» » कोरोना, मिडिया र जमाती

–अर्कना खातुन

अचानक चाइनाको युहान भन्ने सहरबाट कोरोनाको लहर चल्यो र सारा संसारमा फैलिँदै गयो । त्यस्ता विकसित राष्ट्रहरुमा त महामारीले ठूलै रुप लियो भनेपछि हाम्रो सानो अविकसित मुलुक कसरी बाँकी रहोस र ! थाहैँ नपाई हेर्दाहेर्दै नेपालसम्म आउन धेरै समय लागेन ।

गरिब देश भनिएर चिनिने हाम्रो राष्ट्रका जनसंख्यामा शिक्षित भन्दा अशिक्षित बढी छन् । यहाँ ठूलो रोग भनेको क्यान्सर, मृगौलामा खराबी, टिवी, मुटुको रोगी र केही हुँदा अपरेशन भन्ने जस्ता रागहरु सजिलो भाषामा बुझिन्छ । जुन हुने खानेहरुका लागि सहजै उपचार गराइन्छ भने गरिबहरुलाई त्यस्ता रोग लागे पनि भोक भन्दा अरु कुनै ठूलो रोग लाग्दैन ।

अधिकांश नेपालीहरु बिहान बेलुकाको छाक टार्ने काममा व्यस्त जिन्दगी गुजार्दै गर्दा नौलो रोग कोरोनाले थाहै नदिइ नेपालका सबै सिमानाबाट भित्र पस्यो । अचम्मको कोरोना संक्रमण रोग अरे, जस्को कुनै ओखती नै छैन । मानिसहरुले यसलाई बुझ्नु भन्दा पहिले नै यसैले सबैलाई बुझिकन एक अर्काबाट टाढा बनाइदियो । कस्तो अचम्म ।

रोग लागेको बेला, बिरामी भएको बेला आफन्तहरु हुन्छन् जसले गर्दा मनोबल बढ्छ । तर बिडम्बना यस्तो पनि दिन आयो कोरोनाले गर्दा आफन्तले पनि साथ दिन नसक्ने अवस्था आइलाग्यो । झन मृत्यु पछि आफन्तले लास पनि हेर्न नपाइ अरे, यो भन्दा डर लाग्दो र दुखको कुरा के नै हुनसक्छ ।

हामी मानव जाती जसले सबै कुरा बुझ्यौ र चिन्यौ । धेरै कुरा बुझेकै भएर होला सबै कुरालाई विभाजित पनि गर्यौ । जातजाती, वर्ग, धर्म, सानो, ठूलो, गोरो कालो, पद, गरिब, धनी यस्ता थुप्रो कुराहरु । तर कोरोनाले सबैलाई एक सम्मान बनायो । सबैलाई मानव बनाइदियो । गरिबलाई गरिब देखेन, धनीलाई धनी देखेन ।

मेरी आमा बिरामी पर्दा पाटन अस्पतालमा भर्ना गरेका थियौ । म कुरुवामा बसेका थिए । त्यसबेलाको कुरा याद आयो । एकजना छेउको बिरामीले रुदै भने, बाच्नलाई पैसा पनि हुनु पर्यो नि ।, मर्न कसलाई पो रहर छ र ? उहाँको कुरा सुनेर कस्तो नरमाइलो लागेको थियो । उहाँ गरिब हुनुहुन्थ्यो । तर आज पैसा, हुनेखानेहरु पनि कोरोनाबाट बाच्न सकेका छैनन् ।

के हो जमाती ?
अब जमातको बारेमा मैले बुझेको जती भन्छु । इस्लाम धर्ममा केही मान्छेहरु जमातमा लागेका हुन्छन् । इस्लाम धर्ममा बुझ्ने उमेर भएपछि जो कोही पनि जमातमा जान सक्छन् । भन्नु पर्दा आफ्नै धर्मको बारे ज्ञान प्राप्त गर्ने बाटो पनि भन्न सकिन्छ । र यो मात्र केही वर्षदेखि चलिआएको परम्परा बिल्कुलै होइन । सयौं वर्ष अगाडिदेखि जमात तथा जमाती विभिन्न ठाउँहरुमा घुम्ने गर्दछन् ।

 यसलाई अहिलेको युगमा धेरै बच्चाहरुलाई र मुस्लिम समुदायका मानिसहरुलाई सी कुराको जानकारी नभएको नहुन सक्छ हो सही कुरा बताउन जमातीहरु विभिन्न ठाउँमा गइ मानिसहरुलाई इस्लामको बारेमा सिखाउने काम गर्दछन् ।

जमातीहरुका समूह नै हुन्छ र त्यो समूहमा जति जना पनि हुन सक्छ । उहाँहरु आफ्ना देशमा मात्र नभइ इस्लामिक बासिन्दा रहेका देश र इस्लामिक राष्ट्रको हरेक मस्जिद मदरसामा जाने गर्दछन् । र आफ्ना समुदायलाई कुरानमा लेखिएका कुराहरु कसरी आफ्नो जीवन शैलीमा ढाल्नु पर्छ, राम्रा बाटोमा कसरी लाग्नु, राम्रो कार्य कसरी गर्नु पर्छ, आफु भन्दा ठूलाबडालाई सम्मान गनुपर्छ, झुटो बोल्नु हुन्दैन्, दाइजो लिनु हुँदैन्, छोरा छारीलाई बराबर हुन्, कसैसँग नराम्रो बचनबोली रिसराग राख्नु हुन्न भन्ने खालको ज्ञान सिखाउने र उपदेश दिने गर्दछन् ।

तसर्थ अल्लाहतालाका अन्तिम सन्देश प्रवाह गर्ने, मानिएका मोहम्मद सल्लालाहु–अलैहुवसल्लमले आफ्नो जीवनमा गर्नुभएका राम्रा कुराहरुको व्यख्या गर्ने र सिखाउने उद्देश्य जमातीको हुन्छ ।

जमातीहरुका बारेमा थुप्रैलाई थाहा छैन । उहाँहरु मात्र अल्लाहको मार्गदर्शनमा हिड्ने गरेका हुन्छन् । गैरमुस्लिहरुलाई थाहा नहुनु स्वभाविक नै हो, तर हो केही मुस्लिमहरुलाई पनि थाहा नहुन सक्छ । सबै धार्मिक कुराहरु हरेक व्यक्तिलाई जानकारी नै हुन्छपर्छ भन्ने पनि छैन ।

मलाई पनि थुप्रै कुराको ज्ञान छैन् । जमातीहरु सधै ठूलो संख्यामा नै हुने गरेका हुन्छन् र उहाँहरु मस्जिदमा अथवा मदरसामा नै बस्ने गरेका हुन्छन् । उहाँहरुको उद्देश्य कसैलाई पनि गाह्रो नहोस् भन्ने हुन्छ । र अर्को जरुरी कुरा जमातीहरुलेआफ्ना समुदायका मानिसहरुलाई मात्र सिखाउने गरेका हुन्छन् ।

लकडाउनको पीडा
लकडाउन, हो सारा नेपालीका लागि कोरोना पछिको अर्को नयाँ शब्द । शुरुमा कसैले पनि बुझेका थिएनन् बिदेशबाट भित्रिएको कोरोनासँगै लकडाउनको अर्थ । बाहिर ननिस्कने, बाहिरी मान्छे कसैसँग नबोल्ने र घर भित्रै बस्ने ।

सरकारले लकडाउन गर्ने निर्णय सावर्जनिक गर्दासम्म पनि केहीलाई थाहा थिएन यसको बारेमा । एक्कासी कोरोनाको त्रास आयो र एक्कासी सरकारले लकडाउको निर्णय लिन बाध्य भयो, जुन सही निर्णय थियो त्यो बेला । बुझ्नु पर्दा काठमाडौं अर्थात राजधानी पनि नेपाली बासीहरुका लागि एउटा विदेश भन्दा कम छैन् । विभिन्न जिल्लाबाट संघर्ष गरि काम गर्न र पढ्नको लागि भनेर थुप्रै मानिसहरु कोठा भाडा लिएर बसेका छन् काठमाडौं भन्ने विदेशमा ।

लकडाउनको केहि दिन पछि सबैको होस् खुलेझै देखिन थाल्यो । मानिसहरु छटपटिन थाले । जो जो जहाँ थिए एक्कासि घर परिवारको याद आउँन थाल्यो । सबैमा मरिन्छ कि भन्ने त्रास देखिन थाल्यो । त्यसपछि कैयौ वर्षदेखि गाउँघर बिर्सिएकाहरुलाई गाउँघर याद आउन थाल्यो ।

के हुन्छ अब थाहा छैन् मरिन्छ, बाचिन्छ यो प्रश्नले सबैको मनमा चिसो पसिसकेको छ । मरे पनि आफ्नै घर आँगन र परिवारको आँखा अगाडि मरौला भन्ने लाग्यो । लकडाउनको निर्णयसँगै थुप्रै व्यक्तिहरु अलपत्र परे । जुन हामीले दिनहुँ विभिन्न मिडियाहरु सामाजिक सञ्जालमार्फत जानकारी लिइरहेका छौं । हो, अहिलेको अवस्थामा मिडियाकर्मी, डाक्टरहरु र प्रहरीहरुलाई भगवानको अर्को रुप भन्दा केही फरक नपर्ला ।

लकडाउन लगाइदा कोरोना संक्रमण के हो भन्ने कसैलाई पत्तो थिएन तर सक्किन लागेको पैसा र पेटको भोक रोग भन्दा पनि निकै ठूलो देखा पर्यो । जसले गर्दा दिनहुँ मान्छेहरु कोशौको दुरि भए पनि हिडेरै गाउँघर जान बाध्य भए ।

दोषी चश्मा
जहाँ सरकारबाट आदेश थियो भिड नगरौ तर भोकको छटपटिले बाटोमा भने भिड कम भएको देखिएन । खाली खुट्टा भोको पेट तथा स–साना बच्चा । धन्न तिनीहरुमा भनौदा मुस्लिमहरु थिएनन् कि मैले सामाजिक सञ्जालमा भेटिन्, नत्र केही कारण बस उहाँहरुलाई पनि बाटोमै दोषी चस्माले नहेर्ने नजरहरु भटिन्दैन् थिए होला ।

हिडेरै जाने आँट उहाँहरुले गरे जोसँग राजधानी भन्ने विदेशमा आफु बाहेक आफ्ना भन्ने कोहि थिएनन् र दुई छाक टार्न हम्मे हम्मे भएका थिए । लकडाउनको केही दिन पश्चात राजमार्गका बाटाहरु कहिल्यै खालि देखिएनन् ।

जुन बाटामा चक्काको जाम हुने गथ्र्यो त्यहाँ पैतालाको जाम देखिन थाल्यो । सामाजिक सञ्जालमा राखिएका तस्वीरहरु देखे आफ्नै आखाँबाट तुरुरु आसु बग्थ्यो । हेर्नै नसकिने दृष्य तर गर्न केही नसकिने जसरी सरकार लचार छ, त्यसरी हामी पनि लचार छौ ।

तर पनि सक्नेले सहयोग गरिरहेका छन् । अहिलेको अवस्थामा भगवानले नै कतैबाट सहयोग गर्न पठाइदिए झै । धन्न ती पैतलाहरु देश भित्रकै थिए र गैरमुस्लिम समुदायको ।

फेरी एकछिाण जमाती कै कुरा गरौ । गर्व लाग्छ शुरु आफ्नो राज्यबाट भएन । भारतका केही मिडियामा कोरोना भन्दा पनि बेसी मुस्लिम र जमातीहरुको नाकारात्मक समाचारहरु मात्र आउन थाले । सायद केही दोषी पनि होलान् नकार्न सकन्नि तर यति घृणित समाचार जस्ले गर्दा प्राय जसो मुस्लिम समुदायहरुको मनमा कोराना भन्दा पनि बेसी हिन्दु मुस्लिमको डर पस्न थाल्यो ।

