» » काँग्रेसमा गच्छदार यसरी भए शक्तिशाली

नेपालको राजनीतिमा विजयकुमार गच्छदार ‘गेम प्लानर’ हो भने कुरा पुनः उहाँले आफै सावित गर्नुभएको छ । काँग्रेसबाट राजनीतिक शुरुवात गरेको बेलाको अवस्था होस् या मधेशी जनअधिकार फोरम नेपाल हुँदै लोकतान्त्रिक फोरम गठनसम्मको अवस्था होस् गच्छदार जहिले पनि राजनीतिमा ‘गेम प्लानर’ भएर नै काम गर्नुभयो ।

काँग्रेसबाट विद्रोह गरेर उपेन्द्र यादवको नेतृत्वमा रहेको तत्कालिन मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गर्दा काँग्रसका नेता मात्र होइन, मधेशका केही वरिष्ठ नेताहरुले अब गच्छदार सिधिने भयो भनि टिप्पणी गरेका थिए । तर त्यो पार्टीमा पनि उहाँले आफ्नो भूमिकामा रहेर ‘गेम प्लानर’ को काम गर्नुभयो ।

 जो पछि उपेन्द्र यादवलाई भारी परेको थियो । उहाँ सो पार्टी छाडेर आफ्नै नेतृत्वमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गर्दा धेरैले अब गच्छदार समाप्त भए, मधेशमा राजनीति गर्न सक्दैन भनि टिप्पणीहरु भएको थियो । उहाँले त्यतिबेला मधेशमा सबभन्दा ठूलो पार्टी बनाएर देखाई दिनुभएको थियो ।

उहाँ त्यसपछि पनि राजनीतिकको एउटा ‘गेम प्लानर’ को रुपमा काम गरिरहनु भएको थियो । त्यतिबेला पनि उहाँ राजनीतिको केन्द्रविन्दुमा रहेर नै काम गरिरहनु भएको थियो । मधेशमा समाप्त भइसकेको आन्दोलनलाई तत्कालिन माओवादीसँग गठबन्धन बनाएर जगाउनु भएको थियो ।

मधेशमा अलग अलग पार्टीमा रहेर काम गरिरहेका दललाई तत्कालिन माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन भएको गठबन्धनमा ल्याउर आन्दोलनलाई अगाडि बढाउने काम गर्नुभएको थियो । उपेन्द्र यादव, महेन्द्र राय यादव, राजेन्द्र महतो, महन्थ ठाकुर नेतृत्वको तत्कालिन पार्टीलाई प्रचण्ड नेतृत्व गठबन्धनमा ल्याउन सफल गच्छदारले विघटन भइसकेको तत्कालिन लोकतान्त्रिक मधेशी मोर्चालाई पनि जिवित गर्ने काम गर्नुभएको थियो । मधेशी मोर्चा र गठबन्धनबाट आन्दोलन भइरहेको बेला उहाँले सविधान निर्माणमा खेलेको भूमिकाले पनि उहाँ ‘गेम प्लानर’ हो भनि पुष्टि भएको थियो ।


यद्यपी त्यो सविधानमा उहाँ आफैले हस्ताक्षर गर्नुभएन । मधेशी तथा थारुको अधिकार नसमेटिएको कारण सविधानमा हस्ताक्षर गर्नुभएको थिएन । पछिसम्म सविधान संशोधन हुनुपर्छ भन्दै उहाँले आफ्नो पार्टीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउनुदेखि लिएर भेटेर दवाव दिने काम गर्दै आइरहनु भएको थियो । यद्यपी स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनावमा पार्टीले राम्रासँग हार बेहोर्यो ।

 त्यसपछि पार्टीका नेता तथा कार्यकर्ताहरु निराश भएका थिए । अब पनि पार्टीलाई सेफल्याण्डिङ गरिएन भने ठूलो क्षति हुने सोचेर गच्छदारले २०७४ असोज २९ गते नेपाली काँग्रेससँग एकीकरण गरेर नेपाली राजनीतिको ‘गेम’ लाई अर्को मोड दिनुभयो ।


