» » राजपा नेपालका प्रवक्ता भन्नुहुन्छ, ‘प्रदेश २ सरकारको नेतृत्व राजपा नेपालले लिनुपर्छ’

काठमाडौं पुस १६ गते । राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) का सहमहासचिव एवं प्रवक्ता कृष्ण सिंहले प्रदेश २ सरकारको नेतृत्व राजपा नेपालले लिनुपर्ने बताउनु भएको छ ।

उहाँले भन्नुभयो, ‘प्रदेश २ को सरकारको नेतृत्व र गठबन्धनको बारेमा गम्भीरतापूर्वक विचार गर्ने समय आई सकेको छ । बराबरीको आधारमा भएको गठबन्धनमा हाम्रो पार्टीलाई सरकार गठनदेखि लिएर आजको मितिसम्म कहिले पनि समानता र सम्मानको अनुभव भएको छैन ।’

समाजवादी पार्टीको नेतृत्व र नेता कार्यकर्ताले राजपाको अध्यक्ष र पार्टीप्रति आरोप लगाउदा अब राजपाका नेतृत्व चुप लागेर बस्न नहुने बताउँदै उहाँले बिगतमा भएको सम्झौता र कमजोरीलाई सुधार गर्न आग्रह पनि गर्नुभएको छ ।

सरकारको नेतृत्व गरि रहेको समाजवादी पार्टीका मुख्यमन्त्री र अधिकाँश मन्त्रीहरूको हैकमवादी प्रवृत्ति, एकलौटी निर्णयले गर्दा कहिले पनि समानताको आधारमा गठबन्धन भएको अनुभव नभएको उहाँले बताउनु भएको छ ।

उहाँले आफ्नो फेसबुकमा लेख्नुभएको छ,–‘हाम्रो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको पनि कमी कमजोरी स्वीकार्ने हिम्मत छ मलाई तर कुनै पनि नीति नियम बनाउदा होस् अथवा राजनीतिक नियुक्ति गर्दा होस्, कुनै योजना आवंटित गर्दा होस् अथवा वितरण गर्दा कहिले पनि दुवै पार्टीका शीर्ष नेतृत्व र सरकारको नेतृत्वमा रहेको मन्त्रीहरू बीच कुनै छलफल विचार विमर्श हुने गरेको कुराको उदाहरण छैन ।’

बराबरी सीट र बराबरी मत ल्याएर पनि प्रदेश सत्ता सञ्चालनको संदर्भमा समाजवादी पार्टीको नेतृत्व र प्रदेश सरकारको नेतृत्वमा जहिले पनि अहंकार र दम्भ देखिएको बताउँदै उहाँले राजपा नेपालका शीर्ष तहदेखि स्थानीय तहसम्मको नेता कार्यकर्तालाई कहिले पनि आफ्नो सरकार आफ्नो गठबन्धनको सरकार जस्तो अनुभूति नभएको उहाँले दावव् गर्नुभएको छ ।

मधेशी गठबन्धन, मधेशी सेण्टीमेण्टको नाममा हाम्रो पार्टीले देखाएको सहृदयता, धैर्यता र मौनतालाई हाम्रो कमजोरी नठानियोस, उहाँले भन्नुभयो,–‘मधेशी गठबन्धन र मधेशी सेंटीमेंटको नाममा समाजवादी पार्टीको दादागिरी र हैकमवादी सहन हामीलाई मधेशी जनताले मत दिएको हैन ।’

यदि समाजवादी पार्टीको शीर्ष नेतृत्व र प्रदेश सरकारको नेतृत्वले आफ्नो कार्यशैली र व्यवहार सुधारेन भने राजपा नेपाल पनि सोच्न बाध्य हुने चेतावनी दिँदै उहाँले प्रदेश सरकारको हैकमवादी प्रवृत्ति बदलिएन भने मौन भएर नबस्ने बताउनु भएको छ ।

हामीले सहकार्य गरेको हो, मधेस मुद्दा र अधिकारको लागि सतामा रमाउनका लागि होइन, उहाँले भन्नुभयो, फेरि पनि समय मै सचेत र सजग हुनुपर्छ एक अर्कोको अस्तित्व स्वीकार गर्नुपर्छ, कसै एकको दम्भले फाइदा हुँदैन आआफ्नो पार्टीको नेता कार्यकर्तालाई अनुशासनको दायरामा ल्याउनु पर्छ ।’

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..