» » चाडपर्व लोप होइन, झन विस्तार हुँदैछ (अन्तरवार्ता)


–रामदयाल राकेश, सँस्कृतिविद्

कलासँस्कृतिमा मात्र ३२ वटा भन्दा बढी पुस्तक प्रकाशन गर्नुभएका रामदयाल राकेश मिथिला कलासँस्कृतिको जगेर्नाका लागि खेल्नु भएको भूमिका प्रशंसनीययोग्य छ । उहाँले १८ वटा पुस्तक नेपाली र एक दर्जनभन्दा बढी पुस्तक अँग्रेजी भाषामा लेख्नुभएको छ । उहाँका फोक फेस्टिवल अफ मिथिला, फोक टेल्स फर मिथिला, फोक कल्चर अफ नेपाल, द जनकपुर स्क्रेड ज्वेल अफ नेपाल लगायतका पुस्तक अंग्रेजी भाषामा प्रकाशित छन् भने मैथिली सँस्कृति, मिथिलाञ्चल लोकसँस्कृति, मिथिलाका महान चाडपर्व लगायतका पुस्तक नेपालीमा प्रकाशन भएका छन् । अन्य पुस्तकहरु प्रकाशनार्थ छन् । उहाँले विदेशहरुमा पनि मैथिली कलासँस्कृतिको बारेमा आफ्नो कार्यपत्रहरु प्रस्तुत गर्नुभएको छ । उहाँलाई सँस्कृतिविदका साथै अधिकारकर्मी तथा साहित्यकारको रुपमा पनि चिनिन्छ, प्रस्तुत छ, तराई मधेशमा मनाउने चाडपर्वको बारेमा सहाराटाइम्सले सँस्कृतिविद रामदयाल राकेशसँग गरिएको कुराकानीः
 
