» » चीनले नचिनेको मधेश र थरुहट

चीनका राष्ट्रपति सी चिनफिङ नेपालको दुईदिने (असोज २५–२६) औपचारिक भ्रमण सकाएर स्वदेश फर्किसक्नु भएको छ । सरकारसँग २० बुँदे सम्झौता भएको छ । त्यो सम्झौताको बारेमा सकारात्मका नकारात्मक टिप्पणीहरु आइरहेको छ । 

कुनै पनि देशले भ्रमण गर्दा हुने सम्झौताको निरन्तता जस्तै कतिपयले भनेका छन् भने कतिपयले नेपाल–चीनबीच भएको सम्झौता कोशेढुगां सावित भएका छन् । अर्थात जे जस्तो भएपनि दुई देशबीचमा जुन प्रकारको सहमति भएको छ । यदि त्यो कार्यान्वयन भयो भने त्यसले नेपाललाई कुनै नकुनै रुपमा फाइदा नै हुनेछन् । सबभन्दा केरुङ–काठमाडौं रेलमार्गको हल्ला थियो तर सम्झौता अनुसार अहिले त्यसको अध्ययन नै गर्ने भनेको छ । 


त्यसले अलिकति खल्लो भएको छ । त्यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव समेत रहनु भएका राष्ट्रपति सीले नेपालका अन्य दलभन्दा बढी नेपाल कम्युनिस्ट पार्टीलाई विशेष महत्व दिनुभयो । जब कि नेकपाबाहेक अन्य दलहरु पनि छन् । 


उहाँ दलको निमन्त्रणामा नेपाल भ्रमणमा आउनु भएको थिएन । राष्ट्रपनि विद्यादेवी भण्डारीको निमन्त्रणामा आउनु भएको हुनाले उहाँले सबै दललाई समान हैसियत दिनुपथ्र्यो तर प्रतिपक्षि दल काँग्रेसका सभापति शेरबहादुर देउवासँग थोरै भेटघाट गरेर एउटा औपचारिकता निभाएपनि अन्य राष्ट्रिय दलका नेताहरुसँग कुनै मतलब नै राख्नुभएन जसले गर्दा चीनप्रति प्रश्न चिन्ह खडा भएको छ । प्रस्तुत छ, चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणबारे मधेशका बुद्धिजिवी, लेखक, पत्रकारहरुसँग लिएको छोटो प्रतिकृयाः 



भ्रमणमा सबैलाई समेट्नुपर्ने थियो

–सुनिलरञ्जन सिंह, अधिवक्ता
चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण आफैमा सकारात्मक कुरा हो । २३ वर्षको लामो अन्तरालपछि राष्ट्रपति सीको भ्रमण भएको छ । यसमा नेपालीले खुशी मनाउनुपर्छ, र खुशी हुनुपर्छ पनि । चीन सरकार र नेपाल सरकारबीच जुन प्रकारको सम्झौता भएको छ, त्यसलाई कसरी कार्यान्वयन गर्ने, त्यसलाई कसरी सदुपयोग गर्ने त्यतातिर पनि ध्यान दिनु आवश्यक छ । यसप्रकारको उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्ध झन बलियो हुन्छ ।

यसले विश्वको प्रतिस्पर्धामा देशलाई सहभागी गराउँछ । राजनीतिक, आर्थिक, समाजिक हरेक क्षेत्रमा यसको प्रभाव पर्छ । देशमा कम्युनिस्ट सरकार भएका कारण नेपालको झुकाव चीनप्रति बढेको साँच्चिकै हो ।

यसमा कोही दुखी हुनुहुँदैन किनभने यो कम्युनिस्ट सरकार हो । चीनमा पनि कम्युनिस्ट सरकार रहेको छ त्यसले नेपाल कम्युनिस्ट नेतृत्वको सरकारको झुकाव चीनतिर देखिएको छ । यद्यपी यो झुकावलाई देशको हितमा प्रयोग गर्नुपर्छ ।

