» » यता छाडेपछि उता के हुन्छ ?

समाजवादी पार्टीमा सरकार छाड्ने दवाव बढी रहेको छ । पार्टीभित्र र बाहिरबाट दवाव बढेपछि सरकार छाड्ने कि त्यही बस्ने निर्णय गर्नका लागि समाजवादी पार्टीले कात्तिक २९ र ३० गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।

त्यो बैठकमा सरकार छाड्ने कि नछाड्ने विषयमा छलफल हुने प्रचार विभागका प्रमुख प्रशान्त सिंहले बताउनुभयो । तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति बीच एकता हुँदा डा.बाबुराम भट्टराईको एउटा शर्त थियो सरकार छाड्नुपर्ने ।

त्यसको जवाफमा उपेन्द्र यादवले अहिले सरकार छाडेपछि राम्रो सन्देश नजाने भएकाले केही दिनपछि सरकारलाई अल्टिमेटम दिएर मात्र बाहिरिने भनेर डा.बाबुराम भट्टराईलाई मनाउनु भएको थियो । तर एकीकरण भएको झण्डै सात महिना हुन लागेको छ तर सरकार छाड्ने विषयमा प्रधानमन्त्री केपीशर्मा अ‍ोलीसँग कुनै वार्ता हुन सकेको छैन । अल्टिमेटम दिने कुरा थियो त्यसको पनि सुरसार नदेख्दा बाबुराम भट्टराईको समूहको तर्फबाट सरकार छाड्न दवाव परिरहेको छ ।

अर्कोतिर, राष्ट्रिय जनता पार्टी नेपालले पनि पार्टी एकीकरणका लागि पहिलो शर्त सरकार छाड्नु पर्ने बनाएको छ । दुई पार्टीबीच एकीकरण गर्नका लागि सरकार छाड्नु पर्ने शर्त राजपा नेपालको रहेको छ । त्यो दवावका कारण पनि समाजवादी पार्टीले सरकारको बारेमा केन्द्रीय समितिमा निर्णय गर्न बाध्य भएको छ ।


तर केन्द्रमा सरकार छाडेपछि प्रदेशमा के गर्ने त्यसको पनि प्रश्न उठ्न थालेको छ । सविधान संशोधन लगायतका माग राख्दै सरकारमा सहभागी भएको र त्यो पूरा नभएपछि सरकार छाडेको विषयमा समाजवादी पार्टी र राजपा नेपालका लागि संघमा मात्र होइन, प्रदेशमा पनि लागु हुनुपर्ने धेरैको विश्लेषण रहेको छ ।


एमाले र माओवादी एक भएर बनेको नेकपा प्रदेश २ मा पनि अहिले बलियो भएर आएको छ । यदि आफ्नो नेतृत्वको सरकारलाई समाजवादी पार्टीले छाड्यो भने प्रदेशमा पनि छाड्नुपर्ने तर्क नेकपाले दिन सक्छ । यदि समाजवादी पार्टीले प्रदेशमा सरकार नछाडे कुनै नकुनै खेलबाट सरकार छाड्न बाध्य बनाउने र आफ्नो नेतृत्वमा सरकार गठन गर्ने नेकपाको तयारी रहेको छ ।

तर स्रोतका अनुसार समाजवादी पार्टी र राजपा नेपालले प्रदेशको सरकार छाड्ने पक्षमा छैनन् । संघ र प्रदेश छुट्टा छुट्टै विषय भन्दै त्यहाँ सरकार छाड्ने नछाड्ने विषयले सविधान संशोधनमा कुनै असर नगर्ने भएकाले प्रदेश सरकार नछाड्ने समाजवादी पार्टी र राजपा नेपालको तयारी रहेको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..