» » राजनीतिभन्दा टाढा, कहाँ छन् नेताका छोराछोरीहरु ?

सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) का छोरा प्रकाश चन्द भदौ २५ गते चितवनबाट पक्राउ परेपछि ठूला नेताका छोराछोरी के गरिरहेका छन् भनि सबैलाई चासो भएको छ ।

चितवन मेडिकल कलेजमा अध्ययनरत प्रकाशलगायतका विद्यार्थीहरुले विभिन्न माग राख्दै आन्दोलन गरिरहँदा सोही कलेजबाट उनलाई पक्राउ गरेको थियो । एमबीबीएस अध्ययन गरिरहेका प्रकाश चन्द प्रतिबन्ध पार्टीको स्वास्थ्य संगठनको केन्द्रीय महासचिव हुन् ।

 भूमीगत आन्दोलनमा लागेका विप्लवका छोरा प्रकाश एमबीबीएस पढेपनि सक्रिय राजनीतिमा छैनन् । बुवाको राजनीतिबाट निकै टाढा छन् तर बेलाबेलामा अस्पताल तथा कलेजमा आन्दोलन गर्नुपर्ने भएकाले बुवाकै पार्टीका संगठनमा आवद्धता देखाएका छन् ।


यस्तो काम धेरै नेताका छोराछोरीले गरेका छन् । त्यसमा सबभन्दा बढी कम्युनिस्ट पार्टीमा देखिन्छन् । बुवाको आडमा राजनीति गरेपनि माथिल्लो निकायसम्म पुगेको देखिदैन । कोही विद्यार्थी संगठनमा छन् भने कोही युवा संगठनमा त कोही महिला त कोही अन्य भातृ संगठनमा आवद्ध छन् । बुवासँगै राजनीतिमा छिरेका छोराछोरीहरु पनि मूल कमिटीमा आउन सकेको छैनन् ।

पार्टीका एउटा एउटा संगठन समातेर त्यसमा रहेपनि त्यसको आडमा अर्कै अर्कै धन्दा गरिरहेको पनि बेलाबेलामा सञ्चारमाध्यमको समाचार बनेका हुन्छन् । गृहमन्त्री रामबहादुर थापा, कृष्णबहादुर महरा, नन्दकिशोर पुनः लगायतका छोराहरु शक्तिको दुरुपयोग गर्दै बेलाबेलामा उटपट्याङ्ग गर्दै आएको कुरा सञ्चारमाध्यममा बेलाबेलामा आइरहेका हुन्छन् ।


एकसमय त पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहाललाई ज्ञानेन्द्र पुत्र पारस शाहको संज्ञा दिन्थ्यो । बुवा प्रचण्डको आडमा उट्याङ् पट्याङ कार्य गर्दै आइरहेका थिए उनी । पछिल्लो समय सुध्रिएर बुवाको साथमा पार्टीमा सक्रिय रहेका थिए । एकदिन अचानक उनको मृत्यु भयो ।

 तर यो समस्या काँग्रेस पार्टीमा देखिएको छैन । काँग्रेस, मधेशवादी दल, राप्रपालगायतका दलका नेताका अधिकाँश छोराछोरीहरु राजनीति भन्दा कौसोदुर टाढा छन् । पार्टीका भातृ संगठनहरुमा आवद्ध भएपनि देखिने गरि कही हुँदैन । उनीहरु या त पढाईमा व्यस्त हुन्छन् या व्यावसायीमा लागेका हुन्छन् ।


नेताहरुले आआफ्ना छोराछोरीलाई महँगा महँगा नीजि विद्यालयमा पढाउने गरेको र जनताका छोराछोरीलाई आन्दोलनमा जान उक्साई रहेका हुन्छन् भनि आरोप पनि बेलाबेलामा लाग्ने गरेको छ । आमजनताका छोराछोरी टायर बाल्दै, ढुगांमुढा गरेर आन्दोलन गरिरहेका हुन्छन् । एकआध बाहेक शीर्ष नेताका कुनै पनि छोराछोरी आन्दोलनमा घाइते भएका वा मृत्यु भएको पाइदैन । जति घाइते र मृत्यु भएका छन् ती आमजनता वा समान्य कार्यकर्ताका छोरा छोरी हुन् ।

काँग्रेसका सभापति शेरबहादुर देउवाका एकमात्र छोरा वीरध्वज देउवा बेलायतमा राजनीतिशास्त्र अध्ययन गरिरहेका छन् । राजनीति अध्ययन गरेपनि बुवाको राजनीतिमा उनको कुनै चासो छैन । उनी नेपाल अर्थात नेपाली काँग्रेसको राजनीतिभन्दा निकै टाढा छन् ।

डडेल्धुराका देउवाका बुढानिलकण्ठमा पनि अलिसान बंगला छ । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एक मात्र छोरा चिन्तन पौडेल पनि अहिले बेलायतमै छन् । सुशिल कोईराला नेतृत्वको सरकारमा गरिब घरपरिवार पहिचान बोर्डका कार्यकारी प्रमुखमा नियुक्त भएका थिए सो पदबाट हटेपछि उनी नेपाल छाडेका छन् । रामचन्द्र पौडेलका चार छोरीहरु छन् । चारैजनाको विहे भइसकेको छ । संज्ञा पौडेलले राजनीतिमा चासो लिएपनि अरुले बुवाको राजनीतिकसँग खासै मतलब राख्दैनन् ।

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाका दुई छोरी र एक छोरा छन् । छोरा श्याम सिटौला भारतमा अध्ययन गरिरहेका छने भने दुई छोरीहरु अमेरिकामा बस्दै आएका छन् । उहाँका छोरा छोरीलाई पनि नेपालको राजनीतिले कुनै प्रभाव पारेको छैन । काँग्रेसका उपसभापति विमलेन्द्र निधिका पनि दुई छोरा छन् । जेठो छोरा अबिरल पनि अमेरिका अध्ययन गरिरहेका छन् भने कान्छो छोरा भारतमा अध्ययन गरिरहेका छन् । उनीहरुलाई पनि नेपालको राजनीतिकसँग खासै मतलब छैन ।


एक समय थियो, नेपाली राजनीतिमा कोइराला परिवारको दवदवा थियो । तर अहिले सो परिवारका नयाँ पुस्ता राजनीतिबाट टाढा छन् । काँग्रेस पार्टी महामन्त्री डा.सशांक कोइरालाकी एक मात्रै छोरी छिन् । उनी राजनीतिभन्दा टाढा छिन् । अर्का नेता डा शेखर कोइरालाकी छोरी हुन् नेहा कोइराला ।

 उनी पनि राजनीतिमा छैनन् । राजनीति क्षेत्रमा अभिरुचि नभएपनि बेलाबेलामा बुवालाई सामाजिक विषयमा सुझावहरु दिइरहेकी हुन्छिन् । कोइराला परिवारकी कांग्रेस नेतृ सुजाता कोइरालाका एक छोरा र छोरी छन ्। तर दुवै राजनीतिबाट टाढा छन् । बंगलादेशका नागरिकसँग छोरी मेलानीको बिहे भएको छ भने छोरा जर्मनीमा छन् ।
नेकपाका अध्यक्ष प्रचण्डका एकमात्र छोरा प्रकाश दाहालले बाबुको स्वकीय सचिवमा कार्यरत थिए । पार्टीको जिम्मेवार भूमिका भएपनि जहिले पनि बुवाको सचिवालयमा बस्थे उनी । उनको निधन भइसकेको छ । अहिले छोरी गंगा दाहाल बुवाको सचिवालमा प्रचण्डको स्वीकीय सचिव भएर काम गरिहेकी छिन् भने अर्का छोरी रेणु दाहाल भरतपुर महानगरपालिका मेयर छिन् । एउटा अर्को छोरीको निधन भइसकेको छ । नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली निसन्तान छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालका छोराछोरीलाई पनि नेपालको राजनीतिसँग मतलब छैन । उनीहरु पार्टीको कुनै पनि संगठनमा आवद्ध छैन । दुवैजना डाक्टर छन् । त्यस्तै नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनालका छोरा पनि राजनीतिमा छैनन् । छोरा निर्भिक चित्रकार खनाल अमेरिकाको अध्ययनपछि अहिले नेपालमै व्यावसायी गरीरहेका छन् ।

नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलका पनि दुई छोरा छन् । उनीहरुलाई पनि राजनीतिसँग मतलब छैन । एउटा छोरा कृषितिर जागिरे छन् भने अर्को अमेरिकाबाट अध्ययन गरेर फर्केका छन् । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराका दुई छोरा र दुई छोरी छन् ।


जेठी छोरी व्यावसायीमा छन् भने कान्छी छोरी अध्ययन गरिरहेकी छिन् । छोरा एटम महरा र राहुल महरा पार्टीमा सक्रिय छन् । नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का एक छोरा र एक छोरी छन् । प्रतीक थापामगर बादलका छोरा हुन् । उनी जहिले पनि बुवाका वरिपरी हुन्छन् तर पार्टीमा त्यति सक्रिय देखिएको छैन । छोरी प्रतिमा थापा उनी संगठनमा आवद्ध भएपनि त्यति सक्रिय देखिएको छैन । वर्षमान पुनका पनि एउटा छोरा र एउटा छोरी छन् । उनीहरु पनि राजनीति भन्दा टाढा रहेर अध्ययनमा व्यस्त छन् ।

मोहन बैद्यका तीन छोरीहरुमा जेठी लता शर्मा सिक्किममा घरजम गरी बसेकी छन् । उनको सिक्किममा बसोबास गर्ने नेपालीभाषी रूपेश शर्मासँग विवाह भएको हो । माइली छोरी भने नेकपाका नेता अग्नि सापकोटाका जेठा छोरा दीपक सापकोटासँग बिहे गरी अध्ययनमा व्यस्त छिन् । सिपि गजुरेलका छोरा छोरी शोभा गजुरेल, प्रभा गजुरेल, सन्तोष गजुरेल, सञ्जिव गजुरेल हुन् । उनीहरु राजनीतिमा समान्य चासो राखेपनि सक्रिय राजनीतिमा छैनन् ।


समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईका एक मात्र छोरी मानुषी यमी भट्टराई हुन् । बुवासँगै पार्टीमा संलग्न भएपनि उनले पढाई र समाजिक कार्यमा विशेष रुची देखाएकी छिन् । समाजवादी पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवका एक मात्र छोरा अमरेन्द्र यादव हुन् ।

 उनी अध्ययन सकाएर बुवाका साथमा राजनीति शुरु गरेका छन् । उपेन्द्र यादव अहिले स्वास्थ्य मन्त्री हुनुहुन्छ भने छोरा उहाँका स्वकीय सचिव हुनुहुन्छ ।


राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरका एक छोरा र एक छोरी छन् । जेठो छोराको निधन भइसकेका छ भने छोरी डाक्टर सिध्याएर विहेवारी गरी डाक्टरी पेसामा छन् । अध्यक्षमण्डलका अध्यक्ष सदस्य अनिलकुमार झाका एउटा छोरा र एउटी छोरी छिन् ।

एउटा घटनामा केही वर्ष पहिले छोरीको निधन भएको छ भने छोरा उज्वल झा भारतमा अध्ययनरत छन् । उनले राजनीतिमा चासो लिएपनि सक्रिय भएको छैन । भारतमा बेलाबेलामा पार्टीका गतिविधिहरु गरिरहेका हुन्छन् । राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवका दुई छोरा र एक छोरी छन् । उनीहरु स्कूल पढी रहेका छन् ।


राजपा नेपालका अध्यक्षमण्डलका अर्का सदस्य राजेन्द्र महतोका दुई छोरा एक छोरी छन् । एउटा छोराको निधन भइसकेको छ भने अर्को छोरा भारतबाट एमबीए सकाएर घर बसेका छन् । उनी पनि राजनीतिमा आउन इच्छा देखाइरहेका छन् तर मञ्च पाइरहेका छैनन् । छोरीको विहे भइसकेको छ । राजपा नेपालका अध्यक्षमण्डल सदस्य महेन्द्र राय यादवका पनि एउटा छोरा र एउटा छोरी छन् । दुवैजना राजनीति भन्दा टाढा छन् । छोरीको विहे भइसकेको छ भने छोरा अध्ययन सकाएर बसेका छन् ।


अध्यक्षमण्डलका अर्का सदस्य शरतसिंह भण्डारीका तीनजना छोरी छन् । उनीहरु पनि राजनीति भन्दा टाढा छन् । दुईजना छोरीको विहे भइसकेको छ । भण्डारीका एउटा ज्वाई साझा पार्टीमा सक्रिय छन् ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..