यो बदलिँदो परस्थितिमा चाँडपर्वलाई तपाईले कसरी विश्लेषण गर्नुहुन्छ ?
–चाडपर्व भनेको सँस्कृतिको अभिन्न अंग हो । समयको परिवर्तनसँगै सँस्कृति चाडपर्व पनि परिवर्तन भइरहेका हुन्छन् । समय परस्थिति, भूगोल इत्यादीको प्रभाव चाडपर्वमा परिरहेका हुन्छन् । जस्तो तराई मधेशका दिपावली अर्को किसिमले मनाईन्छ भने काठमाडौं उपत्यका लगायत हिमाल, पहाडमा अर्कै किसिमले मनाइन्छ । त्यो भौगोलिक विविधताका कारणले यस्तो हुनजान्छ । तराई मधेशमा दिपावलीमा मनाउँदा माटोको दियो बनाएर त्यसमा तोरीको तेल राखेर दीप प्रज्वलन गरि दिपाली मनाइन्थ्यो । अहिले तोरीको तेल खान पाइदैन भनि दीप प्रज्वल कहाँबाट गरिन्छ, सम्भव पनि छैन । बाँसको कोपेरोलाई एक ठाउँमा गाँसेर हुँकालोली बनाइन्थ्यो, सन्ठी (सनपात) र खरले हुकालोली बनाइन्थ्यो ती सबैकुरा विस्तारै लोप हुँदै गइरहेको छ । पहिला पहिला आकाश दीप बालिन्थ्यो । तर त्यो प्रचलन पनि हराउँदै गइरहेको छ । सफासुग्धरमा पनि त्यसबखत धेरै ध्यान दिइन्थ्यो ।
टाढा टाढाबाट विभिन्न किसिमका माटोहरु ल्याएर एक महिना अघिदेखि नै घर आँगन लिपपोत गर्नुको साथै सफासुग्धर गरिन्थ्यो । गर्न त अहिले पनि गरिन्छ तर पहिला जस्तो हुँदैन । पहिला घरका जति पनि समान अर्थात ढोका, खाट (चौकी) बाकस, सन्दुक, साइकल लगायत समानहरु सबै बैल गाडामा हालेर पोखरीमा लगेर धोइन्थ्यो तर त्यो प्रचलन हराएको छ । अहिले त पहिलो कुरा पोखरी नै छैन । पोखरी भएपनि पानी सफा हुँदैन । घरमा सबै समानलाई धुने सम्भव पनि हुँदैन । त्यसैले सबै समानलाई पानी लिएर पुछेर सफा गरिन्छ र चोखो बनाइन्छ । काठमाडौंमा पनि दीप प्रज्वलन गरिन्छ तर तराई मधेश भन्दा फरक हुन्छ । पहिला जुवातास खेलिन्थ्यो तर अहिले कानुनी रुपमा प्रतिबन्ध लगाइएको छ । कोही लुकी छिपी खेल्छन् त्यो बेग्लै हो तर खुल्ला रुपमा खेल्न पाइँदैन । पहिला खुल्ला रुपमा खेलिन्थ्यो ।
अर्को महत्वपूर्ण पर्व छठ पर्व हो । यो अहिले देशैभरि मनाउन थालिएको छ । तर फरक फरक ढंगबाट मनाउने गरिन्छ । तराई मधेशमा एउटा किसिमले मनाइन्छ भने काठमाडौं उपत्यकामा अर्को किसिमले मनाइन्छ । पहिला पहिला माटोको चुल्होमा गमहरीको धानको चामलबाट खीर बनाइन्थ्यो । अन्य प्रसादहरु आफ्नै खेतबारीको अन्नबाट बनाइन्थ्यो । शुद्ध घीउ हुन्थ्यो तर त्यो अहिले देखिदैन । शुद्ध घीउ पाइदैन । पहिला पहिला छठी घाटलाई बोट विरुवाको फूलबाट सजाइन्थ्यो तर अहिले रेडिमेड फूलहरुले स्थान लिएका छन् । पहिला तराई मधेशमा मनाउने छठ अहिले काठमाडौं उपत्यका मात्र होइन, हिमालसम्म मनाउन थालेका छन् । पहिला व्रतालुबाट नै गीत गाइन्थ्यो । भजन किर्तन हुन्थ्यो । स्थानीय लोकगीत गाइन्थ्यो । गाउँघर छठ गीतले वतावरण गुन्जमान हुन्थ्यो ।
तर अहिले साउण्डबक्स, लाउडीस्पीकरले ठाउँ लिएका छन् । एउटा पेन ड्राइभबाट गीतहरु बजाइएका हुन्छन् । यसले गर्दा लोकगीतहरु लोप हुने अवस्थामा पुगेका छन् । मठमन्दीरहरु नाश भयो भने त्यसलाई पुर्ननिर्माण गर्न सकिन्छ तर लोकगीतहरु नास भयो भने त्यसलाई पुर्ननिर्माण गर्न सकिदैन, यो कुरा युनेस्कोले पनि भनेको छ । यो जुन अर्मूत सम्पदा छ त्यसलाई संरक्षण गर्नुपर्छ भनि युनेस्कोको भनाई रहेको छ । अल्लाह रुदल, सलहेश, कुमरभिजमान, सोरैठ लगायतका लोकसँस्कृतिसँग सम्बन्धीतलाई जोगाउनु आवश्यक रहेको भनेको छ । त्यसलाई संरक्षण गर्नका लागि जोड दिइरहेको छ । भैयादुज, भरजुतिया पनि फरक फरक ढंगबाट मनाउने गरिन्छ । दाइभाइ, दिदी विहिनीहरु बीच प्रेमको प्रतिक हो यो भैयादुज (भरजुतिया) । त्यही भैयादुजका रुपमा यहाँ भाइटीकाको रुपमा मनाइन्छ । भाइटीकामा पनि भाइ वहिनीको प्रेमलाई दर्साइएको छ । तर यो फरक फरक रुपमा मनाइन्छ । भैयादुजमा भाइ दाइहरु वहिनी वा दिदीको घरमा भार (कोशेली) लिएर जान्थे । तर अहिले त्यो हराई सकेको छ । भाइहरु कहाँ कहाँ हुन्छ, वहिनीहरु कहाँ हुन्छन् । जान पाइरहेका हुँदैनन् । फोनमा, भाइवरमा, स्काइपमा भाइ वहिनीबीच प्रेम अदान प्रदान भएका हुन्छन् । कुरियरमार्फत कोशेली अदान प्रदान भएका हुन्छन् । त्यसलै समय परिवर्तन भएसँगै यो चाडपर्व र कालासँस्कृतिमा पनि निकै परिवर्तन आएको छ ।