काँग्रेस त्यतिकै पनि गुट उपगुटमा सञ्चालित पार्टी हो । देशको ठूलो पार्टी भएपनि पार्टीभित्रको आन्तरिक विभाजनका कारण चुनावमा कमजोर भएर आयो । अहिले प्रतिपक्षि दलको रुपमा पनि त्यति राम्रोसँग नसकिरहेको गुनासो भइरहेको बेला काँग्रेसमा गच्छदार शक्तिशाली भएर आउनु भएको छ ।


काँग्रेसमा तत्कालिन फोरम लोकतान्त्रिकका नेतालाई समायोजन गर्न दुई वर्ष समय लाग्यो । दुई वर्ष समय लागेपनि गच्छदारले सोचे अनुसार नै समायोजन भएको सो पार्टीका नेता जितेन्द्र देवले बताउनु भयो । उहाँले भन्नुभयो, काँग्रेससँग एकीकरण गर्ने बेला जे सहमति भएको थियो सोही अनुसार नै समायोजन भयो तर दुई वर्षपछि समायोजन भएको कारणले केही तलमाथि भएको होला तर यसबाट हामी खुशी छौं ।’

 काँग्रेससँग एकीकरण गर्ने बेला विभिन्न टिकाटिप्पणी भएको थियो कि गच्छदार कमजोर भएर काँग्रेससँग एकीकरण गर्यो । तर गच्छदार कमजोर थिएन भने कुरा काँग्रेससँग भएको समायोजनले पुष्टि भएको नेता देवले बताउनुभयो ।

गच्छदारको पार्टीको तर्फबाट समायोजन हुनु भएका भर्तेन्दु मल्लिकले पनि विगतमा भएको सहमति अनुसार नै समायोजन भएको तर अगामी दिनमा व्यक्ति छनौट, प्रदेश, जिल्ला र स्थानीय तहमा समायोजनलाई कसरी व्यवस्थित गर्ने त्यसमा भर पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, हाम्रो ३१५ जनाको केन्द्रीय समिति थियो । त्यसमा १२ जनालाई काँग्रेसले केन्द्रीय समितिमा ल्याउने कुरा भएको छ । अरु बाँकीलाई कसरी समायोजन गर्ने त्यो गच्छदारका लागि चुनौति रहेको उहाँले बताउनुभयो । एकीकरण हुँदा गच्छदारले १५ जना केन्द्रीय सदस्यको माग गर्नुभएको थियो त्यसमा १२ जना दिएको छ ।

काँग्रेसमा अहिले शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलाले गुट चलाई रहनु भएको छ । त्यसमा पनि विभिन्न उपगुटहरु छन् । ती तीनवटै गुटमध्ये सबभन्दा शाक्तिशाली शेरबहादुर देउवाको गुट रहेको छ, त्यसपछि रामचन्द्र पौडेलको अनि कृष्ण सिटौलाको रहेको छ । तर त्यसान उपगुटहरु पनि छन् । सबभन्दा उपगुट रामचन्द्र पौडेलमा रहेका छन् ।

प्रकाशमान सिंह, डा.शशांक कोइराला, पूर्णबहादुर खड्का, शेखर कोइराला लगायतका उपगुट त्यसमा सक्रिय छन् । त्यस्तै कृष्णप्रसाद सिटौलामा पनि गगन थापा, अर्जुन नरसिंह केसीको गुट रहेको छ । त्यस्तै शेरबहादुर देउवामा विमलेन्द्र निधि लगायतको उपगुट जस्तो देखिएको छ । यसरी विभिन्न गुट उपगुटमा बाँडिएको नेपाली काँग्रेसमा गच्छदारको ‘इन्ट्री’ शेरबहादुर देउवालाई झन बलियो बनाएको छ नै । त्यसमा गच्छदार पनि एउटा आफैमा शक्तिशाली नेता हुनुभएको छ ।

नेपाल काँग्रेसमा विमलेन्द्र निधि देउवापछिको शक्तिशाली नेता मानिन्छ । उहाँ शेरबहादुर देउवा पक्षका भएपनि उहाँको छुट्टै पहिचान छ । काँग्रेस पार्टीमा देउवापछिको नेतृत्वदायी भूमिकामा निधि नै आउने चर्चा अहिलेदेखि नै शुरु भएको छ ।

