» » राजनीतिमा परिवारवादको जालो

नेपालमा राणा र शाह वंशपछि कोइराला परिवार राजनीतिमा हावी भएपछि परिवारवादको चर्चा हुन थालेको हो । राणा तथा शाह वंशको राजनीति वंशावली अनुसार चलेको थियो ।

 त्यसमा खासै कसैले टिकाटिप्पणी गर्दैन्थ्यो तर बहुदल त्यसपछि लोकतन्त्र आउँदा पनि परिवारवादको राजनीतिलाई निरन्तरता दिएपछि यसको चर्चा मौलाएको हो । हरेक राजनीतिक दलमा हरेक नेताले पहिला आफ्नो परिवारको स्वार्थ हेर्नुहुन्छ अनि मात्र अरुको ।

र यो विमारी नेपालमा मात्र होइन, विश्वकै राजनीतिमा देखिन्छ । त्यसमा सबभन्दा बढी भारतीय राजनीतिमा देखिएको छ । शुरुमा नेहरु–गान्धी परिवारमा रहेको यो विमारी अहिले देशैभरि सबै दलमा फैलिएको छ । भारतमा रहेका इण्डियन एक्सप्रेसले गरेको एक अध्ययन अनुसार सन् २०१९ मा भएको लोकसभा चुनावमा जितेका ३० प्रतिशत सांसद कुनै न कुनै राजनीतिक परिवारसँग जोडिएका छन् ।

त्यस्तो राजनीतिक परिवारको सँख्या पञ्जाव र विहारमा सबभन्दा बढी छन् । विहारमा ४३ र पञ्जावमा ६३ प्रतिशत रहेको छ । र, यसमा सबभन्दा बढी भारतीय काँग्रेसका रहेका नेताहरु रहनु भएको छ । भारतीय जनता पार्टी जहिले पनि काँग्रेसमाथि परिवारवाद र वंशवादको आरोप लगाउथ्यो तर त्यसबाट त्यो पार्टी पनि अछुतो छैन ।

एक अध्ययन अनुसार भाजपामा पनि २५ प्रतिशत यस्ता सांसद छन् जो कुनै नकुनै परिवारसँग जोडिएका छन् ।
तर इतिहासले के देखाउँछ भने यसरी वंशवाद र परिवारवादबाट राजनीति गर्नेहरु विस्तारै आफै समाप्त भएका छन् । परिवारको विरासतमा राजनीतिक गर्नेहरु धेरै समयसम्म टिकेका छैनन् । शुरुशुरुमा चमक धमक देखिए पनि राजनीतिमा नटिकेका उदाहरणहरु धेरै छन् । त्यसको पछिल्लो उदाहारण भारतीय काँग्रेसमा गान्धी परिवार र नेपाली काँग्रेसका कोइराला परिवारलाई लिन सकिन्छ । भारतीय काँग्रेस कसरी तहस नहस भएको छ त्यो कुरा सबैमा छरप्रस्ट छ ।

विश्वमा परिवारवाद 
स्वतन्त्र बंगलादेशका प्रवर्तक बंगबन्धु शेख मुतिबर रहमानका छोरी शेख हसिना बाजेद बंगलादेशका प्रधानमन्त्री हुनुहुन्छ । उनी र अर्का नेता जियाउर रहमानका पत्नी बेगम खालिदा जियाबीचको वैमनस्यले बंगलादेशको राजनीतिलाई तहस नहस गरेको छ, त्यो पनि सबैको सामुनेको कुरा हो ।

श्रीलंकामा विश्वका प्रथम महिला प्रधानमन्त्री सिरिमाभो बन्दरानायकेको परिवार हावी थियो तर अहिले त्यसको चर्चा पनि छैन । तमिल विद्रोही परास्त गरेको श्रेय पाएका पूर्व राष्ट्रपति महिन्दा राजापक्षको परिवारवादको महत्वकाँक्षा पनि उनको पतनसँगै ओरालो लागेको छ । पाकिस्तानको भुट्टो परिवार पनि विश्व राजनीतिकको चर्चित परिवार हो तर त्यसको पनि हालत खराब भएको छ ।

