» » संघलाई देखाएर आफ्नो गल्ती ढाका छोप गर्छ प्रदेश २ सरकार


काठमाडौं भदौं १४–प्रदेश २ मा सरकार गठन भएको अढाई वर्षभन्दा बढी भइसक्यो तर अझैसम्म सरकारले गति लिन सकेको छैन । सरकारले गति नलिएपछि विपक्षी दलका नेताहरु मात्र होइन, सत्तापक्षकै नेताहरुले समेत सरकारको राजिनामा माग्न थालेका छन् । 


तर प्रदेश २ सरकारले संघीय सरकारलाई दोष देखाएर पन्छिने गरेको छ । प्रदेश २ सरकारको बारेमा जुनसुकै कुरा उठेपनि संघीय सरकारलाई देखाएर पन्छिने गरेको छ । मुख्यमन्त्री लालबाबु राउत स्वयंले पनि भन्ने गर्नुभएको छ, यहाँ न हाम्रो शासन छ न प्रशासन छ, न पुलिस छ न सिडियो छ अनि कसरी काम गर्ने, हामीले जे जति काम गरेका छौं आफ्नो बलबुत्तामा गरेका छौं ।’


अहिले कोरोनाको महामारी प्रदेश २ मा भयावह हुँदै गइरहेको छ । तर यस्तो किन भयो, कसको लापरवाहीले भयो भनि त्यहाँका सरोकारवालाहरुसँग कुरा गर्दा उहाँहरुले त्यसको दोष सिधै संघीय सरकारलाई लगाउने गर्नुभएको छ ।  


प्रदेशमा विकास किन भएन प्रश्न गर्यो भने त्यहाँको सरोकारबालाको एउटै जवाफ हुन्छ ‘हाम्रो हातमा केही छैन, न शासन छ न प्रशासन छ, हामी एकजना कर्मचारीलाई पनि चलाउन सक्दैनौ अनि यो अवस्थामा कसरी काम गर्न सक्छौं ।’


प्रदेशमा शान्ति सुरक्षा किन भएन भनि जिज्ञासा गर्दा त्यहाँको सरोकारवालाहरुले सिधै भन्छन्, हामीसँग न प्रहरी छ न प्रशासन छ, न सिडियो छ, न एसपी छ हाम्रो हातमा केही छैन अनि कसरी गर्न सक्छौं शान्ति सुरक्षा ।’ कोरोनाकै विषयमा कुरा गर्ने हो भने संघीय सरकारले कुनै सहयोग नगरेको कारण यस्तो अवस्था भएको हो । 


भेन्टिलेटर छैन, पीसीआर टेस्ट नगर्ने मेसिन छैन, जनशक्ति छैन, अस्पताल छैन, भएका अस्पतालको अवस्था जरजर छ यी सबै संघीय सरकारका कारणले भएको भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिने गरेका हुन्छन् । 

नेकपा केन्द्रीय सदस्य रामकुमार शर्मा 


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य रामकुमार शर्मा भन्नुहुन्छ, अहिलेसम्म प्रदेश २ सरकारबारे कुनै सरसल्लाह, सुझाब वा आलोचना गर्दा आफ्ना सबै कमी कमजोरी संघीय सरकारको टाउकोमा राखेर आफ्नो जिम्मेवारीबाट पन्छिने र आफ्नो अयोग्यतालाई लुकाउने काम भइरहेको छ ।’ आफ्नो गल्ती कमी कमजोरी स्वीकार गरी अगाडि बढ्नेमा प्रदेश सरकारमा समस्या देखिएको बताउँदै उहाँले हरेक कुरामा संघीय सरकारलाई देखाएर पन्छिने कामले दीर्घकालमा काम नलाग्ने बताउनुभयो ।


संघमाथी समस्या देखाउनु भन्दा आफूले नै उदाहरणीय काम गरेर आमनागरिकलाई संघियताको अनुभूति दिलाउदै केन्द्रीय सरकारलाई चुनौती दिने गरी प्रदेश सरकारले काम गर्नुपर्ने हो तर अहिले संघलाई गाली गर्दैमा प्रदेश सरकारको समय बिति रहेको उहाँले बताउनुभयो । 


प्रदेश सांसद मनिष सुमन



सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालका युवा नेता एवं प्रदेश सांसद मनिष सुमनले पनि प्रदेश सरकारले भनेको कुरामा २५ प्रतिशत सत्यता मात्र छ, ७५ प्रतिशत झुठ बोलिरहेका छन् ।’


