» » भक्त र भगवानसँग सीधा वार्तालाप हुने छठ पर्व

नेपाललाई कला सँस्कृतिको धनी देश त्यतिकै भनेको होइन । नेपाललाई पर्वैै पर्वको देश पनि भनिएको छ । नेपालमा प्रायः प्रत्येक महिना कुनै नकुनै पर्वहरु मनाउने गरिन्छ । नेपालमा सबभन्दा ठूलो पर्वको रुपमा दशैंलाई लिइन्छ । सरकारले पनि यसलाई विशेष महत्वका साथ मनाएको हुन्छ । दशैं मनाउनलाई विदा दिनुको साथै कर्मचारीलाई बोनस पनि बाँडेको हुन्छ । नेपालका लागि क्रममा दशैं, दिपावली र तिहार पर्वपछिको सबभन्दा ठूला पर्व छठ हो । सूर्य र उनको देवी रूप उषालाई छठी मैयाको रूपमा षष्ठी तिथिमा मुख्य पूजा गरिने हुनाले यो पर्वको नाम छठ पर्न गएको हो ।


आस्था र सहअस्तित्वको पर्व छठको तेस्रो दिन, जसलाई लोकबोलीमा ‘सँझियाँ घाट’ भन्ने गरिन्छ । मानव र प्रकृतिबीचको सम्बन्धलाई छठले प्रत्येक वर्ष प्रगाढ बनाउँदै आइरहेको छ । मानव जातिको पीडाप्रति सजग रही हरेक वर्ष दीपावली अर्थात लक्ष्मीपुजा समाप्तिपछि मनाउँदै आएको छठ पर्वले मानव र प्रकृतिबीच हराउँदै, बिलाउँदै, लोप हुँदै गइरहेको संवेदनशील रागात्मक, अटुट संवाद—सम्बन्धको सुत्रधारलाई सबलीकरण गर्दै मानव र प्रकृतिबीच सम्बन्धलाई डोरीको गाँठो जस्तो बाँधने काम गर्छ ।  छठ पर्वले प्रकृतिसँग जोड्ने काम मात्र होइन, समाजलाई जोड्ने काम पनि गरेको छ । समाजमा देखिएको सत्रुता, कटुता, वैरभावलाई अन्त्य गर्दै एक अर्कालाई नजिक ल्याउने काम गरेको छ ।


भनिन्छ, ‘भक्त र भगवानसँग सीधा वार्तालाप छठ पर्वमा मात्र हुन्छ ।’ यो नै एउटा यस्तो पर्व हो, जसमा पुजारी र पुरोहित आवश्यक पर्दैन । छठमा अर्घ दिइने सूर्य भगवान प्रत्यक्ष देखिन्छ । त्यसैले पुजारी चाहिदैन । छठ पर्वको तयारीदेखि लिएर त्यसको सम्पन्नसम्म व्रतालु त्यसमा आफै संलग्न हुन्छ । ब्रतालु यसमा सहयोगी पनि राख्दैन । आस्था र निष्ठाका साथ कसैले सकि नसकि छठको तयारीमा एक महिना पहिलादेखि नै लागेका हुन्छन् । कुटनी पिसनीदेखि लिएर बजारबाट समान ल्याउँदा पनि आफै त्यसमा संलग्न हुन्छ । शुरुदेखि अन्त्यसम्म त्यसमा आफै संलग्न भएको कारण छठको आस्था र विश्वासलाई नजिकबाट अनुभव गरेका हुन्छ र छठ प्रमेश्वरीसँग प्रत्यक्ष भेटेको अनुभूती हुन्छ ।



यो छठ पर्व विस्तारै युवा पुस्तामा हस्तान्तर हुँदै गइरहेको छ । घरका मुली अर्थात आमाबुवा बुढो भएपछि उपवास बस्न वा अरु गतिविधिहरु गर्न नसक्ने अवस्थामा पुगेपछि त्यो पर्व युवा पुस्तामा हस्तान्तरण भएको हुन्छ । हुने गरेको छठपर्वलाई अवलोकनसँगै विधिहरू सिधै सिक्ने र यो क्रम नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको छ । केहीले छठ घाटमा सूर्य भगवानको मूर्ति निर्माण गरी ब्रतालु सूर्यलाई नमस्कार गर्छन् । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिँदा पनि पुजारी आवश्यक पर्दैन । व्रतालुहरू सूर्यमन्त्र उच्चारण गर्दै अर्घ अर्पण गर्छन् ।


