–चन्द्रकिशोर
लोक आस्थाको महापर्व छठ आज विश्वको विभिन्न भूभागमा मनाईदैछ । यसको विस्तारसँगै पारम्परिक रूपमा मनाउने समुदाय इतरकाहरूमा समेत यसको आकर्षक बाक्लिएको छ ।
पछिल्ला दशकमा ब्यापक रूपमा अन्य समुदाय, क्षेत्र वा महादेशमाझ आफ्नो स्थान फैलाउने विश्वका पर्वहरू मध्ये छठ पनि मूख्य हो ।
केही पर्वहरूको विस्तारका पछाडि कुनै संगठित शक्ति, प्रभावशाली मिडिया रणनीति, चलचित्र वा संसर्गले भूमिका खेलेको हुन्छ, तर छठको अनुष्ठान आयतन विश्वका सबै महादेशहरूमा देखा पर्नुको कारण आस्थाप्रतिको आकर्षक हो ।
यो कुनै योजनाबद्ध यत्नका कारणले भएको होइन । यिनै कारणले पनि होला छठ पर्वसंग गांसिएको ‘लोकपर्व’ को मौलिकता आजपर्यन्त अक्षुण्ण रहि आएको छ ।
जब यो महापर्वले निरंतरता पाउदै आयो तब यसको संदेश बारे मंथन हुन थाल्यो । निरंतरताको आधार खोजिन थालियो । यसको समाजशास्त्रीय विवेचना हुन थाले । यसको सामाजिक आर्थिक तत्व पहिल्याउन थालियो । धर्मग्रंथहरूमा यसको अस्तित्व खोजिन थालियो । प्रर्यावरणीय संदेशको व्याख्या हुन थाल्यो । प्रकृतिप्रति कृतज्ञताको अन्तर्य रचिन थालियो । यी सबै हुन थालेपछि राजनीति कसरी पछाडि पर्छ ? अनि छठको राजनीतिले समेत गति पायो । यी सबैका साथ यस लोकपर्वसंग जोडिएर स्थानियकरणका सुत्रहरू बटुल्न थालियो, लेखक संजयको यो कृति यसै दिशामा संकल्पित एक उपक्रम हो । छठ पर्वले समाजमा बहुआयामिक असर पारेको छ । यस्तो असर स्थानपिच्छे फरक छ । समाज, त्यसभित्रको सामाजिक बनोट, सम्बन्ध, सञ्जाल, चेतना, बुझाइ लगायतले यसमा प्रत्यक्ष रुपमा प्रभाव पारेको छ ।
भूगोल र संस्कृति
ऐतिहासिक अथवा परिवर्तनशील सामाजिक परिस्थितिहरूको सन्दर्भमा स्थान विशेषको संस्कृति बुझ्नका लागि पहिला उसको भौगोलिक एवं पर्यावरणीय विशेषताहरूको उल्लेख बांछनीय हुन्छ । किनकी ऐतिहासिक विकासको प्रक्रियामा भूगोलको विशेष भूमिका हुन्छ । अन्तोनिओ ग्राम्शीको मान्यता रहेको छ कि भौगोलिक अथवा पर्यावरणीय विशेषताहरू सांस्कृतिक विशेषताहरूलाई निकै हदसम्म निर्धारित गर्दछ । तिनी भन्दा पहिला पनि केही विद्वानहरू यसै प्रकारका मान्यता राख्दै आएका छन । चीनको गुआन फोंगको कथन थियो आबकी नदीको पानी प्रबल बेगवान छ र घुमाउरो बाटोबाट बग्दछ, अतः त्यसको किनारका बासिन्दाहरू लोभी, अपरिष्कृत र युध्दोन्मादी हुने गर्दछ । यसको विपरीत चू नदीको पानी मन्द गतिले बग्छ, शुध्द एवं उर्वरता बढाउने खालका हुन्छन्, अतः त्यस छेउछाउका बासिन्दाहरू प्रसन्नचित्त, कृत (संकल्प र आत्मज्ञानी हुन्छन । एलेन चर्चिल, सैम्पल एल्सवर्थ हंटिंगटन, टौमस ग्रिफिथ टेलर जस्ता अनेक पाश्चात्य विद्वानहरूको विचार पनि यसै प्रकारका छन् ।
