» » हाम्रा गाउँका मालिकहरु (फरकमत)

–सुरेशकुमार यादव
वर्षभरिमा सबभन्दा लामो विदा भनेकै दशैं हो । लामो विदा भएका कारणले आआफ्नो कर्मभूमीबाट जन्मभूमिमा विदा मनाउन फर्केका हुन्छन् । लामो विदा भएका कारणले पुराना साथीहरुसँग भेटघाटका साथै आफन्तहरुसँग पनि भलाकुसारी भएको हुन्छ ।

 त्यो भन्दा महत्वपूर्ण कुरा आफ्नो गाउँ समाज, टोल छिमेकलाई नजिकबाट बुझ्ने समय पनि हुन्छ । अर्थात हरेक कुरामा साक्षात्कार हुन्छ । अरुबेला सबै आआफ्नो काममा व्यस्त भएको कारण कसैलाई कसैसँग मतलब हुँदैन ।

यसपटक मेरो हकमा पनि त्यस्तै भयो । यसपटकको दशैं विदामा घर जाँदा आफ्नो गाउँ ठाउँको बारेमा बेग्लै अनुभव गरे । स्थानीय तहमा जनप्रतिनिधि भएको कारण गाउँगाउँमा विकासको मूल फुटेको कुरा सञ्चारमाध्यम लगायत अन्य माध्यमबाट सुन्दै आइरहेको थिए ।

 त्यही कुरा मेरो मानसपटलमा थियो । मेरो गाउँमा पनि सडक बनेको होला । पक्की सडक नभएपनि ग्राभेल त पक्कै पनि बनेको होला । बाटो फराकिलो भएको होला । शिक्षा, स्वास्थ्य, कृषिमा विगतको भन्दा केही सुधार होला भनि कल्पनासहित असोज १७ गते राती १२ वजे जब म आफ्नो गाउँ (सिरहा, औरही) पुगे ती सबै कल्पना भताभुङ भयो । आफ्नो घरसम्म गाडी कसरी लाने १० किलोमिटर परबाट नै चिन्ता गर्न लागेको थिए । बुवाले घरसम्म गाडी ल्याउन गाह्रो हुन्छ भनि मलाई भन्नु भएको थियो ।

त्यसपछि मेरो दिमागमा चुनावको समयमा लागेको नारा ‘गाउँगाउँमा सिंहदरवार’ नाचि रहेको थियो । काठमाडौंबाट स्थानीय तहको बारेमा सोचेको भन्दा धेरै भिन्न पाए । देशमा गणतन्त्र आइसकेको छ । सृमद्ध नेपाल, सुखी नेपालीको नारा दिएर सरकार विकासका लागि ‘डाडुपन्यु’ स्थानीय तहको जनप्रतिनिधिको हातमा थमाई सकेको छ ।

यस अवस्थामा पनि विकास भएन भने कहिले हुन्छ भनि मेरो बुझाई थियो । तर गाउँमा पुगे । ती सबै गलत सावित भयो । घर कसरी पुग्ने भनि मुख्यसडक (हुलाकी सडक) मै केही बेर अलमलमा परे । गाडी मुख्य सडकमै छाड्न पनि हिम्मत भएन  वैकल्पिक बाटो खोजेर जसोतसो आफ्नो घरसम्म गाडी लिएर पुगे । ड्राइभरले भन्नुभयो, ‘सर हामी गाडी लाइनका मान्छे, विभिन्न ठाउँ डुलिरहेका हुन्छौं, तर यो गाउँ जस्तो खतम गाउँ मैले कही फेला पारेको थिएन । लाग्छ यो गाउँमा जनप्रतिनिधि नै छैन ।’

धनुषा जिल्लाका ती ड्राइभरको कुरा सुनेर लाजले मेरो टाउको निहुरियो । म तत्काल कुनै जवाफ दिन सकिन । ‘के गर्ने यस्तै हो जाउँ’ भन्दा बाहेक अरु केही भन्न सकिएन । भोलीपल्ट विहान निस्कन खोज्दा हिडेर पनि सुगम तरिकाले घरबाट निस्कने बाटो थिएन ।

मैले पछि गाउँका अगुवाहरुसँग यो विषयमा जिज्ञासा राखे–‘गाउँको हालत किन यस्तो भयो, यस्तो त पहिला थिएन त ?’ उहाँहरुको एउटै जवाफ थियो,–तिमीहरुले मालिकलाई जिताएपछि यही हालत हुन्छ, अझै जिताउनुस् मालिकलाई अनि लिनु होला विकास ।’

आक्रोशपूर्ण जवाफलाई मैले राम्रोसँग बुझे । हो, वास्तवमा अहिले गाउँपालिकाका अध्यक्ष र सो गाउँपालिका प्रतिनिधिसभा सदस्यलाई जनताले मत दिएर जिताएका छन् । जित्नु भएका दुवैजना उच्च घरानाका व्यक्तित्व हुनुहुन्छ । अर्को भाषामा भन्ने हो भने उहाँहरु जमानाका जमिन्दारका छोराहरु हुनुहुन्छ ।

त्यो पनि एउटै परिवारका । गाउँघरमा अधिकाँशले उहाँहरुलाई ‘मालिक’ भनेर सम्बोधन गर्छन् । अहिले पनि उहाँहरुको सैयों विघा जमिन छ । सुने अनुसार उहाँहरुको पूर्खाहरु कुनै जमानामा देशमाथि नै शासन गर्ने हैसियतका हुनुहुन्थ्यो । उहाँहरुका हजुर वुवा र बुवा देशका मन्त्री भइसकेका व्यक्ति हुनुहुन्थ्यो । अर्थात अहिले साँच्चै नै उहाँहरु हाम्रो ‘मालिक’ बन्नुभएको छ ।