सबै आ–आफ्ना ठाउँबाट ती समाचार हेरी आश्चर्य भए ।


ती समाचारहरुले गर्दा धेरैका आँखाले मुस्लिम समुदायलाई नकारात्मक र दोषी नजरले हेर्न थाले । जसको प्रभाव हाम्रो देश नेपालमा पनि देखिन थाल्यो । हाम्रो देश जुन सदैव हिन्दु मुस्लिम दाजु भाइ तथा दिदी बहिनी झै मिलेर बस्दै आएका छन् ।

हाम्रा भाइचारा हरेक चाडवाडमा सेवै र बिरयानीदेखि सेल, यमरी, बारा, आलुको अचार तथा विभिन्न मिठो मिठो पकवानमा गएर टुङ्गिने गरेको छ । आज पनि । दशैं, इद, कुर्बानी, तिहार भाइटिका, रक्षा बन्धन सबै आफ्नै लाग्छन् । कति आफ्नो घरमा खान बोलाउँदा हाम्रो लागि भनि हलाल मासु समेत खोजेर पकाउनु हुन्छ ।
म भाग्यमानी छु मेरा साथीहरु मेरो लागि भनेर मलाई मन पर्ने पकवान बनाइ खान बोलाउँछन् । अझै मलाई सेल र यमरी असाध्यै मन पर्ने भनेर घरसम्म पु¥याउन समेत आउँछन् । उनीहरुको छुनै नहुने पुँजामा समेत मलाई निम्ता दिन्छन् । इदमा मेरो बुवा आमाले साथीहरुका लागि भनेर ईदि छुट्याउने गर्नु हुन्छ । यो भन्दा खुसीको कुरा के नै होला र आ–आफ्नो चाडपर्वमा हामी सबै सामिल हुन्छौ ।

पत्रकारितको प्रभाव
तर छिमेकी राष्ट्रको राजनीति र पत्रकारीताको असर र प्रभाव हाम्रो नेपालमा केहि हदसम्म देखा पर्न थालेछ । केहि राजनीतिज्ञ र तिनीहरुका चम्चागिरी गर्ने पत्रकारहरुले यहाँ हाम्रो देशमा चलिआएको एक अर्का माथीको माया र सम्मानभित्र अशान्ति पु¥याउन निकै कोसिस गरिरहेका छन् ।

हुन त यो चिन्ताकै विषय हो । तर त्यो भन्दा पनि ठूलो हाम्रो देशमा विश्वास र सहिष्णुता छ । अहिले सामाजिक संजालमा व्यापक चर्चाको विषय नै कोरोना छ तर त्यो चर्चालाई उछिन्दै जमाती र मुस्लिमहरुकै स्ट्याटस बढी छ । ठिकै छ नयाँ विषय जमातीको बारेमा कमसे कम जानकारी त हुन्छ नि । र धेरै बुझ्ने तथा बुद्धिजिविहरु हुनुहुन्छ ।

उहाँहरुले केही भारतीय पत्रकारहरुले अशान्ति फैलाउने कार्य गर्दैछन् भन्ने बुझ्नु पनि हुँदैछ । यस्ता थुप्रै नेपाली बुद्धिजिवि तथा पत्रकारहरुको स्ट्याटस पढेर खुशी पनि छु । उहाँहरुको सकारात्मक सोच र विचार पढेर मन ढुक्क हुँदैछ मेरो र मुस्लिम समुदायको ।

मैले जमातीहरुको बारे माथी उल्लेखित गरिसकेको छु । सायद तपाइहरुले केहि हदसम्म बुझिसक्नु भएको होला जमातीहरुको बारेमा । होइन!् जाओस पनि त कहाँ जाओस ति जमातीहरु हालको परिस्थितिमा । कोराना आउँनु भन्दा पहिलेदेखि नै वहाँहरु आउँनु भएका थिए ।कसैले पनि आफ्नो घरमा राख्ने कुरा पनि आएन । आखिर मान्छे नै त हुन् बस्ने र खाने ठाउँ त हुनु नै पर्यो होइन र ? अनि मस्जिद, मदरसामा नगइ कहाँ जाउँन् र ! यस आपदको बेला । के गल्ति बिराएर जब सरकारले जो जाहाँ छ त्यहि बस भन्दा ।

