» » रडारको सम्पर्कमा छैन जेट विमान

‘फेरि जहाज हल्लिन थाल्यो–पाइलट थाकेको हो कि मौसम बदलिएको हो ? गन्तव्य भन्दा लामो उडान भर्दाका जोखिम त सबैलाई थाहै हुनुपर्ने हो । यस्तो बेला पछाडि बसेका यात्रुलाई असाध्यै डर लाग्छ ।’

या भनाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालको हो । नेकपामा देखिएको पछिल्लो विवादमाथि टिप्पणी गर्दै रिजालले आफ्नो ट्वीटरमा यो कुरा लेख्नु भएको हो । रिजार पार्टी विदेश विभागका उपप्रमुख पनि हुनुहुन्छ । 

पार्टी एकीकरणकै बेला नेकपाका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले यो ठूलो विमान (नेकपा) मा दुईजना पाइलट रहेको भन्नुभएको थियो । ‘कतिलाई किन दुईजना अध्यक्ष चाहियो भन्ने लाग्ला ।  टेप्पो चलाएको हो र ? जेट प्लेनमा दुईजना पाइलट नै हुन्छन्’ प्रधानमन्त्री ओलीले २०७५ जेठ ३ गते बिहिबारका दिन राष्ट्रियसभागृहमा आयोजित पार्टी एकता घोषणासभामा भन्नु भएको वाक्य हो । प्रधानमन्त्री ओलीको यो भनाई निकै चर्चामा रह्यो । त्यसलाई विभिन्न कोणबाट विश्लेषण पनि भयो र अहिले पनि त्यसको चर्चा सेलाएको छैन । 

तर पार्टी एकीकरण भएदेखि नै दुईजना अध्यक्ष (दुई पाइलट) केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डको बीचमा कहिले सुमधुर सम्बन्ध रहेन । जहिले खटपट भइ नै रह्यो । दुईजनाको बीचमा भएको सम्झौता पनि विवादमा आयो । एकले गरेको निर्णय अर्कोले विरोध गर्नुभयो । एक अर्कामाथि जाई लाग्ने काम पनि भयो । त्यसैले गर्दा दुई पाइलट सहितको विमान ठिक ढंगले चल्न सकेन भनि बेलाबेलामा टिप्पणी हुने गरेको छ । सोही टिप्पणी अन्तर्गत केन्द्रीय सदस्य रिजालको यो टिप्पणी आएको हो । 

पार्टी एकीकरण भएदेखि नै दुई अध्यक्षको बीचमा लफडा शुरु भएको छ । कहिले महिनौसम्म संवाद नहुने कहिले लगातार दुई अध्यक्षबीच संवाद हुने । पार्टी फुट्ने फुट्ने अवस्थामा पुग्ने, फेरि केही कुरामा सहमति हुन्छ अनि केही नभए जस्तो सबै ठिक ठाक हुने । दुईजना पाइलटले जहाज उडाई रहेका छन्, कतिबेला दुर्घटना हुन्छ ठेगान छैन, राजनीतिक विश्लेषक हरि रोक्का भन्नुहुन्छ, जहाजमा दुईजना पाइलट हुन्छ तर एउटा मुख्य अर्को सहायक हुन्छन् अर्थात भूमिका बाँडेका हुन्छन्, दुइटै पाइलटको भूमिका बराबर भयो भने जहाज उडाउन अलमल हुन्छ र त्यो दुर्घटनामा जान्छ नेकपामा अहिले त्यही भइरहेको छ । दुवै अध्यक्षलाई बराबरको हैसियत दिएको छ तर एकले अर्कालाई स्वीकार गर्नुभएको छैन, एकले अर्काका काममा हस्तक्षेप गर्नुभएको छ, एक अर्कामाथि विश्वास गर्नुभएको छैन, यस्तै अवस्था रह्यो भने जुनसुकै बेला दुर्घटना हुनसक्छ ।’