यो चाडपर्वमा जसरी परिवर्तन आएको छ त्यसले समाजको मानवीय स्वभावमा कसरी परिवर्तन ल्याएको छ ?
–चाडपर्वको परिवर्तनसँगै मानवको स्वभावमा परिवर्तन हुने नै भयो । सँस्कृतिको पहिला जुन परिवेश हुन्थ्यो, जुन पृष्ठभूमी हुन्थ्यो, त्यसमा मान्छेहरु इन्ज्वाई गन्थ्यिो, त्यसमा रमाइन्थ्यो । त्यो रुपमा अहिले रमाउन सकेको छैनन् । अहिले मान्छेको मानसिकता नै परिवर्तन भएको छ । पहिला चाडपर्वको क्रियाकलाप र शैलीसँग मान्छेहरु रमाइन्थ्यो तर अहिले त्यो छैन । चाडपर्व एकातिर हुन्छ भने मान्छे अर्कोतिर रमाइरहेका हुन्छन् । दशैंको कुरा गरौं । दशैं भनेको भगवतीको पूजा पाठ गरेर सँस्कृतिमा रमाउने पर्व हो तर मान्छेले नयाँ नयाँ लुगा किन्ने, खसी काट्ने, घरमा बसेर खाँदै साथीभाइ, परिवारसँग रमाउने गरेको भेटिन्छ । दशैं पर्व खानपिन पर्वको रुपमा परिवर्तन भएको छ । पहिला यस्तो हुँदैन्थ्यो । पहिला दुर्गा मन्दिरमा गएर पूजा पाठ गर्ने, घर फर्केपछि पनि दुर्गा पाठ गर्ने काम हुन्थ्यो । प्रार्थना र आराधानाको माहोला हुन्थ्यो तर अहिले त्यस्तो छैन । मन्दीरहरुमा महिलाहरुले पुजा गरेको देखिन्छ तर पुरुष हुँदैनन् । महिलाहरु पनि पुजा गरेर घर फर्केपछि खानपिनमा रमाइ रहेको देखिन्छन् । यद्यपी पुरुष भन्दा बढी महिलाहरु पुजापाठ बढी गरेको देखिन्छ । सामाचकेवाको कुरा गर्दा अहिले त्यो पनि परिवर्तन भएको छ । पहिला पहिला पोखरीको डिलमा वा जोतिएको खेतमा गएर यो पर्व मनाउने गरिन्थ्यो तर अहिले घरमा पनि मनाउन छाडेका छन् । यसो एक दुई ठाउँमा मनाइए पनि छोटो समूहमा आफ्नै आँगनमा बसेर मनाइएको पाइन्छ । नत्र पोखरीको डिल वा खेतमा गएर रमाइलोसँग मनाइन्थ्यो । झिझियाको अवस्था पनि त्यस्तै भएको छ । गाउँघरमा सुरक्षाको अभाव छ । समाचकेवा र झिझिया खेल्ने चेलीबेटी नै हो तर उनीहरुलाई सुरक्षा छैन । सुरक्षा नभएको कारणले खेल्ने सँस्कृति हराउँदै गएका छन् । यसले मानवीय स्वभावमा परिवर्तन आएको छ । अहिले घरघरमा टिभी छ, संसारको च्यानल छन् जे पनि त्यसमा हेर्न पाइन्छ । रमाइलो गर्न पाइन्छ भने किन खेत, पोखरीमा गएर कष्ट गर्नु जस्तो भएको छ ।