गाउँपालिकाको अध्यक्षमा सिद्धार्थ यादव र प्रतिनिधिसभा सदस्यमा सुरेशचन्द्र दास यादव जित्नु भएको छ । उहाँ दुवैजना औरही गाउँपालिका (औरही–५) का एउटै परिवारका हुनुहुन्छ । त्यतिमात्र होइन, उहाँहरु काँग्रेसबाट राताराता तत्कालिन माओवादी केन्द्रमा प्रवेश गरेर टिकट प्राप्त गरी चुनाव जितेका व्यक्ति हुनुहुन्छ । पैसा, धन, सम्पत्ती, शान, शौकतको कुनै कमी छैन ।

पैसा कमाउने के लोभ होला उहाँहरुलाई, जिताई दिउ, विकास गरि हाल्नु हुन्छ नि भनेर उहाँहरुलाई जनताले मत दिएर जिताएका थिए । तर जुन सोचका साथ उहाँहरुलाई जनताले मत दिएर जिताएका थिए त्यो अनुसारको अनुभूति गर्न सकिरहेको छैन ।

 त्यहाँ विकासको नाममा केही पनि भएको छैन भन्दा पनि हुन्छ ।

शिक्षा, स्वास्थ्य, कृषि लगायतका अवस्था पनि लथालिङ छ । गाउँपालिका प्रतिनिधिहरुको बीचमा रहेको आन्तरिक विवादका कारण परिषद्को बैठक सबभन्दा ढिलो बस्यो । भन्नलाई चौथो परिषद् भनेको तर तीनवटाको मात्र रेकर्ड भेटिन्छ । त्यसमा पनि कतिपय प्रतिनिधिले आफूलाई बैठकको बारेमा जानकारी नै छैन भन्छन् । विकासका कुनै योजना छैन । भएका योजनाहरुको फाइल पनि थन्केर बसेको छ । गाउँपालिकामा कार्यरत एक कर्मचारीका अनुसार स्थानीय तह गठन भएदेखि हालसम्म पुँजीगत खर्च (विकास) ५ करोड भन्दा बढीको भएको छैन । जहाँ ६० करोड भन्दा बढीको सम्पूर्ण बजेट देखिन्छ । यो जतिको लाजमर्दो अवस्था के हुन्छ कुनै गाउँपालिका लागि ।


परिषद् सकिसकेको छ तर गाउँपालिकाको वजेट कति हो त्यो कुराको जानकारी न कर्मचारीलाई छ, नकुनै वडा प्रतिनिधि, न शाखा, न इकाईलाई छ । कहाँ कहाँ के के विकास गर्ने त्यसको कुनै योजना पनि बनेको छैन । गाउँपालिकाका प्रतिनिधिहरुकै विवादका कारण त्यहाँ कर्मचारी टिक्दैन । गाउँपालिका गठन भएदेखि हालसम्म ५–६ जना अधिकृत सरुवा भइसकेका छन् ।

सरुवा भएका अधिकृतहरुको आरोप छ कि त्यहाँका जनप्रतिनिधिहरुले हुँदै नभएको कामलाई सदर गर्न दवाव दिन्छन्, विना मापदण्डका योजनाहरु सञ्चालन गर्न भन्छन्, चाहिँदो नचाहिँदो कुरामा उनीहरुले दवाव दिइरहेका हुन्छन्, त्यसले गर्दा त्यहाँ काम गर्न गाह्रो छ ।’

गाउँपालिकाका अधिकाँशको गुनासो छ कि गाउँपालिका अध्यक्षले मालिकपना देखाएर काम गर्दैनन् । पहिला जनप्रतिनिधि नहुँदा जति काम हुन्थ्यो त्यति काम पनि अहिले हुँदैन ।

भएका कामहरु पनि विवाद हुन्छ । जुन काममा पनि अध्यक्षले हस्ताक्षेप गरेका हुन्छन् कुनै पनि काममा ढंग पुगेको हुँदैन जस्ता गुनासो सुन्न पाइयो । सोही गाउँपालिका अन्तरर्गत रहेको खजनपुरका विजय यादव समाजवादी पार्टी, नेपालबाट प्रदेशसभा सदस्यमा जित्नु भएको छ ।

उहाँ अहिले प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री हुनुहुन्छ । समाजवादी पार्टी, सो गाउँपालिकामा प्रतिपक्षिको भूमिकामा रहेको छ । नेकपा पक्षधरले समाजवादी पार्टीका नेताहरुले काम गर्न दिइरहेको छैन भन्छन् भने समाजवादी पार्टी नेपालका नेताहरुले गाउँपालिका अध्यक्ष सिद्धार्थ यादव ढंग पुर्याएर, विधि र कानुन अनुसार काम नगरेको गुनासो गरिरहेका छन् ।

यी राजनीतिक खिचातानी र मालिकपनाको कारण औरही गाउँपालिका दिनदिनै पछाडी पर्दै गइरहेको छ । तर यसप्रति चासो लिने कोही भेटिएन । जोसँग कुरा गरे सबैले गुनासो मात्रै गरे तर यसलाई कसरी सुधार गर्न सकिन्छ त्यसका लागि पहल गर्ने सोच कसैमा देखिएन । गाउँका बुद्धिजिवी तथा युवावर्गले समेत स्वतन्त्र ढंगबाट गाउँको विकासका लागि पहल गरे भने केही हुने सम्भावना देखिन्छ नभए यी मालिकहरुबाट गाउँमा विकास हुने सम्भावना धेरै कम छ ।
(लेखक गोरखापत्रका पत्रकार हुनुहुन्छ

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..