» » साइकलले वेसक्याम्प पुगेका रञ्जित सगरमाथा चढ्ने तयारी गर्दै

न सरकारी स्पोन्सर, न गैरसरकारी स्पोन्सर, न सरकारी तामझाम, न गैरसरकारी तामझाम । न भिडभाडको विदाई । आफ्नै सुरमा, आफ्नै लगानीमा रञ्जित साह सगरमाथाको वेसक्याम्प पुगेर फर्कि सकेका छन् । त्यो पनि हिरो रोयल साइकलले ।

साधारण हिरो रोयल साइकल । त्यसमा न गियर छ, न डिस ब्रेक । त्यही साइकल चढेर रञ्जित साहले सगरमाथा बेस क्याम्पसम्मको यात्रा पुरा गरी साइकल त्यही वेस क्याम्पमा छाडी हिडेर घर फर्केका छन् । ३१ वर्षीय रञ्जित साहले भदौं ९ गतेदेखि वेसक्याम्पका लागि यात्रा शुरु गरी १९ दिनमा उनी वेस क्याम्प पुगेका थिए ।

जनकपुरबाट यात्रा शुरु गरेका उनी मन्थली हुँदै दोलखा पुगेका थिए । दोलखाबाट कालिन्चोक, दोलालघाट हुँदै काठमाडौ पुगेका थिए उनी । काठमाडौ हुँदै फेरि खुरकोटको बाटो भएर उनी घुर्मी पुगेका थिए । घुर्मी हुँदै वखलढुगां, वखलढुगांबाट सोलु र सलेरी, खरी खोला हुँदै लुक्ला पुगेका थिए उनी । लुक्ला हुँदै नाम्चे, नाम्चेबाट फेर्चे र फेर्चेबाट फादिङ पुगे उनी ।

बेस क्याम्पको यात्रामा निस्किदा कहिले उ साइकलमाथि चढ्थे, त कहिले साइकल उनीमाथि चढ्थ्यो । कहिले कोसौ दुरसम्म साइकल डोर्याएर हिड्थे । उनी भन्छन्, ‘६० प्रतिशत यात्रा साइकल बोकेर नै तय गरेको थिए ।’ पहाडको बाटो सिधा उकालो हुन्छ, त्यसमा पनि ठाउँ ठाउँमा भ्रयाङ बनाएको हुन्छ त्यस्तो ठाउँमा साइकल चढ्ने कुरै हुँदैन त्यस्ता ठाउँमा बोकेर नै चढ्थे , उनी भन्छन्, यात्रामा मलाई सबभन्दा बढी सहयोग नेपाली झण्डाले गरेको हो, जहाँ जाँदा मसँग नेपाली झण्डा भएको कारणले सबैले मदत गथ्र्यो ।

सम्मान गथ्र्यो सायद यो नेपाली झण्डा मसँग नभएको भए निकै गाह्रो हुन्थ्यो यात्रामा । यो नेपाली झण्डाले नै मेरो मनोवललाई बढाएको हो ।’ अप्ठ्यारो खासै नभएपनि काला पथ्थर जानका लागि केही गाह्रो भएको थियो । उनी भन्छन्, ‘स्वच्छ मनोभावनाले काम गर्दा कहिले कुनै अप्ठ्यारो हुँदैन, प्रकृतिले पनि साथ दिएका हुन्छन् ।’

जहिले पानी पर्ने त्यो क्षेत्रमा कहिले त्यस्तो भएन कहिले काही झिसमिसे पानी पर्नु बाहेक खासै त्यस्तो अप्ठ्यारो नभएको बताउँदै बेस क्याम्पसम्म पुग्न लाग्दा नाम्चे बजारको एक होटलमा आफूसँग लगेको ९५ प्रतिशत समान होटलमा राखेका थिए किनभने साइकल बोकेर नै हिड्नुपरेको हुनाले अलिकति भएपनि सजिलोका लागि समानहरु होटलमै छाडेको हुनले बताए ।


भदौं २० गतेदेखि २७ गतेसम्म उनले साइकललाई डोर्याएका थिए । भदौं ९ गते यात्रामा निस्किनु भन्दा पहिले उनी जानकी मन्दिरको दर्शन गर्न पुगेका थिए । त्यो थाह पाएर जनकपुरका केही युवाहरुले उनलाई विदाई गर्न मन्दिर परिसरमा भेला भएका थिए । दुई चारजना युवाले माला लगाएर उनलाई विश्वको सबभन्दा अग्लो सगरमाथाको बेस क्याम्पसम्मका लागि विदाई गरेका थिए ।