चाडपर्वमा निष्ठा र अनिष्ठाको निकै ठूलो महत्व हुन्छन् । माटोको चुल्हामा खीर पकाइएन भने अनिष्ठ हुन्छ । गमहरा धानको चामल हुनैपर्छ । शुद्ध अन्न हुनैपर्छ । ढीकी तथा जातामा पिसिएको आँटा वा चामल हुनुपर्छ । फूल पनि हुनुपर्छ । यस्तो भएन भने अनिष्ट हुन्छ, उस्तो भएन भने अनिष्ट हुन्छ भन्ने गरिन्थ्यो तर अहिले ती सबै हराउँदै गएका छन् । माटोको चुल्होको सट्टा ग्यास चुल्हो आएको छ, खेतको धान भन्दा पनि बजारबाट चामलको बोरा किनेर ल्याउँछन्, घीउ तेल पनि रेडीमेड नै हुन्छ अर्थात सबैकुरा रेडिमेड हुन थालेका छन् के अब अनिष्ठको डर हुँदैन ?
–अनिष्ठको डर अहिले पनि हुन्छ पहिला पनि हुन्थ्यो । त्यो किन किन हुन्थ्यो भने जुठो नपरोस् भनि कुरामा सचेत हुनुपथ्र्यो । प्रसादका परिकारहरु चोखो होस् भनि सचेत हुन्छन् । चोखो भएन भने अनिष्ठ हुन्छ छठी मैया (आमा) रिसाउनु हुन्छ भनि आमविश्वास रहेको छ । मैले आफै यो कुरा एक दुई ठाउँमा सुनेको र बुझेको कुरा हो । चोखो नहुँदा छठी मैया रिसाएर तत्कालै केही न केही अनिष्ठ गर्नुभएको थियो । पहिला सबै कुरा आफ्नै खेतको वा वरिपरीबाट संकलन गरेर छठ मनाइन्थ्यो । थोरै समान बजारबाट ल्याउनु पथ्र्यो तर अहिले ९० प्रतिशत समानका लागि बजारमा नै भर पर्नुपर्छ । बजारका समान जस्तो भएपनि मुख्यकुरा आस्था हो । आस्था र विश्वासका साथ बजारबाट ल्याइन्छ र त्यसलाई चोखो पारेर प्रसादको रुपमा चढाइन्छ । त्यसमा आस्था र विश्वास हुन्छ । तर मुख्य कुरा त्यो चोखो छ कि छैन । जुठो हुनुहुँदैन । कुनै पनि हालतमा हुनुहुँदैन । त्यसमा सचेत रहनुपर्छ । सँस्कृतिमा पनि परिवर्तन हुन्छ, त्यो स्वभाविक हो तर जहाँ जसरी पकाए पनि, जसरी बनाए पनि त्यो शुद्ध हुनुपर्छ, चोखो हुनुपर्छ भनि मान्यता छ । शुद्धता पवित्रतामा ख्याल गर्नैपर्छ । छठ पर्व सबभन्दा कठिन पर्व हो । २४ घण्टा अन्न पानी ग्रहण नगरिकन महिलाहरु पर्वलाई निरन्तता दिएका छन् । यसमा आस्था र विश्वास नभएको भए यस्तो हुँदैन्थ्यो ।

छठ पर्वलाई संघीय लोकतान्त्रिक गणतन्त्र पर्व किन भनिन्छ ?
–छठ वास्तवमा लोकतान्त्रिक पर्व हो । यद्यपी छठ पर्व गणतन्त्रको देन हो भने होइन । यो पर्व पहिलादेखि नै यस्तै अर्थात लोकतान्त्रिक स्वरुपको रहेको छ । यसमा सम्पन्न, बीपन्न र गरिब, धनीबीच भेदभाव गरिदैन । वास्तविक रुपमा सम्पन्न र बीपन्न, गरिब, धनीबीच विभेद भएपनि यो पर्वमा कसैमाथि कुनै प्रकारको भेदभाव भएको देखिदैन । उदाहरणका लागि भनौं, डोम जातीले बाँसको सामाग्री नबनाएको भए छठ पर्व हुँदैन्थ्यो । डालो, ढकिया, सुपा (नाङ्लो), कोनिया, दउरा लगायतका समाग्री छठका लागि नभइ नहुने कुरा हो ती डोम जातीले बनाएका हुन्छन् । माली जातीले फूल दिन अनिवार्य नै छन् । कुम्हार जाती बनाउने घैला, घोडा, हाती, दीप लगायतका माटाका समाग्री पनि चाहिन्छ । हलुवाई जातीले बनाएको मिठाई पनि चाहिन्छ, यदि छुवाछुतको भावना भएको भए त्यहाँबाट किनेर चढाइने थिएन तर यो पर्वमा कसैमाथि विभेद नगर्ने भएकाले सबैबाट लिइन्छ । यो पर्वमा सबै समुदायसँग मिलेर एउटै घाटमा बसेर पर्व मनाउने गरिन्छ । जो सम्पन्न हुँदैन्थ्यो, गरिब हुन्थ्यो उसले मागेर, अरुसँग भिक्षाको रुपमा लिएर पनि यो पर्व मनाइन्छ । पहिला पहिला खेतमा काम गर्ने खेतला वा घरमा काम गर्नेहरुले छठ आइसक्यो भन्दै काम लगाउने जमिन्दारहरुसँग खन्न वा पैसा लिने गन्थ्यिो । यसमा छठ मनाउन गरिब वा धनी भनेर भेदभाव गरिदैन्थ्यो । अर्थात यो पर्व पूर्णरुपमा लोकतान्त्रिक गणतान्त्रिक पर्व हो । यसको आफ्नै मौलिकता छ तर यो गणतन्त्रको देन होइन ।

