» » भारत सीमामा रोकिएका छन् नेपालीहरु

नवलपरासी वैशाख ३० गते । बर्दघाट (सुस्ता पश्चिम) को नेपाल–भारत सीमा क्षेत्रमा भारतका विभन्न क्षेत्रबाट आइपुगेका करीब एक सय नेपाली तीनचार दिनदेखि दशगजामा छन् ।

नेपाल–भारत सिमाअन्तर्गत गेर्मी भुजहवा, गुठीप्रसौनी र सुस्ता नाकाको दशगजा क्षेत्रमा  नेपाली बसेका हुन् ।


दशगजा आसपास क्षेत्रमा रहेका नेपालीलाई नेपालतर्फ उद्धार गर्न जिल्ला प्रशासन  कार्यालयमार्फत माथिल्लो निकायमा आवश्यक समन्वय भइरहेको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका गणपति भरत खनियाले जानकारी दिनुभयो ।


सीमा क्षेत्रमा आइपुगेका नेपालीले आफूहरु नेपाल प्रवेश गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । स्थानीय प्रशासनले नेपाल प्रवेश गर्न खोज्ने नेपालीलाई दशगजा क्षेत्रमा रोक लगाउँदै आएको छ ।  नेपालीलाई केही स्थानीय तह र सीमा पारि भारत नजीकै रहेका गाउँलेले सामान्य खानापान र त्रिपालको व्यवस्थापन गरेका छन् ।


यसबारे आफूले गृह मन्त्रालयमा जानकारी  गराइसकेको र  निर्देशन आएपछि मात्र समस्या समाधान हुने प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिनुभयो । पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा राति खेतको बाटो हुँदै  लुकीछिपी नेपालीहरु नेपाल प्रवेश गर्ने गरेका छन् ।

सीमामा लुकिछिपी प्रवेश 
नेपाल–भारत सीमा बन्द गरिए पनि बर्दियामा नेपाल–भारत सीमानाकामा लुकिछिपी नेपाल प्रवेशक्रम रोकिएको छैन । बर्दियाको राजापुर नगरपालिकामा ११ वर्षीया बालिकालाई कोरोना पोजेटिभ पुष्टि भएकै दिन मानिसहरु भारतबाट लुकिछिपी बर्दिया प्रवेश गरेका छन्   ।

भारतको मन्सुरीमा मजदूरी गर्ने राजापुर ४ दलैका घनश्याम चौधरी र उहाँका पत्नी सरस्वती राजापुर नगरपालिकाको चौर्गुजी नाका हुँदै नेपाल प्रवेश गरेको स्थानीयवासीले सुरक्षाकर्मीलाई खबर गरेपछि दुवैलाई स्थानीय अमर शहीद बहुमखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ ।

 यसैगरी सोमबार राति नै राजापुर घर भएका बजारका एक व्यापारी राति कर्णाली  तरेर राजापुर बजारमा प्रवेश गरेकाले उहाँलाई पनि सोही क्वारेन्टाइनमा राखिएको छ ।

नेपालसँग जोडिएको ८३ किमी लामो सीमामा एक हजारभन्दा बढी सशस्त्र र नेपाल प्रहरी तैनाथ छन् । सीमामा कडाइ भएकाले भारतबाट मानिस प्रवेश गर्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..