त्यसैगरि म्यानमारका आङ् साङ्ग सुकी पनि विश्व राजनीतिका चर्चित पात्र हुनुहुन्छ । ४१ वर्षे बन्दी नजरबन्दको कष्टकर संघर्ष गर्नुभएका सुकी आफ्ना बुवा आङ साङको सन् १९४७ मा हत्या भएपछि राजनीतिमा होमिनु भएको थियो ।

 अमेरिकामा पनि एउटै परिवारकोे डेढ दशकसम्मे हाली मुहाली थियो । दुई वर्ष अगाडि निधन भएको बारबरा बुसका श्रीमान जर्ज एच डब्लु बुस र छोरा जर्ज डब्लु बुस दुवैले अमेरिकी राष्ट्रपति भइसकेका हुन् । पूर्व राष्ट्रपति विल क्लिन्टका श्रीमती हिलारी क्लिन्टन वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नुभएको थियो ।

क्लिन्टन अहिले पनि राजनीतिमा सक्रिय नै हुनुहुन्छ । जोन एफ केन्नडी राष्ट्रपति भएपछि उनका भाइ रोवर्ट महान्याधिवक्ता बनेका थिए । पछि उहाँ राष्ट्रपतिको उम्मेदवार पनि बन्नुभएको थियो । त्यस्तै एडम्स परिवारका जोन एडम्स, उहाँका छोरा जोन क्विन्सी एडम्स राष्ट्रपति नै हुनुभएको थियो । अर्थात विश्वकै शक्तिशाली राष्ट्र अमेरिका पनि परिवारवादबाट अछुतो रहेन ।

नेपालमा परिवारवाद 
नेपालमा कोइराला परिवारबाट शुरु भएको परिवारवादको राजनीति अहिले कम्युनिस्ट पार्टी लगायत अन्य दलमा सर्दैछन् । यो परिवारवाद नेकपाका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डमा सबभन्दा बढी देखिन्छ । यद्यपी जो जो राजनीतिमा आएका छन् ती सबैको राजनीतिमा योगदान रहेका छन् ।

 उहाँहरु जनयुद्धबाट आएका पात्रहरु हुन् । तर के प्रचण्ड नभएको भए उहाँहरुले यो उचाइ प्राप्त गर्न सक्नुहुन्थ्यो त । यो प्रश्नको जवाफ दिन गाह्रो छ । जनयुद्धमा उहाँहरु जतिकै योगदान दिनेहरुमध्ये कतिपयको अतोपतो पनि छैन । कुनै खोजखबर पनि छैन तर त्यही प्रचण्डको परिवारका भएका कारणले उहाँहरु राजनीतिमा जन्मनु भयो ।


विद्यादेवी भण्डारी अहिले राष्ट्रपति हुनुहुन्छ । तर के उहाँ आफ्नो क्षमताबाट राष्ट्रपति बन्नुभएका हो त प्रश्न खडा भएको छ । मदन भण्डारीको योगदानका कारण उहाँ राष्ट्रपति बन्नुभएको हो ।

 उहाँ भन्दा योग्य महिलाहरु पनि तत्कालिन एमालेमा थिए तर विद्या नै किन राष्ट्रपति भए त भन्ने प्रश्नको एउटै जवाफ हो उहाँ मदन भण्डारीका श्रीमती हुनुहुन्छ । विद्यादेवी भण्डारीका दुई छोरीमध्ये उषाकिरण भण्डारी राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँ अहिले महिला विभागतिर सक्रिय हुनुहुन्छ । तत्कालिन एमालेको अखिल नेपाल महिला संघको विदेश विभाग प्रमुख रहनु भएको थियो । अहिलेको कम्युनिस्ट पार्टीमा श्रीमानको बलमा अगाडि बढेका थुप्रै महिलाहरु छन् जो राजनीतिमा निकै जमेका छन् ।


अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहाल युद्धकालदेखि बुवासँग सक्रिय राजनीतिमा हुनुहुन्थ्यो । पार्टीमा सक्रिय हुनुको साथै बुवाको स्वीकीय सचिवको रुपमा पनि काम गर्नभएको थियो । ह्रदयघातको कारण उहाँको निधन भएपछि त्यसको ठाउँ छोरी गंगा दाहालले लिनुभएको छ । प्रकाशका श्रीमती विना मगर अहिले मन्त्री हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट आउनु भएका विना मगर प्रचण्डको बुहारी नभएको भए सायद उहाँ मन्त्री बन्न सक्नु हुन्थेन । विना मगर जस्ता थुप्रै छन् नेकपामा  ।


