» » मधेशले यसरी जित्न सक्छ पहाडको मन


२०६४÷०६५ पछि पटक पटक भएको मधेश तथा थरुहट आन्दोलन, २०७० को नाकाबन्दी लगायतले पहाड र मधेशको दुरी बढाएको छ । आन्दोलनको क्रममा तराई मधेशबाट थुप्रै पहाडी मुलका व्यक्ति विस्थापित पहाडको शहर बजारमा शरण लिन बाध्य भए भने मधेश आन्दोलनको क्रममा भएको नाकाबन्दीले पहाड र हिमालका जनताले मधेशप्रति नाकारात्मक भए । 


यो नाकारात्मकलाई हटाउने प्रयास कतैबाट भएन, बरु बेलाबेलामा त्यसमा घीय थप्ने काम पक्कै भएको हो । त्यसमा कतिपयले राजनीतिको रोटी सेक्ने काम गरे । त्यसको उदाहारणको रुपमा केपी शर्मा अ‍ोलीलाई लिन सकिन्छ । 

राष्ट्रियताको नाममा आफूलाई हिमाल, पहाडमा स्थापित मात्र गर्नुभएन, झण्डै दुई तिहाई बहुमत ल्याएर अहिले देशका शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ । पहाड र मधेशको दुरीले कसैलाई राजनीतिक फाइदा हुन्छ भने त्यसलाई समाधान गर्न चाहदैनन् । 


राजनीति भनेको चिज नै त्यस्तो हो । त्यसको समाधान समाजिक स्तरबाट गर्नुपर्ने हुन्छ । समाजिक संघ संस्था वा कुनै स्वतन्त्र व्यक्ति जसलाई राजनीतिकसँग कुनै मतलब हुँदैन त्यस्ता व्यक्तिहरु त्यसमा लाग्यो भने त्यो सम्भव पनि छ । किनभने समाजिक सेवाले न हिमाल देख्छ, न पहाड । न जात देख्छ न धर्म । उसले समाजिक सेवा मात्र देख्छन् । कहिले काही हुने समाजिक सेवाले दुई पक्षको बीचमा देखिएको चिरालाई समाधान गर्ने गर्छन् । 


मधेश र पहाडबीच एउटा यस्तै घटना भएको छ । एउटा यस्तो समाजिक सेवा जसबाट मधेशले पहाडको मन जित्न सफल भएको छ । धनुषा जनकपुरका समाजिक अभियन्ता सरोज रायले भारतबाट दैलेखका १५ वर्षीय प्रेम विकलाई ल्याएर उसका आमाबुवालाई सुम्पी सकेपछि पहाड र मधेशको भावनालाई झन बलियो बनाएको छ । भारतको भागलपुरबाट प्रेमलाई उद्धार गरि दैलेखको नाउली, डुल्लुस्थित उसको आमा बुवालाई सुम्पिनु भएको थियो । सरोज राय प्रेमलाई लिएर आउँदैछन् भनि थाह पाएर पुरै गाउँ नै बाटोमा टाढासम्म गएर उहाँलाई पञ्चेबाजा बजाएर स्वागत गरेका थिए । 


सरोज रायले पनि एउटा मधेशको केटालाई पहाडका मान्छेले यो खालको स्वागत गर्छन् भने कल्पना समेत गर्नुभएको थिएन । किनभने सरोजलाई पनि पहाड र मधेशको तिक्तताको बारेमा थाह छ । यद्यपी सरोजले यसअघि पनि पहाडमा सेवा गर्नुभएको छ । भुकम्प तथा पहिरोमा उहाँले राहतका प्याकेज लिएर पहाडका थुप्रै ठाउँमा जानु भएको थियो । तर यसपाली उहाँको लागि दैलेखको नाउली अनौठो भयो ।


अभियन्ता राय भन्नुहुन्छ, म पहिला पनि हिमालसम्म पुगेको हुँ, हिमाल तथा पहाडका मान्छेलाई विभिन्न किसिमका सहयोग गरेको हुँ तर नाउलीबासीले मलाई जुनखालको सम्मान दिनुभयो त्यो मेरो लागि निकै अनौथठो थियो । प्रेम विकलाई उसको गाउँ दलैख जिल्लाको अति विकट डाँडामा रहेको नाउली गाउँसम्म लैजाने बित्तिकै गाउँवासीले तीन किलोमीटर टाढाबाट पञ्चेबाजा बजाएर मलाई स्वागत गर्न आउनु भएको थियो । म त्यो देखेर भावुक भएको थिए । कसरी फेल परे प्रेम ?



