» » मुस्कानको अनुसन्धान बारे जानकारी माग्नुभयो सांसद यादवले

वीरगञ्ज, असोज २८ गते । समाजवादी पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले मुस्कान खातुनमाथि भएको एसिड प्रहारको घटनाबारे प्रहरीले गरिरहेको अनुसन्धान र मुद्दाको प्रकृयाको बारेमा जानकारी लिनु भएको छ ।

पर्साका सञ्चारकर्मीहरुको रोहबरमा हिजो सोमवार पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरसँग भेटेर उहाँले मुस्कान घटनाको अनुसन्धान बारे चासो देखाउँदै दोषी माथि कानुन बमोजिम कारवाही गर्नेु पर्ने माग गर्नुभएको सांसद यादवको नीजि सचिवालयले जनाएको छ ।

गत भदौ २० गते घरबाट विद्यालय गइरहेको अवस्थामा वीरगंज २ छपकैयाका दुई युवकहरुले मुस्कान माथि तेजाब प्रहार गरी गम्भीर घाइते बनाएका थिए । हाल मुस्कानको उपचार काठमाडौंको किर्तीपुर अस्पतालमा भइरहेको छ । मुस्कानको अवस्था सुधारोन्मुख छ । तर पछिल्लो पटक मुस्कान घटनाका अभियुक्तद्धय समसाद मिया र मजिद मियालाई सजायको सवालमा परिवारजनले चलखेल शुरु गरेपछि सासद यादवले प्रहरीसँग मुद्दाको विषयमा जानकारी लिनु भएको छ ।

 वीरगंज नारायणी अस्पतालका ४ जना डाक्टरहरुले समसादको उमेर १८ वर्ष र मजिदको उमेर २० वर्ष मेडिकल रिपोर्टमा उल्लेख गरेपनि परिवारजनले दुबैको उमेर क्रमशः १४ र १५ वर्ष भनेर प्रहरीमा दावीसहित नाबालिक भएकोले सोही अनुसारको सजायको लागि लबिङ गरिरहेका छन् ।

त्यसैगरी,पर्सा प्रहरीले पनि प्रारम्भिक अनुसन्धानको क्रममा समसादको उमेर १७ र मजिदको उमेर १६ वर्ष मात्र तोकेको प्रति सासद यादवले चिन्ता व्यक्त गर्नुभएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्याय, डेटिस्ट सोनी झा, अर्थोपेडिक डा. राजदेव कुशवाहा, रेडियोलोजिस्ट डा. विजयराज खनाल लगायतले मेडिकल रिपोर्टमा उमेर प्रमाणित गर्नुभएको हो ।

त्यसैगरी,पर्सा प्रहरीले दशैको विदालाई देखाउँदै अनुसन्धानमा ढिलाई भई पर्सा जिल्ला अदालतमा मुद्दाको फाइल पेश नगरेको दावी गर्नुभएको छ । पर्साका प्रहरी उपरीक्षक राठौरले पक्राउ परेका अभियुक्तलाई कानुन बमोजिम नै कारबाही गरिने आवश्वान दिनुभयो । उहाँले २२ देखि २५ दिन भित्र जुन पनि मुद्दा अनुसन्धान गरेर अदालतमा पेश गर्नु पर्ने नियम रहेतापनि चाडपर्वले केही दिन ढिलाई हुदै ३७ दिन पुगेको बताउनुभयो । आज भोलीमै मुद्दाको फाइल पेश हुने उहाँले जानकारी दिनुभयो ।

यससँगै स्कुल÷क्याम्पसका छात्राहरु माथी हुने गरेको दुव्र्यवहारका घटना तथा यौनजन्य हिंसा नियन्त्रणको लागि पर्सा प्रहरीले ठोस कदम चाल्नु पर्ने प्रहरी उपरिक्षक राठौरलाई निर्देशन दिनु भएको थियो ।

यता विर्तामा सञ्चालित हार्डवेयर पसले मनीषप्रसाद मण्डलको नाममा पक्राउ पुर्जी जारी भइसकेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । विना स्वीकृति तेजाब तथा रसायनिक पदाथ बिक्री गरेको आरोपमा उनी माथि ज्यान सम्बन्धी मुद्दा र तेजाब खुल्ला रुपमा बिक्री गरेको मुद्दा लगाइएको पर्सा प्रहरीले जनाएको छ । कानुन बमोजिम ज्यान सम्बन्धी मुद्दामा १० वर्ष कैद सजाय हुने व्यवस्था छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..