
काठमाडौं मंसिर ९ गते । नेपालका लागि भारतीय पूर्व राजदूत रणजित रायले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनिया कम्युनिष्ट पार्टीबीचको निकटता चिन्ताको विषय भएको बताउनु भएको छ । साथै नेपालका दुई ठूला कम्युनिष्ट पार्टीलाई एकता गराउन चीनले निर्णायक भूमिका खेलेको दावी गर्दै उहााले नेपालको घेरेलु राजनीतिमा चीनले प्रवेश पाएको दावी गर्नुभयो ।
‘द वायर’ का लागि ह्याप्पिमन ज्याकोबले लिएको भिडियो अन्तरवार्तामा रायले करिब पौने घन्टा नेपाल–भारत सम्वन्ध र नेपालमा चिनियाँ संलग्नताबारे चर्चा गर्नुभएको थियो ।
‘नेपाल र चीनका कम्युनिष्ट पार्टीबीच जुन सम्वन्ध विकास भइरहेको छ, त्यो चिन्ताजनक छ,’ उहाँले भन्नुभयो, ‘चिनियाँ कम्युनिष्ट पार्टीका मानिसहरु नेपालमै आएर नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई सी जिनपिङ विचारधाराको प्रशिक्षण दिएका छन् ।’
तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच चीनले नै एकता गराइदिएको दाबी गर्दै पूर्व राजदूत रायले भन्नुभयो, ‘चीन नेपालको घरेलु राजनीतिमा मज्जासित घुस्न थालेको छ । नेपालका सबै वामपन्थी शक्तिहरुलाई एक बनाउने उसको प्रयास हो ।’
यद्यपि उहाँले नेपालमा भारतको विकल्प चीन कुनै हालतमा बन्न नसक्ने गर्नुभयो । उहाँ भन्नुभयो, ‘भौगोलिक वस्तुस्थिति नै यस्तो छ कि नेपाल र चीनबीच सामान ओसारपासर सम्भव छैन । चीनको नजिकको बन्दरगाह पनि नेपालबाट ३५ सय किलोमिटर टाढा छ । त्यही भएर नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयन हुन सकेको छैन ।’
भारतसँग सम्वन्ध बिग्रिँदा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट सामान ल्याउने चेतावनी दिएपनि त्यो सफल नभएको रायले बताउनुभयो । ‘उनीहरुले सांकेतिकरुपमा एक–दुई ट्याङ्कर तेल ल्याए । त्यसपछि त्यो बन्द भयो,’ भारतका पूर्व राजदूत रायले भन्नुभयो ।
राजा महेन्द्रको पालादेखि नै नेपालमा भारतसँग सम्वन्ध बिग्रिदा चीनतर्फ फर्किने प्रवृत्ति रहेको औंल्याउँदै यो कहिल्यै सफल नभएको रायले बताउनुभयो । ‘१७ सालमा प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेपछि महेन्द्रले कम्युनिष्टलाई हातमा लिएका थिए,’ रायले दाबी गर्नुभयो ‘महेन्द्रकै विचारको धङधङी नेपालका कम्युनिष्ट पार्टीहरुमा छ ।’
नेपालमा २०७२ मा अघोषित नाकाबन्दी लगाएको विषयमा रायले पुरानै भाषा दोहोर्याए । ‘नेपालको संविधान समावेशी भएन भनेर एउटा समुदाय आन्दोलनमा थियो । उनीहरुले नाकामा बसेर अवरोध गरेका थिए । उनीहरुलाई कसले हटाउने ?’ पूर्व राजदूत रायले भन्नुभयो, ‘नेपाल सरकारले हटाउन खोजेको भए रक्तपात मच्चिथ्यो । हाम्रा ट्रकहरु त नाका पार गर्नका लागि लाइन लागेर बसेका थिए ।’ साथै त्यतिबेला रक्सौलबाहेकका अन्य बोर्डरबाट सामान आपूर्ति भइरहेको दाबी पनि उहाँले गर्नुभयो ।
नेपालमा संविधान जारी गर्ने क्रममा भारतले विदेश सचिवलाई विशेष दूतका रुपमा पठाएर हस्तक्षेप गर्न खोजेको विषयमा उहाँले जवाफ दिनुभयो, ‘नेपालमा मधेसी समुदाय आन्दोलनमा उत्रिँदा त्यसको प्रभाव हाम्रो बोर्डरमा पर्छ । त्यसैले भारतले संविधानमा सबैलाई समेट्ने सन्देश दिनमात्रै विदेश सचिवलाई पठाएको हो । त्यसअघि पनि हामीले नेपाललाई सम्झाउँदै आएका थियौं । अन्तिम कदमका रुपमा विदेश सचिव पठाइएको हो । तर उहाँले कुनै प्रेस्किप्सन बोकेर जानुभएको थिएन ।’
भारतले राजतन्त्र हटाउन आन्दोलनकारी शक्तिलाई साथ दिएको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘त्यतिबेला चाहिँ हस्तक्षेप नहुने, अहिले कसरी हस्तक्षेप भयो ?’
नेपालमा चीनले सक्रिय भूमिका निभाउन खोजिरहेको भन्दै पटकपटक चिन्ता व्यक्त गरेका रायले त्यसलाई पुष्टि गर्न विभिन्न तर्क राख्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाल र चीनले पहिलोपटक संयुक्त सैन्य अभ्यास गरे । चीनले नेपाली सेनालाई सैन्य उपकरणहरु सहयोग गर्यो । बीआरआईमा नेपाललाई समेट्न खोजिरहेको छ । नेपालका कम्युनिष्टलाई एक सूत्रमा बाँध्न खोजिरहेको छ । पहिले अरु देशको आन्तरिक राजनीतिमा खासै चासो नदिने चीन अहिले नेपालमा गहिरो रुपमा भूमिका खेलिरहेको छ ।’
चीनले पनि तिब्बतको कारण नेपाललाई प्राथमिकतामा राखेको पूर्व राजदूत रायको तर्क छ । साथै नेपालमा पश्चिमाहरुको भूमिका बढेको चीनले नरुचाउने गरेको उहाँले सुनाउनुभयो ।
नेपालका दुई राजनीतिक शक्तिको विश्लेषण गर्दै रायले भन्नुभयो,, ‘अहिले नेपालमा चीनको हस्तक्षेप बढ्नुको कारण कम्युनिष्टको सरकार भएर पनि हो । कांग्रेसको सरकार भएको भए यस्तो हुँदैनथ्यो ।’
चीनले नेपाललाई अरु सहयोग गरे पनि रेल भने नबनाइदिने रायको भविष्यवाणी छ । उहाँले भन्नुभयो, ‘मलाई लाग्दैन कि चीनले मल्टीबिलियन डलर खर्च गरेर नेपालमा रेल बनाउँछ । किनकी रेलबाट चिनियाँ सामान भारतमा पठाउने सुनिश्चित नभएसम्म त्यो बनाउनुको अर्थ हुँदैन ।’
No comments: