» » नेकपाको अन्तरद्वन्द्वले मुकेश चौरसियाको लियो ज्यान (अन्तरवर्ता)


–महेन्द्र पासवान

केन्द्रीय सदस्य, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको अन्तरद्वन्द्व प्रदेश हुँदै स्थानीय तहसम्म पुगेको छ । कर्णाली प्रदेशमा आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्नका लागि केपी शर्मा ओली पक्षका प्रदेश सांसदहरुले अविश्वासका प्रस्ताव ल्याउनु भएको थियो । त्यसलाई जसोतसो थामथुम पारिएको छ तर विवाद समाधान भएको छैन । त्यस्तै प्रदेश २ को पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिकामा भएको पार्टी भित्रको झडपले एकजनाको ज्यान गएको छ । अर्थात पार्टीभित्र देखिएको विवादले द्धन्दका रुप लिँदैछन् । यसले भोली गएर कस्तो रुप लेला भनि भन्न सकिदैन । विन्दावासिनी गाउँपालिकामा भएको झडपमा मुकेश चौरसियाको ज्यान गएको छ तर पीडित पक्षले जाहेर दिँदा प्रहरीले दर्ता गर्न मानेको थिएन । अन्ततः प्रदेश २ का नेकपाका केही नेताहरुले दवाव दिएपछि जाहेरी दर्ता गर्यो । दर्ता भएपछि मात्र आफ्न्तल शव बुझेर कात्तिक १४ गते दाहसंस्कार गर्यो । प्रस्तुत छ, यिनै विषयवस्तुमा केन्द्रीत रहेर नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश २ का सहइन्चार्ज महेन्द्र पासवानसँग सहारा टाइम्सले गरेको कुराकानीः 


पर्साका मुकेश चौरसियाको हत्यालाई लिएर प्रदेश २ मा नेकपाभित्रको विवादलाई छताछुल्ल पारेको छ, साँच्चै पार्टीकै आन्तरिक विवादको प्रतिफल हो त्यो ?

–सबै कुरालाई अध्ययन गर्दै गएपछि यो घटना योजनवद्ध गराइएको हो कि बुझिन्छ । मुख्य कुरा केन्द्रमा पार्टीको अन्तरविरोध र त्यसको प्रभाव प्रदेश २ सम्म देखिनुले पर्साको घटना भएको हाम्रो बुझाई रहेको छ । प्रदेश कमिटीले अहिलेसम्म कुनै पनि गतिविधि गरेको छैन । प्रदेश कमिटीको सपथग्रहण बाहेक अहिलेसम्म बैठक नै बस्न पाएको छैन । अहिलेसम्म न कार्यविभाजन भएको छ न सचिवालय गठन भएको छ । प्रदेश अन्तर्गतको जिल्ला कमिटीहरु पनि विवादमै छन् । जिल्ला कमिटी विधान विपरित गठन गरेको हुनाले ती कमिटीहरु विवादमा रहेका छन् । पार्टी सदस्य नै नभएका व्यक्तिलाई जिल्ला कमिटीमा हालेका छन् तर पार्टीका लागि बलिदान तथा योगदान दिने व्यक्तिलाई राखेको छैन । साथीहरुको सही मूल्यांकन भएको छैन । अहिलेसम्म स्थानीय निकाय पनि गठन भएको छैन । मुकेश चौरसियाको घटना प्रदेश कार्यालयबाट गर्न लगाएको बुझ्न सकिन्छ । अहिलेसम्म प्रदेशका अध्यक्ष र सचिवले मुकेश चौरसियाको घटनालाई लिएर कुनै प्रतिकृया जनाउनु भएको छैन । एउटा आधिकारिक विज्ञप्ति पनि आएको छैन । त्यसले पनि धेरै कुरा स्पष्ट पारेका छन् । 


तपाईले भन्नु खोज्नु भएको हो कि यो घटना प्रदेश २ को पार्टी कमिटीको षड्यन्त्रणमा गराइएको हो ?

