» » गरिमा धानको बीउ नक्कली

किसानले हाइब्रिड जात गरिमा धानको बीउ भनि लगाएको बाली सो जातको नरहेको कार्यदलको धानविन प्रतिवेदनले देखाएको छ । राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथ धनुषाका प्रमुख डा.रामवरण यादवको संयोजकत्वमा हाइब्रीड जात गरिमा धानको बारेमा अध्ययन गर्न बनेको कार्यदलले बुझाएको प्रतिवेदनमा सो ढिलो लागेको बाली गरिमा धानको बीउ नभएर अन्य जातको रहेको उल्लेख छ ।

तनहुँबाट ल्याएको समयमा पसाइए (बाली लागेको) को हाइब्रिड गरिमा जातको धान र समस्या आए अर्थात समयमा बाली नलागेको हाइब्रिड गरिमा जातको धानको डिएनए परीक्षण गर्दा दुवै धानका जात एउटै नरहेको ठहर भएको कार्यदलका संयोजक डा.यादवले बताउनुभयो । जुन धानमा समस्या देखिएको छ, त्यो हाइब्रिड गरिमा धान होइन भनि स्पष्ट भयो, उहाँले भन्नुभयो, दर्ता गरिएको गरिमा जातको हाइब्रिड धान र स्थलगत निरिक्षण गरिएको गरिमा धानको जातीय विशेषता फरक पाइएको छ ।’

यस्तो समस्या कैलाली, कञ्चनपुर, दाङ, चितवनलगायतका जिल्लाका किसानले गरिमा भनि लगाइएको धानमा देखिएको उहाँले बताउनुभयो । चितवनको जिल्लाका विभिन्न स्थानहरुको स्थलगत निरिक्षण गर्दा कृषकहरुको खेतबारीमा रहेको गरिमा जातको हाइब्रिड धान बाला निस्कने अवस्थाको प्रारम्भिक चरणमा रहेको र बाला निस्कन थप २० देखि २५ दिन लाग्ने बताउँदै उहाँले यसको पाक्ने अवधि पनि दर्ता गरिएको गरिमा हाइब्रिड धानको भन्दा करिब एक महिना बढी लाग्ने देखिएको जानकारी दिनुभयो ।

नेपालमा दर्ता गरिएको गरिमा जात हो वा होइन भनि यकिन गर्नका लागि सो धानको बीउलाई डिएनए परीक्षण गर्नका लागि प्रशान्त एग्रोभेट, खैरहनी नगरपालिका चितवनबाट नमुनाका रुपमा लिएको थियो । सो बीउ कृषि ज्ञान केन्द्र चितवनमार्फत बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवनलाई परीक्षणका लागि पठाइएको थियो ।

सो धानको बीउ परीक्षण गर्दा डीएनएको ब्याण्ड फरक नआएकाले सो धान लगाइएको खेतबाट ल्याएर बीउ विज्ञान प्रविधि महाशाखा खुमलटारमा परीक्षण गर्दा उचित समयमा बाला निस्केको गरिमा जात र समयमा बाला ननिस्केको गरिमा धानको जातको डीएनएको ब्याण्ड एक आपसमा नमिलेको पाइएको संयोजक डा.यादवले बताउनुभयो ।

प्रतिवेदन अनुसार चितवन जिल्लामा रहेको प्रशान्त एग्रोभेटका सञ्चालक प्रदीपकुमार पाठकले सो गरिमा जातको धान १३ हजार ४०४ केजी बीउ विक्रि वितरण गरिएको छ । सो एग्रोभेटले चितवन जिल्लामा मात्रै लगभग आठसय केजी बीउ विक्रि वितरण गरिएको छ । बाँकी बीउ रौतहट, नवलपरासी, नुवाकोट, लमजुँग, गोरखा र तनहुँलगायतका जिल्लाहरुमा विक्रि वितरण भएको छ ।

 कार्यदलले यसअघि प्रारम्भिक प्रतिवेद बुझाउँदा गरिमा धानको बीउ नक्कली हुन सक्ने आशंका गरिएको थियो । विक्रि वितरण गरिएको बीउमा समस्या देखिए त्यसको क्षतिपूर्ती विक्रि वितरण गर्ने कम्पनीबाट असुल उपर गराउने बीउ विजनको प्रयोगबाट हुने हानी नोक्सानीको क्षतिपूर्ती सम्बन्धी निर्देशिका २०७३ मा उल्लेख छ ।


खेतबारीमा प्रयोग भएको बीउ विजनको मूल्य, बीउको ढुवानी लागत, खेत तयारी खर्च, प्रयोग गरिएको मलखाद र रासायनिक विषादी, बाली उत्पादनको अवस्था समेतलाई आधार मानेर क्षतिपूर्ती दिइने निर्देशिकामा उल्लेख छ । मूल्यांकन समितिले व्यवसायीबाट भराउने गरी तोकेको निर्धारित क्षतिपूर्तीको रकम राष्ट्रिय बीउ विजन समितिले सम्बन्धित व्यवसायीलाई पत्रलेखि पत्र प्राप्त भएको मितिले ३० दिनभित्र सम्बन्धित पिडितल पाउने गरी भुक्तानी गर्न लगाउनेछ । यसरी भुक्तानी गर्न लगाइएको रकम समयमा भुक्तानी नगरी आलटाल गरेमा असुल उपर गर्नका लागि व्यक्तिगत लेनदेन सरह कारवाही अगाडी बढाउने अधिकार पिडितलाई दिइएको निर्देशिकामा उल्लेख छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..