» » गुरुशरण र शान्ति सदा, जसको यस्तो छ विगत

सिरहा गोलबजारकी शान्ति सदा र गुरुशरण सदाको चर्चा अझै सेलाएको छैन । नेपालको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ मा शान्ति सदाले गीत गाएपछि उहाँको मात्र होइन, उहाँका श्रीमान गुरुशरण सदाको पनि चर्चा भइरहेको छ । शान्ति सदाका श्रीमान हुनुहुन्छ गुरुशरण सदा । दुवैजना गायन क्षेत्रमै रमाई रहनु भएको छ । सिरहा गोलबजार ढोढनाका उहाँहरु मुसहर समुदायका हुनुहुन्छ । आर्थिक अवस्था कमजोर भएपनि गायन क्षेत्रलाई निरन्तरता दिनुभएका यी दुई जोडी एक अर्काका सहारा हुनुहुन्छ ।


गुरुशरण सदाका घरपरिवारले पनि उहाँहरुलाई गायन क्षेत्रमा साथ दिएको छ । गुरुशरणका आमाबुवाले उहाँलाई इट्टा भठ्ठामा काम गरेर हुर्काउनु भयो र पढाउनुभयो । अहिले सो परिवारले गुरुशरणलाई मात्र होइन, बुहारी शान्ति सदालाई पनि त्यतिकै माया गरेको छ ।

तराई मधेशमा विहे गरेर आएकी बुहारीलाई घरभित्रै राख्ने, बाहिर निस्केपछि घुँघटमा निस्कनु पर्ने हुन्छ । घुँघटमा भएपनि माइती जस्तो छुट हुँदैन ससुरालमा । तर, शान्ति सदाले आफ्नो माइती भन्दा बढी माया ससुरालमा पाउनु भएको छ । ससुरालबाट उहाँ स्कूल गएर पढ्नु भयो । स्कूलको पोशाक सर्ट र स्कर्ट लगाएर उहाँ पढ्नका लागि स्कूल जानु हुन्थ्यो । र, उहाँलाई स्कूल जानका लागि तयार गर्नुहुन्थ्यो उहाँको सासु आमा ।


यस्तो परिवार र परिवेश मधेशी समाजमा विरलै पाइन्छ । काठमाडौमा भएको रिएलिटी शो कार्यक्रममा भाग लिनका लागि शान्ति सादाले गाउँबाट सासु आमालाई पनि बोलाउनु भएको थियो । यसले पनि पुष्टि गर्छ कि सासु आमाले शान्ति सदालाई कति माया गर्नुहुन्छ ।

सासु आमाले बुहारीलाई गायनको क्षेत्रमा गरेको सहयोगको बारे सिरहाको गाउँगाउँमा चर्चा हुन्छ । बुबा जतन सदा र आमा रामबती सदाले इँटा उद्योगमा काम गरेर गुरुशरणलाई एमएड (नेपाली) सम्मको शिक्षा दिलाउनु त्यो परिवारका लागि चानचुने कुरा थिएन ।


त्यस्तै परिवारको हुनुहुन्थ्यो शान्ति सदा । गोलबजार मुसहर्नीयाका शान्ति सादाले पनि जंगलबाट घाँस दाउरा ल्याएर बेच्ने र त्यसबाट गुजारा गर्ने परिवारका हुनुहुन्छ । जनबनी (काम गरेवापत पाउने) गर्ने, अर्काको घरमा काम गरेपछि मात्र घरको चुल्हो बल्थ्यो उहाँको । त्यस्तो परिवारबाट जन्मेका हुर्केका शान्ति सादाका लागि गीत गाउँनु र यसरी गायन क्षेत्रमा जम्नु सपना जस्तो थियो तर उहाँ गाई वस्तु चराउन जाँदा एक्लैमा जोडजोडले गीत गाउनु हुन्थ्यो ।

