» » गणतन्त्रकको प्रतिक छठ पर्व

तराई–मधेशमा मनाउने विभिन्न चाडपर्वहरुमध्ये सबभन्दा महत्वपूर्ण पर्व हो छठ पर्व । यस पर्वको महत्व तराई–मधेशमा मात्र होइन, देशैभरी फैलिएको छ । दशैं पर्व पछिको सबभन्दा ठूलो पर्व नै छठ पर्व हो । पहिला यो पर्व विशेष रुपमा तराई मधेशमा मात्र मनाईन्थ्यो भने अब देशैभरि यहाँसम्म अमेरिका, जपान, अष्टे«लिया लगायतका देशमाहरुमा पनि मनाउन थालिएको छ ।

अर्थात जहाँ जहाँ नेपाली (मधेशी) र भारतीयहरु बस्न थालेका छन् त्यहाँ त्यहाँ यो पर्व मनाउन थालिएका छन् । त्यसको देखासिखी गरि विदेशीहरु पनि मनाउन थालेका छन् । अमेरिकामा नदी तथा जलाशयहरुमा जान नपाएपनि आ–आफ्नै घरको ‘स्विमिङ्गपुल’ वा सानो कृत्रिम तलाउ बनाएर पनि यो पर्व मनाउने गरिन्छ ।


हिन्दु धर्म अनुसार मनाउने यो पर्व अचेल अन्य धर्म मान्ने समुदायले पनि मनाउन थालेका छन् । त्यही भएर यसलाई गणतान्त्रिक पर्व पनि भन्न थालिएको छ । तराई–मधेशका मुस्लिम, दलित तथा उपत्यकाका नेवार समुदायले पनि यो पर्व मनाउन थालेका छन् ।

नेवारहरु पनि त्यतिकै मनाएको होइन, तराई मधेशका मानिसले यहाँ काठमाडौ उपत्यकामा छठ मनाउन थालेपछि र त्यसको महिमा अन्य समुदाय लगायत नेवार समुदायले थाह पाएपछि विस्तारै विस्तारै छठ पर्व पनि मनाउन थालेका छन् । नेवारहरु मात्र होइन अन्य समुदाय पनि छठ पर्व मनाउन थालेका छन् । पहिला तराई–मधेशमा मात्र सिमित छठ पर्व अहिले हिमाल उक्लिसकेका छन् । आदिवासी जनजाति, दलित, मुस्लिम लगायत अन्य समुदायले फाटफुट रुपमा मनाउन थालेका छन् ।

यो पर्व पुरै समाजवादी पर्व हो । यसमा को गरिब, को धनी, को तल्लो जात, को माथिल्लो जात केही पनि देखिदैन । सबै समान हुन्छ । यसमा दलितले बनाएको सामाग्रीको पुजा हुन्छ । मालीले दिएको फूलले पुजा हुन्छ ।

यहाँसम्म कुनै गरिबले छठ पर्व मनाउने इच्छा राखेको छ भने उसलाई चन्दा दिएर, सहयोग दिएर सो पर्व मनाउन दिने पनि चलन रहेको छ । छठ पर्व गर्नका लागि भिक्षा माग्ने चलन पनि छ । छठ पर्व मनाउने दिन जति नजिक आउँछ त्यति नै शहर वजारमा चहलपहल बढ्नुको साथै शहर बजार तथा ग्रामिण क्षेत्रमा भिक्षा माग्नेहरु पनि देखिन थाल्छन् ।

 भिक्षा मागेर पनि यो पर्व सम्पन्न गर्ने चलन पहिलादेखि नै चल्दै आएको हो । यद्यपी यो भिक्षा माग्ने चलनलाई कतिपयले दुरुपयोग पनि गरिरहेको भन्ने गरिन्छ । छठ पर्वका लागि भिक्षा मागेका हुन्छन् तर त्यसलाई अर्कै काममा प्रयोग गरेका हुन्छन् । कतिपय ठाउँमा त्यस्ता व्यक्तिहरुलाई समातिने पनि गरेका छन् । 

यो पर्व घर बाहिर मनाउने भएका हुनाले सबैको सहभागीता हुन्छन् । धनी, गरिब, उच्च जात, तल्लो जात, पर्व मनाउने, नमनाउने, दलित, गैर दलित सबैजना पर्वमा सहभागी भएका हुन्छन् । छठ पर्व नै यस्तो पर्व हो कि यसमा सबैको सहभागीता हुन्छन् । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेको छ । समाजवाद उन्मुख राष्ट्र निर्माण गर्नका लागि राज्य अगाडि बढेको छ तर यो छठ पर्वले पहिलादेखि नै गणतन्त्रको ढाँचामा गइसकेको थियो । समाजमा गणतन्त्रको ढाँचामा छठ पर्वलाई मनाउने कार्य गरिसकको थियो ।