छठ शब्द संस्कृतको ‘षष्ठी’ शब्दबाट विकसित भएको इतिहास छ । चार दिवशीय छठ ब्रतमा सबै भन्दा कष्ठ, कठिनाई, दौडधुप, श्रम—शक्ति र महत्वको हिसाबले कात्तिक शुक्लषष्ठीको दिनै हुन्छ । कात्तिक शुक्ल षष्ठी तिथिका दिन नेपाल र भारतमा धुमधामका साथ मनाइने निकै चर्चित पर्वको नाम हो छठ । यो पर्व षष्ठी पूजाको अपभ्रंशका रूपमा आएको हो । यस पर्वमा सूर्यको उपासना गरिन्छ र छठी माता (श्रीसपता) को पूजा गरिन्छ । अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेर प्रारम्भ हुने यो व्रत भोलिपल्टको उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेर विसर्जन हुने गर्छ । निकै पवित्र, सफा सुग्घर र निष्ठापूर्वक मनाइने लोकपर्व धेरै दृष्टिकोणबाट मननयोग्य छ । छठको धेरै महत्व छन् । तर यहाँ छठको महत्वपूर्ण फरक —फरक ८ विशेषताहरुको चर्चा गर्न जरुरी छ ।


समाजिक सद्भावको पर्व
छठ पर्व समाजिक सद्भावको पर्व पनि हो । हाम्रो समाजमा छुवाछूत, भेदभाव, तल्लो जाति–माथिल्लो जातिबीच पानी बराबारको अवस्था अझै कायमै छ । कानुनी रुपमा छुवाछुतको अन्त्य भएपनि समाजमा छुवाछुत भने अझै कायम छ । तर छठ पर्वले सामाजिक भेदभावको बाँध भने परापूर्व कालदेखि नै भत्काइ दिएको छ । यो पर्वमा छुवाछुत, उच्च–नीच, गरिब–धनी केही पनि हेरिदैन । सबैलाई समान रुपमा हेरिएको हुन्छ । हाम्रो समाजमा सबैभन्दा अपहेलित जातमा डोम जातीलाई मानिन्छ । तर छठ पर्वमा डोम जाती नभइ नहुने भएको छ । उनीहरुले तयार गरेर बनाएको ढक्की, नाङ्गलो, डलिया, सुपली, कोनिया, चलनी आदिमा छठी मैयालाई चढाउन प्रसाद राख्न ब्रतालुहरु प्रयोग गर्छन् । पूजा समाग्री सजाउनाले ती पिछडिएका दलित पनि हाम्रो समाजको अंग हुन र तिनको पनि समाज विकास, संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान रहेको तथ्यलाई यहाँ स्वीकार गरिएको देखिन्छ ।


त्यसैगरी यो पर्व मनाउने सनातन धर्मावलम्बीबीच समुदायगत, जातिगत, भाषागत भिन्नता पनि छन् । धार्मिक भिन्नता पनि छन् तर यो व्रत गर्ने व्रतालु वा सघाउने श्रद्धालुबीच त्यसका आधारमा कुनै बैमनश्यता वा द्वन्द्व कहिल्यै हुने गरेको छैन । कुनै जातजाति हुन, तिनको दौरा, छैंटी श्रीपताको अगाडि मिलेर, मिलाएरै राखिएका हुन्छन, सबै एउटा गोलमा अटाएको दृश्य हेर्दा राजनीतिले छुट्याएको पहाडी, मधेसी, जातजाति भेद यहाँ सबै टुंगिन पुग्छ । तसर्थ यो व्रतले सामाजिक सद्भाव र मानवीय एकतालाई अझ मजबुत बनाएको देखिन्छ ।

अझै ध्यान दिनुपर्ने कुरा के छ भने अरू बेला अछुत भनेर तिरस्कार गर्ने समाजका कुलीन वर्गका छोरी र बुहारी पनि बाटोको छेउमा अँचरा (आँचल) थापेर प्रसाद माग्छन् र प्रसाद जुनसुकै जातजातिको होस, आँचलमा पर्यो भने त्यसलाई पवित्र मानेर ग्रहण गर्छन् । यसले के प्रमाणित गर्छ भने हाम्रो समाजलाई एकताको सूत्रमा बाँध्न यस्ता पर्वहरूको ठूलो योगदान छ ।