प्रस्तुत पुस्तक “छठ पवनी–उद्भव र विकास” मा जुन भूगोलको वर्णन गरिएको छ, त्यहाँको पर्यावरण केन्द्रित सांस्कृतिक ब्यक्तित्व द्विआयामी छ । प्रथम नदी मातृक भएको कारणले यस क्षेत्रका मानिसहरूको सबै संस्कार, कर्मकांड र पूजा, अनुष्ठान आदिमा जल, जलाशय र जलोत्पन्न उद्भिज आदिको अत्यधिक महत्व रहेको छ । दोश्रो, उत्तरमा पर्वत श्रृंखला तथा बांकीमा नदीहरूबाट आबृत यो भू(भाग प्रकृतितः अन्य भू–भाग र त्यहाँको संस्कृति भन्दा पृथक रहेको छ । यस क्षेत्रको विशेष बानस्पतिक सम्पदाको यहाँको आर्थिक तथा ब्यवसायिक स्थितिमाथि समेत प्रभाव द्रष्टब्य छ ।
यस क्षेत्रमा परिवर्तनशील राजनीतिक परिदृश्यका वावजूद यस क्षेत्रमा विशिष्ट संस्कृतिको अभ्यूदय भयो जो सर्वथा स्पृहणीय छ । आर्थिक जीवनमा सहजता वा दिनचर्याको सरल आर्थिक चक्रले गर्दा यस क्षेत्रको धार्मिक–दार्शनिक–आध्यात्मिक उपलब्धिहरूको पथ प्रशस्त भयो र यस क्षेत्रको संस्कृति मुक्तिको नित्य नूतन मार्गको खोजीको संस्कृतिको रूपमा विख्यात भयो । त्यसैगरि संस्कृति केवल प्रर्यावरणको प्रतिफल मात्र हुंदैन, यो क्षेत्र विशेषका मानिसहरू तथा तिनीहरूको अन्य क्षेत्रका बासिन्दाहरूसंग हुने गरेको अन्तः सम्बन्धको पनि परिणाम हुन्छन् । यस अर्थमा त्यो ऐतिहासिक विकास क्रमको प्रतिबिम्ब हुन्छ । यसको ध्वन्यार्थ यो पनि हो कि कुनै संस्कृतिको कुनै अन्य संस्कृतिसँग समागम भएन अथवा त्यो सदैव ऐकान्तिक नै रह्यो, यस्तो सम्भव छैन । यस क्षेत्रको संस्कृतिलाई ऐतिहासिक कालखण्डहरूमा नयाँ आयाम ग्रहण गर्दै समवेत उत्थान गर्दै गरेको हेर्न सकिन्छ ।
यहि कारण हो बिभिन्न शासकहरू समयक्रममा यस क्षेत्रमा नियोजित रूपमा बसोबास गराए, राजकीय अड्डाहरू राख्न खोजे, जलमार्गको उपयोगिता पहिल्याए, उर्वर जमिन तथा पुरानो वनको लाभ लिने रणनीति ल्याए । यसका वावजूद यस क्षेत्रको संस्कृति निर्विवाद रूपमा यहांको देशज बासिन्दाको संस्कृति हो । यस भूभागमा विकसित संस्कृतिको चार मुख्य विशेषताहरू रहेका छन । प्रकृतिको साथ सहज समभाव, सामुदायिकतामा प्रबल आस्था, श्रमरसमा निर्लिप्त स्वभाव, महिलाका प्रति सहज सम्मान, समानताको भाव । यी विशेषताहरू यहांका पर्वहरू मार्फत अभिब्यक्त भएका छन । जुन समुदायको कुनै संस्कृति हुंदैन, त्यसको आफ्नो कुनै पहिचान पनि हुंदैन ।
स्थानियताको बाछिटा
