» » मधेशी नेताको नैतिक धरातल (फरकमत)

–अनन्त अनुराग

मधेशका एकजना चर्चित सन्चारकर्मीले बारम्बार एउटा थेगो प्रयोग गर्नुहुन्छ, ‘जय मधेश कहेगें, मधेशको लुटेगें’ । यो लाइनप्रति म बारम्बार घोत्लिए । अथ्र्याउने प्रयास गरे । तैपनि केही सीप नलागेपछि एकदिन चिया खाने बहानामा उहाँसँग भेटेर यहो कुरा कोट्याए ।

 मधेशप्रति उहाँको असन्तुष्टि सुन्न लायकको थियो जुन यथार्थ थियो । मलाई सबै कुरा सुनाए पछि अन्त्यमा भन्नुभयो, ‘जय मधेश कहेगें, मधेशको लुटेगें’ ।

यो छोटो लाइन उहाँहरुको लागि फिट छ जो मधेशी जनतालाई भ्रममा राखेर मधेशलाई लुट्ने काम गर्नुएको छ । 

पहिलो मधेश आन्दोलनबाट अहिलेसम्मका मधेश केन्द्रित दलका गतिविधि हेर्दा केही कुरा स्पष्ट रुपमा सजिलै बुझन सकिन्छ कि दलसँग मुद्दा, एजेण्डा  र नेतृत्वको विषयमा जहिले पनि दिशा विहिन र नेतृत्वको असक्षमता देखिन्छन् । 

मधेश केन्द्रित दलको बोली र व्यवहारमा एकरुपता छदैछैन् । बोल्ने एकथरी र गर्ने अर्काेथरी अहिले मधेश केन्द्रित दलको नीति र नियत नै बनि सकेको छ । न मुद्दामा प्रगति, न संगठनमा सक्रियता र न नेतृत्वमा मतैक्यता मधेशी दलको निरन्तरको पिडा हो यो ।

 पछिल्लो समय २०७२ साल असोज ३ गतेको मितिलाई लिएर मधेशमा विभिन्न टिकाटिप्पणी भइरहेको सुनेको छु । असोज ३ गते अर्थात संविधान जारी भएको मिति । देशमा दुई फरक दृश्य देख्न पाइएको थियो । एकातिर संविधान जारी गरेको उल्लासमय वातावरण र अर्कोतिर तराई मधेशका जिल्लामा ब्ल्याक आउट ।
त्यसपछिका वर्षमा मधेश केन्द्रित दलले असोज ३ लाई कालो दिवसको रुपमा विभिन्न विरोधका कार्यक्रम आयोजना गरी संविधानप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

 तर, २०७४ को निर्वाचनपछि कालो दिवस मनाउने वा नमाउने विषयमा फरक मत राख्ने क्रम शुरु भएको हो । हुनु पनि स्वभाविक हो । निर्वाचनपछि तत्कालिन दुई मधेश केन्द्रित दलको स्वरुप र व्यवहार पनि फरक भएको देखिन्छ । निर्वाचनले प्रदेश २ मा मधेश केन्द्रित दललाई झिनो बहुमत प्राप्त भयो भने, केन्द्रमा पनि सामान्य उपस्थिति देखाउन सफल भयो । तर सरकारमा सहभागीको विषयमा तत्कालिन संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीबीच फरकमत देखियो ।

सरकारसँग देखावटी सहमति पत्रमा हस्ताक्षर गरी तत्कालिन फोरम दुई मन्त्रालय लिएर सरकारमा सहभागी भयो । यता राजपा नेपाल सरकारमा सहभागी नहुने तर संविधान संशोधन गर्ने मौखिक शर्तमा प्रधानमन्त्रीको निर्वाचनमा केपी शर्मा ओलीलाई मतदान गर्न राजी भयो ।

यद्यपी राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिई सकेको छ । तर अनौपचारिक रुपमा सरकारमा सहभागि हुन खोज्ने कुनै पनि अवसरलाई सदुपयोग गर्न चुकेको छैन, भलै ओली सरकारले राजपालाई सरकारमा ल्याउने त्यति इच्छाशक्ती देखाएका छैनन् ।


अहिले राजनीतिक नेतृत्व स्तरमा मात्र होइन, बौद्धिक, पत्रकार, व्यावसायी, युवा, विद्यार्थी बीच नै असोज ३ लाई कालो दिवस मनाउने वा नमाउने विषयमा मत मतान्तर देखिन्छन् । स्वभाविक रुपमा संविधान कुनै बाइवल, कुरान, महाभारत र रामायण होइन कि एक पटक लेखेपछि सधैं रही रहने । नेपालको संविधान जनताको चाहना र आवश्यकता अनुसार परिमार्जन गर्दै जाने गतिशिल दस्तावेज हो ।


सत्य त के हो भने, मधेशी जनताले संविधानलाई पूर्ण रुपमा अस्विकार गरेको हुँदै होइन । मधेशी जनताले संविधानका केही धारा र उपधारामा संशोधन चाहेको छ । आफूमाथि अन्याय भएको, ठगिएको र राज्यद्धारा आफूलाई पेलिएको महसुस गरेका छन् । राज्यले ती असन्तुष्टिका स्वरहरुलाई समायोजन र सम्बोधन गर्ने दिशातर्फ पहलकदमी लिनु जरुरी छ । राज्यले आफ्ना जनताको गुनासोलाई उचित तरिकाले समाधान गर्नु प्रमुख दायित्व हो ।


हरेक व्यक्ति, राजनीतिक दल, अभियानकर्ता, बौद्धिक जमात, पेशाकर्मी मधेशको जायज माग प्रति एकमत छन तर मधेश आफनो विर्ता भएको ठान्ने मधेश केन्द्रित दलको नेतृत्व प्रति किन असन्तुष्टि व्यक्त गर्छन् । हुन पनि हो, मधेश केन्द्रित दलका नेतृत्वको कर्तुत नै यस्ता छन् कि हिजो साथ रहेका आज साथ छैन । हिजो समर्थन गरेकाहरु आज समर्थनमा छैन । मुद्दामा समर्थन गरे पनि तिनका नियत र शैलीप्रति समर्थन गर्ने लायकको छैन ।

नेतृत्वले भनेका विषय प्रति तिनै दलका झण्डा मुनि रहेका नेता तथा कार्यकर्ता समेत खुलेआम असहमति र विरोध गर्दै हिडेका छन् । उदाहरणका लागि राजपा नेपालको पछिल्लो एकिकरण प्रक्रियालाई हेर्नुस् त केही नेतालाई आजको आजै एकता भई जाओस भनेर लागि परेका छन् भने तीमध्येका कतिपय नेतालाई कुनै पनि हालतमा एकता हुनुहुँदैन तर्क राख्छन् ।

हिजो कालो दिवस मनाउने राजपा नेपाल आज विरोध दिवस मनाउन उर्दी जारी गरेका छन् । तत्कालिन फोरम अहिलेका समाजवादी पार्टी संविधान संशोधन होइन पुर्नलेखन गर्नुपर्ने मागबाट पछि हटेर अहिले संशोधन हुनुपर्ने, प्रदेश र केन्द्र सरकारमा सहभागि भएको हुनाले न असोज ३ मा संविधानको विरोधमा कालो दिवस मनाउने न खुशियाली मनाउने दोधारे नीति लिएको देखिन्छ ।


त्यसो त अहिले मधेशमा अर्काे पनि नयाँ तरिका देख्न पाइन्छ । मधेशका नेताहरुले जे भन्नुहुन्छ, त्यसमा सही थप्दै जानुभयो भने तपाईका लागि नेता तथा कार्यकर्ताबाट प्रशंसामा पुलहरु थपिदै जानेछन् । तर, जब तपाई कुनै विषय वा नेतृत्वको गलत प्रवृति बारे फरक विचार राख्नु हुन्छ, अनि तिनीहरुले तपाइँको नामको पछाडि एउटा शब्द र विश्लेषण भिडाउने छन् ती हुन्, मधेशी विरोधी, पेट पाल्नका लागि राज्यद्धारा परिचालित आदि आदि ।

के नेताहरु मधेशी जनतालाई ढाट्ने, ठग्ने, झुठो बोल्ने, उचाल्ने र देशमा अशान्ती फैलाउने दुरनियतबाट ग्रसित छैन ? के मधेश केवल केही व्यक्तिको पुर्खाले अर्जेको व्यक्तिगत सम्पती हो र ? मधेशी दलका नेतृत्वका लागि मधेशका माग र मुद्दा कहाँ र कसरी प्राथमिकतामा छन् ? उपेन्द्र यादवजी सरकारका मन्त्री हुनुहुन्छ मधेशको माग र मुद्दामा के प्रगति भयो ? निर्वाचित सांसद रेशम चौधरी जेलमा छन, उनका लागि उपेन्द्र यादवले कति पटक संसद र सरकारलाई घचघचाउनु भएको छ ? यस्ता अनेकन प्रश्नहरु छन् ।


के संविधानको तहत सरकारमा रहेका व्यक्तिले संविधानको विरोध गर्ने नैतिकता राख्छन् ? त्यहि संविधान अनुसार निर्वाचनमा भाग लिने, त्यही संविधान अनुसार सांसद र मन्त्री बन्ने, त्यही संविधान अनुसार मन्त्रीको पद तथा गोपिनियताको सपथ ग्रहण गर्ने, त्यही संविधान अनुसार मन्त्री, सांसदको सेवा सुविधा लिने । र त्यही संविधानलाई विरोध गर्ने कालो दिवस मनाउने, के राजनीतिमा नैतिकता मरेकै हो त ।


प्रदेश २ का एकजना युवा नेता राज्यमन्त्री समेत रहनु भएका सुरेश मण्डलले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेख्नु हुन्छ,– नेपालको संविधान अनुसार होइन, मधेसी जनताको जनादेश अनुसार प्रदेश सरकारमा छु । किनभने हामीले मधेसी जनता समक्ष “अब कि बार ( मधेस सरकार“ को संकल्प गरेका थियौं ।

जुनदिन मधेसी जनताले प्रदेश सरकारमा बस्नुको औचित्य छैन भन्नेछन, म साँझको बिहान पर्खिने बाला छैन । सरकारमा रहँदैमा मधेस र मधेसी बिरोधी संविधानको स्वागतमा दिपावली मनाउन बाध्य छैन । मधेसी, जनजाति, दलित, महिला, मुस्लिम र थारु बिरोधी संविधानमा अर्थपूर्ण संसोधन नभएसम्म मेरो बिरोध जारी नै रहने छ । जयमधेस ।’

उहाँको यो तर्क कति न्याय संगत छ ? यो भनाईबाट उहाँले नेपालको संविधान अनुसार सांसद र मन्त्री भएको होइन भन्ने तर्कना गर्दैन ? यति सम्मको कुर्तक गर्न पाइन्छ ? के मधेशका जनता नेपालको संविधान भन्दा बाहिर छन् ? देश भनेको मधेश, मधेश भनेको देश भित्र पर्दैन ? यति सम्मको बठ्याइँ र धुर्तियाँई गरेर जनतालाई दीगभ्रमित गर्न छुट छ ?

के मधेश केन्द्रित दलहरु स्थानीय निर्वाचनमा भाग लिएका होइनन् र ? के मधेशी दलबाट निर्वाचित स्थानीय तहका प्रमुखहरुले सेवा सुविधा लिएका होइनन् र ? के प्रदेश २ को सरकार नेपालको संविधान अनुसार चलेको होइन वा नेपालको संविधान मान्दैन ? के मधेशी दलहरु संघीय संसदमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखको निर्वाचनमा भाग लिएको होइन ? मधेशी दलका नेताहरु नेपालको पासपोर्ट, नागरिकता बोकेका छैनन् ? कुनै एउटा काम देखाई दिनुस् जुन काम मधेशी दलका नेताहरुले संविधानविना गरेको होस् ।

के नेपालको संविधान अनुसार मधेशी नेताहरुले निर्वाचन आयोगमा पार्टी दर्ता गराएको होइन ? यो प्रश्नको उत्तर कसले दिने ? आफू सबै मान्ने तर जनतालाई उचाल्नका लागि संविधान दिवसको दिन कालो दिवस मनाउन दवाव दिन मिल्छ ? यो कुर्तक मात्र होइन जनता जनताबीच भिडाउने कुनियत हो ।

मधेशी दललाई आफ्ना जनता र मतदातामाथि पटक्कै विश्वास छैन । सडकको शक्तिमाथि विश्वास छैन । फेरि यस्तो अवसर पाउने कि नपाउने मनोविज्ञानले ग्रसित पनि हुनसक्छ । यदि साच्चिकै संविधानको विरोध गर्ने हो भने पद, पैसा र सत्ताको मोह त्यागेर सडकमा जानुस् अनि संविधान दिवसको दिन कालो दिवस मनाउनु होला ।

असोज ३ गते विरोध गर्ने नैतिकता र क्षमता राख्ने समुहले पनि पद, सत्ता र सरकारी ढुकुटीमा मौज गरी रहेकाहरुलाई बहिष्कार गरी स्वयं आफनो नेतृत्वमा अगामी आन्दोलन हाक्न सक्नु पर्दछ । अथवा कालो दिवसको विकल्पमा अन्य शब्दावलीको खोजी गरौं । म त कालो दिवस होइन, मधेशी जनताको असन्तुष्टि दिवसको रुपमा व्यख्या गर्न चाहन्छु ।

निष्कर्षमा यति लेखिरहँदा संविधानमा खोटै छैन भन्न र पुष्टि गर्न खोजेको होइन, संविधानका अझै कतिपय प्रावधानहरु परिमार्जनको आवश्यकता छ । त्यसको लागि सार्थक संवाद र प्रयासको आवश्यकता छ । घुर्की, धम्की र निम्छरो शैलीले मधेशी जनताको माग पुरा नहुने समयक्रमले पुष्टि गरेको छ । मधेशको राजनीतिक अहिले कज्फ्युज, कन्ट्रोभर्सी र कोल्याप्सको दिशा तर्फ अगाडि बढेको छ । त्यसमा सचेत हुनु पर्ने जरुरी देखिन्छ ।
(पत्रकार अनुराग एबीसी टेलिभजनमा कार्यरत हुनुहुन्छ)

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..