दुई अध्यक्षको सम्बन्ध

दुईजना अध्यक्ष अ‍ोली र प्रचण्डबीच पहिलादेखि नै राम्रो सम्बन्ध थिएन । जनयुद्धकालदेखि नै एक अर्काको कट्टु आलोचक हुनुहुन्थ्यो । तैपनि माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन १२ बुँदे सम्झौता गराउनमा ओलीले महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । माओवादी शान्ति प्रकृयामा आएपछि पनि उहाँ दुईजनामा सौहाद्र सम्बन्ध कहिले रहेन । जहिले पनि एकअर्कालाई खुल्याउने काम मात्र गर्नुभयो ।

२०७४ मा ओली नेतृत्वको सरकारलाई ढालेर काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदा प्रचण्डले भनेका थिए, ‘राजनीति सम्भावनाको खेल हो भन्ने पुष्टि गर्दै म आफैँ प्रधानमन्त्रीप्रति अविश्वासको प्रस्ताव टेबल गराउँदैछु ।’ त्यतिबेला ओली नेतृत्वको सरकार पनि प्रचण्डले नै सहयोग गरेर बनाउनु भएको थियो । तत्कालिन एमाले र माओवादी नेतृत्वको सरकार थियो । तर प्रचण्डले तत्कालिन एमालेसँग गठनबन्धन तोडेर काँग्रेससँग बनाउनु भएको थियो । त्यही भएर प्रचण्डले त्यतिबेला संसदमा भन्नुभएको थियो, राजनीति सम्भावनाको खेल हो ।’

तर ओलीले पनि त्यसको जवाफ कडै रुपमा दिनुभयो । प्रचण्डले संसदमा दिनुभएको अभिव्यक्तिको लगतै ओलीले भन्नुभएको थियो, ‘दिनमा तीनचोटी फेरिने बोली र राजनीति सम्भावनाको खेल हो भन्ने मान्यताको अपव्याख्या गर्दै जुनसुकै घाटको पनि पानी पिउने बानीले भोलि आफैँलाई कहाँ पु¥याउँछ हेक्का राख्नु बुद्धिमानी हुन्छ कि !’ यो खालको सवाल जवाफले गर्दा दुईजनाको बीचमा विगतमा कस्तो सम्बन्ध थियो भने कुरा पुष्टि हुन्छ ।

त्यति मात्र होइन, अध्यक्ष प्रचण्डले ओलीलाई संघीयता र गणतन्त्र विरोधीको आरोप पनि लगाउनु भएको थियो । ओली नेतृत्वको सरकार ढालेपछि प्रचण्डले आफ्नो सफाईमा भन्नुभएको थियो, ‘मन्त्रिपरिषद्को बैठक वा बाहिर प्रधानमन्त्रीजीले पटक पटक भन्ने गर्नु भएको छ–मलाई संघीयता मन परेको छैन, यो मैले बाध्य भएर स्वीकार गरिदिएको मात्रै हो । गणतन्त्रबारे त्यही त भन्दिनँ तर मनोवैज्ञानिक र भावात्मक रूपमा हेर्दा प्रधानमन्त्रीजीलाई गणतन्त्र पनि त्यति साह्रै रुचि लागेजस्तो लाग्दैन ।’ ओली नेतृत्वको सरकार ढाल्नुको कारणमा प्रचण्डले आफ्नो सफाईमा यस्तो आरोप लगाउनु भएको थियो ।

तर ओली पनि के कम । उहाँले पनि तत्कालै जवाफ दिनुभयो । ‘हुन त मैले सोध्ने ठाउँ त छ– मैले राजतन्त्रकाविरुद्ध संघर्ष गर्दा साथीहरू कता हुनुहुन्थ्यो ? म राजतन्त्रसँग लडाइँ गरेर जेलमा पर्दा कापी कलम बोकेर कुन स्कूलमा कुदै हुनुहुन्थ्यो ? सोध्ने ठाउँ छ, तर सोध्दिनँ’ प्रधानमन्त्रीबाट हटेपछि संसदमा आफ्नो कुरा राख्ने क्रममा उहाँले प्रचण्डलाई दिनु भएको जवाफ हो यो । यस्तो कटुताको बीचमा यी दुई दलको बीचमा एकता भएको छ भने एकीकरणको भविष्य कस्तो होला भनि सहजै अनुमान गर्न सकिन्छ । 