भारतका प्रधानमन्त्री आउँदा मधेश खुशी हुने, पहाड दुखी हुने । चीनका राष्ट्रपति आउँदा मधेश दुखी हुने, पहाड खुशी हुने अवस्था देखिएको छ । यो राम्रो संकेत होइन । जुनसुकै भ्रमणमा हिमाल, पहाड र तराईलाई पनि समेट्नुपर्छ । एउटा दुखी र अर्को खुशी भयो भने त्यसले आउने दिनमा देशलाई राम्रो बनाउने छैन । राष्ट्रपति सीको भ्रमणलाई लिएर मधेश दुखी भएको देखिन्छ । किनभने यो भ्रमणबाट मधेशलाई अलग राखेको देखिन्छ । जसरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको भ्रमणमा आउँदा सबैलाई समेट्ने गर्नुहुन्छ त्यसरी नै चीनका राष्ट्रपति सीको भ्रमणमा समेट्नुपर्ने थियो ।




विद्यादेवी भण्डारीले सविधान विपरित काम गर्नुभयो 

–विजयकान्त कर्ण, पूर्व राजदूत (डेनमार्क)
विश्वकै शक्तिशाली व्यक्तिमध्येका एक सी चिनफिङले नेपालको भ्रमण गर्नु आफैमा सकारात्मक कुरा हो । तर नेपाल चाइनाको रणनीतिक प्रभावमा परिसकेको छ भने कुरा यो भ्रमणले पुष्टि भएको छ । कम्युनिस्ट नेतृत्वको सरकार त्यतिकै चिनियाँ कम्युनिस्टप्रति झुकाव राखेको थियो नै । तर यो भ्रमणले झन पुष्टि गरेको छ । २३ वर्षसम्म हुन नसकेको भ्रमणलाई यो कम्युनिस्ट नेतृत्वको सरकारले पुरा गराउन सफल भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लागि यो नै ठूलो उपलब्धी हो ।

 तर चीनका राष्ट्रपति सीको भ्रमणलाई लिएर जुन प्रकारको हल्ला थियो, जुन प्रकारको आशा गरेको थियो । त्यो पूरा नभएको देखिन्छ । सबभन्दा बढी रेलको बारेमा हल्ला भएको थियो । तर अहिले अध्ययन गर्ने मात्र सहमति भएको छ, जो पहिलादेखि नै यस्तो सहमति बनेको थियो । त्यसको अध्ययनहरु शुरु भएको थियो फेरि अहिले त्यही गरेको छ ।

 अर्थात रेलको बारेमा चिनियाँ सरकारले पनि त्यति चासो नलिएको देखिन्छ । ट्रेडको बारेमा पनि खासै केही भएको देखिएको छैन । चीनसँग नेपालको व्यपारघाटा ठूलो छ, त्यसको बारेमा पनि यो भ्रमणले बोलेको छैन । नेपाल एयरलाइन्सले चीनमा आफ्नो जहाज उडाउने अनुमति मागिरहेको वर्षौ भइसकेको छ तर त्यसको बारेमा कुनै छलफल भएको हो जस्तो लागेन । नेपाल स्वतन्त्र रुपमा आत्मनिर्भर भएर विकास गर्न सकोस् त्यस्तो खालका सहमति तथा सम्झौताहरु हुनुपर्ने थियो ।

त्यस्तो पनि देखिएको छैन । अर्को कुरा, चिनियाँ सरकार जति नजिक नेकपासँग देखियो त्यति नजिक अरु कुनै दलसँग देखिएको थिएन । प्रतिपक्षि दलका सभापति शेरबहादुर देउवासँग राष्ट्रपति सी एकछिन उभिएर कुराकानी गर्नुभएको छ । अन्य दलका नेतासँग भेटघाट पनि गर्नुभएन । नेकपाका लगभग सबै शीर्ष नेताहरुलाई बोलाएर सीले भेट्नु भएको छ । तर अरु दललाई महत्व नदिनु यो राम्रो कुरा होइन । अर्को कुरा राष्ट्रपति विद्यादेवी भण्डारीले जसरी चीनका राष्ट्रपति सीसँग वार्ता गर्नुभयो त्यो सविधानले अनुमति दिएको छैन । डेलिगेशनस्तरमा जुन वार्ता भयो त्यसमा विद्यादेवी भण्डारीको सहभागीता हुनुहुँदैन्थ्यो त्यो एकदमै सविधान विपरित काम हो ।