हुन त उहाँहरु पहिला देखि नै मस्जिद, मदरसामा नै बस्दै आएका थिए । कुनै पनि धर्मका व्यक्ति जाने ठाउँ पाएन् भने आफुले मान्ने भगवानकै शरणमा जान्छन् । र कुनै पनि धर्मका व्यक्तिलाई धर्मस्थलमा लुकेर बसेको पक्कै पनि भनिदैन ।

तर केही पत्रकारहरुले समाचार संप्रेषण नै गलत तरिकाले गर्दैछन् । मुस्लिम समुदायहरु मस्जिदमा बसेको लेख्नु पर्ने ठाउँमा लुकेका छन् र तिनिहरुलाई प्रहरी आफ्नो नियत्रणमा लिएका छन् भनि समाचार लेख्दैछन् । गलतलाई गलत भन्नु सहि हो र गल्ति गरेका हुन भने बिल्कुल सजाय दिनुस् । तर हरेक मुस्लिमलाई जहिले पनि गलत दृष्टि (नजरिया) ले हेर्नु पक्कै गलत हो । साह्रै चित्त दुख्छ ।

अर्को कुरा, हाल सबैजना त्रसित छन् । कमै मानिसहरु होलान जसले जे होला होला, र जे लेखेको छ त्यहि हुन्छ भन्नेमा विश्वास राख्छन् ।

 तर सबै मानिसहरु एकनासका बलियो सोचका पक्कै हुदैनन् । केही मानिसहरु मनले, केही दिमागले, त केही शरीरले कमजोर होलान् ।

 अहिले कतिपय व्यक्तिहरु आफ्नै घरमा सुखसँग बसेता पनि विभिन्न डरले गर्दा पनि बिसञ्चो हुनु भएको होला । बिरामी हुनलाई रोगले नै च्याप्नु पर्छ भन्ने छैन् । घर बस्ने देखि बाटोमा हिड्ने व्यक्तिहरुमा अहिलेको परिस्थितिमा साइक्लोजिकल इफेक्ट देखा परिसकेको कुरालाई हामीले नकार्न सक्दैनांै ।

मैले आफ्नै कुरा गर्नु पर्दा कुनै कुनै बेला अब के होला जस्ता डर लाग्दो प्रश्नका साथ मनमा चिसो पसेको हुन्छ । तर फेरी आफ्नो मनोबल बढाउँछु र साकारात्मक सोच्न थाल्छु । यस्तो थुप्रैसित हुने गरेको छ अहिले । परिस्थिति नै त्यस्तै छ ।

मुस्लिम समुदायहरु कय्यौ युगदेखि यहाँ बस्दै आएका छन् । तर गर्वका साथ छातीमा हात राखी आफु नेपाली हुँ भन्नेहरु पनि केही गल्ती नगरी पनि विभिन्न कारणहरुले गर्दा डराएरै बसेको महसुस समेत गरेको छु मैले । मात्र मुस्लिम भएकै कारण, के साँचैको मुस्लिमहरु मानव नभइ गलती हुन् र ?

यो प्रश्न म सबै नेपालीसँग गर्न चाहन्छु ? तर के मा गलत ? गल्ति त मान्छेले पो गर्छन् होइन् र कि जातले ? गल्ति भए त सजाय दिँदा स्विकारिन्छ पनि तर केही नगरि किन दोषी झै डराएर बस्नु ? यस्ता थुप्रै प्रश्न छन् मनमा । एक त मुस्लिम समुदायमा शिक्षित एकदमै कम छन् र त्यसमाथि बुझेकाहरु त निकै कम ।