एकताको पर्व
छठको तयारी हुँदैको बखतदेखि समाजमा एक अर्कालाई सहयोग गरेका हुन्छन् । समाग्री तयार गर्दा एउटा छिमेकले अर्को छिमेकलाई सहयोग गरेका हुन्छन् । जता, ढिकीमा कुटाई पिसाइ गर्दा एक अर्काले सहयोग गरेका हुन्छन् । सबै मिलेर घाट बनाउने, त्यसलाई सजाउने, नदी तालतलैयालाई सरसफाइ गर्ने, त्यसको सुरक्षा दिने, रमाउने, नाचगान गर्ने जस्ता कार्य समूहमै भएका हुन्छन् । जसले गर्दा समाजमा एकताको सन्देश दिएका हुन्छन् । समाजमा हुने त्यस्ता गतिविधिले मानवीय भाइचारा, सामाजिक एकता र सामाजिक सद्भावलाई दह्रो बनाउन छठ पर्वले मद्दत गरेका हुन्छन् । तराई–मधेसमा बस्ने हिन्दु धर्मावलम्बीले मनाउने यो पर्वले छिमेकमा बस्ने इस्लाम, बुद्ध धर्म मान्नेलाई पनि आफ्नो प्रभावमा राख्दै आएको छ ।

तराई मधेशमा मनाउने यो पर्व मधेशीका कारण हिमाल र पहाडमा मनाउन पनि थालिएको छ । काठामाडौं उपत्यकादेखि लिएर देशका जुनसुकै ठाउँमा मधेशी बसेका हुन्छन् त्यसले त्यही छठ मनाउँदा पहाडी समुदाय वा अन्य समुदायले पनि देखासिखि गरी छठ पर्व मनाउने गरेका हुन्छन्, जसले मधेशी र पहाडीबीच एकता सद्भाव बनाउने काम गरेका हुन्छन् । मधेशी र पहाडी एकै ठाउँमा बसेर छठ मनाएका हुन्छन् जसले गर्दा दुई समुदायमा रहेका तितामिठा सम्बन्ध एकतामा बाँधिन्छ । बहुसांस्कृतिक, बहुभाषिक र बहुजाति प्रकृतिका समावेशी पर्व छठको सौन्दर्यका लागि मधेश, पडाड र हिमालसँग छठको प्रेम छ ।

लोकतान्त्रिक पर्व
छठ पर्वलाई लोकतान्त्रिक पर्व पनि भन्न थालेको छ । गणतन्त्र आएपछि छठको परिभाषा झन फराकिलो हुँदै गइरहेको छ । यो पर्वमा सबै समुदाय संलग्नता भएको हुनाले लोकतान्त्रिक अर्थात गणतान्त्रिक पर्व भनिएको हो । यो पर्वमा हरेक प्रकारको सामाग्री प्रयोग हुने भएकाले पनि यसलाई लोकतान्त्रिक पर्व भन्न थालेको हो । लोकतन्त्र अर्थात गणतन्त्रमा कसैले कसैमाथि विभेद तथा भेदभाव गर्न नहुने नीति भए जस्तै छठ पर्वमा पनि कसैमाथि कुनै प्रकारको विभेद हुँदैन । दलितले गैरदलितसँग बसेर पर्व मनाएका हुन्छन् भने दलितहरुले तयार पारेका सामाग्री छठ पर्वका लागि प्रयोग भएका हुन्छन् ।


पहिला पहिला हिन्दु धर्म मान्नेहरु नै यो पर्व मनाउँथे । अहिले हिन्दु धर्म मान्ने, नमान्ने, दलित, गैर दिलित, कतै कतै मुस्लिम सुमदयले पनि यो पर्व मनाउन थालेका छन् । युग परिवर्तन भएसँगै चाडपर्व मनाउने पनि परिवर्तन आएको कुरा यो छठ पर्वमा देख्न पाइन्छ । यो पर्वमा डोम समुदयाले बनाउने नाङ्लो, बाँसको टोकरी (ढकिया), कुम्हारले माटोले बनाएको घैटो (घैला), ढकना, हात्ती जस्ता समाग्री प्रयोग हुन्छ । मालीले दिन फूल, पानबालाले दिने पानले यो पर्व मनाउने गरिन्छ । यतिमात्र होइन, किसानको खेतमा उब्जाउ हुने हरेक प्रकारको अन्न, फलफूल पनि यो पर्वमा प्रयोग हुन्छन् ।

