» » रअ को आगमनले नेकपामा हलचल


भारतको जासुस संस्था रअ का प्रमुख सामन्त गोयल कात्तिक ५ गते विशेष विमानबाट नेपाल आएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँकै सरकारी निवास बालुवाटारमा भेटेर स्वदेश फर्कि सकेका छन् । 

परराष्ट्र मन्त्रालयसँग स्वीकृति लिएर रअ प्रमुख गोयल प्रधानमन्त्री ओलीलाई भेटेपछि देशभरि चर्चाको विषय बनेको छ । यहाँसम्म कि प्रधानमन्त्री अ‍ोलीले गोयलसँग भेटेको विषयलाई लिएर उहाँकै पार्टीमा चर्को विरोध भएको छ । 

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य डा.भिम रावल, केन्द्रीय सदस्य विष्णु रिजाललगायतका नेताहरुले प्रधानमन्त्री ओली र गोयल बीचको भेटलाई विरोध गर्नुभएको छ । 

त्यस्तै, लुम्बनी प्रदेशका मुख्यमन्त्री समेत रहनु भएका स्थायी कमिटीका सदस्य शंकर पोखरेल, उपप्रधानमन्त्री इश्वर पोखरेल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालगायतले प्रधानमन्त्री ओली र गोयल बीचको भेटलाई स्वभाविक भन्दै बचाउ गर्नुभएको छ । 

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको सँस्थागत जानाकारी र उपस्थिति बिना गोयलाई भेटेको आरोप लगाउनु भएको छ । जब कि उपप्रधानमन्त्री पोखरेलले रअ प्रमुख गोयलले परराष्ट्र मन्त्रालयसँग अनुमति लिएर भेटेको दावी गर्नुभएको छ । 

प्रवक्ता श्रेष्ठले लेख्नुभएको छ, हाम्रो पार्टीलाई यस बारेमा कुनै पूर्व जानाकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै सँस्थागत एवं औपचारिक छलफल भएको छैन ।’ 

नेपालको राजनीतिक एवं कुटनीतिक ईतिहासमा यस प्रकृतिको यो पहिलो घटना भएको भन्नुहुँदै प्रवक्ता श्रेष्ठले देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसूची बिदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा बिपरीत समकक्षी झैं औपचारिक वार्ता गर्नुभएको भन्दै आपत्ति जनाउनुभएको छ । 

नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित बिषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो तर त्यस्तो नभएको स्पष्ट भएको उल्लेख गर्नुहुँद उहाँले विदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो बिशेष दुतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो त्यस्तो पनि नदेखिएको उल्लेख गर्नुभएको छ । 

बिदेशी गुप्तचर अधिकारीसँग प्रधानमन्त्री ओलीको भेट र कुटनीतिक मुल्य र आचारसहिंता बिपरीतको यस्तो भेट किन भनि उहाँले प्रश्न गर्नुभएको छ । प्रधानमन्त्री ओलीले रअ का प्रमुख गोयलसँग भेटेकोमा नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि चित्त दुखाउनु भएको छ । 

गोयलले नेपाल आएर अध्यक्ष प्रचण्ड र सचिवालय सदस्य माधवकुमार नेपाललाई पनि भेटेको समाचार केही अनलाइनहरुले लेखेपछि उहाँ दुवैजनाको नीजि सचिवालयले त्यसको खण्डन गरेको छ । 

प्रधानमन्त्री ओलीले पार्टीलाई कुनै जानकारी नै नदिइकन रअ का प्रमुखलाई भेटेकोमा आपत्ति जनाउनु भएको छ । अध्यक्ष प्रचण्डले कात्तिक १५ गते प्रधानमन्त्री ओलीलाई उहाँकै निवासमा भेटेर त्यस्तो आपत्ति जनाउनु भएको स्रोतले जनाएको छ । 

कुनै देशका जासुसलाई बोलाएर समकक्षि जस्तो भेट्नु हुँदैन्थ्यो, यसले पार्टी र सरकार दुवै बदनाम भएको कुरा ओली समक्ष उहाँले राख्नु भएको बालुवाटार स्रोतले जनाएको छ । 

अध्यक्ष प्रचण्डले सचिवालयको बैठक बोलाएर यस विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीको यसप्रकारको कर्यबाट राष्ट्रिय स्वाभिमान ,प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन ,अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्ने नेकपाका नेताहरुले बताउनु भएको छ । 

रअ का प्रमुख गोयल कात्तिक ५ गते विशेष विमानबाट नेपाल आएर सोही राती प्रधानमन्त्री निवासमा गएर प्रधानमन्त्री अ‍ोलीसँग ३ घण्टा लामो छलफल गर्नुभएको थियो । 

गोयल र प्रधानमन्त्री अ‍ोलीबीचको भेट विशेषत देशको समसामयीक राजनीतिक घटनाक्रममा रहेको बताइएको छ । उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री ओली र रअ प्रमुख गोयलबीच दुई देशबीच रहेको सीमा विवादको बारेमा छलफल गर्नुभएको छ । 

प्रधानमन्त्री अ‍ोलीले आफ्नो पुरानो अडान दोहोर्याउँदै यसलाई वार्ता र सहमतिबाट चाँडै भन्दा चाँडै समाधानका लागि भनेको उहाँले बताउनुभएको छ । 

त्यसैगरि पछिल्लो समयमा नेकपामा देखिएको विवादको बारेमा पनि गोयलले चासो लिनु भएको छ । नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच पार्टी विवाद उत्सकर्षमा पुगेको बेला गोयलले नेपाल आएर एकजना अध्यक्ष अ‍ोलीसँग मात्र भेट्नुले पार्टीमा शंका उब्जाएको छ । 

नेकपामा रहेको विवादलाई भारत र चीन दुवै देशले अध्ययन गरिरहेको छ । दुवै देशले चासोपूर्वक हेरिरहेको छ । चीनले माओवादीलाई बचाउन चाहेको छ भने भारतले माओवादीलाई समाप्त पार्न चाहेको छ । माओवादीलाई समाप्त पार्न सहयोग गर्यो भने भारतले प्रधानमन्त्री अ‍ोलीलाई सहयोग गर्न सकिने बताइएको छ । 


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..