» » भाइवहिनीबीच प्रेमको प्रतिक सामाचकेवाका

–धनवीर कुशवाहा
छठ सकिए लगतै गाउँघरमा सामा चकेवाको रौनक शुरु हुने गर्छ । गाउँघरका महिला तथा चेलीबेटीहरुले आआफ्नो घरमा समूह बनाएर गीत शुरु गर्छन् । दिदीबहिनी र दाजुभाइबीचको प्रेमको प्रतीकको रुपमा मनाइने साँस्कृतिक पर्व सामाचकेवाको रौनकले गाउँघरलाई मनामोहक बनाउने गर्छन् । रातिको समयमा गाउँकी युवतीहरु सामूहिक रुपमा गीत गाएर मनाउने सामाचकेवा पर्वको गीतले तराई मधेशका गाउँघर गुञ्जामय हुने गर्छन् ।

सामा चकेवामा गालीगलौज गर्ने भएकाले महिलाहरु पुरुषले नसुनोस् भनि चाहेका हुन्छन् । सामाचकेवा गीतमा महिलाहरुले एक अर्कालाई गाली गर्ने जिस्काउने भएका हुनाले पुरुष भन्दा अलि अलि टाढा नै हुन्छन् । समाचकेवा पर्वमा कलात्मक रुपमा समा, चकेवा, चुगलालगायतका पात्रहरुलाइ माटोले बनाएर पूजापाठ गर्ने परम्परा छ ।

सामालाई स्त्री पात्रको रुपमा हेरिन्छ भने चकेवालाई पुरुष पात्रका रुपमा हेरिन्छ ।
मैथिली नारीहरुले दाजुभाइको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गीतका माध्यमले खिल्ली उडाएर बेइज्जत गर्ने चलन छ । कात्तिक पूर्णिमासम्म मनाइने समा–चकेवा समूहगत रुपमा खेल्ने परम्परा अहिले तराई मधेशका विभिन्न जिल्लामा चलिरिहेको छ । प्रत्येक दिन साँझदेखि मध्यरातिको समयसम्म घरघरका महिलाहरु चौवटीया (खुल्ला स्थान) मा जम्मा भएर आ–आफनो डालामा माटोबाट निर्मित आर्कषक एवम् कलात्मक सामा–चकेवाको मूर्ति राखेर विभिन्न किसिमका लोक गीतहरु गाएर यो पर्व मनाउने गर्छन् ।

पौराणिक कथन
सामा–चकेवा बारेमा एक किबदन्ती समेत रहेको छ । द्वापर युगमा भगवान कृष्णकी सुपुत्रीको नाम सामा थियो । भगवान कृष्णले आफ्नी छोरीलाई ‘चरा’ बन्ने श्राप दिएपछि पुनः मानव योनीको रुपमा फर्काउनमा सामाका भाइ साम्बले भूमिका खेलेको विषय यस पर्वसँग जोडिएको छ । सामाकी नोकर्नी डिहुलीले सामा बृन्दावनमा घुम्न जाँदा ऋषिहरुसँग यौन सम्बन्ध राख्ने गरेको झुठो कुरा कृष्णसमक्ष लगाइन् । भगवान कृष्ण आवेशमा आएर सामा र बृन्दावनका समस्त ऋषिहरुलाई चरा बन्ने श्राप दिएको किबदन्ती छ ।

सामाको भाइ साम्बले यी विषयहरुमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामासहित सबै ऋषिहरुलाई श्रापबाट मुक्त गर्नुभयो । भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अबदेखि जसले माटोको सामा बनाएर गाउँभरमा भ्रमण गरी पर्व मनाउँछन्, उसका दाजुभाइ दीर्घायु हुने बरदान दिएकाले यो पर्व मनाउन थालिएको भविष्य पुराणमा उल्लेख गरिएको छ ।

काँचो माटोले बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’  र सोही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेबा’ भन्ने संज्ञा दिएर बनाएका माटाका मूर्तिहरुको नै विशेष महत्व रहेको पाइन्छ । यो पर्व मनाउनका लागि प्रत्येकले आ–आफ्ना रंगीन डालामा सामा, चकेबाका साथै एक पातमा बसेका सातवटा चरा जसलाई सतभैंया, बृन्दावन जङ्गल, भूmठो कुरा लगाउने (चुगला) का साथै बनाइएका आकर्षक एवम कलात्मक मूर्तिहरु राखेका हुन्छन् ।
गीतको महत्व
यता भोजपुरी र मैथिली भाषामा निर्मित यस्ता गीतसंगीतहरुले मिथिलाञ्चलक्षेत्रलाई नै रोमाञ्चक बनाएका छन् । अन्य पर्वहरुमा गाइने गीत संगीतभन्दा पनि यस पर्वमा गाइने गीत संगीतमा भने निकै नै फरक रहेको छ । यस पर्वमा सबैभन्दा रोचक भनेको दिदी बहिनीहरुले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसाका साथै आशिष दिने खालका सामा गीत गाउने गरिन्छ । सोही क्रममा आफूलाई  चाहिएका सरसामानहरु पनि गीतको माध्यमबाट सुनाउने प्रचलन रहेको छ ।
चुनौती
पछिल्लो समयमा आएर तराई मधेश क्षेत्रमा जारी हिंसात्मक घटनाहरुको कारण त्रसित रहेको यसक्षेत्रका समाजमा भने खुलेर पर्व तिहारहरु मनाउन सकिरहेको छैन । प्रायः महिलाहरुले मात्र साँझदेखि मध्यरातिसम्म मनाइने यस पर्वमा भने पछिल्लो समयमा आएर केही न केही रुपमा रौनकतामा कमी आएको देखिन्छ । चेलीबेटीहरु सुरक्षाका कारण घरबाट निस्किन सकिरहेका हुँदैन । समाजिक एवम् सांस्कृतिक महत्व झल्किने यस्ता पर्वहरुको संरक्षण गर्नका लागि सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने र सुरक्षाको अनुभूती दिलाउनु पर्ने आवश्यकता रहेको बताइन्छ ।


पछिल्लो समयमा यस क्षेत्रमा हुँदै आएको यौनजन्य घटनालगायतका गतिविधिका विभिन्न आतंकित घटनाहरुले त्रसित रहेको समाजलाई परिवर्तन गर्नका लागि सम्बन्धित सरोकार निकायको ध्यान जानु अति नै आवश्यक रहेको छ । दाजुभाइले समाचकेवालगायतका पात्रहरुलाई घुँडामा राखेर फुटाएपछि नदी, तलाउ तथा खुला चौरमा गाडेर सामाचकेवा पर्वको समापन गर्ने परम्परा रहेको छ । समा चकेवा पर्व मनाउनका लागि मैथिलानी नारीहरु माइती जाने चलन समेत रहेको छ । बाहिर रहेका दाजुभाइहरु समेत समाचकेवाको पर्वमा घर फर्किने गर्दछन् ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..