सरकारमाथि पनि प्रश्न चिन्ह खडा भएको छ

–जय निशान्त, राजनीतिक, विश्लेषक
राष्ट्रपति सीको भ्रमणलाई सकारात्मक रुपमा लिनुपर्छ । यत्रो लामो समयपछि चिनियाँ कम्युनिस्ट पार्टीका नेता एवं राष्ट्रपति सीको भ्रमण भएको छ, यो निकै खुशीको कुरा हो । संसारका शक्तिशाली व्यक्तिमध्ये राष्ट्रपति सी नेपाल आउनु नै ठूलो कुरा हो ।

यो भ्रमणले विश्वमा नेपालको परिचय र सम्मान पुगेको छ । विश्वमानचित्रमा नेपालले पनि स्थान पाएको छ र परिचित पनि भएको छ । भ्रमणले के दियो के दिएन त्यो मुख्य कुरा होइन, मुख्य कुरा चीनले नेपाललाई प्राथमिकतामा राख्नु नै ठूलो कुरा हो । चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी पहिलादेखि नै सम्बन्ध रहेको छ । त्यसैले चिनियाँ कम्युनिस्ट पार्टीको प्रभाव नेपाल कम्युनिस्ट पार्टीमाथि पर्नु स्वभाविक कुरा हो । अहिले यी दुई दलको बीचमा झन राम्रो सम्बन्ध बनेको छ ।

 त्यसले गर्दा नेपाल कम्युनिस्ट पार्टीले चीनसँग सम्बन्ध बनाउनका लागि आफूलाई सहज महसुस गरिरहेको छ । त्यसैको उपज हो, राष्ट्रपति सीको नेपाल भ्रमण । चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच राम्रो सम्बन्ध नभएको भए आज यो खालको भ्रमण हुने थिएन ।

सरकार–सरकारबीचको सम्बन्ध त विगतदेखि छदैछ तर पार्टी–पार्टीबीचको सम्बन्धले गर्दा दुई देश बीचको सम्बन्धलाई सकारात्मक प्रभाव पारेको छ । तर यो भ्रमणमा मधेशको उपस्थिति एकदमै नगन्य देखियो । त्यसले राम्रो सन्देश गएको छैन । चीन सरकारले भुगोल विशेष, जाती विशेषलाई प्राथमिकता दिएको सन्देश गएको छ । यसले नेकपा नेतृत्वको सरकारमाथि पनि प्रश्न चिन्ह खडा भएको छ ।




चीनले नेपाललाई भारतको नजरले हेरेको छ

–पंकज दास, पत्रकार, आजतक
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको स्वतन्त्र परराष्ट्र नीतिका लागि जे सन्देश दिन चाहनु भएको थियो । त्यो आज पुरा भएको छ । हामी कुनै देशप्रति निर्भर छैनौं, हाम्रो परराष्ट्र नीति स्वतन्त्र छ भन्नुहुन्थ्यो आज उहाँले पुरा गर्नुभएको छ ।

उहाँको लागि यो धेरै नै ठूलो उपलब्धी हो । साथै नेपाली जनताले पनि यो भ्रमणलाई सकारात्मक रुपमै लिएको छ तर भ्रमण अघि जुन हल्ला भएको थियो त्यो अनुसार काम नभएको कारण जनता निराश पनि भएका छन् । बीग सरप्राइज दिने हल्ला थियो तर त्यस्तो केही भएन । सबभन्दा बढी रेलको बारेमा हल्ला भएको थियो । केरुङ–काठमाडौ रेलका लागि राष्ट्रपति सीले सरप्राइज दिने हल्ला थियो ।

