» » एउटा जुट्ने, अर्को फुट्ने यो कस्तो खेल !

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी, नेपालबीच एकीकरणको लागि बहस चलेके वर्षदिन भन्दा बढी भइसक्यो । तर दुई पार्टीबीचमा हालसम्म एकीकरण त हुन सकेन । यद्यपी सोही अवधिमा एउटा पार्टी जुट्यो र अर्को फुटको अवस्थामा पुग्यो ।

अर्थात राजपा नेपालसँग एकीकरण चलिरहेकै अवस्थामा तत्कालिन संघीय समाजवादी फोरम नेपालले नयाँ शक्ति नेपालसँग एकीकरण गरेर समाजवादी पार्टी निर्माण गर्यो । तर सोही अवधिमा समाजवादी पार्टीसँग एकीकरणको लागि अनौपचारिक वार्ता  चलिरहेको बेला राजपा नेपालमा चिरा आउने अवस्था सृजना भइसकेको थियो । महन्थ ठाकुर रोक्ने पहल नगरेको भए आज राजपा नेपाल दुई चिरा हुन्थ्यो ।


राजपा नेपालमा एकपक्षले पार्टीको महाधिवेशनपछि पार्टी एकता गर्ने भनिरहेको छ भने अर्को पक्षले पहिला पार्टी एकता गर्ने त्यसपछि महाधिवेशनमा जाने भनिरहेको छ । यही कुराले राजपा नेपाल अन्योलमा रह्यो र पार्टीमा चिरा पर्ने अवस्था सृजना भयो ।

राजपा नेपालले समाजवादी पार्टीसहित अन्य साना दलसँग एकीकरण गर्ने भनि त्यसका लागि अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । संयोजक महतोले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग निरन्तर अनौपचारिक वार्तामा रहनुभयो ।

तर महतोले समाजवादी पार्टीसँग गरेको वार्ता बारेमा पार्टीलाई कुनै जानकारी दिनु भएन । वार्ताका बारेमा पार्टीलाई जानकारी नहुँदा शीर्ष नेतादेखि कार्यकर्ताहरुबीच अन्योल रह्यो ।


समाजवादी पार्टीका नेताहरुले वार्ता सकारात्मक रुपमा अगाडि बढी रहेको छ । हरेक विषयमा छलफल भइरहेको छ । त्यो विषय चाँडै नै टुङ्गिने धारणा सार्वजनिक गर्दै आइरहनु भएको थियो तर त्यही राजपा नेपालका नेताहरुसँग त्यस बारेमा जिज्ञासा राख्दा केही पनि भएको छैन भनि प्रतिकृया दिनुहुन्थ्यो ।


राजपा नेपाल अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले स्वयं समाजवादी पार्टी र राजपा नेपालबीच हुने भनिएको एकीकरणको प्रगति केही नभएको, वार्ता समितिका संयोजक राजेन्द्र महतोले पनि एकीकरणमा केही प्रगति नभएको जानकारी गराएको बताउनुभयो ।

 उहाँले राजपा नेपाल महाधिवेशनको तयारीमा लागेको छ, महाधिवेशन भएपछि मात्र एकीकरणको प्रकृयाहरु अगाडि बढ्ने बताउनुभयो । सोही पार्टीका अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले आफूले सञ्चारमाध्यमबाट एकीकरणको विषयमा थाह पाएको पार्टीमा त्यसको बारेमा कुनै जानकारी नआएको बताउनुभयो ।


तर, सोही पार्टीको अध्यक्षमण्डलका अर्का सदस्य महेन्द्रराय यादवले समाजवादी पार्टीसँग एकीकरण हुनु आवश्यक छ, यो जनताको माग हो, सहिद परिवार र घाइतेको माग हो, एकीकरण गरेपछि मात्र एकताको महाधिवेशन गर्ने उहाँले बताउनु भयो । एकता र महाधिवेशन गर्ने पार्टीको निर्णय हो, त्यसैले पहिला एकता हुन्छ अनि महाधिवेशन हुन्छ उहाँले भन्नुभयो । राजेन्द्र महतोले पनि समाजवादी पार्टीसँग एकीकरण सकारात्मक अगाडि बढीरहेको प्रतिकृया सञ्चारमाध्यमलाई दिनुभएको छ ।


पार्टीमा यस्तो अन्योल देखेपछि अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले अध्यक्षमण्डलको बैठक बोलाउनु भयो । तर राजेन्द्र महतो लगायतका नेताहरुले बैठकमा समयमा आइ दिनुभएन । त्यही भएर बैठक स्थगित गर्नुभयो । त्यसपछि पनि पटक पटक बैठक बोलाउने प्रयास गर्नुभयो तर अर्को पक्षबाट असहयोग हुने कुरा भइरहेको थियो र बैठक बसिरहेको थिएन । बाध्य भएर संयोजक यादवले राजनीतिक समितिको बैठकबाट यो सबै कुराको टुगों लगाउने भनि त्यसको बैठक बोलाउनुभयो ।


राजनीतिक समितिको बैठक बोलाएपछि अध्यक्षमण्डलका सदस्यहरु राजेन्द्र महतो, महेन्द्रराय यादव र शरतसिंह भण्डारीले बैठक बहिष्कार गर्ने प्रतिकृया दिनु भएको थियो । उहाँहरुको तर्फबाट महासचिव केशव झाले सञ्चारमाध्यममा प्रतिकृया दिनुभयो कि राजकिशोर यादवले पार्टीमा सल्लाहै नगरिकन बैठक बोलाएको कारण त्यसलाई बहिष्कार गर्छौ । पार्टीमै यस्तो कुराहरु आउन थालेपछि पार्टी अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरले भदौं १२ गते आफ्नो निवासमा छजना नेतालाई बोलाउनुभयो ।