 त्यही भएर निधिले गच्छदारलाई शक्तिशाली बनाएर पार्टीमा भित्र्याउनु भएको छ । विमलेन्द्र निधिको नेतृत्वमा गठन भएको दुई पार्टीको समायोजन कार्यदलले विजयकुमार गच्छदारलाई शक्तिशाली बनाएको हो । निधि नेतृत्वमा गएपछि गच्छदार सकेण्डम्यान हुने गरि तयारी भइरहेको छ । विजयकुमार गच्छदारसँग मधेश र थारुहट छ । त्यसले पनि भविष्यमा पार्टीको नेतृत्वमा आउनका लागि उहाँको यो समायोजनले बल पुर्याउने विश्वास गरिएको छ ।

तर काँग्रेस बीटमा लामो समयदेखि काम गर्नुभएका पत्रकार लिलाराज खनालको धारणा अलि फरक छ । उहाँ भन्नुहुन्छ, गच्छदार बलियो भएको कुरा बाहिर बाहिर मात्र देखिएको हो । भित्रीरुपमा गच्छदार निकै कमजोर हुनुभएको छ । समायोजनमा उहाँलाई जति सीट दिएको छ त्यसमा मान्छे राख्न नै गाह्रो हुने देखिएको छ ।’ काँग्रेसको केन्द्रीय समितिमा आफूसँग ३५ हजार क्रियाशिल सदस्य रहेको तर २५ हजार मात्र माग गरेको धारणा राख्नुभएको थियो ।

 त्यसपछि पार्टीले त्यसो भए २५ हजार क्रियाशिल सदस्यको नामावली दिनुस् भन्दा उहाँले काँग्रेस पार्टीसँग कति क्रियाशिल सदस्य छन् त्यसको तथ्यांक छैन भने आफूसँग रहेको क्रियाशिल सदस्यको नामावली कसरी रहन्छ भन्दै जवाफ दिनु भएको पत्रकार खनालले बताउनुभयो । यसैबाट पुष्टि हुन्छ कि गच्छदार कति शक्तिशाली छ । अहिले दिएको सँख्या हेर्दा गच्छदार बलियो देखिएको हो तर यसको परिणाम पछि देखिने उहाँले बताउनुभयो ।

के पाउनु भयो गच्छदारले ?
काँग्रेसमा एकीकरण गरेको झण्डै दुई वर्षपछि नेपाल लोकतान्त्रिक फोरम पार्टीका ११ जना नेताहरुले कांग्रेस केन्द्रीय कार्यसमितिमा प्रवेश पाएका छन् । उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित पाँच सदस्यीय समायोजन समितिले तयार पारेको प्रतिवेदन अनुसार उपसभापति विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकका तर्फबाट काँग्रेस केन्द्रीय कार्यसमितिमा ११ जना सदस्य मनोनित भएका हुन् ।

असोज १० गते साँझ पार्टी कार्यालयमा बेसेको केन्द्रीय समिति बैठकले उपसभापति निधि नेतृत्वको समितिले तयार पारेको प्रस्तावलाई  अनुमोदन गरेको छ ।  तर केन्द्रीय सदस्यमा मोनोनित गरिएको नाम सार्वजनिक गरिएको छैन । स्रोतका अनुसार राष्ट्रिसभा सांसद जितेन्द्र नारायण देव, पूर्वमन्त्री रामजनम चौधरी, भारतेन्दुकुमार मल्लिक, महेश कोर्मोचा, वीरेन्द्र नेपाली, योगन्द्र चौधरी, सुमित्रा थारु, गोपाल दहित, नसिद सिद्धिकी, हरि न्यौपाने, श्रीकुमार गुर्माछानेलाई केन्द्रीय सदस्यमा ल्याउने तयारी भइरहेको छ ।
महासमिति र महाधिवेशन प्रतिनिधिको हकमा यसअघि सम्पन्न महासमिति बैठकमा फोरम लोकतान्त्रिकबाट प्रवेश पाएका २ सयमध्ये १४८ पर्यवेक्षक पनि महाधिवेशन प्रतिनिधि रहने तथा थप २५२ प्रतिनिधि थप गरी कूल ४५२ जना पुग्ने छन् ।

