» » सिँचाईको अभावमा किसानको टाउकोमा हात


तराई मधेशमा धान खेतीलागि उपयुक्त क्षेत्र भएपनि हाल पानी नपरेको कारण किसानहरु चिन्तित भएका छन् । पानीको अभावमा धान खेतमा धाजो फाट्न थालेको छ । तराई मधेशलाई कृषिको भूमी भनेपनि अधिकाँश ठाउँमा सिँचाई पुगेको छैन । 


सुनसरीको ४० प्रतिशत जग्गा तथा धानखेत सिंचाई  सुविधा  पुग्न सकेको छैन । सिंचाइको अभावमा उत्पादन घट्ने पिरलो किसानमा छ । जिल्लाको विभिन्न स्थानमा नहर पुगे पनि पानी पुग्न सकेको छैन । नहर नै नभएको स्थानमा भूमिगत पानीको प्रयोगमा समेत पहल हुन नसकेको इनरुवा ९ बबियाका किसान जसलाल यादवले बताउनुभयो ।





यादवका अनुसार सिचाईको अभावमा कतिपय खेत बाँझै छ भने जसोतसो  रोपाइँ भएको खेत सुक्न थालेका छन् । हाल सुनसरीमा ६० प्रतिशत जमिन मात्रै बाह्रै महिना सिंचाइ हुन सक्छ । सरकारले प्रत्येक वर्ष सिंचाईको अभावमा कुनै पनि जमिन नरहने बताए पनि त्यसको लागि प्रभावकारी काम भने हुन नसकेको हरिनगर गाउँपालिका ४ का किसान टोमराज महेताले बताउनुभयो ।





महेताअनुसार हरिनगर ३ गौतमपुर र ४ हरिनगरामा शंकरपुर शाखाको नरह भएपनि किसानले धान खेतमा पानी लगाउन पाएका छैनन् । शंकरपुर शाखा नहरमा मुस्किलले  इनरुवा नगरपालिका १० को जल्पापुरसम्म मात्रै पानी पुग्ने र त्यस दक्षिणतर्फ पानी नआएकाले जमीनलाई उत्पादनशील बनाउन नसकिएको मेहताको भनाइ छ ।





देवानगञ्ज ७ का किसान विजल यादवल सिंचाई नपुगेका  स्थानका धानका खेत नै सुक्न थालेको दुखेसो पोख्नुभयो । कृषि ज्ञान केन्द्रका प्रमुख नुनुलाल उराँवले कोशी नदीबाट सुनसरी मोरङ सिंचाई आयोजनाको विभिन्न नहरबाट सिंचाई भईरहेको भएपनि पर्याप्त नभएको बताउनुभयो । उहाँले केही किसानले आफै र केहीले अनुदानमा बोरिङ मेसिन वा पम्प सेटको प्रयोग गरेर सिंचाई गरिरहेको बताउनुभयो ।





जिल्लामा ५५ हजार हेक्टर क्षेत्रफल धान खेती योग्य जग्गा रहेकोमा सिचाई अभावमा ५३ हजार हेक्टर क्षेत्रफलमा मात्रै वर्षाको पानी र नहरको पानीले रोपाइँ गरिएको छ । २० हजार हेक्टर क्षेत्रफलमा लगाएको धान बालीमा नियमित सिंचाई नहुँदा  उत्पादन निकै कम हुने गरेको छ । सरकारले यस आर्थिक वर्षमा एक सय डीप बोरिंगका लागि कार्यक्रम ल्याएको तर त्यसको उपयोग अर्को सिजनबाट मात्र हुने केन्द्रले जनाएको छ ।



त्यसैगरि, वागमती नहरको पानी सर्लाही सदरमुकाम मलङ्गवासम्म  नआइपुग्दा यहाँका किसान मारमा परेका छन् । खडेरीको समयमा नहरमा पानी नआउँदा किसानले लगाएको धान बाली सुक्न थालेको छ । मलङ्गवा नगरपालिकाका नगरप्रमुख निरसल साहले बागमती सिँचाई आयोजनाका प्रमुखलगायतसँग भेट गरी तत्काल नहरमा पानी पठाउने व्यवस्था मिलाईदिन आग्रह गर्नुभएको छ । नहरमा पानी नआउँदा मलङ्गवाको खुटौना, भाडसर, मुसैली, गम्हरीया, गणेसिया लगायत क्षेत्रका किसानले लगाएको धानबाली प्रभावित भएको हो । समयमा नहरमा पानी नआउँदा खेतमा धाजा फाटेर धान बाली नै सुक्न थालेको मलङ्गवा नगरपालिका–७, गणेसियाका किसान कृष्ण रायले गुनासो गर्नुभयो ।



बागमती सिँचाई आयोजनाले सर्लाहीमा लक्ष्मीपुर, मानपुर र गडहीया शाखाबाट पानी वितरण गर्दै आएको छ । खडेरीका कारण नहरमा जति पानी पठाए पनि दक्षिणी भेगमा पानी नपुगेको गुनासो आइरहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर अखलाक सिद्धिकीले बताउनुभयो । पानी नपुगेको व्यापक गुनासो आएपछि आयोजना प्रमुख मित्र बरालसहितको टोलीले भदौ २४ गडहीया र भदौ २५ लक्ष्मीपुर र मानपुर शाखाअन्तर्गतका सबै नहरको निरीक्षण गरेको छ । त्यस क्रममा दक्षिणी भेगमा समस्या देखिएको सिनियर डिभिजनल इन्जिनियर सिद्धिकीले जानकारी दिनुभयो ।



चर्को घाममा जति पानी पठाए पनि सुकी हाल्ने भएकाले माथिल्लो भेगका किसानले पानी धेरै खसाल्दा पनि दक्षिणी भेगमा पानी पुग्न नसकेको हो । बागमती सिँचाई आयोजनाले दक्षिणी भेगसम्म पानी पु¥याउन पहल भइरहेको जनाएको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..