लेखक संजय साहको लेखनको केन्द्रीय तत्व ओझेलमा परेका परम्परा, स्थान विशेषको गौरवगाथा, बज्जिका भाषाको श्रीबृध्दि, प्रतिभाहरूको पहिचान रहेको छ । उहाँको रचनाकर्म समाज, संस्कृति र राजसत्ताका विभिन्न आयामहरू, अन्तर्सम्बन्ध र परस्पर सम्वादहरूको विश्लेषित गर्नमा समर्पित छ । उहाँ पींधमा पारिएकाहरूको संस्कृति र संघर्षको खोजिनीति गर्न रूचाउनु हुन्छ । आफ्नो वरिपरिका थातथलोलाई “केन्द्र” मानेर त्यसको महिमान्वित गर्नुमा समर्पित गर्नु उहाँको विशेषता हो । यिनै प्रवृतिहरूले गर्दा उहाँको मौलिक ब्यक्तित्व स्थापित भएको छ ।
यो स्थानियताप्रति मुखरताको युग हो । जो जहाँ हो त्यही “केन्द्र” निर्माण गर्ने यत्नको कालखण्ड हो । आफुप्रति गौरव गर्ने समय हो । एकले अरूभन्दा “श्रेष्ठ” को मानसमा हुर्किन थाल्यो भने त्यसले द्वन्द्व जन्माउंछ । तर आफुप्रति गौरवको भावले हीनताबोधलाई निमट्यान गर्दछ, स्वयं ब्यक्ति, समाज वा क्षेत्र विशेषमा आत्मविश्वास जगाउंछ । जब आफ्नो थातथलो, परम्परा, सम्पदा, जीवनशैलीप्रति गौरवको बोध जागृत हुन्छ त्यतिखेर त्यसको प्राचीनता, वैज्ञानिकता, अन्तरनिहित संदेश, दीर्घकालीन प्रभाव, गाथाको इतिहास आलोकित हुन थाल्छ । कुनै स्थान विशेषको नाम अमूक छ भने त्योसँग त्यहाँको भूगोल, प्राकृतिक उपलब्धता , ऐतिहासिक घटनाक्रम, पात्रविशेषको भूमिका जस्ता अनेकौ पक्ष आकर्षित हुन जान्छ । लेखक संजय जी यस्ता पक्षप्रति मूक द्रष्टा रहन चाहनु हुन्न, उहाँमा गाग्रोमा सागरको गहिराई र गतिशीलता खोज्ने तत्परता पाईन्छ । मूलतः यो आफ्नो वरिपरिलाई हेर्ने त्यो दृष्टि हो जो विगतमा गरिएन, भएन ।
छठको प्रारम्मको सम्बन्धमा थुप्रै कथनहरू रहेको भए पनि छठ पर्व कहिलेदेखि र कसरी प्रारम्भ भयो, यसका लागि निश्चित तथ्य प्राप्य छैनन ।यस सम्बन्धमा कुनै अभिलेखकिय साक्ष्य प्राप्त छैन, तर जनविश्वास अनुसार छठ पर्वको परम्परा प्राचीनकालदेखि नै चलिआएको हो । यस कृतिका लेखकले यसै प्रसंगमा केही नव तथ्य उजागर गरेका छन ।
इतिहास, संस्कृतिमा खोज्नुपर्ने, जान्नुपर्ने अनन्त कुरा छन् । धेरै जसो विषय सतहीरूपमा टिपिएका छन् भने प्रायः बाहिरियाले निर्धारित विचारबाट सञ्चालित भईरहेका छन् । यस विषयमा नेपाली विद्वतवर्गको त्यति ध्यान नगएकोमा चिन्ताको कुरा छ । लेखक संजय साहले जसरी शुरूआत गरेका छन्, त्यसैगरि अरूहरूले आआफ्नो थातथलोको बारेमा खोजिनीति गरे, खोजतलास गरे एक प्रकारको परकम्प शुरू हुन्थ्यो ।
प्रकृतिप्रति कृतज्ञता