यसको सबभन्दा महत्वपूर्ण पक्ष भनेको यो पर्व नै एउटा यस्तो पर्व हो जहाँ अस्ताउँदो सूर्यको पनि पूजा हुन्छ । भनिन्छ, उदाउँदो सूर्यलाई नै सबैले पूजा गर्छन्, अस्ताउँदो सूर्यलाई कसैले पूजा गर्दैनन्, अर्थात बलेको आगो नै सबैले ताप्छन् । तर छठ पर्व नै यस्तो पर्व हो जहाँ अस्ताउँदो सूर्यको पूजा हुन्छ, गणतन्त्रको यो भन्दा राम्रो उदाहरण कहाँ पाइन्छ । त्यसैले यो पर्वलाई लोकतान्त्रिक र समावेशी पर्वको रुपमा पनि व्याख्या गरेको पाइन्छ

अहिंसाको पर्व
छठ पर्वलाई अहिंसाको पर्व पनि भनिन्छ । यो पर्वमा कुनै प्रकारको जीवजन्तुको बलि दिइदैन । बरु यो पर्वले संसारमा सबै जीवजन्तुको रक्षा गर्छ । दशैंमा जस्तो बली प्रथालाई यस पर्वले निषेध गरेको छ । शाकाहारी र अहिंसा भाव र शुद्धतालाई निकै महत्व दिई छठपूजा गरिन्छ । यो पर्वमा सबभन्दा बढी शुद्धतामा ध्यान दिएको हुन्छ । छठका लागि तयार पारिएको प्रसाद तथा अन्य सामाग्री जुठो नहोस् भनेर निकै सचेत हुन्छ । ब्रतालुहरु यस पर्वमा प्याज, लसुन, माछा मासु खादैंनन् । यस पर्वमा सबैको जय जयकार गरिन्छ । कुनै प्रकारको हिंसा हुँदैन । एक अर्कासँग मिलेर बसेका हुन्छन् । शान्ति र सद्भावका लागि भजन किर्तन गरेका हुन्छन् । ब्रतालुहरुमा यतिका शुद्धता र आस्था आएको हुन्छ कि कसैलाई डाट्ने, ढाट्ने तथा गाली गर्ने काम पनि गरेका हुँदैन । पवित्र मन बनाएर छठको तयारी गर्नुको साथै त्यसको लागि प्रसादहरु तयारीमा लागेका हुन्छन् ।

आस्थाको पर्व
छठपूजाले मनोकामना पुरा हुने विश्वासले जुनसुकै तह, तप्का र क्षेत्रका व्यक्ति तथा समुदायमा आस्था दिनानुदिन बढेको पाइन्छ । त्यसैले छठपर्वलाई आस्था र विश्वासको पर्वसँगै सद्भावको पर्व पनि भनिन्छ । छठ पर्वलाई मनोकक्षा पुरा गर्ने पर्वको रुपमा लिइन्छ । मनमा लिएका आकाक्षा पुरा होस् भनेर छठ माताका लागि भाकल गरेका हुन्छन् । छोराछोरीको सुख, शान्ति, श्रीमानको दीर्घायु, घरमा परिवारमा कुनै रोगब्याधी नलागोस् भनि भाकल गरेका हुन्छन् भने कतिपयले उद्योग व्यपार तथा पढाई लेखाइ राम्रो होस् भनि भाकल गरेका हुन्छन् । मनोकामना पुरा भयो भने डब्बल छठ गर्ने कसै कसैले भनेका हुन्छन् भने कसैले आँचलनमा नाच नचाउने भनेका हुन्छन् ।

कसैले त दुई घोर (घार्नी) केला चढाउने पनि भनेका हुन्छन् । कसै कसैले त मुर्ती वा मन्दिर बनाउन पनि भाकल गरेका हुन्छन् । यहाँसम्म कि कसैकसैले घरदेखि जलाशय घाटसम्म घिस्रेर जाने पनि भाकल गरेका हुन्छन् । यो यस्तो आस्थाको पर्व हो कि जसले भित्रि मनदेखि मनोकामनाका लागि भाकल गरेका हुन्छन् प्रायःको मनोकामना पुरा भएकै हुन्छन् । त्यसैले व्रतालुहरुलाई छठप्रति आगाध आस्था रहेको छ ।