२०७५ जेठ ३ मा एकीकरण घोषणा भइसकेपछि उहाँ दुईजनाको बीचमा पनि यस्तै सम्बन्ध रह्यो । कहिले एकअर्कालाई प्रसंशा गर्नुहुन्छ भने कहिले एक अर्कालाई खुल्याउने गरि आलोचना गर्नुहुन्छ । कतिपय अवस्थामा उहाँ दुईजनाको अभिव्यक्ति यस्तो आउँछन् कि मानौ सत्ताधारी दलका नेताहरु होइन, सत्तापक्ष र प्रतिपक्षका नेता होस् । सरकारप्रति असन्तुष्टि जनाउँदै प्रचण्डले बेलाबेला दिने अभिव्यक्तिले प्रधानमन्त्री ओलीलाई बेचैन बनाइन्छन् । दुई पार्टी बीच एकीकरण भएको झण्डै एक वर्ष बित्न लाग्दा प्रचण्डले एउटा अभिव्यक्ति दिएका थिए, ‘विस्तारै विस्तारै अब माओवादीहरूलाई सिध्याइ हालियो भन्ने कसैले ठानेको छ भने त्यो दूर्भाग्यपूर्ण हुन्छ, अर्को माओवादी जन्मिन्छ र झन् ठूलो लडाइँ हुने खतरा आउँछ ।’ ओलीको अभिव्यक्ति र व्यवहारका कारण आफू असुरक्षित महसुस गरेपछि प्रचण्डले एउटा कार्यक्रममा यस्तो अभिव्यक्ति दिनुभएको थियो ।

प्रधानमन्त्री बन्ने इच्छा

एकीकरणकै समयमा माओवादीका अध्यक्ष प्रचण्डले एकीकृत पार्टीमा दुवैजनाले एउटा एउटा जिम्मेवारी लिनुपर्ने धारणा राख्नुभएको थियो । एकजनाले सरकार चलाउने र अर्कोले पार्टी चलाउने प्रचण्डको प्रस्ताव थियो तर ओलीले त्यो कुरा मान्न तयार हुनु भएको थिएन । त्यसका लागि पार्टी एकीकरण घोषणामा धेरै ढिलाई भइरहेको थियो । दुवै पक्ष आआफ्नो अडानमा हुनुहुन्थ्यो । अन्ततः दुवैजना अध्यक्ष बन्ने र केपी शर्मा अ‍ोलीले प्रधानमन्त्री हुने सहमति भएको थियो । तर त्यो सहमति पनि धेरै दिनसम्म चलेन । दुवैजनाको बीचमा २०७५ जेठ २ गते अर्को एउटा छुट्टै सहमति भएको थियो त्यो हो आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्ने । ओली र प्रचण्डबीच भएको पाँच बुँदे सहमतिको चौथो बुँदमा ‘समानता र समान अवधिका आधारमा आवश्यकता अनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख छ । सो सहमतिपत्रमा हस्ताक्षर हुँदा पार्टीका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्माले पनि उपस्थितिको रुपमा हस्ताक्षर गर्नुभएको छ ।

सोही सहमतिका आधारमा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘म के विश्वास गर्छु भने केपी ओलीले समय आएपछि सत्ता हस्तान्तरण गर्न अप्ठेरो मान्नुहुन्न । मैले लिन नि अप्ठ्यारो मान्दिनँ ।’ यद्यपी उहाँले आफ्नो भूमिका परिभाषित हुनुपर्ने कुरामा विशेष जोड दिनुभएको थियो । आफूहरुको बीचमा सहमति भएको हुनाले प्रधानमन्त्री फेरिनुपर्छ भन्नेमा आफू नरहेको तर एउटा नेताको हैसियतले आफ्नो जिम्मेवारी पनि परिभाषित हुनुपर्ने कुरामा जोड दिनुभयो । तर एकताका लागि २०७४ फागुनमा भएको सहमतिपत्रमा प्रधानमन्त्री आलोपालोको कुरा उल्लेख गरिएको छैन । 