अरुबेला तल्लो जातका र माथिल्लो जातका नचाँहिदो झगडामा विवाद गर्नेहरू सबै छठमा एउटै घाटमा बसेर एउटै ईश्वरलाई सम्झिरहेका हुन्छन् । यो नै एउटा यस्तो पर्व हो जसमा पुरहीत वा पुजारीको आवश्यकता पर्दैनन् वर्तालु आफै पुजा गरेका हुन्छन् । त्यो बेला न त्यहाँ कुनै जातपात हुन्छ न कोही गरिब वा धनी नै हुन्छन् । सबैले आफ्नो गच्छे अनुसारको खर्च गरेर यो पर्व भक्तिभावका साथ मनाउँछन् ।


कसैलाई यो पर्वमा कसैसँग कुनै ईष्र्याद्वेष हुँदैंनन् । घट्दो गर्मी र बढ्दो चिसोको मौसममा पर्ने यो पर्वमा किसानहरू खेतको अन्न भकारीमा थुपारेर सुखी र आनन्दित भएर बसेका हुन्छन् । अरु बेला खर्च गर्न कन्जुस्याँईं गर्नेहरू पनि यो बेला छठीमाताको नाममा मन खोलेर खर्च गरिरहेका देखिन्छन् । ब्रतको समापन गर्ने दिन बिहानैदेखि घाटमा मान्छेहरूको भीड हुन्छ ।

छठीमाईको गीत गाउँदै उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर ब्रत बसेकाहरू आफूमा न्यानोपन अनुभव गरिरहेका हुन्छन् । त्यही भएर ब्रत सकिएपछि छठी माईको दर्शन गर्न आएका भक्तहरू श्रद्धाका साथ प्रसाद मागेर खाने गर्दछन् । लोकतान्त्रिक गणतन्त्र जसरी विस्तार हुँदैछ, त्यसरी नै यो पर्व पनि विस्तार भइरहेको छ ।

राजधानीका वागमती नदी लगायत रानीपोखरीमा छठ मनाउनेहरुको भिड तराई–मधेशभन्दा कम हुँदैन । राजधानीमा छठ पर्व मनाउनका लागि दुई महिना अगाडिदेखि नै तयारी थालिसकेका हुन्छन् । मधेशका विभिन्न शहर जस्तै झापा, मोरगं, सुनसरी, सिरहा, सप्तरी, जनकपुर, वीरगञ्जदेखि नवलपरासी, नेपलागञ्जसम्म छठ विशेष रुपमा मनाउने गरिन्छ ।

एक महिना अगाडिदेखि नै त्यहाँको तलाउ तथा जलाशयलाई सफासुग्धर गरी पण्डालहरु बनाउने काम सुरु गरिसकेका हुन्छन् । गाउँघरतिर तिहार सकिएलगत्तै छठको तयारीमा तिब्रता दिइएका हुन्छन् । ब्रतालुहरुले आफूलाई पायक पर्ने पोखरी तथा नदी किनारमा आ–आफ्नो ठाउँ सुरक्षित गरिसकेका हुन्छन् ।


जलाशय छेउमा लहरै पूजाका लागि बनाइएका प्रत्येक घाटमा छठ पूजा गर्ने एक एक परिवार, घाटभरी फिजाइएका पूजा सामग्रीहरु, पुजन विधिसम्बन्धि मन्त्रोच्चारण, महिला समूहद्वारा घाटैपिच्छे एक एक हुलमा आवद्ध भई छठ परमेश्वरी र सूर्य देवताको आराधना गर्दै गीतहरु गाइरहेका हुन्छन् भने परम्परागत ढोल, पिपही मधुर्य आवाजले वतावरणलाई मोहित पारेका हुन्छन् ।


 मनोकांक्षा पूर्तिका लागि पानीमा उभिएका श्रद्धालु तथा परालको बुजोमाथि बलिरहेको दियोले जोसुकैको मन गद्गद् पर्न सफल हुन्छन् । यसमा चढाइने प्रसाद ठकुवा, भुसुवा, उखु माटाको हात्ती, ढकना, कोसिया–कुरवार, ढकीया, केरा, मुला, बेसार, गेडागुडी, फलफूल आदिले स्थानीयताको उत्कृष्ट र मनोरम झाँकी पनि प्रस्तुत गरिरहेका हुन्छन् ।


