» » भारतीय सेनाअध्यक्ष नरवणेको मिसन नेपाल


भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे तीन दिने भ्रमणका लागि कात्तिक १९ गते नेपाल आउन लाग्नु भएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नु भएको हो । नेपालमा उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुहुनेछ । 

यो मानार्थ महारथी दर्जा लिन यसअघि पनि भारतीय सेना प्रमुख आउनु हुन्थ्यो तर यतिको चर्चा हुँदैन्थ्यो । यसपाली मनार्थ दर्जा लिन आउनु एउटा औपचारिकता हो तर उहाँ नेपाल मिसनमा नै आउन लाग्नु भएको जानकारहरु बताउँछन् ।

भारतीय सेनाअध्यक्ष नरवणे नेपाल आउन मिति तय भएदेखि नै यो विषयले व्यापक चर्चा पाएको छ । यसरी चर्चा पाउनुको मुख्य कारण हो नेपाल–भारतबीच रहेको सीमा विवाद र सोही सीमा विवादको भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमण । सेनाध्यक्ष नरवणेको भ्रमण नियमित र पम्परित रहेको नेपाली सेनाले जनाएपनि उहाँको भ्रमण विशेष मिसनमा भइरहेको कुराको पनि दावी भइरहेको छ । नेपाल–भारतबीच सीमा विवादलाई लिएर तनाव चलिरहेको छ । नेपालले भारतसँग पटक पटक वार्ताका लागि आह्वान गरेको छ । 

प्रधानमन्त्री अ‍ोलीले गत अगस्त १५ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोन संवाद गर्दा विवाद समाधानका लागि आग्रह गर्नुभएको थियो । त्यसपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नियमित रुपमा त्यसलाई पछ्याई रहनु भएको थियो । भारतसँग वार्ता गर्नका लागि नेपालले नेपालस्थित भारतीय दुतावाससँगै अन्य सुत्रहरुलाई पनि प्रयोग गरिरहेको छ । 

यसबीचमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा पनि दिल्ली गएर रिर्पोटिङ गर्नुभएको थियो । दिल्ली जानुअघि उहाँले परराष्ट्रमन्त्री ज्ञवालीलगायत विभिन्न शीर्ष व्यक्तिहरुसँग नेपालमा छलफल गर्नुभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । उहाँ भदौं ८ गते दिल्लीबाट फर्किनु भएको छ । उहाँ फर्केको एक महिनापछि रअ का प्रमुख सामन्त गोयल नेपाल आउनु भएको थियो । 

कात्तिक ५ गते आएर सामन्त गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत अन्य केही शीर्ष नेताहरुलाई गोप्य रुपमा भेटघाट गर्नुभएको थियो । सेनाअध्यक्ष नरवणे नेपाल आउने तय भएपछि उहाँ नेपाल भ्रमणमा आउनु भएको थियो । नरवणेले नेपालसँग गर्ने कुराकानीको कार्यसूची तय गरेर उहाँ फर्किनु भएको स्रोतले जनाएको छ । 

सामन्त गोयल किन आउनु भएको थियो भने विभिन्न प्रश्नहरु उठे । त्यसपछि उपप्रधानमन्त्री इश्वर पोखरेलले प्रेसनोट नै जारी गरेर त्यो कुरा प्रष्ट पार्नु भएको थियो । 


उहाँले प्रधानमन्त्री ओलीले विगत केही समयदेखि असहज बन्न पुगेको नेपाल–भारत सम्बन्ध खासगरी सीमा समस्यासित र नयाँ नक्सा प्रकाशनसित गाँसिएका विषयमा छलफल केन्द्रित रहेको जानकारी गराउनु भयो । त्यहाँ नेपालले राख्दै आएका अडानहरू प्रधानमन्त्री ओलीले पुनः जानकारी गराउनुको साथै समाधानका लागि नेपालका तर्फबाट स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो । 

वार्ताद्वारा नै तथ्य तथा ऐतिहासिक प्रमाणहरूका आधारमा देखापरेका समस्याहरूको समाधान खोजिनुपर्ने समाधान उहाँले प्रस्तुत गर्नुभएको उपप्रधानमन्त्री पोखरेलले प्रेस नोटबाट जानकारी गराउनु भएको थियो । रअका प्रमुख गोयलले प्रधानमन्त्री ओलीको प्रस्तुतिलाई सकारात्मक रूपमा लिदै अविलम्ब वार्ताद्वारा समाधानका लागि अघि बढ्नुपर्ने भनाइ प्रधानमन्त्री ओलीले राख्नु भएको थियो । 

प्रधानमन्त्री अ‍ोलीले वार्ताका लागि पटक पटक आग्रह गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दुतका रुपमा रअ प्रमुख सामन्त गोयललाई पठाउनु भएको थियो । उहाँले रक्षामन्त्री समेत रहनु भएका प्रधानमन्त्री अ‍ोलीसँग कुराकानी गरेर गएपछि फाइनल कुराकानी गर्न सेनाअध्यक्ष नरवणे आउन लाग्नु भएको हो । 


