» » अस्तित्वको सङ्कटमा प्राचीन धार्मिक सम्पदाहरु

महोत्तरी, साउन २७ गते । “कहाँ गए यहाँका मनोरम तलाउ ?  अनि कता हराए जतिखेर पनि ढकमक्क फुल्ने कमल ?” एक दशकपछि महोत्तरीको बर्दिवास नगरपालिका–४ माइस्थानस्थित पञ्चधुरा माई मन्दिर पुग्नुभएका एक श्रद्धालुले चिन्ता व्यक्त गर्दै भन्नुभयो । 


जनै पूर्णिमाका दिन पञ्चधुरा माई मन्दिर पुग्नुभएका सिन्धुलीको तीनपाटनका बासिन्दा तोत्रहरि उपाध्याय १० वर्षअघि देखेको सौन्दर्य अहिले हराएको पाउँदा बेचैन हुनुहुन्छ । मन्दिर परिसरमा १० वर्षअघिका न तलाउ देखिन्छन्, न तलाउमा बाह्रैमास ढकमक्क फुलेका देखिने कमल नै छन् १ “यो त खण्डहर भइसकेछ” उपाध्यायले चिन्ता व्यक्त गर्नुभयो । 

   

 देवी आदिशक्तिपीठ मानिने पञ्चधुरा माई मन्दिर परिसर मात्र नभएर महोत्तरीका सबैजसो पुराना ऐतिहासिक र पुरातात्विक महत्वका धार्मिकस्थल अब अस्तित्वको सङ्कट झेल्दैछन् । कला, संस्कृति र धार्मिक सम्पदाले भरिपूर्ण मानिने प्राचीन मिथिलाको परिचय बोकेका धार्मिकस्थल समुचित संरक्षण र मर्मतसम्भार नहुँदा अब अस्तित्वकै सङ्कटमा पुगेका हुन् । हिन्दू, इस्लाम र बौद्ध परम्पराका ऐतिहासिक सम्पदा र स्थल अब खास पर्वमा सम्झना गरिए पनि तिनको संरक्षणमा कतैबाट पहलकदमी नदेखिएपछि अस्तित्व लोप हुने स्थिति बनेको हो । 

 जिल्लाको सुदुर उत्तरी क्षेत्रमा अवस्थित बर्दिवास नगर क्षेत्रमै पञ्चधुराका अतिरिक्त टुटेश्वरधाम शिवालय र राइमण्डल धार्मिक क्षेत्र अति प्राचीन र धार्मिक महत्वका देवस्थल मानिन्छन् । बर्दिवास–५ को मरहानदी किनारमा चुरे पाहाडी शृङ्खलाको टाकुरामा टुटेश्वरनाथ शिवमन्दिर अवस्थित छ । “प्रकृतिले हामीलाई नदिएको होइन नि १ पाहाड, कन्दरा, नदी, मनोरम सघन वन र धार्मिक परिचय, सबै छन् हामीसँग” बर्दिवास–५ गणतन्त्रका बासिन्दा कहारमान स्याङ्वाले भन्नुभयो, “तर, हामीले तिनको संरक्षण भने गर्न सकेनौँ ।” 

वर्सेनी नेपाल र भारतका लाखौँ भक्तजन दर्शनका लागि आउने टुटेश्वरधाम अब संरक्षण र सम्बद्र्धन हुन नसक्दा रुग्ण र खण्डहर बन्दै गएको स्याङ्वाको भनाइ छ । यसवाहेक बर्दिवास–३ को अति प्राचीन राइमण्डल धार्मिक क्षेत्र पनि ओझेलमा परेको छ । 

   

 

चुरे पाहाडी शृङ्खलाको भब्सी नदीकिनारमा अवस्थित राइमण्डल धार्मिक क्षेत्रमा पहाडको पाखामा धार्मिक मान्यताका देवीदेवताका मूर्ति कुँदिएका छन् । पाखाकै खापहरुमा परेवाको बाक्लो बसाइले यहाँ पुग्ने जोसुकैलाई आकर्षित गर्छ । तल फाँटमा स्वर्गका राजा इन्द्रले स्थापना गरेको विश्वास गरिएको इन्द्रेश्वर महादेव मन्दिर छ । तर यो ठाउँमा सम्पदाको संरक्षण, विकास र पर्यटकीय सम्भावनाबारे सङ्घीय र प्रादेशिक सरकारमात्र नभएर स्थानीय सरकार नै बेखबर रहेको राइमण्डलका बासिन्दा बताउँछन् । 

   

