» » छठि पर्वको आलोकमा राष्ट्रिय स्वावलम्बन

-धीरेन्द्र प्रेमर्षि
प्राकृतिक र सांस्कृतिक सम्पदाले सम्पन्न हामी नेपाली चाडपर्व भनेपछि हुरुक्कै हुुन्छौँ । आफूले मान्दै आएका सनातनी चाडपर्वहरू त पूर्ण उल्लासका साथ मनाउँछौँ–मनाउँछौँ, आयातीत चाडपर्व तथा उत्सवविशेषमा पनि उत्तिकै उल्लसित भई रमाउने गर्छौं ।

यस्तोमा सह–संस्कृतिका उपहारहरूलाई नअँगाल्ने त झन् कुरै आउँदैन । यसले गर्दा नेपाललाई चाडपर्वहरूको देश भनेर परिचय दिँदा पनि अमिल्दो मानिरहनु पर्दैन ।


चाडपर्व तथा धार्मिक–सांस्कृतिक क्रियाकलापहरूका विविध आयाम हुने गर्दछन् । तर नेपालमा मनाइने अधिकांश चाडपर्वले राम–रमाइलो र अतिधार्मिकता वा अन्धभक्तिलाई प्रश्रय दिइरहेको पाइन्छ । नेपालका सबैभन्दा ठूला पर्वको चिनारी पाएका दुुई महापर्व दशैँ र तिहारकै कुरा गर्ने हो भने पनि एउटालाई टन्न खाने–प्यूने पर्वका रूपमा लिइन्छ भने अर्को जुवा–तास खेलेर बस्ने पर्वका रूपमा पनि जानिन्छ ।

यद्यपि दशैँमा टिका–जमरा लगाउनै भए पनि आफन्तहरूसँग जुन किसिमको आत्मीय मिलाप र साहचर्य प्राप्त हुन्छ, त्यसको विशिष्ट सामाजिक÷सांस्कृतिक स्थान छँदैछ । त्यसैगरी तिहारमा भाइटिकाका रूपमा भाइ–बहिनीबीचको प्रेमलाई पुुनर्ताजगी प्रदान गर्ने तथा भैलो–देँसी जस्ता संस्कृतिलाई जीवन्त राख्ने सकारात्मकता पनि पाइन्छ ।

पछिल्ला वर्षहरूमा मिथिलाको लोकपर्व छइठले बहुसंख्यक नेपाली जनमानसमा गहिरो स्वीकृति र विस्तृति पाएको छ । यसलाई पहाड र मधेशी संस्कृतिको सबल सेतुका रूपमा पनि व्याख्या–विश्लेषण गर्ने गरिएको छ । शुभकामनाको औपचारितामा दशैँ–तिहारसँगै छइठले पनि स्थान पाउन थालेको छ ।

पत्रपत्रिकाका पानादेखि रेडियो र टेलिभिजनमा सम्म यसले सम्मानित स्थान पाउँदै गएको देखिन्छ । राष्ट्रप्रमुख–सरकारप्रमुखहरू छइठ घाटसम्म पुगेर जनआस्थामा सहभागी हुने क्रम बढ्दो छ भने विगतका वर्षहरूलाई हेर्दा छइठ–घाट राजनीतिक सम्भाषण तथा संवादको पनि एउटा महत्वपूर्ण मञ्चका रूपमा प्रयुक्त हुँदै आएको देखिन्छ । यति हुँदाहुँदै पनि मानिसको मन, मुटु र माटोमा रुझेको यस पर्वको आवरणले मात्र देशमा आकार लिन पाएको अनुभूत हुन्छ ।

पर्वको अन्तर्वस्तुसँग पछिल्लो कालक्रमका छइठ–पूजकहरूको तादात्म्य स्थापित हुन सकेको छैन भने सनातनी छइठ–पूजकहरूलाई त्यसको अन्तर्वस्तुसँग जोडेर राखिरहेका सांस्कृतिक तन्तुहरूको प्राकृत स्वभाव लुप्तप्रायः भएको छ ।