देशका साथै मधेशलाई विश्वमा चिनाउनका लागि आफ्नै लगानीमा नस्किेका युवाका लागि जनकपुरमा कुनै तामझाप थिएन, न कुनै उत्साह नै थियो । जनकपुर प्रदेश २ को अस्थायी राजधानी हो, र उपमहानगरपालिका पनि । तर रन्जित विश्वलाई चिनाउन यात्रामा निस्किदै थिए तर त्यसबाट त्यहाँका दुईटै सरकार बेखबर थिए । यदि अरु समुदाय वा अरु कुनै व्यक्ति भएको भए सरकारले त्यसमा लागि करौडो रकम खर्च गथ्र्यो होला ।

 काठमाडौबाट पनि बेलाबेलामा विभिन्न ग्रुपमा वा एक्ला एक्लै सगरमाथाको यात्रामा निस्किन्छन् उनीहरुलाई सरकारीदेखि गैरसरकारी संस्थाहरुले सहयोग गरेका हुन्छन् । यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहाल जसको निधन भइसकेको छ । उनी र उनका साथीहरु सगरमाथा चढ्न जाँदा तत्कालिन सरकारले मन्त्रीपरिषद्बाट लाखौ रुपियाँ सहयोग गरेको थियो ।

उनलाई मात्र होइन, यस्ता थुप्रै समूह छन् जसलाई सरकारले सहयोग गरेर पठाएको छ तर रञ्जित कर्णलाई कसैको सहयोग थिएन । उनले आफ्नै लगानीमा वेसक्याम्पको यात्रा तय गरेका छन् । यहाँसम्म कि कसैले उनलाई सहयोग गरेका छन् भने उनले ती रकम कुनै समाजिक संस्थालाई दान गरेका छन् ।

 औपचारिकताका लागि प्रदेश तथा स्थानीय सरकारले चाहिने पत्रहरु बनाई दिएका छन् । तर सरकारको दायितव त्यति मात्र थिएन । प्रदेश सरकार वा स्थानीय सरकारले त्यसको पुरै जिम्मेवारी लिएर सम्पूर्ण खर्चको व्यवस्था गर्नुपर्ने थियो । एउटा कार्यक्रम गरेर विदाई गरेको भए सायद त्यसकै प्रभाव राम्रो पर्ने थियो । तर, कुनै औपचारिकता नभएपनि उनी मनमा एउटा संकल्प लिएर निस्के । उनी भन्छन्, ‘सरकारले केही गरेन त्यसमा मेरो कुनै गुनासो छैन, बस मलाई आशिर्वाद चाहिन्छ ।’

रञ्जित साहले प्रदेश तथा स्थानीय सरकारले केही गरेन भने त्यसमा कुनै दुख छैन, आफ्नो काम गर्दै जानुपर्छ । काम गरेर नै अरुलाई सोच्न बाध्य बनाई दिने आफ्नो सोच रहेको बताए । आफूलाई कसैले केही गरि दियोस् भनेर यो अभियान शुरु गरेको होइन, आफ्नो तागतमा सबै काम गर्ने तर सुभेच्छा सबैको चाहिने उनले बताए । साइकल काँधमा बोकेर सगरमाथाको टुप्पोसम्म पुग्ने लक्ष्य रहेको छ तर त्यो पनि आफ्नै खर्चमा, उनले भने, सगरमाथा चढ्ने बेला सरकारको सहयोग चाहिन्छ तर सहयोग नगरेपनि आफैले जाहो गरेर सगरमाथा चढ्ने सोच मेरो रहेको छ ।’ सगरमाथा चढ्नका लागि थुप्रै कानुनी प्रकृया पुरा गर्नुपर्ने हुन्छ त्यसको तयारीमा आफू लागेको उनले बताए ।

कसरी चल्छ जिविका ?
शीरमा नेपाली टोपी । साइकलमा चन्द्र, सूर्य अंकित झण्डा । ‘तराई पहाड हिमाल हाम्रो मातृ भूमी नेपाल’ राष्ट्रिय एकताको नारा दिँदै नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न वेसक्यम्पसम्मको यात्रा तय गरेका रञ्जित मध्यम परिवारका छोरा हुन् । घरपरिवार धान्नका लागि उनको एउटा पैतृक पान पसल रहेको छ । सोही पान पसलबाट उनले साइकलबाट यात्रा गर्नुको साथै आफ्ना दुईटा वहिनीलाई उच्च शिक्षा र आमाबुवालाई पाल्ने काम गर्दै आएका छन् ।