गीतमय छठ पर्व
छठको शुरुदेखि अन्त्यसम्म सबै विधिविधानहरु गीतबाटै बुझ्न सकिन्छ । छठको तयारीदेखि लिएर समापनसम्म ब्रतालुहरु गीत गाइरहेका हुन्छन् । छठका लागि पकाई ठकुवा, भुसवा, खीरका लागि चाहिने पिठो तथा चामल बनाउँदा महिलाहरुले छठको गीत गाइरहेका हुन्छन् । जतामा पिठो बनाउँदा महिलाहरुले गीत गाउँदा कम मनमोहक र सौन्दर्यता प्रदान गरेको हुँदैन । छठ पर्व आउन २० दिन अघिदेखि नै छठको गीत संगीत घरघरमा गुञ्जि रहेका हुन्छ । पहिला जस्तो अहिले महिलाहरुले गीत गाउने चलन छैन । विस्तारै विस्तारै गीत गाउने चलन हराउँदै गएको छ । त्यसका ठाउँ रेडियो, टीभी र टेपरेकर्डरले लिएका छन् । पेन ड्राइभमा राखिएको गीत साउण्ड बक्समा राखेपछि गीत बज्न थालेका हुन्छन् । र, त्यसैबाट मनोरञ्जन लिएका हुन्छन् ।

छठको शुरुवातसँगै रेडियो तथा एफएमहरुमा पनि छठ गीत बजाएका हुन्छन् जसले गर्दा महिलाहरु आफै गीत गाउनुको सट्टा त्यसैमा सुनेर मनोरञ्जन लिएका हुन्छन् । घाटमा पनि महिलाहरुले गीत गाउने चलन थियो । तर अहिले ठूला ठूला डिजे साउण्ड बक्सले त्यो ठाउँ लिएको छ । रेडियो, एफएममा गीत बज्दा होस् वा महिलाहरुले गीत गाउँदा होस् त्यसले छठ आएको भान हुन्छ । गीतले ‘छठ आउँदैछ, तयारीमा जुट’ पनि भन्छन् ।

कृषिमय छठ पर्व 
छठ पर्वमा सबभन्दा बढी कृषिजन्य वस्तुको प्रयोग हुन्छन् । छठ पर्वमा कृषि उत्पादनको महत्वलाई स्वीकार गरेको छ । जीवन र प्रकृति एकअर्काका पूरक हुन् । प्राकृतिक सम्पदाका संरक्षण गर्नु जीवनको सम्पन्नताको साँचो हो भन्ने तथ्य यो पर्वमा सधैं प्रयोग गरिनेभन्दा फरक उत्पादन चढाउनुले पुष्टि गर्छ । गमहरी धान, सुथनी, अदुवा, बोडी, उखु, नरिवल, सख्खर, कागती, केराको थम्बा, केरा, गहुँ, जौं, निम्बु, कागती, नरिवल, छहोरा, सुपारी, पान, मखान, ओखर, स्याउ, सुन्ताला, विभिन्न खालको फूल आदि जस्ता अन्नको प्रयोग हुने गरेको छ । कृषकको श्रमलाई महत्व दिने पर्वको रुपमा छठलाई लिइन्छ ।

किसानले धान भित्र्याउने समय भएका हुनाले नयाँ अन्नको प्रयोग पनि यो छठ पर्वमा गर्ने गरिन्छ । त्यति मात्र होइन, अरु बेलाको तुलनामा छठमा कृषिजन्य वस्तुको विक्रि वितरण बढी हुने गरेका हुनाले पनि किसानहरु खुशी हुन्छन् । कृषिजन्य वस्तुको विक्रि वितरण हुने भएका हुनाले किसानको आयआर्जन हुने गरेको छ । आर्थिक वृद्धि दलमा छठ पर्वले सहयोग पुर्याउने गरेको छ ।