प्रचण्डकै अर्की छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयर हुनुहुन्छ । मेयरमा पनि उहाँ दुईपटक चुनाव हुँदा जित्नु भएको हो । यदि प्रचण्डको छोरी नभएको भए, जित्न निकै मुस्किल हुन्थ्यो । पहिलो सविधानसभामा उहाँ बुवाकै दममा समानुपातिक सभासद् बन्नुभएको थियो । दोस्रो सविधानसभा चुनावमा उहाँ काठमाडौबाट पराजित हुनुभएको थियो ।

उहाँ परिवारका अन्य सदस्यहरु अर्जुन पाठक, सागर केसी, जीवन आचार्य, खेम भण्डारी, नारायण दाहाल, चुडामणी खड्का, महेश दाहाल लगायतका पनि राजनीतिमा हुनुहुन्छ । कोही राजनीतिक नियुक्ति पाउनु भएको छ भने कोही राजनीतिमै जम्नुभएको छ ।
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराका दुई छोरा र दुई छोरी पनि कुनै नकुनै रुपमा राजनीतिमा सक्रिय रहनु भएको छ ।

जेठो छोरा निर्मल महरा तत्कालिन जनमुक्ति सेनाका व्रिगेड कमाण्डर समेत हुनुहुन्थ्यो । उहाँका कान्छा छोरा राहुल महरा, जेठी छोरी उन्नती महरा र कान्छी छोरी कुश्मा महरा पनि राजनीतिमा सक्रिय हुनुुहुन्छ । नेकपाका नेता मातृका यादवका पनि दुई छोरा पार्टीको विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुन्छ । नेकपाका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक पनि राजनीतिमा हुनुहुन्छ ।

वर्षमान पुनले आफ्नो श्रीमती ओन्सारी घर्तिमगरका लागि पार्टीमा जहिले पनि दवाव बढाउने, बार्गेनिङ्ग गर्ने गर्नुभएको चर्चा रहेको छ । समानुपातिक सभासद् बनाउनुदेखि लिएर सभामुख बनाउनेसम्मका काम वर्षमान पुनको दवावमा भएको हो । अहिले वर्षमान पुनको दवावका कारण एउटा प्रदेशको इन्चार्ज पनि बनाइएको छ ।
समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र सोही पार्टीका उपाध्यक्ष हिसिला यमी श्रीमान श्रीमती हुनुहुन्छ ।

 डा.बाबुराम भट्टराई प्रधानमन्त्री भइसकेका व्यक्ति हुनुहुन्छ भने श्रीमती पनि मन्त्री भइसकेका हुन् । श्रीमान बाबुराम भट्टराई जहाँ जहाँ जुनजुन पार्टीमा जानुहुन्छ त्यहाँ त्यहाँ हिसिला यमी पनि जानु हुन्छ । उहाँहरुका एउटा छोरी हुनुहुन्छ मानुषी यमी भट्टराई । उहाँ पनि पार्टीको विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुन्छ । सोही पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव पनि राजनीतिमा सक्रिय हुनुहुन्छ । उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य मन्त्री हुनुहुन्छ ।

छोरा अमरेन्द्र यादव उहाँको स्वकीय सचिव हुनुहुन्छ । पार्टीको युवा संगठनमा सक्रिय अमरेन्द्र यादव विराटनगर महानगरपालिकाका अध्यक्ष पनि हुनुहुन्छ ।


काँग्रेसमा सबभन्दा बढी परिवारवादको रोग लागेको छ । पूर्व राष्ट्रपति रामबरण यादवका जेठा छोरा डा.चन्द्रमोहन यादव पनि सक्रिय राजनीतिमा लाग्नुभएको छ । उहाँ पनि आफ्नो बुवाको दममा राजनीतिक गरिरहनु भएको छ । कान्छो छोरा चन्द्रशेखर इन्जिनियरीङ पेसामा हुनुहुन्छ भने छोरी अनिता यादव समाजिक कार्यमा सक्रिय रहनु भएको छ ।

