» » कसले रोकेको छ चिनियाँ राष्ट्रपतिको भ्रमण ?

बीबीसीका अनुसार सन् २०१२ मा चिनियाँ प्रधानमन्त्री वेन जिआयो नेपाल आउँदा उहाँको आगमनको तीन दिनअघि भ्रमणको तयारीका लागि नेपाली सेनालाई निर्देशन दिइएको तत्कालीन प्रधानसेनापतिले आफ्नो पुस्तकमा लेख्नु भएको छ ।

आधादिने उक्त भ्रमणको व्यवस्थापनमा भएको भद्रगोलप्रति असन्तुष्टि व्यक्त गर्दै चिनियाँ प्रधानमन्त्रीको सम्मानमा सरकारले दिएको भोजबाट उहाँ बाहिरिनु भएको थियो ।


अहिले फेरि चिनियाँ राष्ट्रपति सी चीनफिङलाई नेपाल भ्रमण गराउन रहर गरिरहेको छ । राष्ट्रपति चीनफिङ पनि नेपाल भ्रमण गर्न इच्छा देखाएका छैन तर इच्छाले मात्र हुँदैन । नेपालको तर्फबाट राष्ट्रपति चिनफिङ्को भ्रमण गराउने तयारी पुगेको छैन भनि गुनासो चिनियाँ पक्षको रहेको छ ।

यद्यपी नेपाल सरकार चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर देखिन्छ । तर त्यो अनुसारको तयारी भइरहेको छैन । चिनियाँ प्रतिनिधिहरु पटक पटक नेपाल आएर रेकी गरेर फर्कन्छन् तर नेपालले त्यसमा कुनै चासो देखाएको देखिदैन ।

सुरक्षा मात्र होइन, चिनियाँ राष्ट्रपतिसँग के विषयमा कुरा गर्ने, कुन कुन विषयमा सम्झौता गरि हस्ताक्षर गर्ने, कुन प्रोजेक्टमा लगानी गर्न भन्ने त्यसको कुनै पनि तयारी नेपाल पक्षको छैन ।

आफ्नो देशको संवेदनशील तिब्बत पठारसँग लगभग १४ सय किलोमिटरभन्दा लामो सीमा रहेको नेपालको भ्रमण पछिल्लो अढाइ दशकमा चिनियाँ राष्ट्रपतिको तहमा भएको छैन । विगत २३ वर्षदेखि कुनै पनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भएको छैन ।

हालसम्म चीनका दुईजना राष्ट्रपनि मात्र नेपालको भ्रमण गरेका छन् । राष्ट्रपति ली स्यान न्याँन सन् १९८४ मार्च २० मा नेपाल आएका थिए । त्यसको १२ वर्षपछि सन् १९९६ डिसेम्बर ४ मा नेपालको भ्रमण गर्नुभएको थियो । त्यसपछि कसैको भएको छैन । चिनियाँ राष्ट्रपति चिनफिङलाई नेपालको भ्रमण गराउने प्रयास नभएको होइन तर नेपालको तर्फबाट तयारी नपुगेको भन्दै पटक पटक स्थगित भएको हो । राष्ट्रपति सी को पहिलो कार्यकालमा पनि नेपालको भ्रमण गर्ने तयारी भइरहेको थियो । तर, त्यतिबेला नेपालमा तिब्बती शरणार्थीहरुको आन्दोलन भइरहेको कारण स्थगित भएको थियो ।

अहिले कम्युनिस्ट पार्टीको दुई तिहाईको सरकारले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने जोडतोडले लागेका छन् । तर राष्ट्रपति सी सिधै नेपाल आउने होइन । उहाँ असोज २५ गते भारत जाने तयारी भइरहेको छ । विशेष परस्थितिको जन्म भएन भने राष्ट्रपति सीले भारत उत्तर प्रदेशको वनारसमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्नेछ । अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री मोदीसँग चीनको उहानमा एक्लाएक्लै वार्ता गरेका चिनियाँ राष्ट्रपति सी सन् २०१९ को अक्टोबरमा त्यस्तै प्रकृतिको वार्ताका लागि भारतको बनारस जाने सम्भावना रहेको छ ।

