» » समाजवादी पार्टी सरकारमा बस्नुको कारण (फरकमत)

–उमाशंकर अरगरिया
समाजवादी पार्टी दुई बुँदे सम्झौता गरेर सरकारमा सहभागी भयो । सविधान संशोधनको मुख्य एजेण्डाका लिएर सरकारमा सहभागी भयो तर केही गरेन भने टिकाटिप्पणी भइरहेको छ । तर त्यो टिकाटिप्पणीमा पूर्वाग्रही झल्किएको छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रका लागि जो परिवर्तन भएको छ, त्यसको मुख्य जस समाजवादी पार्टी अर्थात मधेशी जनअधिकार फोरम नेपाललाई जान्छ ।

यदि तत्कालिन मधेशी जनअधिकार फोरम नेपालले आन्दोलन नगरेको भए आजको उपलब्धीमा जुन प्रकारको संघीयता देखिएको छ त्यो पनि हुँदैन थियो । यद्यपी समाजवादी अहिलेको संघीय संरचनाबाट सन्तुष्ट छैन । त्यसका लागि आफ्नो लडाई जारी राखेको छ । कसैले यदि भन्छन् कि समाजवादी पार्टी चुपचाप बसेका छन् भने त्यो गलत हो । समाजवादी पार्टीले सदन र सरकार दुवैमा आफ्नो कुरा जवर्जस्त रुपमा राखिरहेको छ । समाजवादी पार्टीमाथि कुर्सीको लोभले सरकारमा गएको आरोप छ त्यो एकदम निराधार हो ।


सबभन्दा पहिला त कुर्सीका लोभले सरकारमा गएका होइन, सरकारबाट केही गराउनका लागि समाजवादी पार्टी त्यहाँ गएको हो जस्तो लाग्छ । सरकारका प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संघीयता स्वीकार गर्न तयार हुनुहुन्थेन । सविधान संशोधनको त नामै लिन मान्नु भएका थिएन । उहाँलाई समाजवादी पार्टीले संघीयता स्वीकार गर्न लगाएर सविधान संशोधन गर्ने सहमतिमा हस्ताक्षर गराएको छ ।

 समाजवादी पार्टीका लागि त्यो नै सबभन्दा ठूलो उपलब्धी हो । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले कुनै पनि हालतमा सविधान संशोधन हुँदैन भन्नुहुन्थ्यो तर समाजवादी पार्टीसँग छलफल गरेर सविधान संशोधन गर्न तयार हुनुभयो । त्यही सहमति पत्रमा हस्ताक्षर गरेको कारण आज सबैले प्रधानमन्त्रीमाथि सविधान संशोधनका लागि दवाव दिन पाएका छन् ।

कम्युनिस्ट सरकारलाई हामीले सहयोग नगरेपनि उसले सबै काम गर्न सक्थ्यो तर दुई तिहाई नपुगेको कारण सविधान संशोधनमा बहाना बनाउन सक्थ्यो । त्यही भएर समाजवादी पार्टीले सरकालाई समर्थन गरेको थियो । सायद त्यही कारणले राजपा नेपालले पनि समर्थन गरेको थियो ।

एक वर्ष नबित्दै राजपा नेपाललाई चित्त बुझेन कि के भयो सरकारबाट समर्थन फिर्ता लियो तर समाजवादी पार्टीले अझै लिएको छैन । अहिले पनि सरकारबाट केही गराउन सकिन्छ भनि आशमा समाजवादी पार्टी संघर्षरत छन् । प्रधानमन्त्री केपी ओलीलाई समाजवादी पार्टीले यो बोल्ने मौका दिएन कि दुई तिहाई बहुमत नभएका कारणले सविधान संशोधन गर्न सकिएन ।


जसरी यसअघि काँग्रेस र तत्कालिन माओवादीले आफ्नो सरकारको पालामा संशोधन प्रस्ताव त लगे तर बहुमत नपुगेको बहानामा त्यसलाई खारेज गरेको थियो । प्रधानमन्त्री अ‍ोलीले पनि भोली गएर त्यस्तै नभनोस् भनेर नै समाजवादी पार्टीले समर्थन दिएको हो ।

अहिले पनि विश्वास छ कि संविधान संशोधन हुन्छ । सविधान संशोधन भएन भने समाजवादी पार्टी त्यतिकै हातमा हात राखेर सरकारमा बस्दैन । जुनसुकै बेला सरकारबाट बाहिरिन सक्छ । तर कुनै कुराको टुङ्गो नलगाई सरकारबाट बाहिरिनु भनेको फुर्सदमा पछुताउनु जस्तै हो । समाजवादी पार्टी कुनै प्रकारको दोष आफूमाथि लिन चाहेको छैन । सरकारले भोली गएर यो नभनोस् कि हामीले गर्न चाहेका थियौं, तिमीहरु सरकारबाट निस्कियौं ।’ समाजवादी पार्टी उचित समयको पर्खाईमा छ ।


अहिले कानुन निर्माणका विभिन्न विधेयकहरुमा काम भइरहेका हुनाले समाजवादी पार्टीले दवावको रफ्तार बढाएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भन्नुभएको छ कि सविधान संशोधनका कतिपय मुद्दा यही कानुन निर्माणको क्रममा समाधान हुन्छ । बरु कानुन निर्माणका लागि बनिरहेको विधेयकलाई कसरी राम्रो बनाउन सकिन्छ । त्यसमा चित्त नबुझेको कुरामा संशोधनहरु हाल्नुस् ।