–घटनाक्रमले त त्यही बुझिन्छ । प्रदेश कमिटीका अध्यक्ष र सचिव अहिलेसम्म यो घटनाको बारेमा आफ्नो मौनता किन तोड्नु भएको छैन । सही र गलत के हो त्यो अहिलेसम्म भन्न किन सक्नु भएको छैन । जब कि यो घटनालाई लिएर प्रदेश २ का अधिकाँश पार्टीका केन्द्रीय सदस्यहरुले आआफ्नो कुरा राख्नु भएको छ । विज्ञप्ति नै जारी गर्नुभएको छ । संघर्षमा सहभागी हुनु भएको छ । तर प्रदेश २ का पार्टी अध्यक्षको अत्तोपतो छैन । यो कुरा के हो सहजै बुझ्न सकिन्छ । 


प्रदेश २ कमिटीको इशारामा यो घटना गराइएको हो भन्नुभयो भने पार्टीले यसको बारेमा के भनेको छ, पार्टीले यसको विषयमा के गरिरहेको छ ?

–पार्टी अहिले पार्टी कुन अवस्थामा सबैलाई थाहै छ । केन्द्रकै आन्तरिकद्धन्दको प्रभाव प्रदेशसम्म परेको र यस्तो घटना हुन गएको हो । पार्टी एकढिक्का भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको छ । अहिले पनि केही विग्रेको छैन । यदि अहिले पनि पार्टी एकढिक्का भएर जनतासँग गरेको प्रतिवद्धता अनुसार काम कारवाहीलाई अगाडि बढायो भने अगामी निर्वाचनमा फेरि पनि जनताले नेकपालाई नै मन पराउँछन् । पार्टीको विवाद समाधानका लागि कार्यदल गठन भएको थियो । सो कार्यदलले आफ्नो प्रतिवेदन दिएको छ । सो प्रतिवेदन अनुसार सरकार र पार्टी अगाडि बढ्नुपर्ने हो तर एकपक्ष एकलौटी रुपमा पार्टी र सरकार सञ्चालन गरिरहेको छ । तर अध्यक्ष प्रचण्डले सामूहिक नेतृत्वमा संगठनलाई चलाउने प्रयास गरिरहनु भएको छ । यिनै द्धन्दका बीचमा पार्टी फँसेको छ । यो द्धन्दको असर समग्र पार्टीमा परेको छ । प्रदेश तथा जिल्लामा देखिएको विवाद मिलाउने जिम्मेवारी संगठन विभागलाई दिएको थियो तर पार्टी आन्तरिक द्धन्दमा यसरी फँसेको छ कि देखिएको विवादलाई समाधान गर्न सकिरहेको छैन । केन्द्रको अन्तरद्धन्दको फाइदा लिएर प्रदेशले जिल्लामा यत्रो ज्यानै जाने गरि घटना गरायो तर प्रदेशको कार्यकारी पदमा बसेकाहरु कुनै प्रतिकृया देखाउनु भएको छैन । 


होइन, पार्टीमा यत्रो विधि अन्तरद्धन्द छ जसले एकजनाको ज्यानै लियो त ?

–तपाईले पनि पर्साको घटना थाह पाउनु भएको होला नि । पार्टीको अन्तरद्धन्दका कारण झगडा भएको हो । र, त्यो झगडामा एकजनाका ज्यान गएको हो । यसैबाट बुझ्न सकिन्छ कि ेपार्टीमा कस्तो अन्तरद्धन्द छ । घटना दुखद हो, सबैलाई मर्माहत बनाएको छ । जसले जहाँबाट यस्तो अपराध गरेपनि दोषीलाई कारवाही गर्नुपर्छ । दोषी उम्किनु हुँदैन भने हाम्रो माग रहेको छ । पार्टी एउटा विधि र प्रकृयाबाट चल्नुपर्छ । कुरा मिलेन भने आन्तरिक रुपमा बसेर त्यसलाई समाधान गर्नुपर्छ । समस्याको समाधान कसरी गर्ने त्यो कुरा पार्टी नेतृत्वबाट हुनुपर्ने हो तर त्यस्तो नगरेर पार्टीमा झन द्धन्द बढाउने काम भएको छ । 


केपी शर्मा अ‍ोली र प्रचण्डबीचको अन्तरद्धन्दकै असर हो त वीरगञ्जको घटना ?