त्यसको तयारीका लागि भारतका विदेश मन्त्री एस.जयशंकर चीन गएर छलफल गरेर फर्किसकेका छन् । यद्यपी सुरक्षाको दृष्टिकोणले चीन ढुक्क हुन सकेको छैन । सुरक्षाको दृष्टिकोणले वनारस त्यति उपयुक्त नरहेको चिनियाँ सुरक्षा निकायको ठहर छ । यसको बारेमा भारत सरकारसँग कुराकानी भइरहेको छ । सीको भ्रमणलाई वनारसको सट्टा मदरास पनि गर्न सकिने सम्भावना रहेको स्रोतको दावी छ । भारतको भ्रमण सकाएर राष्ट्रपति सी असोज २७ या २८ गते नेपाल आउने चर्चा रहेको छ ।

त्यतिबेला नेपालमा दशैंको रौनक रहनेछ । त्यतिबेला सबै दशैंमा रमाई रहने भएकाले त्यति सुरक्षा थ्रेट पनि रहने छैन । काठमाडौ सुनसानका साथै एयरपोर्टमा पनि भिडभाड नहुने मौका चीनले सदुपयोग गर्न चाहेको छ । त्यसको तयारीका लािग चीनका विदेश मन्त्री वाङ यीले नेपाल आउन लाग्नु भएको छ । यद्यपी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विदेशमन्त्री यी नेपाल आउन लाग्नु भएको बारेमा मन्त्रालयलाई कुनै जानकारी प्राप्त नभएको बताउनुभयो । त्यसैगरि चीनका सुरक्षा अधिकारीहरु पनि नेपाल आउन लागेको स्रोतले दावी गरेको छ ।

त्यसरी नै तयारीको बारेमा बुझ्नका लागि गृहमन्त्री रामबहादुर थापा पनि चीन जाने तयारीमा हुनुहुन्छ । नेपालको सुरक्षा अवस्थामा विश्वस्त बनाउनका लागि नेपाल सरकारले काठमाडौंमा असार २१ गते निर्वासित तिब्बती शरणार्थीका धर्मगुरु दलाई लामाको जन्मदिन मनाउनमा रोक लगाएको थियो ।

चीनका लागि सबभन्दा टाउको दुखाईको विषय नै तिब्बती शरणार्थी नै हो । राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण गएको बेला चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो । पछिल्लो पटक परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जुलाई महिनामा आफ्ना समकक्षी वाङ यीसँग गरेको भेटवार्तामा पनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको विषय उठेको अधिकारीहरू बताउँनुहुन्छ ।

 त्यसबेला जारी गरिएको विज्ञप्तिमा नेपालको परराष्ट्र मन्त्रालयले दुई देशबीचको मैत्री सम्बन्धलाई थप बलियो बनाउन उच्च तहका भ्रमणहरूलाई निरन्तरता दिने भन्नेबारे ठोस छलफल भएको उल्लेख छ ।

निम्तो प्राप्त गरेपछि नेपाल भ्रमणप्रति राष्ट्रपति सी सकारात्मक हुनुभएको थियो । तर न अहिले राष्ट्रपति भण्डारीले कुनै ध्यान दिनुभएको छ, सरकारले नै । बरु नेपालबाट चीनका लागि उच्चस्तरीय भ्रमण भइरहेको छ ।

 गणतन्त्रका पहिलो तत्कालिन राष्ट्रपति डा.रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेता तथा मन्त्रीहरु, प्रधानसेनापति लगायत उच्च तहका व्यक्तिहरु चीनको भ्रमण गरिसेकेका छन् ।

त्यसमा एकपटक होइन, पटक पटक भ्रमण गरेका छन्, तर चिनियाँ राष्ट्रपति सी को भ्रमण गराउने तयारी कसैले थालेको देखिदैन ।

परराष्ट्र मामिलाका जानकारहरूले नेपालको राजनीतिक अस्थिरता र दलहरूबीच परराष्ट्र मामिलामा देखिएका विवादलाई चिनियाँ राष्ट्रपतिको भ्रमण हुनेमा आशंका गर्नुभएको छ । एकजना परराष्ट्र विदले भन्नुभयो, यो साल पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्नका लागि चिनियाँ राष्ट्रपति सी भारत जाने कुरा छ । भारत जाने तर नेपाल नआउने हो भने नेपालका लागि कूटनीतिक पहल विफल भएको बुझ्नुपर्छ ।’

 राष्ट्रपति सीले चीनसँग सीमा जोडिएका १४ वटा छिमेकी देशमध्ये नेपालको मात्र भ्रमण गरेको छैन । यसले राम्रो सन्देश नगएको जानकारहरु बताउँछन । भुटानसँग चीनको कुटनीतिक सम्बन्ध नभएको कारण त्यसको भ्रमण नहुन पनि सक्छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..