मान्छेले पुजापाठ गर्दा उदाउँदो सूर्यलाई गरिन्छ । उदाउँदो सूर्यलाई शुद्धताको रुपमा लिइन्छ तर छठ पर्वमा उल्टो हुन्छ । यसमा अस्ताइरहेको सूर्यलाई पनि पूजा गरिन्छ यस्तो किन ?
–छठको सन्ध्या घाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । अर्घ अर्कको अपभ्रशं शब्द हो । अर्कको अर्थ सूर्य हुन्छ । बेलुकाको अस्ताचलगामी सूर्य हुन्छ । अस्ताइ राखेको सूर्य पनि अस्थाको प्रतिक हो । अस्ताइ राखेको सूर्यको किरणमा पनि एकप्रकारको शक्ति हुन्छ । साँझमा अस्ताउँदै गरेको सूर्यमा भाइलट कलर हुन्छ । भाइलट रेजले गर्दा व्रतालुहरुमा एकप्रकारको शक्ति प्रदान गर्छ । पानी र सूर्यबाट प्राप्त उर्जाले व्रतालुहरुले शक्ति प्राप्त गरेका हुन्छन् । यसलाई सोलार इनर्जी पनि भनिन्छ । लामो समयसम्म उपवास बस्दा पनि केही हुँदैन किन ? त्यही सूर्य र पानीले दिने उर्जाका कारण टिकेका हुन्छन् । सूर्यले दिने उर्जाको बारेमा जपानमा अनुसन्धान पनि गरेको छ । सूर्यबाट प्राप्त किरणमा किटानुनाशक तत्व हुन्छ । र, त्यसले शरिरलाई फाइदा गर्छ । छठमा छठ प्रमेश्वरीको पूजा हुने मान्यता छ ।
र, सन्ध्यांकालमा छठ प्रमेश्वरीकै पहिलो पूजा हुन्छ । उषा पनि भगवती नै हुन् । पहिला पहिला सृष्टिको आदिकालमा मातृसतात्मक समाज थियो । महिलाको पूजा हुन्थ्यो । छठको शुरुवात छठ प्रमेश्वरीको पुजाबाट भएको हो । उदाउँदो सूर्यलाई सबै पुजा गर्छन्, अस्ताउँदो सूर्यलाई कसैले वास्ता गर्दैनन्, बालेको आगो सबैले ताप्छन् जस्ता भनाई छ ती सबै भ्रम मात्र हुन् । त्यो अवसरवादीहरुको काम हो । एक पक्षीय मान्यताले हुँदैन । जहिले पनि दुई पक्षीय हुनुपर्छ । बलेको आगोलाई मात्र होइन, निभेको आगोको महत्व त्यतिकै हुनुपर्छ । उदाउँदो सूर्यलाई होइन, अस्ताउँदो सूर्यको पनि त्यतिकै महत्व दिनुपर्छ । मैथली, मिथलानी अवसरवादी हुँदैन भने छठको पूजाले पुष्टि हुन्छ । मैथिलले उदाउँदो र अस्ताउँदो सूर्यलाई उतिकै महत्व दिएका हुन्छन् । छठ पर्वलाई सूर्यको उपासनासँग जोडिएको छ । सूर्यको पूजा हुन थालेपछि यो पर्वको व्यापकता आउन थाले । त्यही भएर सबै समुदाय, सबै जातजाती, सब धर्म धर्मालम्बीहरुले मनाउन थाले ।

भन्नाले दशैंलाई जसरी हिन्दुहरुको महान चाडपर्व भनिन्छ, त्यसरी छठलाई हिन्दुको मात्र पर्व भन्न मिल्दैन होइन ?
–छठ पर्व पनि अधिकाँश हिन्दुहरुले नै मनाउने गरेका हुन्छन् । तर यसमा अरु अरु समुदाय र जातहरु पनि भएका हुनाले हिन्दुहरुको मात्र छठ पर्व हो भनि भन्न मिल्दैन । यो पर्व सूर्यसँग सम्बन्धित भएकाले हुनाले सूर्य एउटा जाती वा एउटा समुदाय वा धर्मको होइन । सूर्यको प्रभाव संसार भरि नै छ । सूर्यले कसैसँग भेदभाव गर्दैन । सूर्यले आफ्नो प्रकाश बराबर रुपमा दिन्छन् । धनीको घरमा एउटा प्रकाश र गरिबको घरमा अर्को प्रकाश हुँदैन । सबैको घरमा एउटै प्रकाश गएको हुन्छ । कुनै देवीलाई यो हिन्दुहरुको देवी हो भनि पन्छाउन पनि सकिन्छ तर सूर्यलाई कसैले पन्छाउन सक्दैन ।