बैठकमै राजेन्द्र महतो पक्षका नेताहरुले राजनीति समितिको बैठक स्थगित गरेर अध्यक्षमण्डलको बैठक बोलाउन आग्रह गर्नुभएको थियो ।

यो अवस्थामा राजनीतिक समितिको बैठक बस्यो भने पार्टी दुई चिरामा हुन्छ, बरु बैठकका लागि जिल्लाबाट आउनु भएका समितिका सदस्यहरुलाई अध्यक्षमण्डलकै बैठकमा बोलाउने उनीहरुको कुरा सुन्ने र सल्लाह लिने भनि कुरा आएपछि संयोजक यादवले राजनीतिक समितिको बैठक स्थगित गरी अध्यक्षमण्डलको बैठक बोलाउनुभएका थियो । भदौं १३ गते २ वजे अध्यक्षमण्डलको बैठक बस्यो ।

 तर त्यसमा राजनीतिक समितिका सदस्यहरुलाई बोलाइएन । पार्टीको भूँईतालामा राजनीतिक समितिका सदस्यहरुलाई बसाएका थिए । त्यहाँ अध्यक्षमण्डलका कोही सदस्यहरु जान नमानेपछि संयोजक राजकिशोर यादव आफै गएर उहाँहरुसँग क्षमा माग्नुभयो । उहाँले भन्नुभएको थियो, म तपाईहरुलाई केही विशेष विषयमा छलफल गर्नका लागि बोलाएको थिए तर पार्टी नै चिरा पर्ने परस्थितिमा पुगेको कारण बाध्य भएर बैठक स्थगित गर्नुपर्यो र अध्यक्षमण्डलको बैठक बोलाउनु पर्यो यद्यपी मलाई पार्टीलाई कसरी अगाडि बढाउने भनि सल्लाह दिनुस् ।’

राजनीतिक समितिका सदस्यहरुले पार्टीको बैठक नियमित हुनुपर्यो । पार्टीको महाधिवेशन गराएर अन्य एकता प्रकृयामा अगाडि बढ्नुपर्ने संयोजक यादवलाई सुझाव दिनुभएको थियो ।

त्यति मात्र होइन, अध्यक्षमण्डलका अन्य सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी र अनिलकुमार झा माथिबाट तल झरेर आफूहरुलाई भेट्न नआएको भन्दै आक्रोश पोख्नुभयो । पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, उपाध्यक्षहरु सर्वेन्द्रनाथ शुक्ला, नरसिंह चौधरी, गोविन्द चौधरी, महासचिव जितेन्द्र सोनललगायतले पार्टीका शीर्ष नेताहरुको आलोचना गर्नुभएको थियो ।


पार्टीको महाधिवेशनपछि राजपा नेपालमा एकल अध्यक्ष प्रणालीमा पार्टी जाने निश्चित भएको छ । त्यो कुरा विधानमै उल्लेख गरिसकेको छ । अगामी महाधिवेशनबाट लगभग महन्थ ठाकुर अध्यक्ष बन्ने निश्चित भएको छ । अन्य नेताहरु के गर्ने कहाँ जाने निश्चित भएको छैन । त्यहीबाट आत्तिएर राजेन्द्र महतोले आफूलाई व्यवस्थित गर्न समाजवादी पार्टीसँग एकीकरण गर्न हतार गर्नुभएको राजपा नेपालकै नेताहरु बताउँनु हुन्छ । 

त्यहाँ चारजना अध्यक्ष राख्ने र त्यसमा महतो चौथो नम्बरका अध्यक्ष हुने लगभग तय भएको समाचार सञ्चारमाध्यममा आएको छ । एक नम्बरमा महन्थ ठाकुर, दोस्रो नम्बरमा डा.बाबुराम भट्टराई, तेस्रो नम्बरमा उपेन्द्र यादव र चौथो नम्बरमा राजेन्द्र महतो रहने विषयमा अनौपचारिक छलफल भएको समाजवादी पार्टीका नेताहरु पनि सहारा टाइम्सलाई बताउनु भएको थियो । तर भदौ १२ गते दुई पक्षका बीचमा भएको औपचारिक छलफलमा उपेन्द्र यादवले राख्नु भएको लिखित प्रस्तावले राजपा नेपालका नेताहरु छाङ्गाबाट खसेको झै भएको छ ।

एक नम्बरको अध्यक्ष बाबुराम भट्टराई, दुई नम्बरको अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरलाई मनार्थ अध्यक्ष बनाउने लिखित प्रस्ताव गरेको स्रोतले दावी गरेको छ । राजेन्द्र महतोलाई राजेन्द्र श्रेष्ठपछिको वरिष्ठ नेता बनाएर पार्टीका सम्पूर्ण विभाग तथा समितिको देखरेख गर्ने इन्चार्ज बनाउने प्रस्ताव गरिएको छ ।


यहाँसम्म कि पार्टीको नाम समाजवादी पार्टी, झण्डा, चुनाव चिन्ह पनि सोही पार्टीको रहने प्रस्ताव गरिएको छ । सो प्रस्तावको बारेमा छलफल गरेर राजपा नेपालले जवाफ दिन बाँकी नै छ । भदौं १५ गते अध्यक्षमण्डलको बैठक बसेर प्रस्तावको बारेमा छलफल गर्ने सहमति भएको छ तर यो समाचार तयार पार्दासम्म कुनै निर्णय बाहिर आएको छैन ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..