 त्यो उहाँको स्वतन्त्रता थियो । आफ्नो प्रतिभालाई एक्लै प्रदर्शन गर्नुहुन्थ्यो । र आफै रमाउनु पनि हुन्थ्यो । कुनै साथी भाइले सुन्दा पनि उहाँले लाजले भुतुक्क हुन्थ्यो तर बेलाबेलामा लाग्थ्यो कि आफूले गाएको गीत अरुले पनि सुनोस् । साथीभाइले उहाँको गीत सुनेपछि भन्थे, ‘आहा तिम्रो स्वर कति मिठो भन्दा शान्ति सदाको खुशीको सीमा रहदैन्थ्यो । झन उत्साहित भएर जोड जोडले गाउँथे तर त्यो गुञ्जन, त्यो स्वर त्यही खुल्ला आकाशमा हराउँथ्यो । संगीत क्षेत्रमा जाने कुनै उपाय नै थिएन उहाँका लािग ।’

शान्तिको यात्रा
शान्ति सदाले कुनै औपचारिक कक्षाबाट आफ्नो पढाई शुरु गर्नुभएको होइन । सेभ द चिल्ड्रेनले गाउँ गाउँमा त्यतिबेला शुरु गरेको नौलो विहानी कक्षाबाट उहाँले आफ्नो पढाई प्रारम्भ गर्नुभएको थियो । उहाँले त्यहाँबाट लेख्न पढ्न जान्न थालेपछि उहाँ एकैपटक कक्षा ५ मा भर्ना हुनुभयो । अर्काको खेतमा काम गर्दै, जंगलबाट दाउरा ल्याएर बेच्दै जसोतसो उहाँले पढाईलाई निरन्तरता दिनुभएको थियो ।

शान्ति सदाको घरमा मात्रै होइन, उहाँको छिमेकमा पनि कसैको रेडियो थिएन । कहिले काहीँ विहे, मेलापात, चाड पर्वमा उहाँले गीत सुन्ने मौका पाउनु हुन्थ्यो । कहिले काहीँ मुसहर समुदायमा हुने नाचागानमा उहाँले गाउने मौका पाउनु हुन्थ्यो । र, त्यसमै उहाँ रोमान्चित हुनुहुन्थ्यो । गाउँमा कहिलेकाहीँ हुने नाचका लागि गीत गाएर शान्तिको मन अघाउँदैन्थ्यो ।
अघाउनका लागि उहाँ गाई वस्तु चराउन नै जानु पथ्र्यो । गाईवस्तु चराउन गएको बेला उहाँ धित मर्ने गरि गीत गाउनु हुन्थ्यो । एक दिन शान्ति सदाले चौरी (खेतबारी) मा गीत गाउदा उहाँको दीदीले सुन्नुभएको थियो ।
उहाँले पनि शान्ति सदालाई तिम्रो स्वर त राम्रै रहेछ, यसलाई निरन्तरता दिनुपर्छ भन्नुभएको थियो ।

त्यतिबेला पनि शान्ति सदालाई विश्वास लागेको थिएन । तर विस्तारै विस्तारै उहाँको स्वरको चर्चा हुन थालेको थियो । त्यसपछि गाउँमा हुने कुनै पनि कार्यक्रममा उहाँलाई बोलाएर गीत गाउन भनिन्थ्यो ।


गुरुशरण सदाको पनि बच्चैदेखि गीत गाउने रहर थियो । उहाँले पनि सानैदेखि गीत संगितमा रुची राख्नु हुन्थ्यो । तर उहाँसँग गीत सुन्ने कुनै साधन थिएन । कतै गीत बज्थ्यो भने गुरुशरण सदाको कान खडा हुन्थ्यो र त्यसको नजिक नजिक जानुहुन्थ्यो ।

