» » छठ पर्वको अर्थतन्त्र (फरकमत)

–धर्मेन्द्र कर्ण
मानवहरुको श्रम, श्रमको लुट, लुटबाट सिर्जित आर्थिक समाजिक प्रणालीको विनास र विकासको संघर्षमा जुटेको मानिसहरुले आफ्नो वरिपरि विभिन्न उपदानहरुको निर्माण गरेको इतिहासको विस्तार नै आजको मानव समाज हो ।

यसक्रममा  पुजा पाठ, पर्व, सँस्कृति, चाडपर्व जेसुकै होस् ती सबै गतिविधिहरुको आधार आर्थिक सामाजिक सम्बन्ध हुन्छ । अर्थतन्त्रको प्रणालीगत स्वरूप र त्यसलाई चलायमान बनाउनेहरूको भूमिकाले मानिसहरुको व्यवहार तथा गतिविधिहरूमा  परिवर्तन भइरहन्छ ।


खास–खास समयमा आर्थिक समाजिक सम्बन्धमा परिवर्तन भइरहने गतिविधिले अर्थतन्त्रको उत्पादनसम्बन्धी गतिविधिलाई प्रभावित पारिरहन्छ । विश्वका मानिसहरूले मनाउने चाडपर्व सबै अर्थतन्त्रको हिस्सा बन्छ । मानिसले प्राकृतिकरुपमा हुने मौसमको परिवर्तनका  आधारमा गतिविधि अपनाउने गर्छन् । मानिसहरूको यो व्यवहार नै उनीहरुको जीवनशैली बनिरहेको हुन्छ ।

 कतिपय जीवनशैली सामयिक हुन्छ भने कतिपय जीवनशैलीमा संशोधन भइ  विकसित भएर  दोहरिरहेको हुन्छ । दशैं, तिहार र छठजस्ता चाडपर्व पनि अर्थतन्त्रको हिस्सा बन्न पुग्छ । यी धार्मिक सांस्कृतिक पर्वहरूमा  समाज विकाससँगै शैलीगत परिवर्तन भइआएको सहजै देख्न पाइन्छ ।


तराई मधेशका विभिन्न भागमा सूर्यको पूजा अर्चना गरी मनाइने छठपर्व राजधानी काठमाडौंसहित विभिन्न ठाउँमा मनाउने गरिन्छ । तराई मधेशमा मनाइने छठ अहिले काठमाडौं लगायतका क्षेत्रमा फैलिदै जानु भनेको यसको शैलगत परिवर्तन र अर्थतन्त्रसँग जोडिएका विषयहरु रहेका छन् ।

नेपाल र भारतका विभिन्न प्रदेशसहित मरिसस, फिजी, दक्षिण अफ्रिका, ट्रिनिडाड टोबागो गुएना, सुरिनाम, जमैका, अमेरिका, बेलायत, आयरल्यान्ड, अस्ट्रेलिया, न्युजील्यान्ड, मलेसिया, मकाउ, जापान र इन्डोनेसियामा पनि मनाउने गरिन्छ । सूर्यको पूजासम्बन्धी श्लोक ऋग्वेदमा पाइन्छ भने महाभारत कालमा द्रौपदीले छठ पर्वको व्रत लिएको सन्दर्भ उल्लेख छ । द्रौपदीले पाण्डवहरूलाई राज्य फिर्ता पाउन साधु धौम्याको सल्लाह अनुसार  यो पर्व गरेको भनेको देखिन्छ ।



यस्तै त्रेतायुग रामायण कालमा पनि रामले लंका जितेपछि छठ पर्व सीताले गरेदेखि यसको विस्तार भएको कथन पनि छठव्रतालुहरु माझ रहेको छ । सूर्य पुराणमा पनि यसको उल्लेख गरिएको छ । नैमिषरण्यमा सर्वशास्त्रका ज्ञाता शौनक मुनिले सुतजीसँग मानिसहरूको दुःखकष्टको निवारण गर्न आवश्यक उपायबारे सोध्दा छठ पर्व गर्न भनिएको उल्लेख छ ।


वैदिक धार्मिक सम्बन्धका आधारमा यसको जेजस्तो महत्व भए पनि यो कृषिमा आधारित समाजको विकास भएपछि सबै किसिमको कृषि उपजको सम्मान दिन र तिनको व्यापक प्रयोगका लागि यो पर्वको विकास भएको बुझाइ आधुनिक अर्थतन्त्रको बुझाइसँग मेल खान पुग्छ ।