सर्वस्वीकार्य बनाउनुस् भन्नुभएको छ । समाजवादी पार्टी त्यसको बारेमा पनि सोचिरहेको छ । विभिन्न विधेयकमा आफ्नो प्रस्ताव राखेको छ ।  अहिले आइरहेका विधेयकमा जहाँ चित्त बुझ्दैन त्यहाँ सशोधन हाल्ने काम भइरहेको छ ।


कतिपय संशोधन पास पनि भएको छ । समाजवादी पार्टीले संशोधन हाल्दा कतिपयले टिप्पणी गर्छन् कि सत्तारुढ दल भएर संशोधन हाल्न मिल्दैन । तर त्यस्तो होइन यदि विधेयकमा कहि कतै चित्त बुझेको छैन भने जसले पनि संशोधन हाल्न मिल्छ । चाहे त्यो जनुसकै दलका सरकार किन नहोस् । विधेयकका कारणले पनि सविधानमा धेरै कुराको सुधार हुने अपेक्षा लिएको छ ।

यद्यपी सविधान संशोधनका एजेण्डा पनि यथावत छ । यदि सविधान संशोधन भएन भने त्यसको विरोधम आन्दोलन गर्ने विकल्प छदैछ । समाजवादी पार्टी क्याविनेटमा नभएको भए पार्टीका १७ जना सांसदले केही गर्न सक्दैन्थ्यो । क्याविनेटमा भएको कारणले नै विधेयकको बारेमा थाह हुन्छ ।

यदि संसदमा बोल्नु पर्ने कुरा हुन्छ भने सबै सांसदलाई बोलाएर विधेयकको बारेमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले ब्रिफ गर्नुहुन्छ । यदि सरकारमा नभएको भए त्यो विधेयकको बारेमा एकचोटी सदनमै जानकारी हुन्थ्यो र राम्रोसँग बहस गर्न पाइदैन्थ्यो । पछि त्यो त्यतिकै पास हुन्थ्यो । सरकारमा हुनुको यो पनि यो फाइदा हो । अर्को कुरा समाजवादी पार्टी सरकारमा हुँदा त प्रधानमन्त्रीले कतिपय निर्णय जवर्जस्ती गर्नुहुन्छ । क्याविनेटमा विरोध गर्दा गर्दै कतिपय निर्णय हुन्छ यदि समाजवादी पार्टी त्यहाँ नभएको भए अझै के हुन्थ्यो ? कल्पना गर्नुस् । देशमा कम्युनिस्ट शासन छ । कम्युनिस्ट सरकार छ ।

त्यो सिङ्गो सरकारमा समाजवादी पार्टी मात्र सहभागी छ, यसको ठूलो अर्थ राख्छ ।  सरकारमा कोही त छ कि कुनै विषय आउँदा फरकमत राख्न सकोस् । कम्युनिस्ट पार्टीले कुनै अप्रिय निर्णय गर्न खोज्यो भने त्यहाँ फरक मत राख्ने समाजवादी पार्टी मात्र हुन्छन्, कम्युनिस्ट पार्टीले भित्रभित्रै के गर्न खोजेको छ त्यसका जानकारी दिने काम समाजवादी पार्टीले मात्र गर्न सक्छ त्यसैले रणनीतिक रुपमा पनि समाजवादी पार्टी त्यो सरकारमा रहनु आवश्यक छ ।

सरकारबाट समाजवादी पार्टी बाहिरियो भने त्यसले नेकपालाई कुनै फरक पर्दैन । उ त चाहन्छ कि समाजवादी पार्टी पनि सरकारबाट बाहिर गएर आन्दोलन गरोस् ताकि त्यसलाई नै बहाना बनाएर मधेसी, आदिवासी जनजाति, दलितहरुको माग पूरा गर्न नपरोस् । सविधान संशोधनको कुरा गर्नुहुन्छ भने सविधानमा संघीयता उल्लेख गरिएको छ । संघीयता, धर्मनिरपेक्षता लगायतका धेरै कुरा सविधानमा उल्लेख गरिएको छ ।


मधेशी, आदिवासी जनजातिले पाउने अधिकारका कुराहरु छाडेर अरु अरु कुरालाई विशेष प्राथमिकता दिएको छ ताकि सबै त्यसैमा अल्झेर बसोस् । सविधानमा गाँस, बास, कपासको कुरा गरेको छ । औषधी उपचारको कुरा गरेको छ । अवास बनाई दिने कुरा गरेको छ । यस्ता पपुलर थुप्रै कुरा सधिवानमै व्यवस्था गरेको छ तर मुख्य अधिकारका कुरामा ध्यान दिउको छैन ।

मधेशी, शिल्पी, अल्पसँख्यक, आदिवासी जनजातिका लागि सविधानले बेइमानी गरेको छ । त्यसका लागि सरकार, सदन र सडकमा अवाज उठाउने काम भइरहेको छ । अवस्था यस्तो भयो कि जसले सविधान बनाएको छ, त्यही नै यसमा फँसेको छ । केपी ओली प्रधानमन्त्रीको शपथ लिनेमा यही सविधानका कारण समस्या भएको थियो । राष्ट्रपतिको चुनावमा पनि यही सविधानका कारण समस्या उत्पन्न भएको थियो । अर्थात सविधान निर्माणमा समस्या छ भने कुरा सत्तापक्षले पनि पटक पटक महसुस गरेको छ । त्यसैले सविधान संशोधन गर्नुको विकल्प छैन ।

(समाजवादी पार्टीका नेता अरगरियासँग सहाराटाइम्सका लागि गरिएको कुराकानीमा आधारित)

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..