उहाँको घरको अवस्था यस्तो थियो कि एउटा रेडियोसम्म खरिद गर्ने हैसियत थिएन । आफ्नो घरको भित्तामा कान थपेर अर्काको घरमा बजिरहेको गीत   सुन्नुहुन्थ्यो । त्यतिले नपुगेपछि गीत सुन्नकै लागि उहाँले इँट्टा भठ्ठामा काम गर्न जानुभयो । इँट्टा भठ्ठामा काम गर्ने मजदुरहरुले रेडियोमा गीत बजाउँदै काम गर्नुहुन्थ्यो । र, त्यो क्षण गुरुशरणका लागि निकै रुचीपूर्ण थियो । त्यतिकै सधै त्यहाँ गएर गीत सुन्न पनि सकिदैन्थ्यो । उहाँले गीत सुन्नका लागि भएपनि त्यहाँ काम गर्न थाल्नु भएको थियो ।

विवाह
इँटा भठ्ठामा काम गर्दै गीत सुन्दै उहाँले एसएलसी पास गर्नुभएको थियो । स्नातक र स्नातकोत्तर तहसम्मको पढाई उहाँले गोलबजारस्थित रामप्रताप रामप्रसाद जन्ता बहुुुमुखी क्यापसबाट पास गर्नुभएको थियो । गुरुशरण सदा स्नातक पहिलो वर्षमै अध्ययनरत हुँदा २१ वर्षको उमेरमा शान्तिसँग विवाह गर्नुभएको थियो । त्यतिबेला शान्ति सदा माध्यमिक तहमा अध्ययनरत हुनुहुन्थ्यो ।

माध्यमिक तहमा अध्ययनरत अवस्थामा विवाह बन्धनमा बाँधिएका शान्ति सदाको शिक्षा र सांगीतिक यात्रा गुरुशरण अर्थात ससुरालको घरबाट शुरु भएको थियो । गुरुशरणकै घरबाट उहाँले एसएलसी पास गर्नुभयो । पछि गायन क्षेत्र र पढाईलाई निरन्तरता दिँदै गएपछि बीएड (नेपाली) सम्म पढ्न भ्याउनुभयो ।


मुसहर समुदायमा छोरीको बिहे सानैमा हुने चलन छ । तर शान्ति सदा त्यसमा विद्रोह गर्नुभएको थियो । उहाँलाई पनि सानैमा विहे गर्न दवाव नपरेको होइन । तर उहाँले प्रतिवाद गर्नुभयो । मुसहरनियाँ गाउँ गोलबजारबाट सात किलोमिटर टाढा छ । गुरुशरण २० वर्षको हुँदा उहाँको बिहेको चर्चा चलेको थियो । उहाँका हजुरबाले गुरुशरणलाई पनि विवाह गर्न दवाव दिइरहनु भएको थियो । त्यतिबेला उहाँ ११ कक्षामा अध्ययन गर्दै हुनुहुन्थ्यो ।

उहाँले हजुर बुवाको कुरा काट्ने पक्षमा पनि हुनुहुन्थेन । निकै चुनौती थियो । एकातिर बुढेसकालका हजुरबुवाको इच्छा पूरा गर्नु थियो भने अर्को तिर पढाई पुरा गर्ने उहाँको इच्छा थियो । उहाँ दोधारमा पर्नुभएको थियो । तर हजुरबुवाको जिद्दको अगाडि गुरुशरणको केही चलेन । अनि उहाँले शान्ति सदा सम्झिनु भएको थियो । बाल क्लबकै कार्यक्रमका लागि दुवैजना एउटै बसमा काठमाडौंसम्म आउनु भएको थियो । बसमै दुवैजना बीच गहिरो चिनजान भएको थियो ।

संगित कक्षा
सानै उमेरदेखि गीत गाउने चहानालाई पनि उहाँले विवाहपश्चात पनि निरन्तरता दिनुभयो । गोलबजारमा गुरुशरणले स्टेसनरी पसल खोल्नु भएको थियो । विवाह पश्चात शान्ति त्यही पसलमा बस्नु हुन्थ्यो । ग्राहक नआएको समय उहाँले गीत गुनगुनाउनु हुन्थ्यो । उहाँको रहर थाह पाएर गुरुशरणले संगीतकक्षामा उहाँलाई राख दिनु भएको थियो । संगीतगुरु हुनुहुन्थ्यो सूर्यनारायण सिंह ।

 मुसहर जातिको उत्थानमा सक्रिय सवरी संकल्प समाज गोलबजारको पहलमा मैथिली संगीतका गुरु सूर्यनारायण सिंहले संगीत शिक्षा दिन थाल्नुभयो । र, शान्ति र गुरुशरणको संगित गुरु हुनुभयो सूर्यनारायण सिंह हुनुभयो । संगीत सिकेको ६ महिनामै इटहरीमा गीत रेकर्ड गराउन अवसर दिनु भएको थियो सूर्यनारायणले । शान्ति सदाको स्वरले नै सूर्यनारायणलाई प्रभावित पारेको थियो ।

सिंहले नै गीत संगीतमा पोख्त पारेर ‘शैया पैया परैछी’ गीतको रचना गरी ‘गुरुशरण शान्ति’ जोडीलाई रेकर्डिङमा पुर्याउनु भएको थियो । शान्ति सदाले गाउनु भएको गीत विवाह तथा मेलापात बजिरहेको अहिले पनि सुन्न पाइन्छ ।

सिंहकै पहलमा ती जोडीले भारतको इलाहाबाद प्रयाग संगीत विद्यालयमा संगीत शिक्षाको औपचारिक शिक्षाका लागि भर्ना हुनुभएको थियो । जातीय रूपमा विभेद गर्ने समाजमा दलित मुसहर समुदायका एउटा बुहारीलाई मञ्चमा गीत गाउनु र आफनो प्रतिभा देखाउन कठिन भए पनि संघर्ष यात्रालाई उहाँले कायम राख्नु भएको थियो । ।

बाल क्लब
रेडियो नेपालको बाल कार्यक्रमबाट प्रभावित भएका गुरुशरणले ०५३ सालतिर त्यस्तै बालगीत गाउनु भएको थियो । त्यो अवसर जुराइ दिएको थियो, ‘सिद्धार्थ बाल क्लब’ ले । एक गैरसरकारी संस्थामार्फत आएको बाल क्लब गुरुशरणका लागि अवसर बन्यो । त्यहाँ पढ्ने र गीत गाउने दुवै अवसर जुरेको थियो । गुरुशरण सदा जस्तै शान्ति सदा पनि ‘मिर्मिरे बाल क्लब’ मा आबद्ध हुनुहुन्थ्यो । गोठालामा गाएको गीत साथीहरूले बाल क्लबमा गाउन लगाउनु भएको थियो । अनि त उहाँले बाल क्लबमा बालअधिकारका गीत गाउन थाल्नु भएको थियो ।

शान्तिले गाएका गीतले उहाँको परिवार मात्रै होइन, ढोहरनियादेखि मुसहर्नियासम्म खुशीले मुग्ध बनाएको थियो । शान्तिले गाउनु यी दुई बस्तीका लागि मात्रै होइन, मुसहर जातिकै लागि ठूलो गर्वको कुरा थियो । मुसहर समुदायमा यसरी गीत गाएको भेटाको छैन । पहिलो मैथिली एल्बम २०६५ मा ‘शैया पैया परैछी’ र २०७४ मा मैथिलीमै दोस्रो एल्बम ‘हम छि सीता’ श्रोतामाझ ल्याउनु भएको थियो ।

 आर्थिक समस्याकै कारण पहिलो एल्बम निकालेको ९ वर्षपछि दोस्रो गीति एल्बम ‘हम छि सीता’ बजारमा ल्याउनु भएको थियो । यो लगत्तै ती जोडीले नेपाली गीत ‘रगत उस्तै काटिहेरांै हात, मानवभित्र छैन ठूलो जात’ र ‘ए कान्छी घुमाउँला तिमीलाई गोलबजार सहर’ पनि सार्वजनिक गर्नुभयो ।
यही भदौं २८ गते गुरुशरण र शान्तीले ‘युवा तिमी ध्रुवतारा हौ ...’गीति म्युजिक भिडियो सार्वजानिक गर्नुभएको छ । लक्ष्मी सिहंद्धारा रचित तथा शान्ति सदा र गुरुशरण सदाद्वारा स्वरबद्ध युवा तिमी ध्रुवतारा हौ गीतको म्युजिक भिडियो सार्वजानिक गरिएको छ । रियलटी शोबाट बाहिरीएपछि गुरुशरण र शान्तीले दिएको यो धमका हो ।

लक्ष्मी सिंह र दिल्लीरमण सिंंहको सहयोग तथा सवरी संकल्प समाज गोलबाजरको समन्वयमा एक कार्यक्रम गरी सो म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । श्रम सचिव विनोद जोशीको प्रमुख अतिथि तथा संगितकार सािहत्यकार एवम परमपरागत गायत तथा शाशस्त्रीय संगित विभाग प्रमुख धिरन्द्र प्रेमर्षिको विशिष्ट अतिथ्यमा सम्पन्न कार्यक्रमबाट म्युजिक भिडियो सार्वजानिक गरिएको हो ।

गीतका रचनाकार लक्ष्मी सिंहले मुसहर समुदाय तथा तराई मधेशकी महिला शान्ती सदाले ‘द भ्वाईस अफ नेपाल’ गाउनु भएको गीतको स्वरबाट प्रभावित भएर नै उहाँलाई आफूले यो गीत गाउन लागेको बताउनु भएको थियो । शान्ति सदाको गीतलाई युटयुवमा सुनेर मधेश मुलकी शान्ति सदाको लगनशिलता र संघर्षलाई नेपाली संगितमा क्षेत्रमा पहुच बढाउने उद्दश्यले सहयोग गरेको उहाँले बताउनुभयो । शान्ति सदा तथा गुरुशरण सदाका नामक च्यानलबाट सार्वजानिक गरिएको उक्त भिडियोलाई युवा जनजीवनलाई प्रभावित पार्ने गीत रहेको छ ।

परिवार
गुरुशरण सदाको परिवारको आर्थिक अवस्था पहिला भन्दा सुधार भएको छ । गुरुशरण आफै काठमाडौमा एउटा आइएनजीयोमा काम गरिरहनु भएको छ  भने अर्को भाइ वैदेशिक रोजगारीमा मलेसियामा हुनुहुन्छ । अर्को भाइ गोलबजारमा एउटा समाजिक संस्थामा कार्यरत छन् । एउटा वहिनी छिन् र उनको विहे भइसकेको छ । शान्ति सदा काठमाडौस्थित गुरुकुल पाठशालामा गुरुदेव कामतसँग गायनको शिक्षा लिइरहनु भएको छ । गुरुशरणका दुईजना छोरा–छोरी छन् ।

छोरा तीन कक्षामा पढिरहेको छ भने छोरी युकेजीमा बढीरहेकी छिन् ।


आमा–बुवाले इट्टा भठ्ठामा काम गर्न छाडेको तीन वर्ष भइसकेको छ । छोराहरु कमाउन थालेपछि घरमै बस्नु थाल्नुभयो । तर उहाँहरुले त्यतिकै हातमा हात राखेर बस्न सक्नु भएन । सधै काम गर्ने बानी परेकाले त्यतिकै घरमा बस्नु भन्दा केही गरौं भनि उहाँहरुमा सोच आयो । त्यसपछि छोराहरुले घरमै सानो किराना पसल खोलि दिएका छन् । गुरुशरणका आमा बुवा त्यसैमा टाइम पास गर्नुहुन्छ । गुरुशरण र शान्ती सदा छोरा–छोरीसहित काठमाडौमा बस्नुहुन्छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..