फेरी अब एकछिन जमातीहरुकै कुरा गरौ । विभिन्न ठाउँबाट आएका जमाती । केही भारतीय जमाती । तपाईहरुले बुझ्ने भाषामा भन्नु पर्दा धर्मगुरु वा धर्म बुद्धिजिवीहरु अथवा जमातीमा जो कोही पनि हुन सक्छ । जमातमा हिडेकाहरुलाई धर्म भन्दा बाहिरी दुनियाँ बारे खासै जानकारी राख्दैनन् । अधिकांश जमातीहरु धर्मकर्म मै लागेका हुन्छन् जसले गर्दा कहाँ के हन्दैछ उहाँहरुलाई थाह हुन्न ।

जहाँसम्म मलाई लाग्छ सबै धर्मका धर्मगुरुहरुलाई आफ्नो धर्मको निकै ज्ञान हुन्छ तर बाहिरी संसारमा के भइरहेको छ त्यसबारे खासै जानकारी गरेर बस्नु हुन्न होला । म सबैको कुरा गर्दिन् किनभने कतियौंलाई थाहा होला पनि तर हो नेपालका वा अन्य ठाउँबाटै आउनु भएका केही धर्मगुरुलाई बाहिरी दुनियाँको बारेमा त्यति धेरै जानकारी छैन ।

धर्मगुरु र आइटी
उहाँहरु मोबाइल, कम्प्यूटर, ल्यापटप वा भन्नु पर्दा आइटीको दुनीयाँबाट निकै टाढा हुनुहुन्छ । म सत प्रतिशत त भन्दिन् तर हो धेरैलाई यी सबै एकदमै राम्ररी चलाउन जान्नु भएको छैन् होला । आफुलाई जेजति काम छ ती मात्र चलाउनु हुन्छ । भने पछि धर्ममै जीवन समर्पित गरेकालाई एक्कासी कोरोना वा लकडाउनको बारेमा नै कसरी थाहा होस् र ? यसको अर्थात यो पनि होइन कि उहाँहरुलाई केही पनि आउँदैन् ।

र, मैले यी सबै भनेर उहाँहरुको बचाउँ गर्न खोजेको पक्कै पनि होइन् मात्र हाल धेरै मिडियाहरुले आरोप लगाई मस्जिदमा मदरसामा लुकेर बसेका छन् र प्रहरीले नियन्त्रणमा लिएको छ भन्ने समाचारहरुलाई घोर निन्दा गर्छु र त्यहि भएर यो लेख्न र भन्न जरुरी ठानेको हो ।

र जहाँसम्म आचारसंहिताको कुरा आउँछ पोजेटिभ देखिकाहरुको नाम पनि खुलाउनु हुदैन् तर यहाँ भने मुस्लिम समुदायका केही व्यक्तिहरुलाई अपराधी झै गरेर फोटो सहित सामाजिक संजालमा राखिएको देख्छु । सरकारले जो जहाँ छ त्यही बस त्यत्रो भन्दा पनि राजधानीदेखि अलपत्र भइ मान्छेहरु कोठा छाडेर हिडे । र सडकमा भिड गरे त्यसको बारेमा पनि मिडियाले लेख्यो तर साकारात्म ढंगबाट लेख्यो ।

कोराना र लकडाउनलाई नब्झ्ने नेपालीहरु अझै पनि छन् भने ‘मुसलमान जमाती’ ले कसरी सबै कुरा एकैचोटी बुझोस् र । जहाँ सबै के हुँदैछ, अब के गर्ने जस्ता डरको प्रश्नमा अल्झेका छन् । आशा गर्छु मेरो लेखाइलाई पढेर तपाईहरु नेपाली मुस्लिमहरु प्रति सकारात्मक सोच्नु हुन्छ होला । हुनत लोकतन्त्र हो, सबैको आ–आफ्नो विचार हुन्छ । तर मात्र मेरो लेखाइको तात्पर्य सबै मानिसलाई एक सम्मान लिनु हो । म आफै पनि सबै धर्म जातजातीलाई एकमदै सम्मन गर्छु ।


About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..