जब आधा समय नजिक नजिक आउन थाल्यो अनि प्रचण्डले त्यो सम्झौता अ‍ोलीलाई पटक पटक सम्झाउन थाल्नुभयो । विभिन्न औपचारिक मञ्चमा उहाँले प्रधानमन्त्री बन्ने इच्छा देखाउन थाल्नुभयो । नेकपामा विवादको मुख्य जड नै त्यही बन्यो । जब कि एकतापत्रमा हस्ताक्षर भएको दिन प्रचण्ड स्वयंले नै ओली पाँच वर्षका लागि प्रधानमन्त्री हुने घोषणा गर्नुभएको थियो ।

पछिल्लो विवादमा पनि त्यसैमा केन्द्रीत थियो । नेकपाका सचिवालय सदस्य झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाकाजी श्रेष्ठ, वामदव गौतमलगायतका नेताहरु ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्छ भनि पार्टीमै कुरा उठाउनुभयो । साउनमा बसेको स्थायी कमिटीको बैठकमा पनि नेताहरुले प्रधानमन्त्री अ‍ोलीले पद छाड्नुपर्ने कुरा उठाउनु भएको थियो । बैठकमै यो कुरा उठेपछि उहाँले स्थायी कमिटीका बैठकमा नै जान छाड्नु भयो । बैठकलाई नै अनिश्चित बनाउनु भयो । आफूलाई प्रधानमन्त्रीबाट हटाए पार्टी नै विभाजन नगर्नेसम्मको चेतावनी ओलीले दिन थाल्नु भएको थियो र त्यो अनुसारको तयारीमा पनि जुट्नु भएका थियो । 

स्थायी कमिटीको बैठक चलिरहेको बेला ओलीले आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन चाहेको र त्यसमा पार्टीका नेताहरुले पनि सहयोग गरिरहनु भएको अभिव्यक्ति दिनुभएको थियो । त्यसले पार्टी झन तरंगित भएको थियो । त्यस्तै ओलीले नेकपा एमाले पार्टी दर्ता गराउन पनि लगाउनु भएको प्रचण्डले दावी गर्नुभएको थियो । स्थायी कमिटी बैठकको एजेण्डा नै त्यही बन्यो । त्यसमा दुई दिनसम्म बहस चल्यो । अधिकाँशले ओलीले प्रधानमन्त्री पद छाड्नुपर्ने धारणा राख्नु भएको थियो । यहाँसम्म कि संसदबाट आफूलाई हटाउने हो कि भनि आशंकामा प्रधानमन्त्री अ‍ोलीले स्थायी कमिटीको बैठक चलिरहेकै बेला संसद अधिवेशन अन्त्य भएको निर्णय मन्त्रीपरिषद्बाट गराउनु भएको थियो । त्यसले झन पार्टीमा विवाद थप्यो ।

त्यसका लागि पार्टीमा लामो समयसम्म विवाद चलिरह्यो । स्थायी कमिटीको बैठक स्थगित गरेर विवाद समाधानका लागि कहिले सचिवालयको बैठक त कहिले ओली र प्रचण्डबीच छलफल त कहिले विभिन्न गुटहरुको बैठकहरु चलिरह्यो । दुई अध्यक्षबीच पटक पटक भएको छलफलले पार्टीको विवाद समाधान नहुने देखिएपछि सचिवालयको बैठकले पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा विवाद समाधानका उपायसहितको प्रतिवेदन दिन एउटा कार्यदल गठन भयो । सो कार्यदलले १६ बुँदे प्रतिवेदनका विवाद समाधान भयो ।