विशुद्ध रुपमा मनोकामना पूर्तिको उद्देश्य राखी मनाइने यस छठ पर्वमा जसरी एउटा राम्रो संवादवाहक कुनै कार्यसिद्धिमा सहायक हुन्छ, त्यसैगरी, छठ पूजा गर्नाले भलो हुन्छ भन्ने विश्वास गरिन्छ । त्यसैगरी, रथमा बसेर जुन प्रकारले सुख र आरामपूर्वक गन्तव्यमा पुग्न सकिन्छ । त्यसरी नै छठको व्रत बस्नाले सूर्यदेव प्रसन्न भई जीवन सहज सफल बन्दछन् भने जनधारणा रहेको पाइन्छ । छठपर्वको नामाकरण पनि प्रतिहार षष्ठीबाटै अपभ्रसित हुँदै भएको भन्ने विद्धानहरुको मान्यता छ । छठ पर्वमा मूलतः सूर्य भगवानको पूजा आराधना गरिन्छ । छठ पूजालाई मानव मात्रको प्राचिनतम पर्व मान्न सकिन्छ ।


विभिन्न धर्म तथा देवीदेवताको काल्पनिक उत्पत्ति हुनुअगाडि संसारको सर्वशक्तिमान शक्ति भनेकै सूर्य हो ।


आधुनिक विज्ञानले पनि ब्रहमाण्डको सर्वाधिक उर्जामय पिण्ड वा आदिशक्तिको रुपमा सूर्यलाई नै स्वीकारेको छ । र, संसारको सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेदमा पनि सूर्य–पूजनको कुरालाई स्पष्ट पार्दै लेखिएको छ–‘हे जाज्वल्यमान सूर्यदेव, जब तिमी उषाको काखमा उदाउँछौ, तब भक्तजनहरु गीत गाएर तिम्रो आराधना गर्दछन् ।’ यसैबाट छठ पर्व कति पुरानो र शक्तिशाली रहेको छ भन्ने कुरा पुष्टि भएको छ । अहिलेपनि पंचदेवतामध्ये सर्वप्रथम सूर्यकै पूजा गरिन्छ । छठ पर्वमा पूजा सूर्यको गरिए तापनि छठ परमेश्वरी अथवा छठ माता पुजा गरेको भनिन्छ ।

उदाउँदो सूर्यको पूजा जहाँपनि जसले पनि गरेको पाइन्छ तर अस्ताउँदो सूर्यको पूजा छठ पर्वमा मात्र गरेको हुन्छ । छठ पूजाको दुई दिने विधानअन्तर्गत पहिलो दिन साँझपख अस्ताउने लागेको सूर्यलाई अर्घ दिइन्छ भने भोलीपल्ट बिहान कात्तिक शुक्ल सप्तमीका दिन उदाइरहेका सूर्यलाई अर्घ दिएपश्चात छठ पर्वको समापन हुन्छ । आज आर्थिक वा भौतिकरुपमाले अनुत्पादक भइसकेपछि आमाबाबुलाई समेत महत्व नदिने गरिएको परिप्रेक्ष्यमा अस्ताउँदो सूर्यको पूजाले हामीलाई धेरै ठुलो सन्देश दिएको छ ।

छठ पर्वको उत्पत्ति
मैथिली सँस्कृति नदी प्रधान सँस्कृति र छठपर्व जलाशयसँग सम्बन्धित पर्व भएकोले यो सँस्कृति अतिप्राचीन हो भनि कुरा पुष्टि हुन्छ । यो पर्वलाई जलायशको अभावमा कल्पना गर्न सकिदैन । यो नेपाल र छिमेकी मुलुकभारतको प्राचीन धार्मिक पर्व हो । नेपालमा योपर्व कोसी र सदानीरा गण्डकी नदीको बीचकोभूभागमा मनाइन्छ । छठ पर्व मनाउने परम्पराको प्रारम्भ कहिलेदेखि भयो भनेर तथ्य कही पाइदैन ।

यसको ऐतिहासिकतालाई पुष्टि गर्ने कुनै धर्मग्रन्थप्राप्त भएको छैन । कुनै शिलालेख वा अभिलेखआजको अवधिसम्म प्राप्त हुन सकेको छैन । छठ पर्व र सूर्य पूजाबीच रहेको अभिन्न सम्बन्ध प्राचीनकालदेखि नै पाइन्छ । सूर्य पूजाको प्रचलन र सूर्य पूजाबारे प्राप्त विभिन्न अभिलेखहरू र मुद्राहरूबाट छठ पर्व पनि प्राचीन सांस्कृतिक पर्व हो भनि सहजै अनुमान गर्न सकिन्छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..