» » छठमा गीतको महिमा

पहिले पहिल हम केलहुँ, छठिमैया ब्रत तोहार...
छठ पर्वको रौनक छ र यस्तोमा छठ पर्वसम्बन्धी गीतको चर्चा नगर्दा पर्व नै अधुरो हुन्छ । छठ आफैमा महान पर्व हो ।

र, त्यसलाई छठ सम्बन्धी माधुर्य गीतले झन राम्रो बनाएको हुन्छ । कुनैबेला लाग्छ छठको गीत भएन भने छठ खल्लो हुन्छ । अहिले पो डिजिटल युगले मौखिक गाउँने गीतको ठाउँ लिएको पक्कै हो तर गीतले छठलाई झनै राम्रो बनाई दिएको छ ।

पहिला पहिला छठका व्रतालुहरु दुई तीन दिन अगाडिदेखि नै गीत गाउने गर्थे । छठको तयारीका लागि गर्ने कुटनी पिसनीदेखि लिएर अन्य समयमा पनि गीत गाएर छठको रौनकलाई जमाई राख्थे । तर अहिले साउण्ड बक्सदेखि लिएर विभिन्न डिजिटल साधनस्रोतले यसलाई यसलाई विस्थापित गरेको छ । छठ पर्वमा गाइने मौलिक छठ गीतहरुले मिथिलाको सांस्कृतिक परिवेश र संस्कारको समेत बखान गरेका हुन्छन् । उक्त गीतलाई गाउने शैली र भाका नै अदभुत हुने गरेको संस्कृतिविद्हरु बताउँ हुन्छ ।

डोमिन बेटी सुप नेने ठाड छै, उगह हो सुरुजदेव अर्घकेर बेर..

यो गीतले तराईका दलित डोमलाई सम्बोधन गरेको छ । यस गीतले छठ पर्व सबैको लागि हुने गरेको र यसमा कुनै जातपात छुट्याइएको हुँदैन भन्ने सन्देश दिइएको छ ।हुन पनि छठ पर्व नै मिथिलाको यस्तो एउटा पर्व हो जसमा छुवाछुतको कुनै छनक पाइँदैन । यस पर्वमा एउटै पोखरीको घाट र डीलमा ब्रह्मणदेखि दलितसम्म जलकुण्डमा प्रवेश गरेर छठ पर्व मनाउँछन् । अधिकारकर्मीहरुले यसलाई सद्भावको पर्व भनेर प्रचार गरेपनि तराई र मिथिलाक्षेत्रबाट छुवाछुतविरुद्ध जनचेतना जगाउने काम हुन सकेको छैन ।

छठमा प्रायः गंगा र सूर्यदेवताको गीत गाउने परम्परा रहेको छ । छठ पर्व पवित्रता र स्वच्छताको पर्वको रुपमासमेत चर्चित रहेको छ । गीतहरुले समेत स्वच्छताको भाका बोलेको पाइन्छ । साहित्यकार तथा  संस्कृतिविद् डा. रामभरोष कापडी भ्रमर भन्नुहुन्छ,“मिथिलामा जुनसुकै पर्वमा पनि गीत गाउने प्रचलन छ । ती गीतहरुमा हरेक पर्वको साँस्कृतिक परिवेशको झल्को प्रस्तुत गरिएको हुन्छ ।”ती गीतहरुमा मौलिकता, चिन्तन र मर्म विद्यमान रहेको बताउँदै उहाँले भन्नुभयो, “त्यसैले पनि परापूर्वकालदेखि गाउँदै आइएको गीतहरु आजपनि उत्तिकै सान्दर्भिक लाग्छ । ”

साँस्कृतिविद् कापडी यस्तै एउटा गीत—‘केरा जे फरल अनघोल, ओइ पर सुगा मंडराई...को उदाहरण दिदैं भन्नुहुन्छ केरा र नरीवल छठको प्रसाद मानिन्छ । तिनलाई रुखमा फलेकै बेला सुगाले ठुगेंर जुठो नपारुन भन्ने भाव पाइन्छ । उहाँले छठको पवित्रता र निष्ठाको प्रतीक उक्त गीतमा मान्छेमात्रै नभएर पशुपक्षीले समेत जुठो हालेको फलफूल वर्जीत हुने तर्क प्रस्तुत गरिएको बताउनुभयो ।


साँस्कृतिविद् कापडीले अर्को एउटा गीतको उदाहरण दिदैं सुनाउनुभयो, “सबैको अर्घ स्वीकार गर्ने छठिमातालाई एउटी विधवाले भन्छिज्—मेरो अर्घमात्रै किन स्वीकार गर्दैनौ । म विधुवा भएर मेरो अर्घ तिमीलेसमेत स्वीकार नगरेको हो’ यो भनाईमा समाजिक व्यवस्थामाथिको प्रतिकात्मक स्वर मुखरित भएको छ ।

 उहाँले छठ गीतले मैथिली सस्कृतिलाई सुरक्षित र जीवन्त राखेको बताउँदै भन्नुभयो, “त्यसैकारण हामी निरन्तर यस महापर्वको महात्मयसँग जोडिएका छौं ।


तर अहिले गीत पलायन हुने खतरा बढ्दो छ । उहाँले नयाँ पुस्ताले गीत गाउनै छोडेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले मैथिली मौलिक गीत अब रेकर्डमा मात्रै सुन्न पाइने बताउँदै युवापुस्ता आफ्नो ढंगले नीजिरुपमा गीत गाइरहेका छन् तर ती सबै सास्कृतिक र प्राकृतिक तथा मौलिक छैनन् । त्यस्ता गीतहरु धेरै लामो समय  चल्दैनन् ।

त्यसले छठको सौन्दर्यभन्दा पनि विकृति निम्त्याउने काम बढी गर्ने बताउँदै उहाँले अहिलेका गीतमा शब्द छैन, भाका र भाव छैन जसले गर्दा छठ गीतको महत्व समाप्त हुने डर रहेको छ ।
मैथिली गीत त्यसै कर्णप्रिय र अझ छठको भाका झनै मधुर हुने गरेको छ । छठ गीत मैथिली र भोजपुरीमा गाउने प्रचलन प्रायः पाइन्छ ।

यद्यपि अन्य भाषाभाषीले समेत छठपर्व र त्यससम्बन्धी गीत गाउने गरेका छन् । छठ पर्व मिथिला वा तराईमा मात्रै सिमित नरहेर यो पहाडी समुदायसम्म फैलिएको छ ।  सांस्कृतिविद तथा साहित्यकार डा. राजेन्द्र विमलका अनुसार छठ ब्रत जीवनशक्तिको श्रोत र सूर्य उपासनाको एक आध्यात्मिक पद्धति हो ।

उनले छठ आर्यहरुको सूर्य उपासना परम्पराको एक अंगको रुपमा रहेको र मनाउँदै आइएको बताए । यसबारेमा  सूर्य पुराणमा व्यापक वर्णन रहेको उहाँको भनाइ छ । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..