» » जयशंकरको नेपाल भ्रमणले दिएको सन्देश

–सुरेशकुमार यादव
भदौं ४ गते भारतीय विदेश मन्त्री एस.जयशंकर नेपालको भ्रमण गर्नुभएको छ । दुई दिन नेपालमा रहनु भएको जयशंकर उच्चस्तरीय भेटघाट गर्नुको साथै दुई देशबीचमा हुने केही सन्धी सम्झौताप्रति सहमति जनाउने काम भएको छ ।

 राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु डा.बाबुराम भट्टराई, शेरबहादुर देउवा तथा राष्ट्रिय जनता पार्टी, नेपाल र समाजवादी पार्टीका शीर्ष नेताहरुसँग समेत भेटघाट गर्नुभयो ।

यस प्रकारको भेटघाटलाई कतिपयले सम्बन्ध सुधारको प्रारम्भ बिन्दु हो भनेका छन् भने कतिपयले भारतले आफ्नो दवदवा कायम गर्न यस्तो भेटघाट गर्नुभएका हो । नरेन्द्र मोदी भारतको प्रधानमन्त्रीमा शपथ लिएपछिको नेपालमा भारतको तर्फबाट भएको भ्रमणमध्ये सबभन्दा उच्चस्तरीय भ्रमण हो ।


नाकाबन्दीलाई लिएर दुई देशबीच देखिएको असमझदारी र मनमुटाव अन्त्य गर्न भारतको तर्फबाट यसअघि नै प्रयास भएको कुरा प्रष्ट बुझ्न सकिन्छ । प्रतिनिधिसभाको चुनाव सकिएपछि भारतका तत्कालिन विदेशमन्त्री सुष्मा स्वराज नेपाल भ्रमणमा आउनु भएको थियो ।

उहाँले विभिन्न राजनीतिक दलका नेताहरुलाई भेट्नुका साथै विशेष गरी तत्कालिन वाम गठबन्धनका नेता केपी शर्मा ओली र पुष्कमल दाहाल ‘प्रचण्ड’ लाई भेट्नु भएको थियो । चुनावबाट सबभन्दा ठूलो शक्तिको रुपमा आएको वामगठबन्धनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेषदुत भएर शुभकामना दिन आउनुभएको थियो ।


केपी शर्मा ओलीले प्रधानमन्त्रीमा शपथ नलिँदै प्रधानमन्त्री मोदीले फोन गरेर बधाई तथा शुभकामना दिनुभएको थियो । त्यतिले नपुगेपछि उहाँले तत्कालिन विदेशमन्त्री स्वराजलाई नेपाल पठाउनु भएको थियो । उहाँ त्यतिबेला नेपाल आउनु सम्बन्ध सुधारका लागि भारतले हात अगाडि बढाएको संकेत दिइसकेको थियो । अहिले मन्त्री जयशंकरको नेपाल भ्रमण त्यसैको निरन्तरता हो ।

 नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आएपनि उहाँले जुन स्तरको भेटघाट गर्नुभयो । त्यसले नेपाल–भारतको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको पुष्टि भएको छ । त्यति जयशंकर हुनुहुन्छ, जो तत्कालिन विदेश सचिवको रुपमा नेपाल आउँदा हँगमा भएको थियो ।


अहिले जुन जे पात्र (पदीय पात्र) लाई उहाँले भेट्नु भएको छ, त्यतिबेला पनि त्यसैगरि भेट्नु भएको थियो । नेपालमा सविधान निर्माणको कार्य चलिरहेको थियो । मधेशवादी दलको आन्दोलन पनि जारी थियो । सविधानमा मधेशी, आदिवासी जनजातिको माग समावेश हुनुपर्छ भनि माग गर्दै आन्दोलन चलिरहेको थियो । त्यही बेला विदेश सचिवको रुपमा प्रधानमन्त्री मोदीको विशेषदुत भएर उहाँ नेपाल आउनु भएको थियो ।

 आउने वित्तिकै उहाँले तत्कालिन एमालेका अध्यक्ष केपी शर्मा ओली, त्यसपछि तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्नु भएको थियो ।

त्यसपछि प्रधानमन्त्री सुशिल कोइराला, तत्कालिन राष्ट्रपति डा.रामबरण यादव तथा अन्य शीर्ष नेताहरुलाई भेट्नु भएको थियो । नेपालले निर्माण गर्न लागेको सविधान सबै नेपालीको साझा सविधान होस्, सबैको साझा फुअहिले सडकमा भइरहेको आन्दोलनको माग पनि सम्बोधन होस् जस्ता सुझाव दिनुभएको थियो । वार्ता र संवादका लागि भएपनि केही दिनका लागि सविधान निर्माणका कार्यलाई स्थगित गर्न पनि सुझाव दिइएको थियो ।


उहाँको सुझावलाई कदर गर्दै सविधान निर्माणको कार्य दुईदिनका लागि स्थगित भएको थियो । त्यो दुई दिनमा आन्दोलनकारीसँग कुनै प्रकारको संवाद र छलफल भएन । तत्कालिन सचिव जयशंकर भारत फर्केपछि मधेशवादी दलको आन्दोलनको क्रममा नाकामा धर्ना बसेको कारण नाकाबन्दी भएको थियो । तर त्यो नाकाबन्दी भारतको सहयोगमा भएको आरोप नेपालको तर्फबाट लाग्न थाल्यो ।

भारतले आन्तरिक रुपमा मधेशवादी दललाई नाकाबन्दी गर्नमा सहयोग पुर्याएको थियो कि थिएन त्यो कुरा अहिलेसम्म पुष्टि भएको छैन । जयशंकर नेपाल आएर सविधान निर्माण कार्य बन्द गरेर सबैको माग सम्बोधन गर्न दिएको दवावले काम नगरेपछि भारतले नाकाबन्दी लगाएको कुरा बाहिर आयो । नेपाल सरकारले पनि आधिकारीक रुपमै त्यो कुरा भन्न थाल्यो ।

 तर भारत सरकारले हालसम्म नाकाबन्दीको कुरा स्वीकार गरेको छैन । भारतले नाकाबन्दी लगाएको कुरा कहि कतै आधिकारिक जानकारी वा प्रमाण फेल परेको छैन । यद्यपी त्यतिबेला भारतको गतिविधि र व्यवहारले नै नाकबन्दीमा उसको हात रहेको अनुमान सबैतिर भएको छ । यो तथ्य आज न भोली सामुने आउने नै छन ।


जे होस् त्यो नाकाबन्दीका कारण नेपाल–भारतबीच देखिएको मिस अण्डरस्ट्याण्डिङ दुर हुने भएको छ । जयशंकर जुनस्तरमा भेटघाट र छलफल गर्नुभएको छ । त्यसले अब दुई देशको बीचमा कुनै मनमुटाव छैन भनि स्पष्ट भएको छ । नेपाल–भारत संयुक्त आयोगमा भाग लिन नेपाल आउनु भएका जयशंकरले जसरी आउने वित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नु भयो त्यसपछि मात्र आयोगको कार्यक्रममा सहभागी हुनुभयो त्यसले पुष्टि हुन्छ कि भारतले दुई देशको सम्बन्धलाई अझै बलियो बनाउन चाहन्छ ।

यदि मनका कुनै किसिमका छलकपट भएको भए आयोगको कार्यक्रममा सहभागी भएर समय रहेको भए समान्य शीष्टाचार भेटघाट गरेर पनि फर्किन सक्नु हुन्थ्यो । उच्चस्तरीय भेटघाटलाई महत्व नदिँदा पनि हुन्थ्यो । तर जयशंकरको यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई झन उचाईमा पुर्याएको छ ।


हुन त नेपाल–भारत संयुक्त आयोग दुई देशबीचको सम्बन्धमाथि विचार विमर्श गर्ने मञ्च हो । यो मञ्चमा दुई देशका विदेशमन्त्री स्तरको बैठक बस्छन् र त्यसमा हरेक विषयमा छलफल हुन्छ र त्यहाँबाट केही निकास निकाल्ने प्रयास हुन्छ । तर बिडम्बना विदेशमन्त्री स्तरको सो आयोग गठन भएको ३२ वर्षमा जम्मा चारपटक बैठक बसेको छ । पछिल्लो बैठक बस्ने तयारी भइरहेको बेला भारतमा चुनाव शुरु भएको थियो । त्यही कारण बैठक बसिरहेको थिइन । बैठक बस्ने तयारी पनि भएको थियो ।

 तर चुनावका कारण तत्कालिन विदेश मन्त्री सुष्मा स्वराज आयोगमा सहभागी हुन सक्नुभएन । र, पाँचौँ बैठक भदौ ४ गते बस्यो । त्यसमा भाग लिनका लागि जयशंकर नेपालमा आउनु भएको थियो । नरेन्द्र मोदी पुनः प्रधानमन्त्रीमा आएपछि विदेश सचिवबाट अवकाशप्राप्त जीवन बिताइरहनु भएका एस.जयशंकरलाई विदेश मन्त्री बनाउनु भयो ।

जयशंकरलाई अमेरिका र चीन मामिलाका विज्ञ मानिन्छ । उहाँ विदेश मन्त्रालयमा कार्यरत रहँदा अमेरिका र चीनमा काम गरिसक्नु भएको छ । त्यसैले उहाँलाई त्यहाँका लागि जानकार मानिन्छ ।

 उहाँ विदेश सचिव हुँदा भारतका लागि त्यहाँका कतिपय समस्या समाधान गरेर आफ्नो विज्ञतालाई पुष्टि गर्नुभएको थियो । अमेरिका र चीनसँग यस अवस्थामा भारतको जुन खालको सम्बन्ध छ, जुनको खालको कुटनीति सम्बन्ध अगाडि बढी रहेको छ, त्यसमा जयशंकरको आवश्कता देखेर नै उहाँलाई विदेश मन्त्री बनाइएको हो । जयशंकर त्यसका लागि फिट रहेको बुझाई प्रधानमन्त्री मोदीको छ ।

जयशंकर यो बीचमा चीन र अमेरिकाको भ्रमण गर्नुभयो । असोजमा मोदी अमेरिका जाने कार्यक्रम रहेको छ भने चीनका राष्ट्रपति सी चिनफिङ भारत आउने र उतैबाट नेपाल पनि आउने कार्यक्रम रहेको छ । यस हिसाबले जयशंकर सफल कुटनीतज्ञमा सावित भइरहनु भएको छ ।


तर उहाँले विदेश मन्त्रीमा सपथ लिइरहँदा यता नेपालमा उहाँको विरोध भइरहेको थियो । प्रधानमन्त्री मोदीले जयशंकरलाई विदेश मन्त्री बनाउँदा नेपालमा उहाँको चर्चाले ठाउँ पाएको थियो । मानौ नेपालमा पुनः नाकाबन्दी लगाउनका लागि प्रधानमन्त्री मोदीले जयशंकरलाई विदेश मन्त्री बनाउनु भएको हो ।

 विदेश मन्त्री भएपछि पहिलो काम नेपालमाथि नाकाबन्दी नै लगाउनु हुनेछ जस्तो मनोविज्ञानमा प्रचार भइरहेको थियो । समाजिक सञ्जालदेखि ठूला मिडियाको समाचार कोलमदेखि लेख विचारको कोलममसम्ममा जयशंकर र मोदीको चर्चा भएको थियो । समाजिक सञ्जालमा जयशंकरकै चर्चा हुन्थ्यो त्यतिबेला । त्यो चर्चामा सकारात्मक भन्दा नाकारात्मक टिप्पणीहरु बढी देखिन्थे । त्यसबाट यो लाग्थ्यो कि जयशंकर नेपाल आएपछि त्यो विरोध हुन्छ ।

विमानस्थलको सडकमा काला झण्डा देखाउनु लिएर माइतीघरमा प्रदर्शन समेत हुने भनि आशंकाहरु भएको थियो । त्यसका लागि सुरक्षा सतर्कता पनि अपनाईको थियो ।

तर त्यस्तो केही भएन । यसबाट पनि पुष्टि हुन्छ कि नेपाली जनता पनि कति सहनशील र नरम छन् । कही कतैबाट कुनै पीडा पाएका छन् भने त्यसलाई चाँडै बिर्सिने र त्यसलाई सहज रुपमा लिइ दिने क्षमता भएका नेपाली जनता नै हो । दुईतर्फबाट भ्रमणमा देखाएको सजहजताले विदेश मन्त्री जयशंकरको नेपाल भ्रमणले नेपाल–भारतबीचको सम्बन्धमा एक इट्टा थपिमएको भन्न सकिन्छ ।

दुवै देशले यो भ्रमणलाई उपलब्धीको रुपमा लिएको छ । नेपाल भ्रमण सकाएर स्वदेश फर्केपछि भारतका विदेशमन्त्री जयशंकरले दुई देशबीचको सम्बन्धको बारेमा छलफल हुनुको साथै विभिन्न क्षेत्र पहिचान गरी उपलब्धिमूलक छलफल भएको ट्विट गर्नुभएको थियो ।

 नेपाल भारत संयुक्त आयोगको बैठकमा जयशंकरले नेपालमा राजनीतिक स्थायित्व र विकास चाहेको प्रष्ट पार्दै क्षेत्रीय शान्तिमा जोड दिनुभएको सन्देश पनि बाहिर आएको थियो । यता नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि भ्रमणले दुई देशबीचको समबन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको प्रतिकृया दिनुभयो । संयुक्त आयोगको बैठकमा सन् १९५० को सन्धिको पुनरवलोकनको खाका तय गर्न सहमति जुटेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिकृया दिनुभएको थियो ।

दुई देशको विदेश मन्त्रीले दिएको यो अभिव्यक्तिले पनि यो भ्रमण नेपाल–भारतका लागि फलदायी भएको बुझ्न सकिन्छ । यो भ्रमणको बारेमा बाहिर खासै टिकाटिप्पणी र आलोचना भएन । अधिकाँशले भ्रमण सफल भएको भनि टिप्पणी गरेका छन् । जयशंकरको भ्रमणले दुई देशका लागि सकारात्मक संकेत गरेको परराष्ट्रविद् भेषबहादुर थापाले आफ्नो प्रतिकृया दिनुभएको छ ।


त्यसैगरी नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले दिएको प्रतिवेदन पनि भारत सरकारले बुझ्ने संकेत पनि यो भ्रमणले दिएको छ । प्रतिवेदन बुझ्ने नबुझ्ने अन्योल रहेको बेला विदेश मन्त्री जयशंकरले उपयुक्त समयमा प्रतिवेदन बुझ्ने कुरा बैठकमा राख्नुभएको थियो । इपीजीको प्रतिवेदनप्रति भारत सरकार पनि सकारात्मक रहेको सन्देश आयोगको बैठकले दिएको छ । दुवै देशको प्रधानमन्त्रीले प्रतिवेदन बुझिसकेपछि परराष्ट्र सचिव स्तरमा बहस र छलफल भएर कार्यान्वयनमा ल्याउने छ ।

इपीजी प्रतिवेदन, दुई देशबीच विभिन्न समयमा भएको सन्धी सम्झौता लगायतको विषयमा खुलेर छलफल गर्नुभयो । इपीजी प्रतिवेदनको बारेमा यसरी दुई देशको बीचमा यसरी औपचारिक रुपमा कहिले छलफल भएको थिएन । नेपाल–भारत संयुक्त आयोगको बैठकमा इपीजीको विषय प्रवेश पाउनुलाई सकारात्मक रुपमा लिनुपर्दछ ।


वर्षाका कारण नेपालका दक्षिण भेग जहिले पनि डुवानमा पर्ने गरेको छ । भारतले सीमा क्षेत्रमा बाँधेको बाँधका कारण नेपालको भूभाग डुब्ने गरेको भनि नेपाली पक्षको आरोप छ । तर भारत त्यो मान्न तयार छैन । भारतले भन्दै आएको छ कि नेपालको भूभाग मिचेर कही बाँध बनाएको छैन । कही बनाएको छ भने भारतीय जनताको सुरक्षाका लागि मात्र आफ्नो भूमीमा बाँध बनाएको छ ।

यदि नेपाललाई कुनै ठाउँका लागि आपत्ति छ, चित्त बुझेको छैन भने त्यसमा खुलेर बहस गर्न सकिन्छ, त्यसलाई छलफलको माध्यमबाट सल्टाउन सकिन्छ । विदेश मन्त्री जयशंकरको भ्रमणको विभिन्न एजेण्डामध्येको एउटा बाढी पनि मुख्य एजेण्डा रहेको थियो ।

नेपाली काँग्रेसका सभापति सभापति शेरबहादुर देउवा, समाजवादी पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई, उपेन्द्र यादव र राजपा नेपालका नेताहरु महन्थ ठाकुर, राजेन्द महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादवसँग विदेशमन्त्री जयशंकरले गर्नुभएको भेटघाटमा बाढीको विषयले प्राथमिकता पाएको थियो । नेताहरुले जयशंकर समक्ष नेपालको दक्षिण भेग डुवान पर्नुको कारणमा भारत देखिएको छ, यसलाई कसरी समाधान गर्न सकिन्छ, दुई देश मिलेर यसलाई सल्टाउनु पर्छ ।


बाढीका कारण वर्षेनी दुवै देशलाई क्षति हुने गरेको छ । प्रत्येक वर्ष दुवै देशमा धनजनको क्षति हुने गरेको छ । यसबारेमा दुवै देश गम्भीर रुपमा छलफल गर्नुपर्ने देखिएको छ । यसमा जयशंकरले भारत हरेक विषयमा छलफल गर्न तयार छ । नेपालमा आएको बाढी भारतको लागि पनि ठूलो समस्या बनेको छ । यसमा दुवै देशका प्रतिनिधि बसेर छलफल गरि टुगों लगाउने उहाँले प्रतिवद्धता जनाउनु भएको थियो ।

 भारत फर्केपछि यस विषयमा सम्बन्धित पक्षसँग छलफल गर्ने कुरा पनि उहाँले राख्नुभएको थियो ।  हवाई रुट बढाउने र रक्सौल–काठमाडौं रेल चल्ने, राजनीतिक सुरक्षा र सीमा, सडक सञ्जाल, आर्थिक सहयोग, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षा लगायतका विषयमा खुलेर कुराकानी भयो । आउने दिनमा यसको कार्यान्वयन कसरी हुन्छ, कार्यान्वयन भएपछि मात्र असली रुपमा भ्रमणको सफलता असफलता मापन गर्न सकिन्छ ।
(लेखक यादव गोरखापत्रका पत्रकार हुनुहुन्छ)

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..