सेनाध्यक्ष नरवणेसँग गम्भीर छलफल हुन्छ भने कुराको संकेत प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफूसँग राखेर दिइसक्नु भएको छ । पछिल्लो समय रक्षा मन्त्री हरेको बेला इश्वर पोखरेलसँग नेपाली सेना प्रमुख थापासँग राम्रो सम्बन्ध थिएन । उहाँ दुईजनाको बीचमा द्धन्द चलिरहेको थियो । त्यस्तै, रक्षामन्त्रीको रुपमा पोखरेलले भारतीय सेनाका अध्यक्ष नरवणेको बारेमा टिप्पणी गर्नुभएको थियो । त्यो कुराले पनि सम्बन्ध राम्रो थिएन । यी कारणहरुले पनि प्रधानमन्त्री अ‍ोलीले रक्षामन्त्रीबाट पोखरेललाई हटाएर आफूसँग राख्नु भएको हो । 

चीनले पछिल्लो समय जुन जुन देशमाथि आफ्नो प्रभाव जमाउन खोजेका छन् । त्यो देशमाथि भारतको नजर रहेको छ र ती ठाउँहरुमा सेनाध्यक्ष नरवणेले भ्रमण गरिरहनु भएका छन् । चीनले नेपाललगायत म्यानमार, माल्दिभ्स, बंगलादेश, श्रीलंका, भुटान, अफगानिस्तान लगायतको देशमा आफ्ना प्रभाव जमाउन खोजको छ । 

यता, भारतले ती देशहरुसँगको सम्बन्धलाई बलियो बनाउन खोजेको छ । त्यही उद्देश्यका साथ सेनाध्यक्ष नरवणे नेपाल भ्रमणमा आउन लाग्नु भएको हो । यसअघि उनले म्यान्मारको भ्रमण पनि गर्नुभएको थियो । उहाँको साथमा भारतीय विदेश सचिव हर्षवर्धन श्रृगला पनि जानु भएको थियो । चीनसँग सम्बन्धका कारण भारतका लागि नेपाल महत्वत्वपूर्ण क्षेत्र हो । भारतीय सेनाका एकजना पूर्व जनरलले भन्नुभयो, नेपालमा जुनखालको चिनियाँ प्रभाव बढीरहेको छ, त्यो भारतको लागि समस्या बनेको छ, भारतले यसलाई मिनिमाइज गर्नैपर्छ । नत्र यो पछि गएर यसलाई सम्हाल्न मुस्किल हुन्छ ।’

चीनसँग टसल चलिरहेको बेला भारतले नेपालसँग लामो समयसम्म सम्बन्धलार्ई विगारेर राख्न नचाहेको भारतीय सुरक्षा स्रोतले जनाएको छ । सेना उपप्रमुखको पदभार सम्हाल्नु भन्दा पहिला नरवणे भारतीय सेनाको पूर्वी कमानको कमाण्डमा गर्नुहृन्थ्यो । 

जो चीनसँग भारतको चारहजार किलोमिटर लामो सीमालाई देखभाल गर्नुपरेको थियो । भारतीय सेनामा चीन र त्यहाँका सैनिकको बारेमा सबभन्दा राम्रो जानकार उहाँलाई मानिन्छ । त्यही भएर नेपालमा चीनको प्रभाव तथा नेपाल–भारतबीच देखिएको सीमा विवाद समाधान गर्न सेनाध्यक्ष नरवणेलाई पठाइएको छ ।

नेपालमाथि नरवणेको टिप्पणी 

नेपालले लिपुलेक, कालापानी, लिम्पुवाधारा आफ्नो भूमी हो भनि दावी गरेपछि भारतीय सेना प्रमुख नरवणेले त्यसको टिप्पणी गर्नुभएको । नरवणेले जेठ २ गते भारतको एक कार्यक्रममा नेपालले कसैको उक्साहतमा भारतले निर्माण गरेको लिपुलेक–मानसरोवर सडकको विरोध गरेको टिप्पणी गर्नुभएको थियो । 

भारतमा आयोजित एक गोष्ठीमा उनले काली नदीभन्दा पश्चिममा भारतले सडक निर्माण गरेको तर्क गर्दै त्यसमा नेपालले आपत्ति जनाउन नहुने बताउनु भएको थियो । उहाँले भन्नुभएको थियो, नेपालले यसको विरोध गर्नुको कुनै तुक देख्दिन बरु उसले कसैको उक्साहटमा त्यसको विरोध गरेको म देख्दछु ।’

