» » राजपा नेपालमा अब अध्यक्षमण्डल संयोजक नफेरिने

राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको चक्रप्रणालीको एक चक्र पुरा भएको छ । राष्ट्रिय जनता पार्टी, नेपाल गठन भएको अढाई वर्षमा अध्यक्षमण्डलमा रहेका छजना सदस्यको एक एक पटक अध्यक्षमण्डलको संयोजक बन्ने पहिलो चक्र पुरा भएको छ ।

असोज ५ गते राजपा नेपालको अध्यक्षमण्डलको संयोजक महन्थ ठाकुर हुनुभएको छ । २०७४ बैशाख ७ गते विभिन्न ६ वटा दल मिलेर राजपा नेपाल गठन भएको थियो । महोत्तरी बर्दिवासको पवन मिथिला होटलमा २०७५ मंसिर ४ गते अध्यक्षमण्डलका सदस्यहरु राजेन्द्र महतो, राजकिशोर यादव, महेन्द्र राय यादव र शरतसिंह भण्डारीबीच भएको गोप्य बैठकबाट महन्थ ठाकुरलाई अध्यक्षमण्डलको संयोजकबाट हटाउने निर्णय भएको थियो ।

जसलाई गोप्य सहमति गरेर संयोजकबाट हटाइएको थियो । आज पुनः उहाँहरुकै हस्ताक्षरबाट संयोजक बनाइएको थियो । विभिन्न आरोप लगाएर हटाइएको थियो, आज फेरि के कारणले महन्थ ठाकुरलाई राखेको कुरा पुष्टि भएको छैन । यद्यपी संयोजक बनाउनु भन्दा पहिले महेन्द्र राय यादव र राजेन्द्र महतोसहितको बैठक शरदसिंह भण्डारीको घरमा बसेको थियो ।

महन्थ ठाकुरलाई संयोजक दिँदा शर्त बनाएर दिनुपर्छ नभए दिनुहुँदैन भनि उहाँहरुले आपसी सहमति गर्नुभएको थियो । ती शर्त प्रस्तावको रुपमा बैठकमा ल्याउने तयारी पनि थियो उहाँहरुको । तर तत्कालिन अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले बैठक नै बोलाउनु भएन अनि शर्त त्यतिकै सेलायो ।

उहाँहरुको पहिलो शर्त थियो कि अध्यक्षमण्डलको संयोजक भएपछि समाजवादी पार्टीसँग एकीकरण प्रकृयालाई अगाडि बढाउनुपर्छ । एकीकरण भएपछि मात्र महाधिवेशन गराउने । तर बैठक नबसेको कारणले त्यसमा छलफल नै नभएको एकजना अध्यक्षमण्डलका सदस्यले सहारा टाइम्सलाई बताउनुभयो ।


स्रोतका अनुसार महन्थ ठाकुरले आफू अध्यक्षमण्डलका संयोजक नबन्ने बरु राजेन्द्र महतोलाई बनाई दिए हुन्छ भनि धारणा नेताहरु समक्ष राख्नुभएको थियो । तर कोही तयार भएन । खास गरि महन्थ ठाकुर निकटका नेताहरुले राजेन्द्र महतोलाई अध्यक्षमण्डलको संयोजक बनायो भने भोली नै गएर उपेन्द्र यादवलाई पार्टी सुम्पिदिनुहुन्छ, पार्टी बर्बाद हुन्छ ।

पार्टीलाई बर्बाद हुनबाट जोगाउने हो भने तपाई संयोजक बन्नुपर्ने दवाव दिएपछि उहाँ संयोजक बन्नुभएको दावी गरिएको छ । अब उहाँ नै संयोजक रहने पार्टीका सहमहामन्त्री संजय यादवले बताउनुभयो । उहाँले भन्नुभयो, अब पार्टी महाधिवेशनको तयारीमा जुट्नेछ, महाधिवेशनसम्म उहाँ नै संयोजक रहने लगभग तय नै भएको छ । महाधिवेशन गराउने जिम्मेवारी पनि उहाँलाई नै दिएको हुनाले संयोजक पनि रही रहनु हुनेछ ।’ 