यद्यपी रामबरण यादव राष्ट्रपति हुँदा स्वकीय सचिवको रुमपा काम गर्नुभएको थियो । काँग्रेसका नेता गणेशमान सिंहका छोरा प्रकाशमान सिंह राजनीतिमा स्थापित भइसक्नु भएको छ । उहाँका छोरा प्रभासमान सिंह पनि राजनीतिकमा सक्रिय रहनु भएको छ । बीपी कोइराका सम्पूर्ण परिवार राजनीतिमा नै सक्रिय रहेका छन् । उहाँका भाइ गिरीजा प्रसाद कोइराला पटक पटक प्रधानमन्त्री भइसक्नु भएको छ ।

बीपी कोइरालाका छोरा प्रकाश कोइराला पनि एकसमय राजनीतिमा निकै सक्रिय थिए । २०५६ सालमा रौतहटबाट निर्वाचित हुनुभएका उहाँ ज्ञानेन्द्र शाहको मन्त्रीमण्डलमा मन्त्री बन्नुभएको थियो त्यसपछि उहाँको पतन शुरु भयो र अहिले राजनीतिमा त्यति सक्रिय छैन ।

 त्यस्तै सोही परिवारका डा.शंशाक कोइराला र डा.शेखर कोइराला पनि राजनीतिमा सक्रिय रहनु भएको  छ । त्यस्तै गिरीजा प्रसाद कोइरालाका छोरी सुजाता कोइराला पनि राजनीतिमा हुनुहुन्छ । गिरीजाप्रसाद कोइराला जिवित हुँदा सुजाता कोइरालाको निकै फुर्तिफार्ती थियो । बुवाको बलमा उहाँ उपप्रधानमन्त्रीसम्म पनि बन्नुभयो ।

स्व.सुर्यथापाका छोरा र नाती राजनीतिमा सक्रिय छन । राप्रपा (प्रजतान्त्रिक) का महामन्त्री समेत बन्नुभएका सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा दुईपटक मन्त्री पनि भइसक्नु भएको छ । सुनिलबहादुर थापाको छोरा सिद्धार्थ थापा पनि राजनीतिमा सक्रिय हुन थाल्नुभएको छ ।


त्यसैगरि, राजपा नेपाल अध्यक्षमण्डलका सदस्य अनिल कुमार झा र उहाँका श्रीमती डा. डिम्पल झा दुवैजना राजनीतिमा सक्रिय हुनुहुन्छ तर डिम्पल झाले आजसम्म जे गर्नुभएको छ त्यो श्रीमान अनिल झाको बलमा मात्र गर्नुभएको छ । डिम्पल झा सरकारी जागिर छाडेर राजनीतिमा लाग्नुभएको हो ।

अनिलकुमार झा संघीय सांसद हुनुहुन्छ भने श्रीमती डिम्पल झा प्रदेशसभाको सदस्य र राज्यमन्त्री हुनुहुन्छ । राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरले आफ्ना सम्धी उमाकान्त झालाई राजनीतिमा जमाउनुभयो । अहिले प्रदेश ५ का प्रदेश प्रमुख हुनुहुन्छ । झा पूर्व सचिव तथा पूर्व मन्त्री पनि हुनुहुन्छ ।

 यी सबैमा महन्थ ठाुकरको योगदान रहेको छ । राजेन्द्र महतो र राजकिशोर यादव पनि एक समय आआफ्ना श्रीमतीलाई समानुपातिक सभासद् बनाउनु भएको थियो । त्यतिबेला उहाँहरुको निकै आलोचना भएको थियो । तर अहिले उहाँहरु राजनीतिमा सक्रिय हुनुहुन्न ।

यी त ठूला दलका ठूला नेताहरुको परिवारका सञ्जाल मात्र हुन् । सोही दलका दोस्रो, तेस्रो तहका नेताहरुको पनि परिवारका सदस्यहरु राजनीतिमा छन् । कतिपयको स्थानीय तहमा जित्नुएको छ भने कपितयको श्रीमती पालिकाको उपाध्यक्षमा चयन हुनुभएको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..