–पक्कै पनि अवस्था त्यस्तै देखिएको छ । कम्युनिस्ट पार्टीमा अन्तरद्धन्द रहन्छन् नै । त्यो रहनु पनि पर्छ । तर अन्तरद्धन्द स्वच्छ हुनुपर्छ । त्यसलाई गलत ढंगले प्रयोग गर्नुहुँदैन तर नेकपामा अन्तरद्धन्दको गलत फाइदा उठाई रहेको छ । अपराधिक मानसिकताले गर्दा यस्तो घटना भएको हो । पार्टीभित्रको अन्तरद्धन्दलाई पनि ठिक ढंगले अगाडि बढाउनुपर्छ । बहस हुनुपर्छ, छलफल हुनुपर्छ । बहस र छलफल भएपछि मात्र एउटा निष्कर्ष निस्किन्छ तर मर्ने र मार्ने अवस्था सृजना गरेको पार्टीमा । जुन खेदजनक छ । यसरी पार्टीको उद्देश्य प्राप्त हुँदैन । 


यो घटना भएकै दिनदेखि तपाईहरु न्यायका लागि संघर्षमा उत्रिनु भएको छ, हिजो (कात्तिक १४) मात्र मुकेश चौरसियाको दाहसंस्कार गर्नुभयो, वास्तवमा त्यहाँको घटना भयो कसरी ? 

–स्थानीय तहको अन्तरद्धन्दले यस्तो घटना भएको हो जस्तो लाग्छ मलाई । स्थानीय तहमा पार्टी समायोजनको काम सकेपछि सपथग्रहणको कार्यक्रम चलिरहेको थियो । अर्को असन्तुष्ट पक्ष त्यहाँ गएर हुलदंगा गर्दै मारपिट गर्न थालेको थियो । कार्यक्रममा किन बोलाइएन भनि त्यो समूहको असन्तुष्टि थियो रे । जब कि अर्को पक्षले कार्यक्रमको बारेमा सबैलाई जानकारी थियो । उनीहरुले निहुँ खोजेर झगडा गर्न मात्र आएको भनेको छ । वास्तविकता के हो त्यसको छानविन हुन आवश्यक छ । 


मुकेश चौरसियाको हत्या कसरी भयो त ?

–सपथ ग्रहण कार्यक्रम चलिरहेको थियो । अर्को पक्ष गुण्डा शैलीमा आएर जथाभावी कुटपिट गर्न थाल्यो । लाठी र भाठाका साथमा आएका थिए उनीहरु । जथाभावी गुण्डाको शैलीमा कुटपिट गर्न थालेपछि मुकेश चौरसियाले किन झगडा गरेको के भयो भन्दै बाहिर निस्केपछि सबैजनाले उहाँलाई नै घेराहाली कुटपिट गरेको थियो । मरनासन्न हुने गरी कुटेर बाटैमा छाडेर भागेको थियो जुन कुरा भिडियोमा पनि हेर्न सकिन्छ । घटना योजनावद्ध तरिकाले कसै नकसैको इशारामा भएको कुरा प्रष्ट बुझ्न सकिन्छ । 


जसले आक्रमण गरेका छन् ती सबै नेकपाकै कार्यकर्ता हुन् त ?