नारी शक्तिको पर्व
छठ पर्वमा शक्ति स्वरुपा छठ प्रमेश्वरीको पर्व हुने भएका हुनाले यो पर्वलाई नारी शक्तिको पर्व पनि भनिएको छ । यो पर्वमा नारीको महत्व निकै बढी हुन्छ । यो छठ पर्वको तयारीदेखि लिएर अन्त्यसम्म महिलाको संलग्नता मुख्य हुन्छ । कुटनी पिसनीदेखि लिएर पुजाको सामाग्री तयारी गर्नुको साथै उपवास बस्ने काम पनि महिलाहरुले नै गरेका हुन्छन् । पछिल्लो समय पुरुषहरु पनि उपवास बस्न थालेका छन् । तर सँख्या महिलाको नै बढी हुन्छन् । छठ सूर्यको उपासनाको पर्व भए पनि यस पर्वले सामाजिक सद्भाव, मानवीय सद्भाव, श्रम र प्रकृतिलाई आदर र पवित्रताका धर्म यसको मूल मान्यता हो भन्न सकिन्छ । सूर्यको उपाशनामा कृपालु छठी माईको आशिषबिना अनुष्ठान पूरा हुन सक्दैन ।

यो मातृशक्तिप्रतिको श्रद्धा हो । छठ मात्र यस्तो अनुष्ठान हो, जसमा छोरीको कामना गरिन्छ । छठी माईको गीतमा यसको स्पष्ट झझल्को पाइन्छ । छठ पर्वमा सूर्य देवताका साथै उषाको पनि पूजा हुन्छ । उषा भनेको देवी नै हो । यो पर्वमा उदाउँदो सूर्यलाई मात्र होइन, अस्ताउँदो सूर्यको पनि पूजा हुन्छ ।
छठका पाँच विधि

पहिलो दिनः मांशाहारी र तामसी भोजन त्याग । पहिलो दिन अर्थात कात्तिक १३ गते ब्रतालुहरुले मांशाहारी भोजन, लसुन, प्याज, कोदो, मुसुरीको दाल लगायत उसिना खाद्यान्न ग्रहण गर्नु हुँदैन । नदी, तलाउ, पोखरीमा स्नान गर्नुपर्छ । घाटको तयारी गर्नुपपर्छ ।

दोश्रो दिनः शाहाकारी भोजनसँगै स्नान । यो दिनलाई नहाइ खाई पनि भनिन्छ । यो वर्ष कात्तिक १४ गते अर्थात छठ पर्वको दोश्रो दिन । यो दिन नदी, तलाउ र पोखरीमा गएर स्नान गरेर चोखिनुपर्छ । चोखिएपछि प्राय लौकाको सब्जी र सात्विक भात खानुपर्छ । यहि दिनबाट ब्रतालुहरुले शाहाकारी भोजन मात्रै खाएर ब्रत सुरु गर्छन् ।

तेश्रो दिनः चोखो घरमा सूर्य भगवानको आराधाना । कात्तिक १५ गते अर्थात छठ पर्वको तेश्रो दिन सूर्य भगवानको आराधाना गरिन्छ । ब्रतालुको घरको कुनै कोठा राम्रोसँग लिपपोत गरेपछि यस्तो आराधाना गरिन्छ । यो दिनलाइ ‘खरना’ भनिन्छ । यो दिनमा चामल, दुध, सखर आदि हालेर खीर बनाइन्छ । खिरलाई मुला, पान, सुपारी, केरा, नैवेद्यको रुपमा भाकल गरेर अनुसार सूर्य भगवानलाइ चढाइन्छ । यसरी ब्रतालुले पूजा गरुञ्जेल घरका आफन्त र छिमेकीहरु बाहिर कुरेर बस्छन । पूजा पश्चात् सबैभन्दा पहिले प्रसाद ग्रहण स्वयम ब्रतालुले गर्छन् । ब्रतालुपछि मात्रै अरुको पालो आउँछ ।

चौथो दिनः अस्ताइरहेको सूर्यलाइ अर्घ । कात्तिक १६ गते अर्थात छठ पर्वको चौथो दिन अस्ताइरहेको सूर्यलाइ अर्घ दिइन्छ । अर्घ दिँदा गहुँको पिठो, सखर मिसाएर ठेकुवा, अरवा चामलको पिठो, सखर घिउ आदि मिसाएको मिठाइहरु तथा मौसमी फलफूलहरु, पान सुपारी आदि प्रयोग गरिन्छ ।

पाँचौ दिनः उदाइरहेको सूर्यलाइ अर्घ । कात्तिक १७ गते अर्थात यो छठ पर्वको अन्तिम दिन हो । यो दिनलाइ ‘भोरुकवा’ अर्घ भनिन्छ । बिहान उदाइरहेको सूर्यलाइ अर्घ दिएर यो पर्वको औपचारिक समापन हुन्छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..