यसरी छइठ जस्तो प्रकृति, मानवता, कर्मशीलता, स्वाबलम्बन, सहअस्तित्व, संरक्षण, सफाइ आदि अनेकौँ पक्षसँग विज्ञानसम्मत ढंगले तादात्म्य कायम राख्दै आएको महापर्व हाल महत्व बढ्दै गएजस्तो देखिएको अवस्थामा कृतिमता र आडम्बर प्रदर्शनको माध्यमसमेत बन्न गएको छ ।


चाडपर्व फगत राम–रमाइलो गर्ने वा अन्धभक्तिमा डुबुल्की लगाउने माध्यम होइनन् । चाडपर्वका क्रियाकलापहरूलाई कर्मकाण्डमा सीमित नराखेर कर्मक्षेत्रमा उतार्ने हो भने खासगरी छइठ यस्तो पर्वका रूपमा हामीसामु उपस्थित हुन्छ, जसले हामीलाई अनेकौँ विघ्न–बाधाहरूबाट मुक्त हुने मार्ग देखाउँछ । यतिखेर हाम्रो देशमा सहकार्य, सद्भाव, स्वावलम्बन, साहचर्य, सम्पन्नता आदि नितान्त आवश्यक भएको छ ।


हामीले राजधानीमा छइठ मनाउन थालेको पनि दुई दशक बितिसकेको छ भने राष्ट्रिय पर्वकै रूपमा यसलाई स्वीकार गरेर व्यापकता प्रदान गर्दै आएको पनि दशक पुगिसक्यो । यस एक दशकमा हामीले यस पर्वको महत्तालाई हार्दिक रूपमा मनन गरी यसको अन्तरमा रहेका सन्देशहरूलाई आत्मसात गर्न सकेको भए आज जसरी हामी स्वाबलम्बी हुनुपर्ने आवश्यकता तीव्र रूपले महसुस गर्दैछौँ, त्यस बाटोमा हामी निकै अघि बढिसकेका हुन्थ्यौँ ।

यस पर्वको परम्परातर्फ जाने हो भने यसमा सामान्यतया यस्ता कृषिउपजहरू प्रसादको रूपमा चढाइन्थे वा चढाइन्छन्, जुन एउटा आम किसानको आफ्नै खेतबारीमा फल्ने गर्दर्छ ।

यस्ता प्रसाद सत्तरी प्रकारसम्मको हुनुपर्ने मान्यता छ । यसमा काउली, मूला, उखु, पिंडालुदेखि सुन्तला, केरा, केराउ आदि वनस्पति तथा दुग्धजन्य खाद्यवस्तुहरू हुन्छन् । कुनै धनाढ्य व्यक्तिले पनि छइठ पूजामा आववश्यकभन्दा बढी देखाउन पाउँदैनथे भने निर्धनतम व्यक्तिले पनि यति कुरा कम्तीमा चढाउनैपथ्र्यो वा पर्छ । कातिक महिनामा मनाइने यस पर्वमा यी सबै खाद्यवस्तु किसान आफैले नै उब्जाएका हुन्थे ।

 छइठ पूजा गर्ने थलो अर्थात् घाट बनाउन परिवारका सदस्यहरू स्वयं कादोलो, ढकी आदि लिएर जान्थे, पोखरी सफा गर्थे, घाट बनाउँथे र पूजालायक स्थानका रूपमा जलाशयलाई रूपान्तरित गर्दथे । छठका प्रसादहरू— ठकुवा, भुसबा आदिसमेत व्रत बस्ने वा ऊ जत्तिकै चोखिएर बस्ने मानिसले मात्र पकाउने प्रावधान छ । छइठ–घाटसम्म परिवारका सदस्यहरूले स्वयंले नै बोकेर प्रसादहरू लाने–लैजाने प्रचलन थियो । यी सबै कुराले कर्मशीलता तथा स्वाबलम्बनकै पक्षपोषण एवं प्रसार गरिरहेको देखिन्छ ।