त्यसमा नेपाली जनतालाई निराश बनाएको छ । त्यो रेल परियोजनाका लागि सम्भाव्यता अध्ययन गर्ने भनेको छ । जो दुई वर्षदेखि अध्ययन भइ नै रहेका छन् । त्यसका लागि चीन र नेपालबीच पटक पटक छलफल पनि भएको छ, तर त्यसमा चीन सकारात्मक देखिएको थिएन । अरु सम्झौताहरु त समान्य हो । एउटा कुनै देशको प्रमुख भ्रमणमा आउँदा यसप्रकारको सम्झौता हुनु समान्य प्रकृया नै हो ।

 त्यसमा धेरै खुशी हुने अवस्था छैन । यद्यपी भएका सम्झौताहरु पनि कति कार्यान्वयन हुन्छ त्यो मुख्य कुरा हो । भारतसँग पनि यसप्रकारका सम्झौताहरु भएको थियो तर त्यो कार्यान्वयनमा आएको छैन । सम्झौता गरेपछि त्यसका लागि नेपाल सरकार स्वयं लाग्नुपर्छ तर त्यो देखिदैन ।

राष्ट्रपति सीले पनि यो कुरामा आशंका व्यक्त गर्नुभएको थियो । अर्को कुरा चीनले नेपाललाई भारतको नजरले हेरेको छ । राष्ट्रपति सी भारत हुँदै नेपाल आउनुको सन्देश नै त्यही हो । नेपालको बारेमा भारत के चाहन्छ त्यो बुझेर नै सी नेपाल आउनु भयो । यसको मतलब चीन अझै पनि नेपालप्रति विश्वस्त देखिएको छैन ।





राष्ट्रपति सीले सम्पूर्ण नेपालसँग साक्षात्कार गर्न सक्नुभएन

–वृजकुमार यादव, पत्रकार बीसीसी (जनकपुर)
विश्वकै शक्तिशाली देशका राष्ट्रपति सी चिनफिङ नेपालको भ्रमण गर्नु आफैमा महत्वपूर्ण कुरा हो । यसलाई सकारात्मक रुपमा नै लिनुपर्छ तर दुखको कुरा उहाँ पुरै नेपालीसँग साक्षात्कार गर्न सक्नुभएन । एउटा दल विशेषसँग मात्र अल्झिनुभयो ।

उहाँ देशका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमणमा आउनु भएको थियो, कुनै दल विशेषको निमन्त्रणामा आउनु भएको थिएन तर सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीलाई विशेष महत्व दिएको देखिन्छ । राष्ट्रपति सीले मधेशवादी दलका नेताहरुसँग भेट्नु पथ्र्यो  ।

उहाँहरुको कुरा पनि सुन्नु पथ्र्यो । देशको राजनीतिमा मधेश एउटा ठूलो फ्याक्टर हो, यसलाई नजर अन्दाज गरेर समस्या समाधान हुँदैन । मधेशवादी दलसँग भेटघाट नगर्नुले चीनसँग एउटा ठूलो हिस्सा टाढिनेछ । त्यतिकै पनि मधेशवादी दललाई भारत निकट दल भनेर आरोप लाग्दै आइरहेको थियो तर एउटा ठूला देशका राष्ट्रपतिले पनि त्यो हिस्सालाई त्यो शक्तिलाई ध्यान नदिनु, एड्रेस नगर्नु आउने दिनका लागि राम्रो संकेत होइन ।

 आएर विकास निर्माणका विषयमा सम्झौता गर्नु, केही दिनु कुनै ठूलो कुरा होइन, र नौलो पनि होइन । सबभन्दा ठूलो सद्भाव हो, प्रेम हो जो उहाँले सम्पूर्ण नेपाली जनताप्रति देखाउन सक्नु भएन । चीनसँग भविष्यमा पनि नेपालीको बेटीरोटीको सम्बन्ध हुनसक्दैन ।