सबै कृषि उपजलाई एकै पटक धेरै भन्दा धेरै मानिसहरुमाझ यसको प्रयोग गराउन यसो गरिएको बुझ्न सकिन्छ । जुन युगमा यसको विकास भएको प्राचीन इतिहास दर्शाउँछ त्यतिखेर अर्थशास्त्रको छुट्टै अस्तित्व थिएन् । तर समाजिक आर्थिक सम्बन्ध भने थियो । सम्बन्धहरुको अनुभव गाथाले नै विभिनन शास्त्रहरुको निर्माण गरेको मानव इतिहास छ ।


कतिपयले छठ पर्वको विकास यसरी  भएको विश्वास व्यक्त गर्छन  । यो पर्वमा पूजा गर्न  संकलन गरिने सामग्रीहरूबाट यो बुझाइको  सहजै पुष्टि हुन्छ । मिथिलाको इतिहास, संस्कृति र कला परम्परा नामक पुस्तकका लेखक डा. राजेन्द्र विमलका अनुसार  छठ पर्वलाई आर्यहरूको सूर्य उपासना परम्पराको एक अंग हो ।

सो पुस्तकमा यो पर्व अत्रि मुनिकी पत्नी अनुसुयाले व्रत गरेको पनि उल्लेख छ ।
चार दिनसम्म मनाइने यो पर्व कात्तिक शुक्ल चौथी तिथिदेखि सप्तमी तिथिसम्म मनाउने गरिन्छ । चौथी तिथिमा व्रतालु महिला पुरूषले आफूलाई चोखो पवित्र बनाउँछन् । त्यसपछि अरबा चामलबाट बनेको खाना खाई यो पर्व पूरा गर्न संकल्प लिन्छन् । 

पञ्चमी तिथिको सन्ध्याकालमा गुड भेलिमा पकाइको  खीर र फलफूलको प्रसाद अर्पण गरी खरनाको उपवास भंग गर्छन् ।पञ्चमी तिथिका दिन सूर्यास्त भएपछि उपवास भंग गरेदेखि ब्रतालुले  सप्तमी तिथिको प्रातःकालिन पूजा नसकेसम्म निर्जला उपवास बस्ने गर्छन् । षष्ठी तिथिको सन्ध्याकाल अस्ताउँदो सूर्यको पूजा अर्चना गरिन्छ भने सप्तमी तिथिको प्रातः काल उदाउँदो सूर्यको पुजा अर्चना गरि व्रत सम्पन्न हुन्छ । व्रत सम्पन्न भएपछि प्रसाद ग्रहण गरी नियमित भोजन खाने कार्यलाई परना वा पूर्णाहुति  भनिन्छ ।

षष्ठी तिथिका दिन ६० वस्तुहरूको संख्या पु¥याउनुपर्ने विधान छ । यो संख्या पुग्यो वा पुगेन भने त्यसको दोष मुक्त हुन गम्हरी नामको चामल राख्ने गरिन्छ ।  कुनै वस्तु कम भयो होला कि भनेर गम्हरीको चामल पनि राख्ने चलन छ । यो पर्वमा गहुँको पीठो, नरिवल, किसमिस, दालचिनीजस्ता मसला, घिउ, चीनी, भेलिको समिश्रणबाट बनाइएको ठकुवा, खजुरी जस्ता कृषिजन्य परिकार  बनाइन्छ । चामलको पीठोबाट भुसुवा, मैदा सुजीको समिश्रणबाट पेरूकिया जस्ता मिठाई बनाइन्छ ।


बाँस र माटोका भाँडोहरूमा विभिन्न किसिमका मिठाइसँगै  उपलब्ध भएसम्म हरेक प्रकारका फलफूल, बेसारको गाँठी, अदुवा, विभिन्न प्रकारका तरकारी, मूला, गाजरलगायतका वस्तु राखिन्छ । माटोको गाग्री, साना, ठूला मझ्यौला खालका माटाका भाँडाहरूमा यी वस्तुहरूलाई अर्घको रुपमा राखिन्छ । गाग्रीलाई कुरूवार, ढकना सरवा भनिन्छ । बासको ढाकी, कनसुप्ती, कोनिया, नाङ्लोमा पनि यी वस्तुहरू राखिन्छ । यसरी हेर्दा मौसम अनुसार प्राप्त हुने प्रायःजसो सबै कृषि उपजको प्रयोग यस पर्वमा हुने गर्छ ।

