनै पिडा भएन, कुनै चिन्ता भएन । म आफ्नो अध्ययनलाई निरन्तता नै दिइ रहे । अहिले पनि म असफल भएको भए ममा कुनै पीडा हुँदैन्थ्यो किनभने लोकसेवामा न्याय पाइन्छ भने विश्वास थियो मभित्र । 

जसले मेहनत गर्छ उसले मात्र न्याय पाउँछ । जसले पढेको छ । त्यसले त्यहाँ न्याय पाउँछ । कुनै व्यक्तिले राम्रो तयारी गर्नुभएको छ । उहाँमा क्षमता छ । 

उहाँमा दक्षता छ भने उहाँलाई नभएर मलाई हुनुपर्यो भनि मैले आश गर्नै हुँदैन । तीनपटक उपसचिवमा फेल भएपछि त्यतिबेलासम्म मेरो सहसचिवका लागि योग्यता पनि पुग्यो । अनुभव पुग्यो । सहसचिवको विज्ञापन हुँदा त्यसमा मैले दरखास्त दिए र त्यसको तयारी गर्र्दै गए । अग्रज सरहरुसँग, विज्ञहरुसँग सल्लाह लिइ रहे । म आफ्नो कार्यक्षेत्रमै रहेर सहसचिवको तयारी गरे । उसचिवको तयारी पनि गर्दै गए । तर एकैपटकमा मेरो नाम सहसचिवमा निस्कियो । यो मेरोलागि ठूलो सफलता थियो । नीति निर्माण तहमा गएकोमा मलाई निकै खुशी लागेको छ । शाखा अधिकृतबाट उपसचिवमा नगई एकैपटक सहसचिवमा सिफारिश भएर यहाँसम्म आइपुगेको छु ।  

(रामकुमार महतोसँग गरेको कुराकानीमा आधारित)  


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..