जिल्लामा हिन्दू परम्पराका मठमन्दिर, इस्लाम परम्पराको रौजामजार र बौद्ध परम्पराका गुम्बाहरु छन् । तर जिल्लाका यी पुरातात्विक महत्वका स्थलको संरक्षण सम्बद्र्धन हुन नसक्दा क्रमशः खण्डहर बन्दै जाने स्थिति बनेको देखिएको छ । प्राचीन कालदेखिका प्रसिद्ध शिवालयहरुमा साउन महिना र महाशिवरात्रीको अवसरमा लाखौँ श्रद्धालुको भीड लाग्ने गरेको छ । जिल्ला सदरमुकाम जलेश्वरस्थित श्रीजलेश्वरनाथ, बर्दिवास–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ, भङ्गाहा नगरपालिका–५ सिद्धपुरस्थितश्री सिद्धनाथ र सोनमाको मगरथानास्थित श्रीमङ्गलनाथ आदिकालमै स्थापित प्राचीन शिवालय मानिन्छन् । 

   

यीमध्ये जलेश्वरनाथमा मन्दिर मर्मतसम्भारको काम थालिए पनि वर्षौँ बितिसक्दासम्म काम सम्पन्न हुन नसकेको जलेश्वरवासी बताउँछन् । त्यसैगरी टुटेश्वरनाथ महादेव मन्दिरले मर्मतसम्भार नपाएको वर्षौँ बितिसकेको त्यहीँका बासिन्दाको भनाइ छ । त्यस्तै अति प्राचीन श्रीसिद्धनाथ महादेव मन्दिर रातु र बडहरी नदीको बगरमै मिसिइसक्दा पनि कोही हेर्ने नभएको सिद्धपुर बस्तीका परेखन सादा बताउनुहुन्छ । 

   

जिल्लामा प्रसिद्ध धार्मिकस्थलको कुरा उठ्दा बलवा नगरपालिका–३ पडौलस्थित कारिख महाराजस्थान, भङ्गाहा–९ हरिहरपुर कञ्चनवनस्थित रामजानकी बिहार, रामसीताको विवाहमा बेदी (विवाह मण्डप) बनाउन माटो खनिएको ठाउँ मटिहानीस्थान, रामायण कालकै पितृमात्रृभक्त श्रवणकुमारका नेत्रविहीन बाबुआमा बस्ने ठाउँ मानिएको लोहारपट्टी नगरपालिकाको बगडास्थित अन्धाअन्धीस्थान र पिपरा गाउँपालिकाको बनौली दनौलीस्थित मैथिली भाषाका महाकवि विद्यापतिको किल्ला मानिएको विद्यापति गढ समुचित सम्भार र संरक्षण नपाउँदा बेवारिस जस्तै बनेका छन् । 

   

“यदाकदा यी सम्पदाहरुको संरक्षण र विकासका नाउँमा योजना बनेका कुरा सुनिन्छन्” लोहारपट्टी–४ खुट्टा वरटोलका बासिन्दा सामाजिक तथा राजनीतिक कार्यकर्ता नागेन्द्र चौधरी भन्नुहुन्छ, “तर योजना भने स्थलमा नभएर कागजमै टुङिगने गरेका छन् ।” जनताले प्रयास त गरिएको छ भन्ने अनुभूति गर्ने गरी कतै काम नहुँदा सबैतिर निरासा छाएको चौधरीको भनाइ छ । 

   

यसबाहेक औही नगरपालिकाको भोइलस्थित श्रीसोनामाई मन्दिर, जलेश्वर नगरक्षेत्रका भार्गव ऋषिआश्रम, सन्सारी माई मन्दिर, राजदेवीमन्दिर र जिल्लाकै अन्हेरवाट मन्दिर अति प्राचीन धार्मिक धरोहर हुन् । जलेश्वर नगरक्षेत्रका अति प्राचीन धार्मिक महत्वका पवित्र मानिने भार्गव सर ९तलाउ०, पुरन्दर र वरुण सर सम्भार नहुँदा अब नगरभरिको फोहर थुप्रिने ठाउँ बनेका जलेश्वर–५ का बासिन्दा नेपाली काँग्रेस महासमिति सदस्य बजरङ्ग नेपाली बताउनुहुन्छ । 

   

जिल्लामा हिन्दू परम्पराका यी धार्मिकस्थल बाहेक इस्लाम परम्पराका सुफी सन्तहरु गदाअलिशाह, बहारअलिशाह र रहमअलिशाहका बलवा नगरपालिका–११ रौजाअवस्थित मजार ९समाधिस्त गरिएको ठाउँ० सबै धर्म परम्पराका श्रद्धालु याचकको दुखःपुकारा गर्ने साझास्थल रहँदै आएको छ । रौजामजार भनेर चिनिने यस ठाउँमा आफ्नो दुःखपुकारा गर्ने दैनिक सयौँ सङ्ख्याका याचक पुग्दछन् । 


त्यसैगरी जिल्लाको गौशाला र बर्दिवास नगरक्षेत्रमा कैयौँ बौद्ध परम्पराका गुम्वा संरक्षणको पर्खाइमा छन् । यीनको सम्भार र विकासमा मुख्य रुपले सम्बन्धित स्थानीय तहले तत्परता र पहलकदमी देखाउनु पर्ने रौजाकै बासिन्दा मन्सुल कवारी बताउनुहुन्छ । यद्यपि जिल्लाका यी प्राचीन सम्पदाले आवश्यक संरक्षण र वास्ता अहिलेसम्म पाउन नसकेको आम सर्वसाधारणको गुनासो छ । 