वर्तमान प्रतिनिधिसभा रहेसम्म ओली प्रधानमन्त्री रहने र महाधिवेशनसम्म प्रचण्ड कार्यकारी अध्यक्ष र अ‍ोली अध्यक्ष रहने सहमति भयो । चैतमा महाधिवेशन सम्पन्न गर्ने, महाधिवेशनको तयारीका लागि कात्तिक १५ गतेदेखि केन्द्रीय कमिटीको बैठक बसाउने, सरकारले गर्ने सवैधानिक तथा राजनीतिक नियुक्ति पार्टीको सल्लाहमा गर्ने, पार्टी र सरकार एक अर्काको परामर्शमा चलाउने जस्ता सहमति भएको थियो ।

तर सहमति भएको दुई हप्ता नबित्दै प्रधानमन्त्री ओलीबाट त्यसको उल्लघंन भएको आरोप प्रचण्ड पक्षबाट लाग्न थाल्यो । प्रधानमन्त्री अ‍ोलीले गरेका विभिन्न राजनीतिक नियुक्त, मन्त्रीपरिषद् पुर्नगठन लगायत अन्य कुनै पनि विषयमा आफूसँग सल्लाह नगरेको भन्दै प्रचण्डले असन्तुष्टि जनाउनुभयो । त्यस्तै कर्णाली विवादमा पनि दुईजना अध्यक्षबीच कुरा बाँझिएका छ । तत्कालिन माओवादी पक्षका कर्णाली प्रदेशमा मुख्यमन्त्री रहनु भएका महेन्द्रबाहादुर शाहीलाई तत्कालिन एमाले पक्षका प्रदेश सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराउनु भएको थियो । 

प्रधानमन्त्री अ‍ोलीले आफ्ना पक्षका मुख्यमन्त्रीलाई हटाउन षड्यन्त्र गरेको बुझाई प्रचण्ड पक्षको रहेको छ । कर्णाली प्रदेशको विवाद मिलाउन अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको थियो । सोही आग्रह वमोजिम कर्णाली प्रदेशका शीर्ष नेताहरुलाई बोलाएर काठमाडौंमा उहाँ दुईजनाले छलफल गर्नुभयो । तर त्यो छलफल पनि विवादमा गयो । अ‍ोलीले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री शाहीले हटाउने निर्णय बदर गर्ने, प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने, मुख्यमन्त्री शाही विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय दुईजना अध्यक्षबीच भएको जानकारी आफ्ना प्रेस सल्लाहकार सूर्यथापा मार्फत गराउनु भएको थियो । 

तर उता, प्रचण्डले अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने दुई अध्यक्षबीच समझदारी भएको कुरा पनि आफ्ना प्रेस सल्लाहकार विष्णु सापकोटामार्फत भन्न लगाउनुभयो । पछि दुवैजना अध्यक्षको हैसियतले कर्णाली प्रदेश कमिटीका लागि छुट्टा छुट्टै निर्देशन दिनुभयो । जसले गर्दा नेकपारुपी जेट विमानका दुई चालकबीच खटपट छ र रडारको सम्पर्कमा पनि नरहेको कुरा प्रष्ट भएको छ । अहिले दुईजना अध्यक्षको बीचमा बोलचाल पनि छैन । प्रधानमन्त्री ओलीले भारतीय रअका प्रमुख सामन्त गोयलसँग आफ्नै सरकारी निवासमा बोलाएर भेटनु भएको छ त्यो पनि पार्टीभित्र विवादको विषय बनेको छ भने उता वीरगञ्जमा पार्टीकै दुई पक्षबीच भएको झडपमा प्रचण्ड पक्षमा नेता मुकेश चौरसियाको निधन भएको छ, त्यसले पनि पार्टीमा विवाद उत्पन्न गराएको छ । यी विवादहरुले पार्टीलाई कुन स्थितिमा पुर्याउँछ त्यसका लागि केही दिन कुर्नै पर्ने हुुन्छ । 


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..