यस्तो अभिव्यक्ति दिएपछि त्यसको विरोध नेपालमा मात्र होइन, भारतमा पनि भएको थियो । कुटनीतिमाध्यमबाट समाधान गर्ने विषयमा सेना प्रमुख जस्तो व्यक्तिले यस्तो राजनीतिक टिप्पणी गर्न नहुने भारतीय बुद्धिजिवीहरुले पनि टिप्पणी गर्नुएको थियो । 

नेपालमा त तत्कालिन रक्षामन्त्री पोखरेलले नै त्यसप्रति आपत्ति जनाउनु भएको थियो भने संसदीय समितिमा पनि ती भनाइको आलोचना भएको थियो । तर एक महिना नबित्दै उहाँले उत्तराखण्डको एक कार्यक्रममा नेपाल–भारतको सम्बन्ध बलियो रहेको र भविष्यमा पनि रहने विचार प्रकट गर्नुभएको थियो । उहाँ सेनाध्यक्ष नरवणेले नेपालका प्रधानमन्त्री ओलीसँग त्यही सीमा विवादको विषयमा कुरा गर्न कात्तिक १९ गते नेपाल आउँदै हुनुहुन्छ । 

रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीसँग सेनाध्यक्ष नरवणेले औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताउनु भएको छ । त्यसमा साथै सेनाध्यक्ष नरवणेले कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताइएका छ । भ्रमणका क्रममा जनरल नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पणका साथै जङ्गी अड्डामा सम्मान गारद निरीक्षण गर्नेछन् । साथै उनले पशुपतिनाथको दर्शन पनि गर्नेछन् ।  

को हुनुहुन्छ नरवणे ?

सेना प्रमुख नरवणे आफ्नो ३७ वर्षको आफ्नो सेवाकालिन अवस्थामा पाकिस्तान तथा चीनको सीमा रक्षामा महत्वपूर्ण भूमिका देखाउनु भएको छ । श्रीलंकाको शान्ति मिसनमा समेत भाग लिनु भएका उहाँ म्यानमारको भारतीय दुतावासमा तीन वर्षसम्म सुरक्षा प्रमुखको रुपमा काम गर्नुभएको छ । जम्मु काश्मिमा राष्ट्रिय राइफल्सको बटालियन र पूर्वी मोर्चाको इफेन्ट्री ब्रिगेडको कमान पनि सम्हाल्नु भएको थियो । 

सन् २०१७ मा डोकलाममा चीनसँग विवाद भइरहेको बेला सेनाध्यक्ष नरवणे पूर्वी कमाण्डको प्रमुख हुनुहुन्थ्यो । त्यतिबेला भारतले चीनको विरुद्ध जुन रणनीति लिएको थियो त्यसमा मुख्य भूमिका नरवणेको रहेको जानकारहरु बताउँछन् । त्यो बेला चीनसँग भारतको ठूलो विवाद चलिरहेको थियो । पाकिस्तानसँग भएको कारगिल युद्धमा पनि नरवणेको महत्वपूर्ण भूमिका थियो । 

भारतको गलवान क्षेत्रमा जुन १५ मा चीन र भारतीय सेनाबीच ठूलो झडप भएको थियो । त्यसमा भारततर्फका सेनामा ठूलो क्षति भएको थियो । उता चीनतिर नोक्सानी भएको थियो तर चीनले त्यो कुरा सार्वजनिक गरेन ।

 घटना भएको केही दिनमै सेनाध्यक्षको रुपमा त्यहाँ जानु भएका थियो । सन् २०२२ सम्म सेना प्रमुखको रुपमा रहने नरवणे २०१९ को सेप्टेम्बरमा सेना प्रमुख बन्नुभएको हो । मराठी परिवारका नरवणेको बुवा पनि भारतीय वायुसेनामा विगं कमाण्डर हुनुहुन्थ्यो भने आमा आलइण्डिया रेडियोमा कार्यक्रम सञ्चालिका हुनुहुन्थ्यो । उहाँका श्रीमती शिक्षिका हुनुहुन्छ ।   

प्रधानमन्त्री ओलीले यसपटक मात्र होइन, यसअघि पनि सेनालाई प्रयोग गरेर नेपाल र भारतबीच रहेको विवादलाई समाधान गर्नुभएको छ । भारतले लगाएको नाकाबन्दी समयमा पनि उहाँले भारतसँग कुरा गर्नका लागि सेनाको सहयोग लिनु भएको थियो । 

नेपाली सेनाका तत्कालिन प्रमुख राजेन्द्र क्षेत्री भारत भ्रमणमा जानु भएको बेला त्यहाँ गरेको प्रयासका बाबजुद मात्र नाकाबन्दी हटेको थियो र प्रधानमन्त्री अ‍ोलीले भारतको भ्रमण गर्नुभएको थियो । अहिले फेरि सीमा विवाद समाधानका लागि उहाँले भारतीय सेनाअध्यक्ष नरवणेसँग कुराकानी गर्ने तयारीमा लाग्नुभएको छ । 


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..