बुवा शेरबहादुर विकले आफ्ना छोरा यसरी फर्केर आउँछन् भनि आश मारिसकेका थिए । ११ महिनाअघि कमाउनाका लागि आफन्तसँग भारतको मुम्बई गएका प्रेम बिक गएको दोस्रो दिन नै त्यहाँबाट हराएका थिए ।


 हराएपछि रेल्वे प्लेटफर्महरुमा एक्लै डुलिरहेको देखेर त्यहाँका प्रहरीले प्रेम विकलाई समातेर बालबालिका उद्धार तथा संरक्षणको क्षेत्रमा काम गर्ने संस्थालाई बुझाइ दिएको थियो । केटो नेपालको हो भनि थाह पाएर प्रेमलाई त्यहाँबाट नेपालको सीमा क्षेत्र बिहारमा रहेको त्यही संस्थाको शाखालाई हस्तान्तरण गरिएको थियो ।  


त्यहाँबाट नेपालमा उनको आफन्तलाई खोज्ने निकै प्रयास भयो । प्रेम विकलाई पनि आफ्नो गाउँ ठाउँको बारेमा त्यति राम्रो जानकारी थिएन । उनलाई आफ्नो जिल्लाको नाम समेत थाह थिएन । उनले आफ्नो जिल्लाको नाम डुल्लु भनेका थिए । प्रेमले डुल्लु भनेको आधारमा त्यो संस्थाले नेपालमा डुल्लु जिल्ला खोजि रहेका थिए तर कतै फेला परिरहेका थिएन । 


डुल्लु खोज्दैमा १० महिना बितेको थियो । उता प्रेमका बुवा शेरबहादुर बिक पनि आफ्ना छोरालाई खोज्न मुम्बईसम्म पुग्नु भएको थियो । मुम्बईमा सारा खोजे तर कतै फेला नपरेपछि उहाँले आफ्नो भाइ टेकबहादुर विकका साथमा निराश भएर नेपाल फर्केका थिए । खोजविनमा एक डेढलाख रुपियाँ खर्च भइसकेको थियो । वर्ष दिन हुन लाग्दा पनि कुनै अत्तोपत्तो नलागेपछि प्रमेका आमाबुवाले आशा मारिसक्नु भएको थियो । 


बिहार भागलपुरका सो संस्थाले अभियन्ता रायलाई सम्पर्क गरेको थियो । राय यसअघि पनि बालबालिका उद्धार कार्यमा संलग्न रहेको कारण सो संस्थाले रायलाई सम्पर्कमा गरेको थियो । संस्थाले भनेको जस्तो नेपालमा डुल्लु जिल्ला छैन भने निष्कर्षमा सरोज राय शुरुमै पुगिसक्नु भएको थियो । तर उहाँले डुल्लुलाई गुगलमा सर्च गर्नुभयो । आखिर यो डुल्लु भने चिज के हो संस्थाले डुल्लु नै किन भन्यो । गुगुलमा सर्च गर्दै गएपछि डुल्लु वास्तवमा दैलेख जिल्लामा पर्दो रहेछ भनि उहाँले फेला पार्नुभयो । नाउली पनि सोही जिल्लाको डुल्लुसँगै देखायो । त्यसपछि उहाँले दैलेख जिल्ला प्रहरीलाई सम्पर्क गर्नुभयो ।


जिल्ला प्रहरी कार्यालयले प्रेम विकको बारेमा केही भन्न सकेन । तर जिल्ला प्रहरी कार्यालयले डुल्लु प्रहरी चौकीको नम्बर दियो । सरोज रायले डुल्लु प्रहरी चौकीमा सम्पर्क गर्दा त्यहाँ पनि कुनै उजुरी नपरेको सुचना पाउनुभयो । तर त्यहाँको प्रहरीले डुल्लु नगरपालिकाको वडा नम्बर १ का वडाअध्यक्षको नम्बर दिएको थियो । सरोज रायले त्यो अध्यक्षलाई सोधेपछि आफूलाई जानकारी छैन एकपटक वडा नम्बर २ का अध्यक्षलाई सोधेर हेर्नुस् त भनि त्यसको नम्बर दिनु भएको थियो । 


रायले वडा नम्बर २ अध्यक्षलाई सम्पर्क गरेपछि मात्र प्रेम विकका आमाबुवासँग सम्पर्क भयो । त्यसपछि सबै प्रमाण जुटाएर उहाँ भागलपुर गएर प्रेमलाई लिएर नेपाल फर्केका थिए । नेपाल ल्याएर उहाँले जनकपुरस्थित आफ्नो घरमा तीन दिन राख्नु भएको थियो उहाँले । त्यसपछि उहाँले  आफूसहित प्रेमको पनि पीसीआर टेस्ट गराउनु भएको थियो । रिर्पोर्ट निगेटिभ आएपछि उहाँ दैलेखका लागि यात्रा तय गर्नुभएको थियो ।  