संघीय सरकारले नीति निर्माणमा केही असहयोग गरेको सही हो तर अरु कुरामा प्रदेश सरकारले भनेको जस्तो सहयोग नगरेको बताउँदै उहाँले संघीय सरकारमाथि सबै दोष थुपारेर आफूले गर्ने गल्ती ढाकछोप गर्ने प्रयास गरेको टिप्पणी गर्नुभयो । 


प्रदेश सरकारले के गरेको छ के गरेको छैन त्यसको प्रमाण लेखा परिक्षणको प्रतिवेदनले नै दिइरहेको बताउँदै उहाँले भन्नुभयो, सरकारको रेडबुकमाथि असन्तुष्टि व्यक्त भइरहेको छ त्यो त संघीय सरकारका कारण भएको होइन नि, सरकारले उपभोक्ता समितिहरुबाट काम गराई सकेको छ तर ८५ करोडको भुक्तानी दिएकोे छैन के त्यो पनि संघीय सरकारको कारणले भएको हो र ? संघीय सरकारले पीसीआर मेसिन र भेन्टिलेटर मेसिन खरिद गरेर दिएको छ तर अहिलेसम्म त्यो जडान गर्न सकेको छैन के त्यो पनि संघीय सरकारले जडान नगर्न भनेको हो र ? क्वारेन्टाइनको राम्रो व्यवस्था नहुनुको कारण कतिपयको ज्यान गएको छ के त्यो पनि संघीय सरकारका कारण नभएको हो र ? प्रदेश सरकारले संघीय सरकारलाई देखाएर आफ्नो गल्ती लुकाइरहेको छ, अरु केही होइन ।’

प्रदेश सांसद बिक्की यादव


त्यस्तै अर्का प्रदेश सांसद बिक्की यादवले काम आफूले नगर्ने अनि दोष संघीय सरकारलाई देखाउने काम प्रदेश सरकारबाट भइरहेको बताउनुभयो । संघीय सरकार जहिले पनि मधेशका लागि विभेदकारी नीति लिएको तर यो होइन कि प्रदेश सरकारले केही गर्न सक्दैन, कुनै जिम्मेवारी नै छैन, कुनै अधिकारी नै छैन प्रदेश सरकारले पनि गर्न चाह्यो भने धेरै गर्न सक्छ तर हरेक कुरामा दोष देखाउने काम गरेको उहाँले बताउनुभयो । 


उहाँले भन्नुभयो, प्रदेश सरकार र मधेसी जनताले केन्द्र सरकार (ओलि सरकार) बाट सहयोगको आशा गर्नु मुर्खता मात्रै हुनेछ किनभने केन्द्र सरकारका निर्णयहरु सधैं मधेश र मधेशी जनताको विरुद्धमा रहने गरेको छ । त्यसैले प्रदेश सरकारले आफ्नो बलबुतामा मधेसी जनताको जीउ ज्यानलाई पहिलो प्राथमिकता राखि विकास कार्यक्रम तत्काल स्थगित गरी कोरोना महामारीबाट प्रदेशका जनतालाई जोगाउनु पर्छ ।’


कोरोनाको महामारीबाट बच्नका लागि प्रदेश सरकारको तयारी हेर्दा लज्जित र आक्रोशित बनाएको बताउँदै उहाँले हचुवाको भरमा गरिएको निर्णयको कारण न त स्थानीय निकायसँग प्रभावकारी समन्वय हुनसकेको छ न क्वारेन्टाइन, आइसोलेशनको व्यवस्था हुन सकेको बताउँदै उहाँले प्रदेशका सबै अस्पतालको अवस्था दैनीय रहेको बताउनुभयो । 


राजविराज अस्पतालमा महिनौदेखि राखिएको भेन्टिलेटर जडान हुन सकेको छैन । उपचार नपाएर जनता छट्पटाइरहेका छन् र दैनिक रुपमा ज्यान गुमाउनु परेको अबस्था छ, यो त प्रदेश सरकारको गैरजिम्मेवारीपनाको प्रकाष्ठा रहेको बताउँदै उहाँले संघीय सरकारलाई देखाएर आफ्नो गल्ती ढाक छोप गर्ने कार्य गर्न नहुने बताउनुभयो । 

RATOPATI

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..