दैवीशक्तिको रुपमा छठ पर्वलाई कसरी विश्लेषण गर्न सकिन्छ ?
–उषा अर्थात सूर्यलाई पनि देवीको रुपमा लिइन्छ । देवीलाई सर्वशक्तिमानको रुपमा पुजापाठ गरिन्छ । विहान सूर्य उदाउँदाखेरी लालिमा देखिन्छ । उषाको कोखबाट सूर्यको उदय भएको हुन्छ । दशैंमा जसरी दुर्गा भगवती, दीपावलीमा लक्ष्मीको पूजा जसरी गरिन्छ, त्यसरी नै छठमा छठ प्रमेश्वरीको पूजा हुन्छ । भगवान रामचन्द्रले देवीको आराधाना गरेर शक्ति प्राप्त गर्नुभएको थियो । लंका विजय गर्नुभन्दा पहिला रामले देवी शक्तिको पूजा गर्नुभएको थियो । राम आफैमा शक्तिशाली महापुरुष हुनुहुन्छ तर उहाँले पनि शक्ति प्राप्त गर्न देवीलाई पूजा गर्नुभएको थियो । छठमा पूजा गर्दा महिलाहरुमा दैवीय शक्ति संचार भएको हुन्छ ।

यो धर्तीमा जति पनि अनाजहरु हुन्छन् ती सबै छठमा प्रयोग हुन्छ यसको वैज्ञानिक र साँस्कृतिक महत्व के छ ?
–यो पर्व शरद ऋतुमा मनाइन्छ । यो सबभन्दा ठूलो पर्व हो । कृषि प्रधान देश हो, त्यसमा खासगरि मिथिला अर्थात तराई मधेश अन्नको भण्डार नै हो । जतिपनि वनस्पतीय पदार्थ हुन्छ ती सबै छठ पर्वमा प्रयोग हुन्छन् । गमहरी (एक जातको धान) एउटा उपेक्षित अन्न मानिन्छ तर छठमा त्यो पनि चढाइन्छ । छठ पर्वले अन्नको अनादर गर्नुहुँदैन भनि सिकाएको छ । अन्न ब्रहमा हो, अन्नबाट हाम्रो शरिर बनेको छ । छठमा नयाँ अन्नहरु आएका हुन्छन् त्यो पनि चढाईन्छ । अर्थात छठमा कृषिमा पनि निकै ठूलो महत्व रहेको छ ।

भनिन्छ कि कलासँस्कृति, चाडपर्व हराउँदै गएका छन् तर हाम्रो बुझाईमा हराएको होइन, मोडीफाइ हुँदै, संशोधन र परिवर्तन हुँदै झन विस्तार भइरहेका छन् । तपाईको बुझाई के छ यसमा ?
–मेरो विचारमा पनि लोककला सँस्कृति हराएको होइन विस्तार भइरहेको छ । छठ पहिला तराई मधेशमा मनाइन्थ्योे अब देशमा मात्र होइन विदेशसम्म फैलिएको छ । तीज पहिला पहाडमा मनाइन्थ्यो अब तराई मधेशमा पनि फैलिएको छ । त्यसलाई मनाउने तरिका फरक फरक होला, त्यो बेग्लै कुरा हो । तर त्यो विस्तार भइरहेको छ । पहिला लोक कलासँस्कृतिका गीतहरु मुखले गाइन्थ्यो अब त्यो क्यासेटमा अर्थात डिजिटलाइजेशन भएको छ । एउटा स्वीच थिचेपछि सबै कुरा हेर्ने अवस्था बनेको छ । जहाँ जहाँ मधेशी पुगेका छन् त्यहाँ आआफ्नो सँस्कृति जोगाउनका लागि पर्वहरु मनाउने गरेका छन् । पर्वहरु संकुचन होइन, विस्तार भइरहेका छन् । स्थान विशेषले फरक फरक हुन्छ । तराई मधेशमा झिझिया र समाचखेवा हुन्थ्यो अहिले नाचघरमा हेर्न पाइन्छ । यसले राष्ट्रिय रुप लिएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..