केन्द्रीय विभाग तथा प्रदेश कार्यसमिति गठन गर्दा समायोजनको प्रस्तावलाई ध्यानमा राखि गरिने भनिएपनि जिल्ला कार्यसमितिको हकमा मोरङ, सुनसरी, कैलाली, बर्दिया लगायतका १३ जिल्लामा उपसभापति र निश्चित सँख्यामा सहसचिव र सदस्यहरुको ल्याइएको छ । तर, क्रियाशील सदस्यताको हकमा टुंगो नलागेपछि २० हजार क्रियाशिल सदस्य दिने स्रोतले दावी गरेको छ ।

पार्टीले प्रदेश कार्यसमितिको गठन गर्दा समायोजनको प्रस्तावलाई ध्यानमा राखी सहमतिका आधारमा प्रदेश कार्यसमितिका सदस्य समावेश गर्ने सहमति भएको छ । मोरङ्ग जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य १५ जना, सुनसरी जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ११ जना, कैलाली जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ११ जना, बर्दिया जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ५ जना, सप्तरी जिल्ला कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र सदस्य ५ जना, सर्लाही, दाङ्ग, पर्सा र काभ्रे जिल्ला कार्यसमितिमा उपसभापति १–१ र सदस्य ७–७ जना, झापा र रुपन्देही जिल्ला कार्यसमितिमा उपसभापति १–१ र सदस्य ५–५ जना, वारा र बाँके जिल्ला कार्यसमितिमा उप–सभापति १–१ र सदस्य ३–३ जना, ओखलढुंगा, सिरहा, धनुषा, रौतहट, चितवन, कपिलवस्तु र कंचनपुर जिल्ला कार्यसमितिमा सहसचिव १–१ र सदस्य ३–३ जना, काठमाण्डौ र पश्चिम नवलपरासीको हकमा आवश्यक परामर्श गरी निर्णय गर्ने बैठकमा सहमति भएको पार्टी प्रवक्त विश्वप्रकाशले जानकारी दिनुभयो ।


(उदयपुर र महोत्तरी जिल्ला कार्यसमितिमा सह–सचिव १–१ र सदस्य २–२ जना रहेका छन् । तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट जिल्ला कार्यसमितिको पदाधिकारी र सदस्यमा नाम सिफारिस गर्दा जिल्लाभित्रका प्रतिनिधि सभा निर्वाचन क्षेत्र र भौगोलिक वनावटलाई समेत समेट्ने गरी नाम छनौट गर्नु पर्ने हुन्छ । अन्य जिल्लामा जिल्ला कार्यसमितिको बैठकको निर्णयबाट तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको महत्वपूर्ण कुनै सदस्यलाई जिल्ला कार्यसमितिमा सदस्य÷आमन्त्रित गर्न सक्नेछन् ।

तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका एकहजार भन्दा बढी क्रियाशील सदस्य रहेका प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति, सह–सचिव र सदस्य ८ जना । सुनसरी क्षेत्र नं. ३ को हकमा सदस्य संख्या ९ रहनेछन् ।

तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ७०० भन्दा बढी र १००० भन्दा कम क्रियाशील सदस्य रहेका प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र सदस्य ५ जना रहनेछ । तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ७०० भन्दा कम र ३०० भन्दा बढी क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति १ र सदस्य ३ जना रहनेछ ।

तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ३०० भन्दा कम र १०० भन्दा बढी क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा सहसचिव १ र सदस्य २ जना, तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा कम क्रियाशील सदस्य रहेको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको कुनै महत्वपूर्ण सदस्यलाई क्षेत्रीय कार्यसमितिको बैठकको निर्णयबाट क्षेत्रीय कार्यसमितिको बैठकमा सदस्य÷आमन्त्रित गर्न सक्ने सहमति भएको छ ।