प्रेम फेला पर्यो भनि थाह पाउने वित्तिकै नाउली गाउँ उनको प्रतिक्षामा बस्यो । गाउँ आउँदैछन् भनि थाह पाएर साँझ गाउँ पुगेका रायलाई गाउँलेहरु तीन किलोमिटर टाढासम्म गएर उहाँको स्वागत गर्नुभएको थियो । नाचागान गर्नुभएको थियो । गाउँमा पुगेपछि रायको नाममा त्यसको भोलीपल्ट त्यहाँका खसीको बलि दिएर कुलदेवताको पुजा गरेका थिए । 


पुरै गाउँ मिलेर कुलदेवताको सामु अभियन्ता रायलाई सम्मान गरेका थिए । बुढीआमाहरुले समेत आआफ्नो सँस्कृति र पहिरनमा नाच्दै सरोज रायको स्वागमा तल्लिन हुनुहुन्थ्यो । सरोज रायले यसखालको स्वागत हुन्छ भनि आफूले कल्पना समेत गरेको थिइनन् । उहाँ भन्नुहुन्छ, मधेश र पहाडको बीचमा जानी जानी खाडल बनाएको हो जस्तो लाग्छ मलाई किनभने सबैको पीडा उस्तै छन्, सबैको भावना उस्तै छन्, सबै चाहना उस्तै छन्, सबैको आकाँक्षा उस्तै छन्, मात्र पहाड र मधेशको नाममा विग्रह ल्याउने प्रयास भएको हो ।’


मैले तराई मधेशमा मात्र ८०–९० जना बालबालिका उद्धार गरेर ल्याएर बुझाएको छु तर पहाडमा जुन सम्मान पाए त्यो सम्मान मधेशमा पाउन सकिन्न । कतिपय ठाउँमा त चियाका लागि समेत सोधेन, उहाँले भन्नुभयो, मधेश र पहाडबीच देखिएको भावनात्मक खाडल पुर्नका लागि दुवै पक्षमा घुलमिल हुनुपर्ने आवश्यकता छ । एक अर्काको गाउँ गएर समाजिक कार्य गर्दा पहाड र मधेशलाई जोड्न सकिन्छ ।


मधेशको बारे बुझाई

पहाड र मधेशलाई राजनीतिक रुप दिएर केही व्यक्तिले आफ्नो स्वार्थमा सम्बन्ध विगार्ने प्रयास गरेका छन् तर त्यहाँका समुदायले गरेको हार्दिकताको सहितको सम्मानले त जसको पनि मन जित्न सक्ने सरोज रायको बुझाई छ । मधेशको बारेमा त्यहाँ उठेको एउटा कुरा सम्झदै अभियन्ता रायले भन्नुभयो, त्यहाँका जनतालाई मधेशको वास्तविकता थाह छैन, सञ्चारमाध्यममा आएका कुरालाई लिएर धारणा बनाउने गरेका छन्, एकजनाले मलाई भनेका थिए, मधेशी देश टुक्राउँछन् रे, पहाडमाथि नाकाबन्दी लगाउँछ रे भने पत्रिकामा लेखेको पढेको थिए साँच्चै मधेशदेखि डर नै लागेको थियो तर तपाईलाई देख्दा मधेशका मान्छे कति सज्जन र सहयोगी हुन्छ जस्तो लग्यो ।’

तीन दिनसम्म त्यहाँ बसेका अभियन्ता राय त्यहाँ वरिपरी घुमघाम गर्नुभएको थियो । उहाँले त्यहाँका स्थानीयसँग राज्यद्वारा मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिमहरुमाथि कसरी विभेद गरेको छ, कुराहरु भन्नु भएका थियो । 

मधेश र पहाडबीच कुनै झगडा छैन, तर केही व्यक्तिको राजनीतिक स्वार्थका कारण यो अवस्था सृजना भएको कुरा त्यहाँका स्थानीयलाई उहाँले सम्झाउनु भएको थियो । प्रेम बिकका छिमेकी मंगल विकले भन्नुभयो, मधेशको बारेमा हामीले गलत बुझेका थियौं, राजनीतिक स्वार्थमा ल्याइएको राजनीतिक कुरा मात्र हो त्यो कुरा हामीले सरोजजीबाट थाह पयौं ।’ 


डुल्लुबासीले सरोजलाई मात्र होइन पुरै मधेशलाई सम्मान गरेको छ, एउटा मधेशका मान्छेले एक वर्षदेखि हराइ रहेको एकजना दलित केटालाई खोजेर घरसम्म ल्याइ दियो, यो भन्दा ठूलो कुरा अरु केही हुनसक्दैन भन्दै उहाँले पानी परिरहेको कारण आफूहरुले सोचेको जस्तो सम्मान गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, सरोजजी तीन दिन मात्र यहाँ बस्नुभयो, सबैको मन नै परिवर्तन गरिदिनुभयो ।’ 


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..