–उनीहरु सबै नेकपाका कार्यकर्ता होइन । उनीहरु अपराधी मानसिकता बोकेका मानिसहरु हुन् । कुनै पनि पार्टीका कार्यकर्ता तथा नेताले यस्तो गर्न सक्दैन । यस्तो काम नेताको आडमा, पार्टीको आडमा गुण्डाहरुले गर्ने हो । यो घटना कसरी भयो, यो घटना कसले गराइएका हो, कसको इसारामा भएको हो यी सबै कुराको छानविन हुनुपर्छ र त्यसका लागि एउटा उच्च स्तरीय छानविन आयोग नै गठन गर्नुपर्छ । अनि मात्र सत्यतथ्य बाहिर आउँछ ।


घटना भएपछि दोषीलाई कारवाहीका लागि जाहेरी दर्ता गराउन यत्रो विधि सघर्ष गर्नुपर्यो अब सत्यतथ्य छानविन होला र दोषीमाथि कारवाही सजिलो तरिकाले होला भनि तपाईलाई विश्वास लाग्छ ?

–दोषीलाई कारवाहीको माग गर्दै उसका आफन्तले जाहेरी दर्ता गराएका छन् । पीडित पक्षले दिएका जाहेरी दर्ता गर्नुपर्छ भन्ने पक्षमा आफूहरुले संघर्ष गरेको हो । त्यसका लागि प्रदेश २ का अधिकँश केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेर एउटा व्यक्तव्य जारी गरेका थियौं । दोषी को हो त्यसले सजाय हुनुपर्छ भनि हामीले माग गरेका छौं । यो घटनामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कतै नकतै प्रहरी प्रशासनको पनि मिलोमितो रहेको हामीलाई लागि रहेको छ । जिल्ला प्रहरी प्रमुख पनि कसैको नकसैको प्रभाव परेको देखिन्छ नत्र प्रहरी शुरुदेखि एलर्ट भएको भए यस्तो घटना हुने थिएन । कार्यक्रम हुँदा जिल्ला प्रहरी प्रमुखलाई यस्तो खालको घटना हुनसक्छ हैं, सुरक्षा कडा पार्नुपर्ने भनि त्यहाँका नेता तथा कार्यकर्ताहरुले जानकारी गराएका थिए तर उसले म कहाँ कहाँ जिम्मा लिने ? म बोर्डरको जिम्मा लिने कि शहर बजारको लिने कि गाउँघरको लिने कहाँ कहाँको लिने ? भनि जवाफ दिनु भएको थियो । पार्टीका नेताहरुले यस्तो जानकारी गराई सकेको अवस्थामा प्रहरी प्रशासनले त्यहाँ सुरक्षा दिएको भए यस्तो घटना हुने थिएन । तर प्रहरी प्रशासनको लापरवाही र लचारी तथा गैरजिम्मेवारीपन देखिन्छ । त्यसैले मेरो विचारमा त्यहाँका प्रहरी प्रमुखमाथि पनि कारवाही हुनुपर्छ । 


केन्द्रमा जुन प्रकारको अन्तरद्धन्द देखिएको छ त्यो खासमा के का लागि हो जस्तो लाग्छ तपाईलाई ?

–पार्टीको जुन विधान छ, विधि छ, त्यसको आधारमा चल्नुपर्छ । पार्टी कुनै एकआध व्यक्तिको इशारामा चल्नु हुँदैन । सबैको अभिमत लिएर सामूहिक प्रणालीबाट पार्टी सञ्चालन गर्नुपर्ने हो तर त्यस्तो देखिएको छैन । जसको हातमा डाडु पेन्यु छ उसले मात्र आफ्नो भागमा बढी लिइ रहेका छन् । पार्टीको जुन विधान छ, नीति र सिद्धान्त छ त्यसको आधारमा नचलेर यो समस्या भएको हो । 


भन्नाले यो पार्टीको विधि र विधान प्रचण्डले नमानेको हो कि ओलीले ? 

–मैले अघि नै सबै कुरा भनि सके । पार्टीले गठन गरेको कार्यदलले ल्याएको प्रतिवेदनलाई सचिवालय तथा स्थायी कमिटीको बैठकले पारित गरेको छ तर त्यसको आधारमा पार्टी सञ्चालन भइरहेको छेन । दुईजना अध्यक्षका जिम्मेवारी बाँडिएको छ चलेन । तर कसले चल्न दिएन भन्ने कुरा कसैबाट लुकेको छैन । सबैलाई थाह भएकै कुरा हो ।  


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..