यो पर्वमा हुने खर्च १ अर्बभन्दा बढी हुनसक्ने अर्थविद्हरुको बुझाइ छ । तराई मधेशको कुल जनसंख्याको एक चौथाई प्रत्यक्ष वा परोक्ष रूपमा यो पर्व मनाउँछन् । वैदिक कालमा यो आस्थाको आधारमा मनाउन चलन भए पनि अब यो देखासिकीले पनि मनाउन थालिएको छ ।

यसले अहिले अर्थतन्त्रलाई प्रभाव पार्छ र अर्थतन्त्रका चालक शक्तिले पनि यसको निरन्तरता र यसमा प्रयोग हुने वस्तुको व्यवसाय गर्न थालेको छ ।यो पर्वमा सहभागी हरेकले व्रत बस्ने गर्दैनन । एकजना व्रतालुले आफूसमेत १० देखि २० व्यक्ति वा घरपरिवारको प्रसाद सूर्यलाई अर्पण गर्छन् ।  कम्तीमा २५ लाख मानिसको सहभागिता यो पर्वमा हुन्छ ।

कतिपय विज्ञहरुका अनुसार यो खर्चबाट समुदायका विपन्न समुदायका लागि आमदानीको स्रोत बन्न पुग्नु राम्रो पक्ष हो । यसले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्छ ।तर यसको दुर्बल पक्ष भनेको गरिबहरूलाई ऋणगरी पर्व मनाउन बाध्य पार्ने मनोवैज्ञानिक असर हो । यसबाट जोगिनुपर्छ । आस्थाका आधारमा यसलाई मनाउनु राम्रो हो तर बाध्यता र परिबन्दमा परी मनाउने परिपाटी अर्थतन्त्रको अर्को पक्षबाट नराम्रो हुन सक्ने उनीहरुको बुझाइ छ ।परम्परागत गीतहरूको चलन पनि हराइ विभिन्न गायक गायिकाहरूले गाएका छठ पर्वका गीतहरूको एल्बमलाई डिजिटल डिभाइसमा बजाउने व्यवहार बढ्दै गएको छ । यसले छठ पर्व सूचना प्रविधिको विकाससँग जोडिएको दर्शाउँछ ।

यो पर्वको सम्बन्ध अब अनलाइन सपिङसँग पनि जोडिको छ । ग्रामिण क्षेत्रमा बाँस र माटोको सामग्रीहरूको उपलब्धता सहजै हुन्छ । तर सहरहरूमा यसको उपलब्धताका लागि अनलाइन सपिङबाट सेवा उपलब्ध गराउने गरिएको पाइएको छ ।

विभिन्न अनलाइन सपिङ कम्पनीहरूले चोखो परिकार बनाउन चाहिने चूलो, कोसिया कुरूबार, बाँसका डालाहरूको बिक्री भइरहेको जनाउ दिन्छन् । अनलाइन सपिङले छठ पूजा सामग्रीहरूको सेवा दिन थाल्नुले यसको बढ्दो लोकप्रियतालाई दर्शाउँछ ।

चुनौती
यो पर्व मनाउन आर्थिक स्रोतका अतिरिक्ति प्रमुख समस्या जलाधारको अभाव हुने गरेको पाइन्छ ।  यो पर्व नदी र तलाउमा मनाइने गरिने भएकाले  नदी र तलाउको अभावमा समस्या हुन्छ। नदी र तलाउको अभावमा व्रतालु परिवारलाई भारी बोकी टाढा जानुपर्ने बाध्यता  आइपरेकोले स्थानीय तहले यसमा ध्यान दिनुपर्छ । पानी भएका जलाशय सुक्न थालेका छन् । छठ पर्वका व्रतालुहरूलाई हुने गरेको जलाशय अभावको चुनौती सरकारकै चुनौती हो । स्थानीय तहको सरकारले छठ पर्वमा आवश्यक हुने जलासयको निर्माण दिए त्यो स्थानीय तहको विकास त्यसै हुनेमा शंका रहँदैन ।
(लेखक कर्ण कारोबार दैनिकका पत्रकार हुनुहुन्छ)

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..