१२ महिनामा ११ महिना काम गर्छन् र बाँकी एक महिना साइकल यात्रामा निस्किने रञ्जितको जनकपुरको जिरो माइलमा आफ्नो पैतृक पान पसल छ । त्यही पान पसल चलाएर उनले घरपरिवार चलाउँछन र केही बाँकी रकमले साइकल यात्रामा खर्च गर्छन् । उनका बुवाले विगत १५ वर्षदेखि पान पसल चलाउँदै आएका थिए । पछि रन्जितले बुवालाई सहयोग गर्न थालेका थिए । विस्तारै विस्तारै पान पसल रञ्जितकै भर भयो ।

शिक्षा
जनकपुरधाम उपमहानगरपालिका–४ कटैया चौरीका रञ्जित ७ कक्षासम्म मात्र पढेका छन् । उनले आफ्नो बहिनीलाई पढाउनका लागि आफ्नो पढाई लेखाई त्यागेर पैसा कमाउन तिर लागेका थिए । उनी भन्छन्, पढाई नै सबैथोक होइन, घरपरिवार र समाज पनि हेर्नुपर्छ त्यही भएर मैले पढाई बीचमै छाडेको हुँ ।’


संयोग पनि कस्तो रञ्जित दुई दाजु भाइ छन् । दुवै दाजुमध्ये कोही पनि उच्च शिक्षा हासिल गरेका छैनन् । उनका दाजु वैद्यनाथ साह एम्बुलेन्स चलाई रहेका छन् तर उनका दुईजना बहिनी उच्च शिक्षा लिइरहेकी छिन् । दुई दाजु भाइ अलग अलग छन् । रन्जित आफ्ना आमा–बुवाका साथमा छन् । तराई मधेशमा जहाँ छोराछोरीमा शिक्षालाई लिएर विभेद छ त्यहाँ रन्जितले उदाहरणीय काम गरेका छन् ।

तराई मधेशतिर पहिला त छोरीलाई पढाउने चलन नै थिएन । अहिले चलन बढेको छ । त्यसमा पनि अधिकाँशले छोरीलाई सरकारी स्कूल र छोरालाई निजी स्कूलमा पढाउँछन् । तर रञ्जित यस्तो व्यक्ति हुन् जो आफू नपढेर बहिनीलाई पढाउन काम शुरु गरेका थिए । रन्जितले एउटा वहिनी सलक साहलाई भारतको बेंगलोर र अर्का वहिनी सुजानी साहलाई काठमाडौमा अध्ययन गराई रहेका छन् ।

अभिभावकको मन
उनका बुवा किशोरी साहले भन्छन्, छोरा रन्जितले के गरिरहेका छन् मलाई थाह छैन तर जे गरिरहेका छन् राम्रै गरेको होला जस्तो लाग्छ ।’ साइकल लिएर कहिले कहाँ त कहिले कहाँ कुदिरहेका हुन्छन्, न जा पसल चलाएर बस भन्दा त, नाई म जान्छु, गएर आइ हाल्छु भनेर जान्छन्, अरुको मुखबाट छोराको प्रसंशा सुन्दा खुशी लाग्छ, बुवा किशोरी साहले भने, कसको इच्छा हुँदैन कि छोराले कामकाज गरोस्, घरबार सम्हालोस् तर उनलाई त्यही काम गर्न मन लाग्छ भने मैले जति रोके पनि रोकिदैन ।’

उनको मामा सुरज साहको पनि धारणा त्यही छ । भञ्जाले राम्रो काम गरेको हो जस्तो लाग्छ, रेडियोमा उनको नाम सुनिरहेको हुन्छु खुशी लाग्छ भन्दै उनले रन्जितमा देशका लागि केही गर्ने भूत सवार छ, जहिले पनि केही गर्छु मामा भन्थे, साँच्चै केही गर्छन् जस्तो लागेको बताए । रन्जित बेस क्याम्पका लागि हिड्दा पान पसल मामाको भरमा छाडेका थिए । बुवा किशोरी साह उमेरले ६८ वर्षका भइसकेका छन् । पसल राम्रै चल्छ । त्यसैले उनी साइकल यात्रामा निस्कन लाग्दा मामालाई पान पसल रेखदेख गर्न आग्रह गर्ने गरेका छन् । 

