» » रअ प्रमुख बालुवाटारमा (सम्पादकीय)


भारतको जासुसी संस्था रअ का प्रमुख सामन्त गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटास्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेट्नु भएको कुराले अहिले नेपालको राजनीति तातेको छ । प्रतिपक्षी दलमात्र होइन, सत्तापक्षका केही नेताहरुले पनि त्यसको विरोध गरिरहेका छन् ।


 ओली र गोयलबीचको भेटलाई विभिन्न कोणबाट विश्लेषण गर्ने काम भइरहेको छ । रअ प्रमुख गोयलले नेपालका प्रधानमन्त्री ओलीलाई भेट्नु हुँदैन भने कही लेखिएको छैन र भेट्नुपर्छ पनि कही लेखिएको छैन । गोयल भारत सरकारका कर्मचारी हुनुहुन्छ ।


 उहाँ नेपाल आएर प्रधानमन्त्रीलाई नै भेटेकोमा कुनै पहाड खसेको छैन । दुई देशको हितका बारेमा कुरा गर्न दुवैजनाको बीचमा भेट भएको हो भने यसलाई अन्यथा लिनु हुँदैन । यदि देशको सर्वपक्षीय हितमा कुरा हुन्छ भने जसले पनि जसलाई भेट्न सकिन्छ । भारतका एकजना कार्यालय सहयोगी पनि नेपाल–भारतको हितमा कुनै कुरा प्रधानमन्त्रीसँग गर्न चाहनु भएको छ भने उहाँले भेट्न पाउनुपर्छ । नेपालका कुनै कार्यालय सहयोगी नेपाल र भारतको हितमा कुनै कुरा गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न चाहनु भएको छ भने भेट्नुपर्छ र कुरा गर्नुपर्छ । 


गलत कहाँ हुन्छ, जब भेटघाट देशको हित विपरित हुन्छ । त्यो भेटले देशको राष्ट्रियता, स्वाभिमान, मानमार्यादामा असर गर्छ भने त्यो भेटलाई विरोध गर्नुपर्छ । त्यस्तो भेट गर्न दिनु हुँदैन । राष्ट्रिय हितमा कुरा भएको छ भने कुनै पनि भेटलाई अनावश्यक रुपमा लिनुहुँदैन । जब कि यो भेटलाई लुकाइएको पनि छैन । रअ ले चाहेको भए यसलाई गोप्य राख्न पनि सक्थ्यो । 


प्रधानमन्त्रीसँग भेटेको कुरालाई बाहिर नल्याउन पनि सक्थ्यो । जनताले थाह पाउन् भनेर प्रधानमन्त्री केपी शर्मा अ‍ोलीका तर्फबाट यो कुरा बाहिर ल्याइएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेसनोट जारी गरी प्रधानमन्त्री ओली र गोयलबीच भेटघाट भएको कुराको पुष्टि गर्नुभएको छ ।


यसअघि प्रधानमन्त्री ओलीले रअ का वा कुनै देशका जासुसी संस्थाका प्रतिनिधिलाई नभेटेको हो भने त्यसको ग्यारेन्टी कसले लिन्छन् ? पक्कै पनि प्रधानमन्त्री अ‍ोलीसँग कुनै नकुनै रुपमा भेटेर छलफल गरेका होलान् । त्यो भेटले देशलाई के फाइदा गर्यो, के वेफाइदा गर्यो त्यो देखिएको छैन । रअ कै मान्छेहरुले प्रधानमन्त्री अ‍ोलीसँग भेटेका होलान् । चीनका जासुसी संस्थाका प्रतिनिधिले प्रधानमन्त्री ओलीसँग पटक पटक भेटेका होलान तर त्यो कुरा बाहिर नआएपछि अहिलेसम्म गुपचुप छ । 


यो कुरा बाहिर आएपछि हल्ला मात्रै भएको हो । यदि गोयलले चाहेको भए बाइरोड आएर सुटुक्क प्रधानमन्त्री ओलीलाई भेटेर फर्किन सक्नुहुन्थ्यो तर उहाँ औपचारिक रुपमा विशेष विमानबाट नेपाल आएर भेटघाट गर्नुभएको छ । बुझिए अनुसार प्रधानमन्त्री ओलीले नै निमन्त्रणा दिएर गोयललाई नेपाल बोलाएर भेट्नु भएको हो । दुई देशको आपसी सम्बन्धलाई अझ विस्तार गर्ने उद्देश्यले भेटघाट भएको कुरा प्रधानमन्त्री ओलीको तर्फबाट प्रष्ट भइसकेको छ । यदि अरु कुनै विषयमा कुरा भएको छ भने आज न भोली त्यो बाहिर आउने नै छ । त्यसपछिको टिप्पणी एउटा फरक ढंगको हुनेछ । 


अहिले प्रधानमन्त्री ओलीको तर्फबाट दुई देशको हितमा कुराकानी भएको भनिसक्नु भएको छ भने त्यसको विरोध गर्नुको कुनै तुक छैन । 


यद्यपी शंका गर्ने ठाउँ पनि छ । यसअघि नेपालमा रअ को हस्तक्षेप नभएको होइन । त्यो हस्तक्षेपको आलोचना पनि भएको थियो । रअ का प्रतिनिधिहरु तथा भारतीय राजदूतहरु नेपालका प्रधानमन्त्री, मन्त्री तथा उच्च ओहदामा बसेका व्यक्तिहरुलाई भेटेर चलखेल गरेको कुरा सतहमा नै आएको थियो । एक समय भारतीय राजदूतावासबाट सरकारमाथि ठाडै हस्तक्षेप हुन्थ्यो । 


तर पछिल्लो समय त्यो कम भएको छ । विगतमा भएको हस्तक्षेपको रुपमा प्रधानमन्त्री ओली र गोयलका भेटलाई लिएर विरोध र आलोचना भइरहेको छ । शंका गर्नु जायज हो तर त्यसको परिणामलाई पर्खिनु पर्छ किनभने विगतमा भएको भेटघाट र यो भेटघाट फरक रहेको छ । नेपाल र भारतबीच अहिले सीमा विवाद चलिरहेको छ । प्रधानमन्त्री ओलीले त्यसलाई संवादमार्फत समाधान गर्न खोज्नु भएको छ । विभिन्न चाइनलमार्फत वार्तालाई अगाडि बढाउन खोज्नु भएको छ । 


त्यसैको प्रयासस्वरुप यो भेटघाट भएको हुनुपर्छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नै रअ का प्रमुख गोयललाई भेट्न पठाउनु भएको हुनुपर्छ । सीमा विवादको विषयमा प्रधानमन्त्री अ‍ोलीको धारणा के रहेको छ भनि प्रत्यक्ष रुपमा बुझ्न आएको हुनुपर्छ । किनभने यसअघि प्रधानमन्त्री अ‍ोली र भारतका प्रधानमन्त्री मोदीबीच फोन वार्ता हुँदा दुई देशबीच रहेको समसामयीक विषयमा छलफललाई निरन्तरता दिने सम्झदारी भएको थियो । त्यसैको शृङ्खला अन्तर्गत यो भेटघाट रहेको बुझिएको छ । 


त्यस्तै, भारतका प्रधानसेनापति नोभेम्बर ३ मा नेपालको भ्रमणमा आउँदै हुनुहुन्छ । त्यसको तयारीमा आएको भनि भारतीय दुतावासका स्रोतहरुले दावी गरेका छन् । प्रधानमन्त्री अ‍ोली अहिले रक्षामन्त्री पनि हुुनुहुन्छ । त्यो नाताले पनि भेटघाट भएको हुनुपर्छ ।  


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..