» » किसानलाई ज्ञान देउ (सम्पादकीय)

नेपाल कृषि प्रधान देश हो । जनगणना २०६८ का अनुसार ६५.५ प्रतिशत जनता कृषिमा आश्रित छन् । यो  ६५.५ प्रतिशतले देशको कुल ग्राहस्थ उत्पादनको ४० प्रतिशत हिस्सा ओगटेको छ । वास्तवमा भन्ने हो भने किसानको सँख्या र लगानी अनुसार उत्पादन छैन ।

३१ लाख ९५ हजार १७३ भन्दा बढी हेक्टरमा यहाँ खेती हुन्छ । ६५ प्रतिशत जनता किसान छन् तर २ करोड ६४ लाख जनताको पेट भर्न सकिरहेको छैन । कृषिजन्य हरेकवस्तुका लागि परनिर्भर बन्नु परेको अवस्था छ । २०७५÷०७६ मा मात्र नेपालले एक खर्ब ६० अर्ब ५८ करोड मूल्य बराबरको कृषिजन्य वस्तु विदेशबाट आयात गरेको छ ।

यो निकै नै भयावह अवस्था हो । लगानी छैन भने पनि होइन । सरकारले वजेट पनि दिएको छ । विभिन्न विदेशी अनुदानमा परियोजनाहरु पनि सञ्चालित छन् । तैपनि नेपालको कृषि उभो लागेको छैन । त्यसको एउटै कारण हो व्यवस्थापन र ज्ञानको अभाव हो । कृषि तथा पशुपक्षि विकास मन्त्रालय अन्तर्गत सबै संयन्त्रण छन् ।

साधनस्रोत, जनशक्तिको अभाव छैन तर ढंग पुर्याएर काम नगरेको कारण यस्तो अवस्था सृजना भएको हो । कृषिमा अनुसन्धान गर्नका लागि नेपाल कृषि अनुसन्धान परिषद् छ तर त्यसले परिणाम दिइरहेको छैन । परिषद्ले सरकारको दोष लगाईरहेको छ भने सरकारले परिषद्लाई दोष लगाई रहेको छ । अन्य थुप्रै पूर्वाधारहरु कृषि मन्त्रालयसँग रहेका छन् ।

तर तिनीहरु काम नगरेको कारण कृषिमा आत्मनिर्भर हुन सकेको छैन । कृषि मन्त्री चक्रपाणि खनाल स्वंयले नेपाल कृषिका धेरै कुरामा आत्मनिर्भर हुनसक्छ तर त्यसको व्यवस्थापन भइरहेको छैन । त्यसको व्यवस्थापन भयो भने नेपाल चाँडै नै कृषिमा आत्मनिर्भर हुनसक्छ ।

अर्थात कृषिमा रहेका जनशक्तिले इमान्दारी पूर्वक राम्रो काम गरिरहेका छैनन् । कृषि मन्त्री खनालले मन्त्रालयका विभिन्न औपचारिक बैठकहरुमा समेत कर्मचारीहरु ठिक ढंगले काम नगरेको कारण कृषि क्षेत्र पछाडि परेको धारणा राख्दै आउनु भएको छ ।

एउटा मन्त्रीले कर्मचारीहरुकै सामु त्यसरी भन्नुले पुष्टि हुन्छ कि हरेक पूर्वाधार, साधनस्रोत, जनशक्ति हुँदा हुँदै कृषिमा काम भएको छैन त्यही कारणले कृषि क्षेत्र पछाडि परेको हो । एउटा सानो उदाहरण, पछिल्लो समय बाली नलाग्ने, विभिन्न किसिमका किराहरु लाग्ने, बाली राम्रा भएपनि उत्पादन राम्रो नदिने जस्ता समस्या सामुने आएका छन् ।

यी सबै समस्याको एउटै कारण किसानलाई ज्ञानको अभाव । किसानलाई कृषि सम्बन्धी राम्रो ज्ञान हुँदैन र कर्मचारीले पनि किसानलाई जानकारी दिने प्रयास गर्दैन । बजारमा जे बीउ पायो, त्यही लिएर आउँछन् । जे मल पायो, त्यही लिएर आउँछन्, जे विषादी पायो, त्यही लिएर आउँछन् र जथाभावी प्रयोगमा ल्याउँछन् ।

कुन बाली, कुन माटो, कुन मौसममा कुन मल, कुन औषधी कति कति प्रयोग गर्ने, कुनै कुराको जानकारी हुँदैन किसानलाई । बजारबाट ल्यायो, आफू खुशी जति मन लाग्यो त्यति खेतको बालीमा छर्कियो । ग्रामिण क्षेत्रको किसानलाई गएर सोध्दा धानमा कति मल हाल्नु हुन्छ । कसैसँग जवाफ हुँदैन । जवाफ दिए पनि फरक फरक जवाफ हुन्छन् ।

जति धेरै हाले त्यति धेरै उत्पादन हुन्छ भनि किसानले बुझेका हुन्छन् र प्रतिस्पर्धामा मल प्रयोग गरिरहेका हुन्छन् । जति बढी औषधी हाले त्यति छिट्टो किरा मर्छन् भनि मात्र बुझेका हुन्छन् । उनीहरुलाई कुनै प्राविधिक ज्ञान हुँदैन ।

उत्पादन भएन भने उनीहरुले भन्छन्, यसपाली यति मल हाल्दा पनि राम्रो उत्पादन भएन । यति औषधी हाल्दा पनि राम्रो तरकारी फलेन वा किरा मरेन ।’ यी सबै प्राविधिक ज्ञानको अभाव भएका हुन्छन् । त्यसैले किसानलाई प्राविधिक ज्ञानको आवश्यकता छ । अहिले स्थानीय अन्तर्गत कृषि ज्ञान केन्द्रहरुलाई राखिएका छन् । त्यसमा रहेका कर्मचारी अफिसमा बसेर टाइम पास गरेका हुन्छन् तर किसानलाई जानकारी गराउन कोही पनि जाँदैनन् । ज्ञान केन्द्रमा प्राविधिक कर्मचारीहरु खटाइएका हुन्छन् तर किसान उनीहरुबाट ज्ञान लिन बन्चित हुन्छन् ।

आधुनिक तथा यान्त्रिकीकरण कृषि भनेपनि अहिले पनि अधिकाँश किसानहरु परम्परा कृषिमा निर्भर छन् । ज्ञानका अभावमा जसरी मन लाग्छ त्यसरी नै कृषि कर्म गरिरहेका हुन्छन् । मौसमी वतावरणमा आएको परिवर्तनले गर्दा पहिलाको जस्तो परम्परा खेती सम्भव छैन । कृषिमा लगानी बालुवामा पानी खन्याए जस्तै भएको छ । सरकारले धेरै गर्न नसकेपनि प्रत्येक किसानलाई प्राविधिक ज्ञान दिन सक्यो भने कृषिमा धेरै कुरा हुन्छ ।   

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..