भौगोलिक, समाजिक, साँस्कृति, धार्मिक हिसाबले पनि त्यो सम्भव छैन । नेपाल–चीनबीच एउटा राम्रो कुटनीति सम्बन्ध रहनसक्छ । यो भ्रमणले कसैलाई फाइदा भएको छ भने त्यो नेकपाका । नेकपाले यो भ्रमण गराएर आफ्नो संगठनलाई बलियो बनाउनुको साथै एउटा शक्ति राष्ट्रसँग आफ्नो निकटता बढाएको हो । सम्झौता हुनु ठूलो कुरा होइन, कार्यान्वयन हुनु ठूलो कुरा हो । यसअघि पनि चीन लगायत विभिन्न देशसँग सम्झौताहरु भएकै हो तर त्यो कागजमा मात्र सिमित रहेको देखिन्छ । सम्झौता भएपछि त्यसलाई कार्यान्वयनमा ल्याएपछि मात्र त्यसले सार्थकता पाउँछन् ।




भ्रमणले सम्भावनाका ढोका खुलेको छ

 –सिएन थारु, अधिकारकर्मी
२३ वर्षपछि चीनका राष्ट्रपतिले नेपालको राजकीय भ्रमण गर्नुभएको छ । नेपालका लागि यो निकै ठूलो उपलब्धी हो । यसलाई अगामी दिनमा कसरी क्यास गर्न सकिन्छ त्यसमा भर पर्छ ।

देशमा आर्थिक समृद्धिका लागि आशा जगाएको हो । नेपाल आर्थिक समृद्धितर्फ अगाडि बढेको छ भनि सम्भावनाका ढोकाहरु खुलेका छन् । विश्वका ध्यान नेपालतर्फ तानिएको छ । चीन जस्तो शक्तिशाली देशका राष्ट्रपति नेपालको भ्रमण गरेपछि अब नेपाललाई नचिनेका नजानेका देशहरुले जान्न थाल्नेछन् । बुझ्न थाल्नेछन् । यसले गर्दा यो देशमा विकासका सम्भावनाहरु खुल्नेछन् ।

चीन दुई प्लस एकको नीतिमा छन् । दक्षिण एसियामा चीनले भारतपछि नेपाललाई नै प्राथमिकतममा राखेको छ । यही नीतिका आधारमा उ अगाडि बढेको कुरा यो भ्रमणले पुष्टि गरेको छ । चीनले भारतलाई पश्चिमी लविबाट दक्षिण एसिया लविमा बाँँध्न खोजेको छ ।

चीन विश्वमा आफ्नो बर्चस्व देखाए जस्तै दक्षिण एसियामा पनि आफ्नो शक्ति कायम राखेका छन् त्यसमा उसले भारतको साथ लिन चाहेको छ । एसियामा चीनले नेपाललाई पनि आफ्नो प्राथमिकतामा राखेको छ । त्यसैले यो भ्रमणल तत्कालै आर्थिक क्षेत्रमा प्रभाव नपारे पनि राजनीति रुपमा प्रभाव पार्नेछ । राष्ट्रपति सी चिनफिङको भ्रमणले राजनीतिक रुपमा विश्वमै हलचल ल्याएको छ । यद्यपी चीनले यो भ्रमण गरेर व्यावसायीको नयाँ बाटो खोलेको छ ।

 नेपालको बाटो भएर भारतसँग व्यपार गर्नेछ चीनले । चीन अरु कुरा भन्दा पनि व्यावसायीमा विशेष ध्यान दिएको छ । उसको मुख्य उद्देश्य व्यावसायी नै हो त्यसैले उसको लागि कुनै भुगोल, कुनै जात प्राथमिकतामा छैन जस्तो लाग्छ । नेपालमा कुनै प्रकारको विकास भयो भने समग्र देशका लागि नै हुन्छ । चीनका सरकार कम्युनिस्ट सरकार भएका हुनाले नेपालका कम्युनिस्टसँग अलि बढी सम्बन्ध बनाएको देखिन्छ । अहिले यो भ्रमणको क्रममा पनि नेकपा बढी हावी भएको देखियो । यसले दीर्घकालिन रुपमा फाइदा गर्ने छैन ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..