   

   त्यसैगरी यता नेपाल भारत सीमाक्षेत्रमा अवस्थित मटिहानी रामायणकालीन जनश्रुतिका कैयन् उदाहरणसँग जोडिदै आएको भए पनि यसको सम्भारमा कुनै निकायले चासो नदिएको यहाँका नागरिक समाजकोे गुनासो छ । देशभरिकै सबै धार्मिक मठहरुको मूख्य मानिने लक्ष्मीनारायण मठ रहेको आफ्नो ठाउँको विकासमा सरकार र विभिन्न धार्मिक र पुरातात्विक क्षेत्रको रेखदेख एवं संरक्षणको जिम्मेवारी पाएका निकायहरु उदाशिन रहँदै आएका साविकको मटिहानी गाबिसका अध्यक्ष जयकुमार चौधरीको भनाइ छ । 

   

मठका महन्थ देशभरिकै मठहरुका नायक अर्थात मान महन्थपदवीले बिभुषित भए पनि ठाउँको विकासमा प्रयत्नशील नदेखिएको आम मटिहानीबासीको गुनासो छ । तीन दशक पहिलेसम्म देशका कुनापाप्चाका विद्यार्र्थीहरु शिक्षा आर्जन गर्न आउने महामुनि याज्ञबल्क्य र मठको संयुक्त नाममा स्थापित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापीठ (स्नातक क्याम्पस) र राजकीय संस्कृत माध्यमिक विद्यालयमा अब बाहिरी विद्यार्र्थीको सङ्ख्या स्वात्तै घटेको छ । 

   

 

सीमा क्षेत्रमा हुने गुण्डागर्र्दीका घटनाबाट असुरक्षा भाव, विद्यालय र विद्यापीठको व्यवस्थापकीय लापर्वाही र थप आकर्षण केही दिन नसक्दा पढ्न आउने विद्यार्र्थीको सङ्ख्या घटेको त्यहाँका सामाजिक एवं राजनीतिक कार्यकर्ता राजकिशोर मण्डल बताउनुहुन्छ । एक दशक अघिसम्म ५०० को हाराहारीमा विद्यार्र्थी आउने गरेकोमा अहिले यो सङ्ख््या निकै घटेको छ । नियमित पठनपाठनमा विद्यार्थी सङ्ख््या १०० जनाभन्दा तल झरेको संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल स्वीकार गर्नुहुन्छ 

   

धार्मिकस्थलका नाउँमा विभिन्न संस्थाले विभिन्न निकायबाट रकम ल्याएर हजम गर्ने प्रवृति मौलाएपछि स्थानीयबासीले मतलव राख्न छाडेको कतिपयको टिप्पणी सुन्ने गरिएको छ । जिल्लाको मुख्य पहिचान मानिएका यी धार्मिकस्थलका नाउँमा रकम ल्याएर आपूmखुशी मनपरि गर्नेलाई अब कार्वाहीको दायरामा ल्याउनुपर्ने उनीहरु बताउँछन् ।


 खासगरी तीनै तहका सरकार र यी मातहतका निकायले गर्ने कामहरुमा आर्थिक अपारदर्शिता बढ्दै गएपछि जिल्लाका यी अलौकिक र ऐतिहासिक सम्पदाहरु ठूलाबडाहरुको कमाई खाने भाँडो हुने गरेको सर्वसाधारणको टिप्पणी छ । जिल्लाका यी धार्मिक र पुरातात्विक महत्वका स्थलको तत्काल संरक्षणको पहलकद्मी नभए पछिल्लो पुस्ताले इतिहास पढ्दा मात्रै यी ठाउँबारे जानकारी पाउने अवस्था बन्न सक्ने बुद्धिजीवीहरुको टिप्पणी छ । 

   

महोत्तरीकै बासिन्दा प्रदेश–२ सरकारमा सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले सङ्घीय सरकार र स्थानीय तहसँगको समन्वयमा धार्मिकस्थलहरुको संरक्षण र विकासमा अब योजनाबद्ध काम थालिने बताउनुहुन्छ । 


“सबैको समन्वयमा धार्मिकस्थलहरुलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न अब योजनाबद्ध काम थालिने छन्” राज्यमन्त्री शर्माले भन्नुभयो, “यसका लागि तत्कालीन र दिर्घकालीन प्रस्ताव बन्ने छन् ।” सबै धार्मिकस्थललाई पर्यटन प्रबद्र्धनका नयाँ योजनासँग जोडेर काम अघि बढाउन आवश्यक रहेको राज्यमन्त्री शर्माको भनाइ छ । 

   

  

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..