» » बाबुराम र राजेन्द्रको आआफ्नै दाउ

संसदीय व्यवस्थामा दलहरु चाहिन्छ । देशको सत्ता सञ्चालनलाई ‘व्यालेन्स’ मा राख्नका लागि पनि विभिन्न दलहरु चाहिन्छ तर धेरै खुद्रा दलहरु राख्नुभन्दा सानासाना दल मिलेर एउटा वा दुईटा शक्तिशाली पार्टी बनाउँदा राम्रो । नेपालको राजनीतिमा त्यसका शुरुवात भइसकेको छ ।

थुप्रै दलहरु एक आपसमा मिलेका छन् । दुईटा ठूला दल तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ । त्यस्तै, मधेशमा क्रियाशिल विजयकुमार गच्छदारको पार्टी नेपाल लोकतान्त्रिक फोरम काँग्रेसमा मिसिएको छ । मधेशका विभिन्न छवटा दल मिलेर राजपा नेपाल बनेको छ ।

त्यस्तै, तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी नेपालबीच एकीकरण भएर संघीय समाजवादी फोरम नेपाल बनेको थियो । पछिल्लो समय तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भएर समाजवादी पार्टी बनेको छ । अहिले त्यही समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणको चर्चा शुरु भएको छ । तर यसअघि चर्चा गरिएको दलहरुको बीचमा जसरी सजिलो तरिकाले एकीकरण भएको थियो, त्यस्तो सजिलो छैन समाजवादी र राजपा बीचको एकीकरण ।

किनभने यो एकीकरणमा एक अर्का दलको बीचमा स्वार्थ छन् । नेताहरु आआफ्नो स्वार्थका आधारमा कुरा गरेको कारण एकीकरणमा झेल शुरु भएको छ । राजपा नेपालको तर्फबाट बनेको वार्ता समितिको संयोजक समेत रहनु भएका राजपा नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो एकीकरणका लागी अहिले सबभन्दा बढी सक्रिय हुनुभएको छ ।


एकीकरणका लागि उहाँको सक्रियता हेर्दा राजपा नेपालका अन्य नेताहरु पनि छक्क पर्नुभएको छ । पार्टीभित्र एकीकरणको बारेमा कुनै कुरा नगरिकन समाजवादी पार्टीसँग दिनरात एकीकरणका लागी छलफल गरिरहनु भएको छ, जुनकुरा राजपा नेपालका नेताहरुलाई मन परेको छैन ।


राजपा नेपालका अन्य नेताहरुले एकीकरणका लागि हतार गर्न नहुने भन्दै पहिला राजपा नेपाललाई सुसंगठित बनाउने अनि मात्र एकीकरणका लागि अगाडि बढ्ने भनिरहनु भएको छ । राजपा नेपाल बनेको तीन वर्षभन्दा बढी भइसक्यो तर अहिलेसम्म पार्टीहरुको बीचमा समायोजन गरि एकताको महाधिवेशन गराउन सकेको छैन ।

एकताको महाधिवेशन गरेर मात्र समाजवादी पार्टीसँग एकीकरण गर्ने राजपा नेपालका अन्य नेताहरुको भनाई रहेको छ भने राजेन्द्र महतोले पहिला एकीकरण गर्ने अनि मात्र एकताको महाधिवेशन गर्ने भनिरहनु भएको छ । त्यसको एउटै कारण हो, यदि महाधिवेशन भयो भने राजपा नेपालमा राजेन्द्र महतोको अवस्था सबभन्दा कमजोर भएर आउनेछ ।


उहाँले पार्टीको नेतृत्व गर्न पाउने छैन, जो उहाँको सपना थियो । अहिले राजपा नेपालमा छजना अध्यक्ष राखेर अध्यक्षमण्डल बनाएको छ । अध्यक्षमण्डलको तर्फबाट पालो पालो त्यसको संयोजक बन्न पाइरहनु भएको छ । राजपा नेपालको महाधिवेशनपछि अध्यक्षमण्डल नरहने एकल अध्यक्ष प्रणालीबाट पार्टी सञ्चालन गर्ने निर्णय नै गरिसकेको छ ।

यदि महाधिवेशन भयो भने पार्टीको नेतृत्व राजेन्द्र महतोको हातमा नजाने डरले गर्दा उहाँ समाजवादी पार्टीसँग मिल्न हतार गर्नुभएको राजपा नेपालकै नेताहरु बताउँनुहुन्छ । राजपा नेपाल गठन हुँदा शुरुशुरुमा सो पार्टीमाथि कब्जा गर्ने प्रयास उहाँले न गर्नुभएको होइन । त्यसका लागि पार्टीमा गुटबन्दीदेखि लिएर जिल्ला जिल्लामा आफू खुशी सदस्यता वितरणका कामहरु गर्न लगाउनु भएको थियो । तर महन्थ ठाकुरको अगाडि उहाँको केही नचलेपछि पछाडि हटेर समाजवादी पार्टीसँग एकीकरण गरेर राजपा नेपालभित्र हुने चलखेल नै समाप्त पार्ने सोच बनाउनुभयो ।

 समाजवादी पार्टीसँग एकीकरण गर्दा उहाँले सबभन्दा पहिले आफ्नो पोजिशन स्पष्ट गर्न चाहनु भएको छ । पहिला आफूलाई त्यहाँ सुरक्षित गरेर मात्र अरु नेताहरुको बारेमा कुरा गर्नुहुन्छ । सबभन्दा महत्वपूर्ण कुरा राजेन्द्र महतो अगामी चुनाव कुन क्षेत्रबाट लड्ने त्यो कुराको पनि टुगों छैन ।

यसअघि सर्लाही जिल्लाको आफ्नो चुनावी क्षेत्र छाडेर धनुषाबाट चुनाव जित्नु भएको थियो । जानकारहरुका अनुसार अहिलेसम्मको अवस्था हेर्दा महतोका दुईटै क्षेत्रमध्ये कुनै सुरक्षित छैनन् । सर्लाहीको क्षेत्र छाडेर धनुषा गएको कारण सर्लाहीका जनता महतोप्रति नाराज छन् । उता धनुषाको चुनावी क्षेत्रमा राम्रो काम नगरेको कारण त्यहाँको जनताको गुनासो बढ्दै गइरहेको छ ।

 त्यसले गर्दा कहाँबाट चुनाव लड्ने समस्या महतोको अगाडि आइपुगेको छ । त्यसले गर्दा समाजवादी पार्टीसँग एकीकरण गरेर एउटा नयाँ माहोल तयार गरी कुनै क्षेत्रबाट चुनाव जित्ने उहाँको दाउ रहेको छ । यही अवस्थामा राजपा नेपालबाट चुनाव लड्दा राजेन्द्र महतोलाई चुनाव जित्न सजिलो छैन । त्यही भएर समाजवादी पार्टीसँग एकीकरण गर्न हतार रहेको छ ।


यता, समाजवादी पार्टीमा उपेन्द्र यादव भन्दा बढी डा.बाबुराम भट्टराईले एकीकरणका लागि पहलकदमी लिनुभएको छ । राजेन्द्र महतो जस्तै डा.बाबुराम भट्टराईलाई एकीकरणको हतार छ । उहाँ ठूलो पार्टीको नेता बनेर नेकपाका अध्यक्ष प्रचण्डको बराबरी गर्न चाहनु भएको छ ।


माओवादीबाट अलग भएर बाबुरामले ठूलो पार्टी बनाएर देखाई दिने चुनौति प्रचण्डलाई दिनुभएको थियो तर नयाँ शक्ति विस्तारै विस्तारै कमजोर हुँदै गइरहेको थियो । अन्त्यमा यस्तो दिन आयोको कि बाबुरामले उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एकीकरण गर्नुपर्यो । अहिले १९ वटा सांसदको नेता बन्नुभएको छ उहाँ । पहिला उहाँ आफै एक्लै सांसद हुनुहुन्थ्यो । तर एकीकरण गर्ने वित्तिकै १९ जना सांसदको नेता भएर संसदमा उपस्थित भएर सत्ता पक्षको सीटमा बस्न पाउनु भएको छ । र, प्रचण्डलाई राजनीतिक चुनौति दिनुभएको छ ।

राजपा नेपालसँग एकीकरण गरेपछि ३८ वटा सांसदको नेता बन्नुहुनेछ र पहिला भन्दा उहाँ झन शक्तिशाली हुनुहुनेछ । उहाँले प्रधानमन्त्री बन्ने सपना फेरि देख्न थाल्लु भएको छ । त्यसका लागि राजपा नेपालसँग एकीकरण गरेर तेस्रो ठूलो दलको नेता बनेर प्रचण्डलाई देखाउने धोको पनि रहेको छ उहाँको ।

र त्यसैका लागि उहाँ दिनरात राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोसँग छलफल गरिरहनु भएको छ । राजपा नेपाल टुक्र्याएर भएपनि समाजवादी पार्टीसँग एकीकरण गर्ने तयारीमा राजेन्द्र महतो रहनु भएको छ । दुई पार्टीको बीचमा एकीकरण हुने कि नहुने कुराको टुगों कात्तिक ३० गते बस्ने समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकले तय गर्नेछ ।

तर राजेन्द्र महतोले मिडियालाई भन्दै आउनु भएको छ कि कात्तिक ३० गतेको बैठकपछि समाजवादी पार्टी सरकार छाड्ने छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..