वुँदा नं. ८ बमोजिम तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट समायोजन भएका प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी र सदस्य सम्बन्धित प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गत जुन प्रदेश सभा निर्वाचन क्षेत्रमा आफ्नो क्रियाशील सदस्यता रहेको छ, सोही प्रदेश सभा क्षेत्रीय कार्यसमितिको पदाधिकारी र सदस्य हुनेछ । तर, सुनसरी जिल्ला प्रदेश सभा क्षेत्रीय कार्यसमितिको सभापतिको हकमा जिल्लामा भएको सहमती अनुसार हुनेछ ।

तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ३०० भन्दा बढी क्रियाशील सदस्य रहेको नगर÷उपमहानगर÷महानगर कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र जिल्ला कार्यसमिति र सम्बन्धित प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्नेछ । तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ३०० भन्दा कम र १०० भन्दा बढी क्रियाशील सदस्य रहेको नगर÷उपमहानगर÷महानगर कार्यसमितिमा सहसचिव १ र जिल्ला कार्यसमिति र सम्बन्धित प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्नेछ ।

तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा कम क्रियाशील सदस्य रहेको नगर÷उपमहानगर÷महानगर पालिकाको क्षेत्रभित्रको कुनै महत्वपूर्ण सदस्यलाई नगर÷उपमहानगर÷महानगर कार्यसमितिको निर्णयबाट सो कार्यसमितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।

तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका २०० वा सो भन्दा बढी क्रियाशील सदस्य रहेको गाउँ कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित गाउँ कार्यसमितिको निर्णय र सहमतिमा  सदस्य संख्या तोक्नेछ । तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका २०० भन्दा कम र १०० भन्दा बढी क्रियाशील सदस्य रहेको गाउँ कार्यसमितिमा सहसचिव १ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित गाउँ कार्यसमितिको निर्णय र सहमतिमा  सदस्य संख्या तोक्नेछ ।

 तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा कम क्रियाशील सदस्य रहेको गाउँ कार्यसमितिको क्षेत्रभित्रको कुनै महत्वपूर्ण सदस्यलाई गाउँ कार्यसमितिको निर्णयबाट सो कार्यसमितिको बैठकमा सदस्य÷आमन्त्रित गर्न सक्नेछ ।

तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा बढी क्रियाशील सदस्य रहेको नगर÷गाउँ वडा कार्यसमितिमा उपसभापति १, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित नगर÷गाउँ कार्यसमितिको निर्णय र सहमतिमा  पदाधिकारी र सदस्य संख्या तोक्नेछ । तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा कम, ५० भन्दा बढी क्रियाशील सदस्य रहेको नगर÷गाउँ वडा कार्यसमितिमा सहसचिव १ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित नगर÷गाउँ कार्यसमितिको निर्णय र सहमतिमा  सदस्य संख्या तोक्नेछ ।

तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ५० भन्दा कम क्रियाशील सदस्य रहेको नगर÷गाउँ वडा कार्यसमिति क्षेत्रभित्रको कुनै महत्वपूर्ण सदस्यलाई नगर÷गाउँ वडा कार्यसमितिको बैठकको निर्णयबाट उक्त कार्यसमितिको बैठकमा सदस्य÷आमन्त्रित गर्न सक्नेछ । भ्रातृ संघको केन्द्र र प्रदेश तहको समायोजनको हकमा पार्टीको केन्द्रीय कार्यसमितिले र जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, नगर गाउँ कार्यसमितिको समायोजनको हकमा सम्बन्धित भ्रातृ संघको केन्द्रीय कार्यसमितिले निर्णय गरे बमोजिम हुने पार्टीले जनाएको छ ।

तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट केन्द्रमा प्राप्त भई जिल्लामा पठाइएका क्रियाशील सदस्यता छानवीन र अद्यावधि गरी जिल्लाबाट केन्द्रमा प्राप्त भएपछि अन्तिम निर्णय हुनेछ । यस सम्बन्धमा ५१ वटै जिल्लालाई छानविन र अद्यावधि गरी शिघ्रातिशिघ्र क्रियाशील सदस्यताको नामावलीको सूची अनिवार्य रुपमा केन्द्रमा पठाउन पुनः निर्देश गर्ने पार्टीले निर्णय गरेको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..