भुक्तानीका लागि जिल्लामा पटक पटक आन्दोलन गरेका उखु किसान त्यहाँ न्याय नपाएपछि आन्दोलनलाई काठमाडौं सारेको छ ।
उखु बिक्री गरेवापत चिनी उद्योगबाट लामो समयदेखि भुक्तानी नपाएपछि सर्लाहीका उखु किसानहरु शुक्रवारदेखि माइतीघर मण्डलामा प्रदर्शन तथा धर्ना बसिररहेका छन् ।
सर्लाहीका अन्नपूर्ण चिनी मिलले ५० करोड र महालक्ष्मी सुगर मिलले २१ करोड रुपियाँ किसानको वक्यौता रकम नदिएको दिएको दावी किसानहरुले गरेका छन् । त्यसका साथै सरकारले दिने अनुदान पनि किसानले हालसम्म पाएको छैन ।
किसानहरुले १५ महिनासम्म जिल्लामा आन्दोलन गरेका थिए ।
सो आन्दोलनपछि प्रमुख जिल्ला अधिकारको उपस्थितिमा उद्योगी र किसानबीच जेठ ६ गते पाँच बुेदे सहमति भएको थियो । असारमसान्तभित्र सम्पूर्ण वक्यौता रकम भुक्तानी गर्ने र केही रकम तिर्न नसके कात्तिक मसान्तभित्र भुक्तानी गरिदिने पाँच बुँदे सम्झौतामा उल्लेख छ ।
तर असारमसान्त बित्यो, कात्तिक मसान्त पनि बित्यो तर उद्योगीले एक रुपियाँ पनि भुक्तानी नदिएको उखु किसान संघर्ष समिति सर्लाही–४ का सचिव हरिश्याम राय यादवले बताउनुभयो ।
कात्तिकमसान्तसम्म भुक्तानी नदिँदा आफूहरु मङ्सिरसम्म कुर्यौ, तैपनि उद्योगीले वास्ता गरेनन् अनि बाध्य भएर आफू काठमाडौं आएको उहाँले बताउनुभयो । उहाँहरु आन्दोलनका लागि काठमाडौं आएपछि ती दुईटै उद्योगका कर्पोरेट कार्यालयमा तालाबन्दी गरेका छन् ।
सचिव रायले काठमाडौंको कार्यालयमा तालाबन्दी गरी संघीय सरकारलाई ध्यानाकर्षण गराउन माइतीघरमा धर्ना तथा प्रदर्शनी जारी राखेको बताउनुभयो । उखु किसान संघर्ष समिति सर्लाहीको अगुवाइमा करिब एकसय किसान प्रदर्शनीमा सहभागी रहेका छन् ।
संघर्ष समितिका अध्यक्ष रामस्वगारथ राय यादवले २०७० सालदेखि बाँकी रहेको बक्यौता रकम हालसम्म नपाएको बताउँदै उहाँले अन्नपूर्ण सुगर मिलबाट मात्र १२ हजार किसानले भुक्तानी पाउन बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, हामीले भुक्तानी नलिएसम्म घर फर्किनेछैनौ, ।’ यसपाली किसानहरु पुरै तयारका साथ आएका छन् । माइतीघरमा भेला भएका किसानहरु भन्छन्, बरु यसपाली यही मर्छौ तर बक्यौता रकम नलिइकन घरफर्किदैनौं ।
महालक्ष्मी सुगर मिलले ६० करोडको उखु खरिद गरेकोमध्ये १३ हजार किसानको २१ करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको उहाँले बताउनुभयो । आन्दोलनकारी उखु किसानको अगुवाई गरी काठमाडौंसम्म आएका सर्लाही क्षेत्र नं ४ का राजपा नेपालका नेता राकेश मिश्रले भन्नुभयो, ‘उखु मिलबाट एउटै किसानले २५ हजारदेखि २५ लाख रुपैयाँसम्म भुक्तानी लिन बाँकी छ ।’
भुक्तानी नपाउने किसानलाई दिनदिनै समस्या थपिदै गइरहेको बताउदै नेता मिश्रले तीनदेखि धर्ना बसेपनि सरकारको कुनै ध्यानाकर्षण नभएको बताउनुभयो । मन्त्रिपरिषद्को बैठकमार्फत सरकारले यो वर्षका लागि प्रतिक्विन्टल उखुलाई ५३६ रुपियाँ ६५ पैसा मूल्य निर्धारण गरेको छ ।
उखु किसानको समस्या समाधानका लागि पुस ३ गते प्रदेश २ का कृषि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले राज्यमन्त्री योगन्द्र राय यादवको संयोजकत्वमा प्रदेश २ को उखु किसान र उखु उद्योगी बीचको समस्या पहिचान तथा सुझाव पेश गर्न एक आठ सदस्यीय समिति गठन गरेको छ ।
त्यो समितिले पनि आफ्नो काम शुरु गरेकै अवस्थामा उखु किसानहरु आन्दोलन गर्न काठमाडौं आएका छन् । समितिका संयोजक एवं राज्यमन्त्री यादवले किसानहरु काठमाडौं गएको कुरा आफ्नो जानकारीमा नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, आजै पनि सर्लाहीका उखु किसानहरुसँग छलफल गरेर आएको छु । उहाँहरुको समस्या समाधानका लागि उद्योगीहरुसँग छलफल गर्नुको साथै उद्योगी र किसानको बीचमा पनि छलफल गराएको छु । प्रदेश सरकारले उखु किसानको समस्या समाधान होस् भने भरमग्दुर प्रयास गरिरहेको छ ।’
प्रदर्शन भोली पनि जारी रहनेछ ।
No comments: