» » मौलिक बनाऔं छठ पर्वलाई (सम्पादकीय)

छठ पर्व कुन युगदेखि शुरु भएको छ त्यसका तथ्य प्रमाण कहि फेला परेको छैन । तर यसलाई जुन विधिबाट मनाइन्छ, त्यसले गर्दा सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ ।

अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसँग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेतायुगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ ।

कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।

यो छठ पर्व पौराणिक महत्वको पर्व भएपनि बदलिँदो परिवेशसँगै यसको मौलिकता पनि हराउँदै गइरहेको छ । छठको तयारी एक महिना पहिलादेखि शुरु भएको कुरा गाउँघरमा गुञ्जिने गीतबाट थाह हुन्थ्यो । छठका लागि चाहिने प्रसाद ठकुवा, भुसवाका लागि बनाउने पिठो र चामल तयार गर्ने क्रमममा महिलाहरु रातरातभरी गीत गाउनुहुन्थ्यो । छठका लागि भन्दै ढिकीबाट धान कुटेर चामल बनाउने चलन थियो । कसै कसैले हातले ‘उखैर समाठ’ ले धान कुटनु हुन्थ्यो । चामल बनाई सकेपछि जातामा त्यसलाई पिस्नुहुन्थ्यो । धान कुट्दा होस् वा पिठो बनाउँदा होस् महिलाहरु छठको गीत गाएर त्यसको माहोल बनाउनु हुन्थ्यो । 

तर अहिले ती सबै हराउँदै गएका छन् । आधुनिक युगको शुरुवात र बजारीकरणको प्रभावले गर्दा ती सबै विस्थापित भएको छ । ढिकी जाता प्रयोग भएको पाइदैन । धान हुनेले मिलमा गएर चामल बनाउने, त्यही चामल वा गहुँलाई मिलमै गएर पिसाएर ल्याउँछन् र त्यसलाई प्रसादको रुपमा तयार गर्छन् । धान नहुनेले बजारबाट चामल वा पिठो किनेर ल्याएर प्रसाद बनाउँछन् ।

यसले गर्दा छठको मौलिकता हराउँदै गएको बुझ्न सकिन्छ । पहिला पहिला छठका लागि प्रसाद तयार गर्दा सख्खर प्रयोग गर्ने चलन थियो तर अहिले त्यसको ठाउँ चिनीले लिएको छ । सख्खर भन्दा सजिलो तरिकाले चिनी पाइने भएका हुनाले व्रतालु झन्झट नलिइकन चिनीको प्रयोगलाई प्राथमिकता दिएका हुन्छन् । छठको शुरुवात नहुँदै महिलाहरुले छठका लागि भन्दै शुरुमै माटोको चुल्हो बनाएर राख्नुहुन्थ्यो ।


त्यही चुल्होमा छठका सबै सामाग्री तयार गर्नुहुन्थ्यो । तर अहिले त्यसको ठाउँ ग्यास चुल्होले लिएको छ । पानीले ग्यास चुल्होलाई चोखो बनाई त्यसमा छठका लागि सामाग्री बनाउने काम हुन थालेको छ । यद्यपी कतिपय ठाउँमा अझै पनि चुल्हो नै प्रयोग हुन्छ । पहिला पहिला छठमा प्रयोग हुने कृषिजन्य वस्तु आफ्नै खेतवारीको हुन्थ्यो ।

सकभर आफ्नै खेतबारीको सबै कुरा प्रयोग गर्ने चलन थियो तर अहिले ती सबै हराएको छ । अहिले ब्रतालुहरुले कुनै झन्झट लिन चाहदैनन् । सिधै बजार जान्छन् र छठलाई चाहिने सबै कुरा एकैचोटी किनेर ल्याउँछन् । तर पहिला ढकिया, नाङ्लो जस्ता बाँसजन्य समान पनि आफ्नै बारीको बाँसबाट बनाउने चलन थियो । डोम जातीलाई बाँस दिएर ढकिया लगायतका सामाग्री बनाउने चलन थियो तर त्यो पनि हराएको छ । त्यसका लागि पनि बजारमा भर पर्नु परेको छ ।

छठ पर्वको सबभन्दा महत्वपूर्ण पक्ष मौलिक लोकगीत थियो । त्यो त एक किसिमले हराएकै नै हो भन्न सकिन्छ । छठको तयारीदेखि अन्त्यसम्म महिलाहरु गीत गाउनुहुन्थ्यो तर अहिले त्यसको ठाउँ रेडियो, लाउडिस्पिकर, युट्युवले लिएको छ । रेडियो, साउण्डबक्समा गीत बजाएर छठ मनाउन थालेका छन् । बरु ब्रतालु महिलाहरु होइन, गीत सँगितका मान्छेहरुले छठको शुरुवातदेखि नै छठका लागि नयाँ नयाँ गीत बनाउने काम शुरु गरेका हुन्छन् । नयाँ नयाँ गीतहरु बजारमा ल्याएका हुन्छन् जसले गर्दा महिलाहरुले गाउने छठको लोकगीत हराउँदै गएको छ ।

छठ घाट निर्माणको मौलिकता पनि हराउँदै गएको छ । पहिला बाँस चिरेर फट्टाबाट घाट सजाउने काम हुन्थ्यो । घाटका लागि आफ्नै खेतबारीमा पाउने फूलको माला बनाएर सजाउने काम हुन्थ्यो । तर अहिले कृत्रिम फूलले ठाउँ लिएको छ । बजारबाट झिलिमिली फूलहरु ल्याएर घाट सजाउने चलन छ । छठ घाटलाई अस्था र उपसानाका स्थल भन्दा पनि मनोरञ्जनको स्थलको रुपमा विकास भइरहेको छ । त्यसको अनुष्ठान, पर्व, गीत, भजन, विधि विधानभन्दा पनि साजसज्जामा विशेष ध्यान दिएका हुन्छन् । कसको घाट कति राम्रो भनि प्रतिस्पर्धा नै हुन्छ ।

अर्थात छठको मौलिकता हराउँदै गइरहेको छ । त्यसलाई जोगाउन एकदमै आवश्यक छ । पछिल्लो समय छठ पर्व मनाउनेको सँख्यामा वृद्धि भएपनि त्यसको मौलिकता र परम्परामा ध्यान नदिएको महसुस हुन थालेको छ । छठप्रतिको आस्था र विश्वास कम भएको छैन तर पहिला जुन छठप्रति जुन भय थियो, जुनखालको आस्था थियो त्यो छैन । पहिला पहिला सामाग्री तयारी गर्ने क्रममा केही भइदियो भने केही अनिष्ठ भइदेला भनि भय हुन्थ्यो तर अहिले त्यस्तो देखिएको छैन । यद्यपी छठप्रति दिनदिनै आस्था र विश्वास बढ्दै गइरहेको छ । तर त्यसको मौलिकता हराउँदै गइरहेको छ । त्यसलाई जोगाउनुपर्ने आवश्यकता छ ।   

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..