अहिले धेरै संस्कृतिको प्राचीनता र मौलिकतालाई आधुनिकताको रंगले केही हदसम्म परिवर्तित गरिसकेको छ तर पनि छठ पर्वमा प्राचीन मौलिकताको रूप अझै प्रर्याप्त सुरक्षित छ । यस लोकपर्वको विशेषता नै हो कि बदलिदों परिवेशमा पनि परम्पराको क्रम रोकिएको छैन । आज पनि कुनै नदी, पोखरीका किनारहरूमा श्रध्दालुहरू अत्यंत भक्तिका साथ उदय र अस्त दुवै अवसरका सूर्यको आराधना गरिरहेको देखिदा लाग्दछ कतै न कतै कुनै एउटा यस्तो शक्ति विद्यमान छ, कुनै त्यस्तो आकर्षक अवश्य छ, जसले प्राचीन परंपरालाई अक्षुण्ण राखेको छ । जसले सम्पूर्ण समाजलाई जो आफ्नो विविधतामा विभाजित भएर पनि एक सूत्रमा आबध्द छन । एकै ठाउँमा सबै वर्ग भेला भएर उपासना गरिरहेका छन । यस प्राचीन परंपराको दार्शनिक पक्षबाट पूर्णतया अनभिज्ञ रहेकाहरू पनि, जसले भगवान सूर्य विषयक मंन्त्र र उपाख्यानहरूको अध्ययन गरेका छैनन, उनीहरू पनि उत्तिकै आनंदित भएर पूजा अर्चनामा तत्पर रहेका देखिन्छन । यो नै छठ संस्कृतिको मूल तत्व हो । वास्तवमा संस्कृति सदैव अनुभूति प्रधान रहेको प्रसंग यस्ता पर्वबाट पनि पुष्टि हुन जान्छ ।
छठ पर्व कृषि संस्कृतिबाट प्रकट भएको हुनाले यो प्रकृतिप्रति कृतज्ञता प्रकट गर्ने तथा ग्रामीण अर्थतंत्रमा आधारित पर्व थियो ।नदी वा पोखरी किनारमा समुदायका सबै ब्यक्ति समान रूपमा उपस्थित भइबकनर्m गाउँ घरमै अर्थात आफ्नै खेतबारीबाट उपलब्ध हुने सामग्रीको संयोजन गरी प्रकृतिपुरूष सूर्यप्रति अर्घ दिने अनुष्ठानभित्रको मूलतत्त्व प्रकृति समक्ष सबै जाति समान हुन तथा आत्मस्वावलम्बनलाई प्रोत्साहन दिने लोकपर्व हो । छठमा प्रसादका रूपमा चढाइने सामग्री ठकुवा, भुसना, उखु, माटोको हात्ती, ढकना, कोसिया कुर्वार, केरा, मूला,बेसार, पिंडालु, गेडागुडी, फल(फूल आदिले स्थानीयताको उत्कृष्ट र मनोरम चाहना प्रस्तुत गर्दछ ।
कृषिकार्यकालागि सूर्य र जल अपरिहार्य हो । वरिपरिका उत्पादन जसले पोषण दिन्छ जो श्रम र साधना गर्न सघाउँछ, स्वस्थ्य चिन्तन गर्न बल दिन्छ । मसिनो तरिकाले हेरौ यस अवसरमा सबैप्रति कृतज्ञता प्रकट गरिन्छ । कृतज्ञताको भाव जुन संस्कृतिमा हुन्छ त्यो समाजलाई उच्च मानिन्छ । यस लोकपर्वमा क्रियात्मक पक्ष बढी जटिल रहेको छैन, यसभित्र सर्वसाधारणले पनि सूर्यको आराधना गर्न सकुबकन भन्ने भाव रहेको प्रष्ट हुन्छ । छठ पर्वमा मूलतः सूर्यको आराधना गरिन्छ । शास्त्रले पनि सूर्यलाई आदि शक्तिको रूपमा चिन्हित गरेको छ । ब्रम्हाण्डको सर्वाधिक उर्जामय पिण्ड वा आदिशक्तिको रूपमा सूर्यलाई आधुनिक विज्ञानले पनि स्वीकारेको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य चढाइन्छ । वेदले सूर्यलाई नै सबै चराचार जगतको उत्पादक भनेको छ–“ननं जनाः सूर्येण प्रसूत” र यसलाई नै “प्राणःप्रजानाम” मानियो ।
No comments: