» » जङ्गली तरकारीमा निर्भर

चन्द्रपुर नगरपालिकाका दलित एवं विपन्न महिला जङ्गली तरकारी बेचेर घरखर्च चलाउँछन् । आयआर्जनको कुनै स्रोत नभएका उनीहरु घर खर्च चलाउनकै लागि दिनहुँजसो जङ्गली तरकारी खोजेर विक्री गर्दै आएका छन् । पूर्व–पश्चिम राजमार्गको उत्तरी र दक्षिणी क्षेत्रमा रहेको चन्द्रनिगाहपुर खण्डको वनमा जङ्गली तरकारी पाइन्छ ।

चन्द्रपुर नगरपालिका ५ नहर छेउमा बसोबास गर्दै आउनु भएकी ललितादेवी राम बिहानको खानापछि कहिले उत्तर र कहिले दक्षिणतर्फको जङ्गल जानु हुन्छ । साँझसम्म जङ्गली तरकारी बोकेर विक्रीका लागि चन्द्रनिगाहपुर चोकमा आइपुग्नु हुन्छ । जङ्गलको भेउ बुझ्नु भएकी उहाँसँग सात जना विपन्न महिला पनि पछि लाग्छन् । उहाँहरु पनि जङ्गली तरकारीको विक्रीबाटै घरखर्च चलाउनु हुन्छ ।


अहिलेको सिजनमा जङ्गलमा जिब्रे, मयुरखुट्टे, जलुकोलगायतका साग पाइन्छ भने निउरो र मोरङ्गे प्रायः बाह्रैमास पाइने अर्का विपन्न महिला करुनियाँ रामले बताउनुभयो । झण्डै २५० ग्राम जतिको एउटा मुठा सागको कम्तीमा २० रुपियाँमा विक्री हुन्छ ।

एक जनाले ३० देखि ५० मुठासम्म साग ल्याउने गरेको बताउँदै विपन्न महिला ललितादेवीले साग विक्रीबाट दैनिक कम्तीमा छ सय रुपियाँ आम्दानी हुने जानकारी दिनुभयो ।


सुकुम्बासी भएकाले नहरको डिलमा छाप्रो बनाई बसेका ती दलित एवं विपन्न परिवारका पुरुष ज्यालादारी कामको खोजीमा बाहिरिन्छन् । केटाकेटी र वृद्धवृद्धा घरमै बस्छन् । महिला भने जङ्गली तरकारीको खोजीमा निस्किन्छन् । जङ्गली तरकारी विक्री गरेर आफु र आफ्नो परिवारका लागि आवश्यक दैनिक उपभोग्य वस्तु खरिदमा सहज भएको अर्का सुकुम्बासी महिला रामरती माझीले बताउनु भयो ।

 
उपभोक्ता पनि जङ्गली साग अर्गानिक हुने भन्दै किन्न आतुर गर्छन् । कुनै विषादी एवं रासायनिक मलखाद नपरेको जङ्गली सागको विक्री बजारमा पाइने अन्य सागको तुलनामा बढी नै हुन्ने चन्द्रनिगाहपुरका तरकारी व्यापारी तिलक साहले बताउनुभयो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..