रन्जित साह अविवाहित हुन् । उनका घरबाट विवाह गर्न दवाव नआएको होइन तर उनी सिधै भन्छन्, अहिले म विहे गर्दिन् केही नयाँ गर्छु, नाम कमाउँछु अनि मात्र विहेको बारेमा सोच्छु ।’ उनका मामा सुरज साह भन्छन्, रन्जितलाई आफ्नो विहे भन्दा बढी बहिनीहरुको विहेको चिन्ता छ ।

 वहिनीको विहे गरेपछि मात्र आफू विहे गर्ने भनिरहन्छन् ।’ सानैदेखि चुलबुले स्वभावका रन्जित बढाईमा राम्रै थिए तर पढाई भन्दा अरु अरु काममा बढी ध्यान हुन्थ्यो उनको, पढाइ छाडेर के के गरेर हिडिरहेका हुन्थे, पछि उनको बुवाले पढ्ने मन छैन भने पसल चलाएर बस भनेका थिए । त्यसपछि उनले पनि दुई वहिनीलाई पढाउने संकल्प लिएर आफ्नो पढाई बीचैमा छाडेर पान पसल चलाउन थालेका थिए । 

अरु यात्रामा पनि 
रञ्जिले वेस क्याम्पसको यात्रा मात्र होइन, २०७२ भदौं २१ गते जनकपुरबाट साइकलमै पशुपतिनाथको दर्शन गर्न काठमाडौ आएका थिए उनी । त्यस्तै, उनी सोही वर्षको असोज ७ गते साइकलमै जनकपुरबाट खोटाङ्को हलेसी महादेवको दर्शन गर्न पुगेका थिए । त्यसपछि उनले २०७४ चैत २४ गते जनकपुरदेखि मुस्ताङ्गसम्म ६ दिनको ५५४ किलोमिटर साइकलको यात्रा गरी मुक्तिनाथ दर्शन गर्न पुगको थिए । २०७५ कात्तिक १२ गते जनकपुरबाट भारत उत्तर प्रदेशको अयोध्या हुँदै लखनउसम्म पुगेका थिए । सोही वर्षको चैत २२ गते उनले साइकलमै ताप्लेजुङसम्मको यात्रा पुरा गरी पाथीभारा भगवतीको दर्शन गरेका थिए । पछि उनी पाथीभारा भगवतीको दर्शन गरेर फर्किदा जनकपुर पैदल नै फर्केका थिए ।

कसरी जुड्यो साइकलको यात्रा
रञ्जित साह आफू यसरी साइकल चढेर देशलाई चिनाउँछु र यो अभियानमा लाग्छु भनि लागेको थिएन । मधेश आन्दोलनको क्रममा उनका साथी काठमाडौबाट आएका थिए तर गाडी नचलेको कारण बर्दिवाससम्म साथीलाई ल्याउन जानुपर्ने अवस्था सृजना भएको थियो । तर, ल्याउने कसरी भनि त्यो सोचमा उनी परे । केही उपाय नलागेपछि हिरो रोयल साइकल लिएर नै हिडे । ३४ किलोमिटर साइकल चलाएर रञ्जित बर्दिवास पुगेका थिए । फेरि साइकलमा साथीलाई लिएर जनकपुर फर्केका थिए । त्यही दिनदेखि उनलाई साइकलबाट यात्रा गर्ने हिम्मत जुटेको थियो । त्यसको लगतै उनले जनकपुरबाट २१ घण्टामा काठमाडौ आएका थिए । एकरात बसेर फेरि जनकपुर फर्केका थिए ।

सगरमाथा चढ्ने तयारी
चैत बैशाखमा सगरमाथा चढ्ने उनले लक्ष्य लिएका छन् । त्यसको तयारीमा उनी जुटेका छन् । काठमाडौं पुगेर प्रकृया समेत शुरु गरेका रञ्जितले भने, अबको एउटै लक्ष्य सगरमाथा नै चढ्ने त्यसको तयारीमा लागि सकेको छु ।’ सगरमाथा चढ्नका लागि त्यसअघि एक दुईटा अन्य साना ६५०० देखि ६०० मिटर उचाईको हिमाल चढ्नुपर्ने हुन्छ । अनि मात्र सगरमाथा चढ्नका लागि अनुमति दिन्छन् ।


दुई वर्षअघि जनकपुरमा ७००० रुपियाँमा हिरो रोयल साइकल किनेका थिए उनले । उनी लामो यात्रामा निस्किदा मात्र त्यो साइकल चढ्छन् । मुक्तिनाथको दर्शन गर्न जाँदा उनले त्यो साइकल किनेका थिए । सगरमाथा चढ्ने भनेर अहिले त्यो सइकल वेसक्याम्पमा नै छाडेर आएका छन् । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..