समाजमा हरेक जातिको उपस्थितिलाई सम्मान गर्दै तिनका लागि रोजीरोटीको उचित प्रबन्ध भइरहन सकोस् भनेरै यसमा प्रत्येक वर्ष नयाँ–नयाँ नाङ्ला, कुनियाँ, डाला, ढकी आदि आवश्यक पारिएको छ, जसले गर्दा बाँसका सामग्रीहरू बनाउने काममै आश्रित जातिहरूले सहज रोजगार पाइरहन सकून् । माटाका हात्ती, दियो, मटकुरी, कोसिया आदि अनेकौँ माटाका भाँडाकुडा पनि प्रत्येक वर्ष नयाँ नै प्रयोग गर्नुपर्ने प्रावधानले माटाका भाँडाकुँडा बनाउनेहरूको पेशाले सहज निरन्तरता पाइरहन्थ्यो ।

यसरी सहअस्तित्वलाई पनि सम्मान गरिएको थियो । पानीको वरिपरी अत्यन्त पवित्रतासाथ मनाइने गरिए तापनि यस पर्वमा छूवाछूतले कुनै स्थान पाउन सकेको देखिँदैन । फरक धर्म मान्ने मुसलमानहरूले पनि यदाकदा छइठ परमेश्वरीको भाकल गरेर आफूले भाकल गरेको सामग्री चढाइदिन व्रत बस्नेहरूलाई आग्रह गर्ने गरेबाट यसले धार्मिक सहिष्णुता र सद्भावलाई पनि यथेष्ट टेवा पु¥याएको मान्न सकिन्छ ।


हालको समयमा हामीले अझै गहिरिएर ध्यान दिनुपर्ने कुराचाहिँ छइठमा मागेर पूजा गर्नेलाई कसैले नाइँ नभन्ने प्रचलन पनि हो । कतिपय विषम परिस्थितिमा केही मानिसले घर–घर गएर माग्दै छइठका लागि आवश्यक संसाधान जुटाएर यो पूजा गर्ने गर्दछन् । आत्मनिर्भरता र स्वाबलम्बनको सन्देश दिने यस पर्वले अवस्थाविशेषको कारणले गर्दा नै सम्बन्धित व्यक्ति माग्न बाध्य भएको ठहर गर्दै कसैले कुनै किसिमको नाइँनास्ति नगरी त्यस्ता व्यक्तिलाई भिक्षा दिने गर्दछन् ।


वस्तुतः त्यो भिक्षा एकपटकको छइठ पूजाका सामग्री जुटाउन मात्र नभई सवाबलम्बनको पाठ पढ्न र आगामी दिनमा स्वयं स्वाबलम्बी हुन दिने गरिन्छ । अचेल विकासे भाषमा हामी माछा दिँदैनौँ, माछा मार्ने तरिका सिकाइदिन्छौँ भनेर भन्ने गरिन्छ, तर छइठले यो तरिका उहिल्यैदेखि सूर्यदेवलाई साक्षी राखी अपनाउँदै सिकाउँदै आएको छ ।

र यस पर्वको सबैभन्दा महत्वपूर्ण पाटो त प्राकृत ऊर्जाको स्रोत सूर्यकै पूजा हो । जीवनका लागि भूमि, पानी र घाम अपरिहार्य छ । जल–जमीनको संगमस्थलमा सूर्यको उपासना–आराधना छइठ पर्वको सौन्दर्य पनि हो । तर उदाउँदो सूर्यको पूजा त गर्नैपर्छ, पहिले त्यस सूर्यको पूजा गरौँ, जसबाट दिनभरि हामीले ऊर्जा पाएका छौँ, उष्मा पाएका छौँ भन्ने कुराले मानवताको सबैभन्दा ठूलो सन्देश दिइरहेको हुन्छ ।

सरसरी हेर्दा विशुद्ध बौद्धिक विलासजन्य भावुक कुराजस्ता लागे तापनि यी कुराहरूलाई यस कोणबाट मनन गर्दै राष्ट्रिय जीवनमा उतार्न हामीले राष्ट्रका संयन्त्रहरूसमेत परिचालित गरिदिने हो भने छइठ मैयासँग मागिने सुस्वास्थ्य, सन्तान, समृद्धि आदि यावत कुरालाई हामी दिनकर दिनानाथको प्राकृत प्रसादकै रूपमा संस्थागत गर्दै जान सक्षम हुन सक्छौँ ।
(लेखक प्रेमर्षी साहित्यकार एवं पत्रकार हुनुहुन्छ)

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..