२०७५ मंसिर ४ गत पवन मिथिला होटेलमा भएको गोप्य बैठकमा नै महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतोलाई अध्यक्षमण्डलको संयोजक बनाउने निर्णय गरेको विज्ञप्ति लेखिएको थियो । काठमाडौ आएर अध्यक्षमण्डलको बैठक बस्यो । सो बैठकमा एकैचोटी चक्रप्रणालीमार्फत अध्यक्ष फेरिने प्रस्ताव ल्याएर तयार पारिएको निर्णयमा महन्थ ठाकुरलाई हस्ताक्षर गर्न लगाएको थियो ।


एउटा सादा कागजमा क्यम्प्युटरबाट टाइप गरिएको विज्ञप्तिमा महन्थ ठाकुरको नाम र पार्टीको नाम हातले लेखिएको थियो । विज्ञप्तिमा चक्रिय प्रणालीमा संचालित गर्न सहमत भएका छौं भनि लेखिएको लाई काटेर हातले बहुमतबाट निर्णय गरिएको छ भनि लेखिएको थियो । त्यति मात्र होइन, राजपा नेपालको लेटरप्याडमाथि त्यो विज्ञप्ति टाँसिएर सार्वजनिक गरिएको थियो ।


अध्यक्षमण्डलका अर्का सदस्य अनिलकुमार झा त्यो निर्णयप्रति सहमत थिएन । पार्टीको विधान विपरित महन्थ ठाकुरलाई हटाएको कारण पार्टीमा विवाद पनि भएको थियो । यद्यपी महन्थ ठाकुरले नै आफ्ना पक्षका नेताहरुलाई सम्झाएपछि विवाद साम्य भएको थियो । त्यसपछि पार्टीमा शुरुभएको थियो चक्रप्रणाली चक्र । शुरुमा राजेन्द्र महतो दुई महिनाका लागि संयोजक भए । त्यसपछि महेन्द्र राय यादव, अनि शरतसिंह भण्डारी, अनिलकुमार झा र अन्त्यमा राजकिशोर यादव यादव संयोजक हुनुभएको थियो । असोज ५ गतेदेखि महन्थ ठाकुर बन्नुभएको छ ।


राजपा नेपालमा चक्रिय प्रणालीबाट चलाए पनि पार्टीमा कुनै प्रगति हुन सकेन । पार्टी गठन भएपछि प्रदेशको चुनावमा भाग लिनु बाहेक अरु केही गर्न सकेको छैन । शुरुमा सविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने निर्णय गरेका राजपा नेपाल अन्तिममा गएर प्रदेश २ को स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनावमा भाग लिएको थियो । पटक पटक पार्टीको महाधिवेशन गराउने निर्णय गरेपनि हालसम्म महाधिवेशन हुन सकेको छैन ।

यहाँसम्म राजपा नेपालले अहिलेसम्म पूर्ण विधान बनाउन सकेको छैन । पार्टीले विधान बनाउनका लागि तीन पटक कार्यदल बनायो तर कार्यदलले बनाएर दिएको विधान त्यस्ताको त्यस्तै थन्किएको छ । छजना अध्यक्ष रहेको कारण एक अर्काको स्वार्थ बाझिएपछि विधानले हालसम्म पूर्णत पाएको छैन ।

 पार्टीले २०७६ बैशाख ७, ८ र ९ गते महाधिवशेन गर्ने भनि मिति पनि तोक्यो तर पार्टीभित्रको आपसी खिचातानी र मनमुटावका कारण तोकिएको मितिमा महाधिवेशन गराउन सकेन । अर्को बैठक बसेर कात्तिक २९, ३० र ३१ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर समाजवादी पार्टीसँगको एकीकरणका कारण महाधिवेशन विवादमा परेको हो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..